
बाबाप्रति
अनन्त फर्माइसले सताएँ, रोएँ, रिसाएँ अनि भाउ खाएँ ! होच्याउँथे जो “अपुतो” भनेर, निर्धा, निकम्मा दुहिता गनेर !

बाबा म साच्चैँ लघु अंश तिम्रै
माने-नमाने पनि वंश तिम्रै ।
संस्कार तिम्रै, लय, ताल तिम्रै,
जे बोल्छु उस्तै, अनुहार तिम्रै,
उक्लेर तिम्रा दृढ काँधमाथि
अग्लो भएँ कान दुबै समाती ।
संसार जम्मै अनि हेर्न पाएँ,
बाबा-सवारी गतिलै कुदाएँ !
खोसेर खाएँ, अनि पो अघाएँ !
पोखेँ, लडाएँ अनि मुस्कुराएँ !
अनन्त फर्माइसले सताएँ,
रोएँ, रिसाएँ अनि भाउ खाएँ !
होच्याउँथे जो “अपुतो” भनेर,
निर्धा, निकम्मा दुहिता गनेर !
“के काम लाग्छन् भन तुच्छ छोरी ?”
हिंड्यौ कसैका मुखमै नहेरी !
छोरीहरूको छ जहाँ निषेध,
त्यो स्वर्ग पुग्ने दरकार के छ ?
मानूँ व्यवस्था किन पक्षपाती ?
उतै पुगी कानुन फेर्छु साथी !
बर्दान हुन् ईश्वरका मलाई,
यो जिन्दगी सार्थक पार्नलाई !
यी तीन छोरी, अनि काव्य-पाना,
छोडी गएँ, जीवनका खजाना !
तिमी गयौ, ढुक्क भएर हाँसी,
अगाध माया मनभित्र टाँसी !
त्यै सम्झना मात्र छ साथ आज,
श्रद्धा भरी झुक्दछ माथ आज !
काठमाडौं