फित्काैली डटकमआमाको चेतावनी
आमाले चेतावनीको भावमा औँला ठडाउँदै भनिन् , "सबैको खुसी खोज्नेले अब उप्रान्त आफ्नो भागमा पनि अलिकति खुसी राख्न नबिर्सनु नि ।"

गंगा खड्का :
“ए बूढी ! ल लिऊ यो ५० हजार दसैँको लागि घरखर्च !” लीलामणिले सावित्रीलाई भने ।
सावित्रीले मुख बिगार्दै भनिन् , “यत्रो ठूलो चाडमा जम्मा ५० हजारले कसरी घर चलाउनु ?” सावित्रीले पैसा समाइनन् ।
लीलामणिले अनुहार बिगार्दै १५ हजार थपिदिए ।
“अनि यो १० हजारले चाहिँ आफूलाई चाहिएको लुगा किन्नु , त्यसैबाट आमालाई पनि लुगा ल्याइदिनु ।”
सावित्रीले मुसुक्क हाँस्दै १० हजार समाइन् र भनिन्, “छोराछोरी जति कमाउने भए पनि दशैँजस्तो चाडमा बाउआमाले किनिदिएको लुगा लाउन पाए हुन्थ्यो जस्तो गर्छन् । छोरालाई भरे अफिसबाट घर फर्केपछि अलिअलि दशैँ खर्च दिनुहोस् नि । बुहारीलाई पनि छुट्टाउनुभएन । नातिनातिनालाई झन् छुट्टाउनै मिलेन । सबैलाई दिएपछि बिहे गरेकी त्यही एउटी छोरीलाई पनि दिनुपर्छ नि ।” सावित्रीका कुराले लीलामणिको कन्सिरी तातेर आयो ।
उनले भएभरको रिसलाई दबाउँदै भने, “कति सास नरोकिकन बोल्न सकेकी होला । बिस्तारै भने पनि म कुरा बुझिहाल्छु नि । तिम्रा यस्तै खर्चालु प्रवृत्ति देखेर मैले पहिल्यै जोहो गरिसकेँ । लिऊ फाइनान्सबाट ऋण झिक्नका लागि ठिक्क पारेको फर्म । म भ्याउँदिनँ, आफैँ गएर ल्याउनु ।”
सावित्रीले कुनै नाइनास्ती नगरीकन फर्म लिइन् ।
लीलामणिको अनुहारमा झल्किरहेको विवशतालाई नियालिरहेकी आमाले भनिन्, “बाबु ! फाइनान्सको ऋण लिएर दशैँ मनाउनुपर्दैन, ला यो ५० हजार रुपैयाँ ।”
“के कुरा गर्नुभएको आमा, बूढी मान्छेले जम्मा गरेको वृद्धाभत्ताको पैसा म कसरी लिऊँ ?”
लीलामणिको कुरा सुनेर आमाले भनिन् “बाबु फाइनान्सबाट ऋण लिएर ब्याज बढाउनुभन्दा मैले दिएको पैसा खुरुक्क लि । तँलाई अप्ठ्यारो लागे सकेको बेलामा तिर्लास् नि त ।”
लीलामणिले बडो लाचार भएर आमाको हातबाट पैसा समाते । आमाले चेतावनीको भावमा औँला ठडाउँदै भनिन् , “सबैको खुसी खोज्नेले अब उप्रान्त आफ्नो भागमा पनि अलिकति खुसी राख्न नबिर्सनु नि ।”
०००
बूढानीलकण्ठ, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest












































