सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्रो लोकतन्त्र र ‘फुरौले-मन्त्र’

एकपटक फूमन्तर गर्‍यो- कुर्सीबाट एउटा रोगी सुरुक्क खँदारिन्छ । अर्को पटक छुमन्तर गयो अर्को रोगी कुर्सीमाथि बुरुक्क उक्लिन्छ । यो सब जोगीमन्त्रको काइदाको करामत ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

Narnath Luitel Fitkauliइतिहासमा कहिल्यै नदेखिएको विकराल स्थितिबाट गुज्रिरहेको छ अहिले हाम्रो प्यारो देश । विलकुल यसैगरी निरन्तर अघि बढिरह्यो भने हामी नेपाली नै रहिरहने छौँ कि छैनौँ भन्ने आशङ्काले हाम्रो मानस नराम्रोसँग कोपर्न थालेको छ । धेरै जीवन वलिवेदीमा होमिएर प्राप्त गरेको लोकतन्त्रले चारवटा वसन्त पनि नटेक्दै यस्तो प्रतिकूल स्थितिको सामना गर्नुपर्ला भनेर कमसेकम मजस्ता बुजुकहरूले कल्पनासम्म पनि गरेका थिएनौँ ।

कोही भन्दा कोही कम छैन । व्यक्तिगत अहम् दलीय स्वार्थ, अराजक मानसिकता, आफूमात्रै सही, आफूले देखेको मात्रै सत्य अरू सबै झुठ, आफू र आफ्ना मात्रै असल, अर्काका जति जम्मै बेवकुफ, बदमास र फटाहा । यस्तै मात्र देख्ने कुदृष्टि भएकाहरूको खलो पो बनेको छ देश । अनि दाइँ गरिरहेका छन् उनीहरू । आदर्शका ठूलठूला धरोहरहरू गल्र्यामगुर्लुम ढलिरहेका छन् । मानौँ नब्बे सालको भूकम्प आएको छ र एक समयका आदरणीय श्रद्धापात्रहरू मुन्टो जोतेर धमाधम धूलो चाटिरहेका छन् । यस्तो भयानक र एकदमै पीडादायी दृश्य हेरेर मन आक्रान्त एवम् विक्षुब्द भएको छ । म एकसुरमा टोलाइरहेछु, । अनि मेरो मनले आफैलाई सोध्छ थुइक्क के यही हो तेरो लोकतन्त्र ? के यही हो तेरो नयाँ नेपालको नयाँ मार्गचित्र ? के यही हो…? प्रश्ने प्रश्नका अतिसय तिखा र धारिला तीरहरू दनादन घोपिन्छन मेरा कोमल मनमा जताततै । छियाछिया हुन्छ मेरो मुटु र बसिलाले चोक्ट्याएका चोइटाहरू जस्तै टुक्रा टुक्रा बनेर आलो रगतसँगै छरिन्छन् । म कहालिन्छु, आत्तिन्छु, र यो यथार्थ, यथार्थ नभएर एउटा भयानक सपना मात्रै बनोस् भन्ने कामना गर्दछु ।

मेरो लोकतन्त्रको यो विदू्रप र विकराल रूप देखेर यस्तै भयातुर भई झोक्राउँदै काखेकम्प्युटरमा अलमलिइरहेको थिएँ एक बिहान – मेरो काखेकम्प्युटरको स्क्रिनमा सर्लक्क ओर्लियो किरिङमिरिङ अक्षरहरूले बनेको एउटा सग्लो छायाँचित्र । हैन के भ्याउलो आइलाग्यो यो ? हल्का एक क्लिकले त्यसलाई प्रष्ट पायो र मेरा आँखामा गोचर हुन आयो- ‘फुरौला’ ।

फुरौला… फुरौला… भन्दै हिँडिरहेको बेला ठेस लागेर उफ्रौला भा’थ्यो रे उहिले । तर अहिले चाहिँ फुरौलामा अडेस लागेर बन्न पुग्यो ‘फुरौले-मन्त्र’ । यसरी अलिकति रूप परिवर्तित भएर दृश्यमान हुन पुगेको यो ‘फुरौले-मन्त्र’ ले देवी-देउता, भूतप्रेत र डाइनी-बोक्सीको घोर अन्धभ्रमवाट पूरै मुक्त रहेको मेरो विवेकलाई एकपटक नराम्रोसँग लल्कायो । मानौँ यो आफैँ बकिरहेछ बोक्सी बकझैँ- “देखिस् तेरो प्रिय लोकतन्त्रलाई उँधै-उँभै पारेर सोत्र्र्यान्त बनाउने म त्यही टुनामुना हूँ। लम्बरी र जोडे झाँक्री वा बिजुवाको पनि अब कुनै पित्ताम चल्दैन । उसले मन्तरेको अक्षताले, राता पहेंला धजाले, अथवा कालो कुखुरो या कालो बोको या कालो परेवाले नै न त अब मलाई पन्साउन सक्छ, न त मन्साउन नै सक्छ । बुझिस् तेरो सारसौँदो लोकतन्त्र हेर्दाहेर्दै वाक्क र ट्यार्र भएर अब सिंहदरबारमा ठाडै लम्पसार पर्छ ।”

कताको लोकतन्त्र अनि कताको यो ‘फुरौले-मन्त्र’ । र्‍याङठ्याङ नै नमिलेको, अर्थ आशय, भावबीच तालमेल नै नभएको यस्तो बेफ्वाँके प्रसङ्गलाई जबरजस्ती तानेर अनुप्रास मिलाउँदै के कथ्न खोज्या होला भन्ने लाग्यो कि तपाइँलाई ? हतार नगर्नुस्, एकैछिन पख्नोस् है । यो लोकतन्त्र र ‘फुरौले-मन्त्र’ का बीच नेता र कुर्सीको नाताभन्दा गहिरो र गम्भीर सम्बन्ध देखिरहेको पो छु म ता । अन्तको कुराको पुन्तुरो फुकाउनु किन पर्‍या छ र । हाम्रो देशको लोकतन्त्र बिस्तारै जोकतन्त्र हुन थालेको छ । निर्वाचनमा नराम्रोसँग बल्ड्याङ खानेहरूको बहुमत भने पदीय कुर्सीमा माकुरघुर माकुरघुर गर्दै मस्तीमा छ अनि निर्वाचनमा बडो ठूलो हाँकोडाँको सहित जितेर आउनेहरू अल्पमतमा परी सडकमा यत्रतत्र अलपत्र परेका छन् । लौ तपाइँ नै अव भन्नोस् त, लोकतन्त्रमा देखिएको यो चानचुने जोकतन्त्र हो ?

कुरो जोकतन्त्र मात्रै किन हुन्थ्यो नि फेरि । लोकतन्त्र बनाम ठोकतन्त्र भएको छ अहिले । सत्ताको लुछाचुँडीमा फँसेर लोकतन्त्र फेरि कहिले झाँकतन्त्र बन्न पुग्छ त कहिले शोकतन्त्र बन्न पुग्छ । कतिपयका निम्ति भने यो भत्ता धोकाउनमा बेफुर्सद भएर घोकतन्त्र बन्न पुगेको छ । राजधानीमा सत्ता खोस्ने र जोगाउनेका बीच भीषण घम्साघम्सी तन्त्र चलिरहेका बेला यही लोकतन्त्र सुदूर कर्णालीतिर भने खाद्यान्नको अभावमा भोकतन्त्र बनेर जठरानल वालिरहेको छ । यता बालुवाटार र सितल निवासतिरका सुकसुकाउँदा दरवारमा हरेक साँझ लोकतन्त्र सरकारी ढुकुटीलाई सुकुटी पार्दै लाखौँको भोजतन्त्र बनेर ओर्लिरहेको बेला जाजरकोटतिर दूरदराजका गाउँबस्तीमा यही लोकतन्त्र जीवनजलको घुट्कोसम्म नपाई झाडापखालाग्रस्त हुँदै परलोकतन्त्र बनिरहेको छ । बस् यस्तो कसरी भयो ? कसरी भयो भने हाम्रो देशको लोकतन्त्रलाई ‘फुरौले-मन्त्र’ ले नराम्रोसँग बाँधेको छ र लात्तैलात्तले खाँदेको छ कठैबरा !

अझै निहालेर हेर्ने हो भने पावरवाला चस्मा लगाइरहनै पर्दैन, स्पष्ट भनौँ यो छर्लङ्ग देखिन्छ । लोकतन्त्र कतै लाठीतन्त्र बनेर लठारिँदै छ त कतै यो खुकुरीतन्त्र बनेर खनिँदैछ । कतै यो निर्वाध घूसतन्त्र वनेर तानिदै छ त कतै यो कमिसनको मिसनरूपी जाल बनेर हानिँदैछ । सहिदका सन्ततिको आर्तनाद सुन्ने फुर्सद कसैलाई छैन । लोकतन्त्रको रामनामी ओढेर लखनौलुट मच्चिँदो छ ।

दक्षिणतिरको भूमि जोगीमय पुण्यभूमि हो । जोगीहरू यता आउन कुनै शिवरात्री कुर्नुपर्दैन । जोगीतन्त्र र ‘फुरौले-मन्त्र’ पनि उस्तै उस्तै हो नानु हात्ती भन्नु र हात्तीछाप चप्पल भन्नु । जोगीहरूको पनि मूख्य कर्म हो हाम्रो देशको लोकतन्त्रलाई रोगी बनाउनु । त्यसैले अलख निरञ्जन भन्दै उताका जोगीहरू यता आउँछन् । यताका निरोगी जोगीहरूलाई नराम्रोसँग रोगी बनाउँछन् । रोगी नै भएपछि त उपचार गर्ने पयो, त्यसैको निहुँ बनाएर यताका जोगीहरू उता जान्छन् । आउने-जाने चलिरहन्छ । सल्लाह साउती भइरहन्छ । निधारमा घस्ने खरानी आदानप्रदान भइरहेकै छ । जोगीमन्त्रले खूब काम गरिरहेको छ । एकपटक फूमन्तर गर्‍यो- कुर्सीबाट एउटा रोगी सुरुक्क खँदारिन्छ । अर्को पटक छुमन्तर गयो अर्को रोगी कुर्सीमाथि बुरुक्क उक्लिन्छ । यो सब जोगीमन्त्रको काइदाको करामत । जोगीमन्त्र भन्नु एकप्रकारको ‘फुरौले-मन्त्र’ नै हो भनेर अब भनिरहनुपर्छ र ? हो यही मन्त्रले टुनामुना गरी हाम्रो लोकतन्त्रलाई चाले नपाई जोकतन्त्र र ठोकतन्त्रमा परिवर्तन गराइदिँदो छ । हेर्दा हेर्दै हाम्रो देशको लोकतन्त्र चिन्नै नसकिने विरुप भएको देखेर म वौलाहा बन्न लागेँ । दिमागको नशा सड्की सक्यो, दिमागभन्दा बाहिरको कञ्चट पड्की सक्यो ।

त्यसकारण अनिलजी मलाई माफ गर्नुहोला, तपाईंको यस ‘फुरौला’ नामक कृतिमाथि मैले विहंगम् दृष्टि लगाई न त पढ्न नै सकेँ न त कुनै गहन विश्लेषण गर्दै केही लेख्न नै सकेँ । मेरो यो प्रतिकूल स्थितिमा कुनै दिन अनुकूल सुधार आई जाती भइएछ भने भलिभाँतीसँग लेखौँला । यसभित्र बटुलिएका व्यङ्ग्यका गोली, बोली र लोलीलाई राम्रोसँग केलाइकुलाई गरौंला । अहिले चाहिँ यत्ति नै है त हुन्न ?

०००
१५ असोज २०६७
कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad