
बुढ्यौली ‘खोरिया’
गर्दथ्यौँ काम किसानी थिएन हाम्रो पढाइ कोट्याई नङ्ग्रा माटोमा हुन्थ्यो लडाईं । बुढ्यौली तन भएछ मनको जोश गएछ श्रवण शक्ति घट्दैछ रोग बढ्दैछ !

१) अतीत कुरा सम्झना
कहँदै हाम्रा बाबाले
पत्यार पनि नलाग्ने
भन्छन् दावाले ।
२) महिनौ दिन लाएर
नेपाल जाने गर्दथ्यौँ
नुन तेलको जोहोमा
ठोरी झर्दथ्यौँ ।
३) भैँसीको गोठ लेकमा
बर्सेनि लाने गर्दथ्यौँ
जाडोमा बेसी पाखामा
गोठ सार्दथ्यौँ ।
४) कछाड भोटो हरमा
चप्पल के हो थाछैन
स्विटर कुन चराको
नामै पाछैन ।
५) आटोको खाना खाएर
दुधमा पौडी खेल्दथ्यौँ
दाउरा बाल्दै गोठमा
जाडो छेल्दथ्यौँ ।
६) लेकाली टुसा तर्कारी
घिउमा छड्कि पाक्दथ्यो
मिठौरे स्वादे जिभ्रोमा
मीठो लाग्दथ्यो ।
७) दहीले भाँडा भरिए
देग्चीमा दही पकायौँ
छोक्रा र पानी छुट्टियो
नौनी निकाल्यौँ ।
८) महिना हुँदा घरमा
डोकोमा खर्च भर्दथ्यौँ
ठेकीमा घिउ राखेर
घर झर्दथ्यौँ ।
९) गर्दथ्यौँ काम किसानी
थिएन हाम्रो पढाइ
कोट्याई नङ्ग्रा माटोमा
हुन्थ्यो लडाईं ।
१०) बुढ्यौली तन भएछ
मनको जोश गएछ
श्रवण शक्ति घट्दैछ
रोग बढ्दैछ !
०००
लमजुङ