साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेवामा म हाजिर छु

खबर मात्र पाउँ तपाईंको आयोजना भव्य बनाउन म सेवामा हाजिर छ । ल हैं, बोलाउनुस् है । म ज्यालाविहीन खेतालो कवि लण्ठुराम, ताली पिट्न हात उठाएर हाजिर छ ।

Nepal Telecom ad

श्री समस्त आयोजक, प्रायोजक, संयोजक, विघटक, नेता, अभिनेता, माता, पिता पत्नी नातागोता तथा सम्बन्धित सबैको सेवामा नमस्कार छ ।

म कवि लण्ठुरामको आजसम्मको अनुभवका आधारमा जिन्दगीको पञ्चानब्बे प्रतिशत समय माथि सम्बोधित तपाईमध्ये कसै न कसैको सेवामा बिताएको र लण्डुरामको जोवन आफ्नो भन्दा अरुकै सेवाका लागि रहेछ भन्ने दिव्यज्ञान प्राप्त भएको हुँदा आगामी दिनमा पनि सदासर्वदा तपाईंहरूकै सेवामा हाजिर भइरहने प्रण गर्दछु । आजदेखि होइन, यो पृथ्वीमा अवतरण गर्नुभन्दा नौ महिनाअघिदेखि आमाले बोलाउनासाथ गर्भमा हाजिर भएर मैले पहिलो हाजिरी जनाएको है । त्यसपछि धर्तीमाताको आदेशबमोजिम पृथ्वीमा हाजिर भएको हुँ । मेरो त्यो हाजिरी मेरा लागि थिएन, मातापिताका लागि थियो । ‘बाबु भात खान आइज’ भनेर आमाले भन्नासाथ भान्सामा म हाजिर हुन्थँे । ‘रोलनम्बर तीन’ भन्नासाथ कक्षामा म ‘हाजिर सर’ भन्थेँ । मलाई लाग्थ्यो त्यो भात म आमाका लागि खाइदिन्थेँ र त्यो पढाई म माष्टरका लागि पढिदिन्थेँ । मेरो खुवाइ, लेखाइ, पढाइ सबै अरूकै सेवाका लागि थिए ।

कलेजको हाजिरी सकेर अड्डामा हाजिरी सुरु भयो । अड्डाको हाजिरी हाकिम बाबु, आमा र पत्नीको सेवाका लागि भन्ठान्थे म । ‘ए कालेका वा’ भन्नासाथ हर्ट एट्याक हुने गरी दौडिएर कालेकी आमासामू हाजिर हुनु, ‘बाबा, घोडा चढ्छु’ भन्ने छोराको आग्रह भुँइमा खस्न नपाउदै चार हातखुट्टा टेकेर उसका सामु हाजिर हुनु इत्यादि सबै अरूकै सेवाका लागि हुन् भन्ने मेरो ठहर छ । मेरो अवतरण सेवाकै लागि हो भने ल भन्नुस्, तपाईंलाई कहाँ हाजिर गराउनुपर्‍यो यो लण्ठुरामलाई ?

कविगोष्ठी आयोजना गर्नुस् र ताली बजाउन हाजिर गराउनुस् । कविता सुनाउनै आइज भन्नुस्, म कविता लिएरै हाजिर हुँला । सट्टामा एककप चिया, एकटुक्रो विस्कुट भए पुग्छ । त्यो पनि नभए कविता सुनाउँला, त्यो पनि नभए जोडदार ताली पिटेर फर्कुला । कविगोष्ठी मात्रै होइन, जुनसुकै सभा, समारोह, गोष्ठी आयोजना गर्नुहोस् । डलर पचाउनु छ कि, भत्ता सुइँक्याउनु छ कि, जे गर्नुछ, श्रोता भेला गर्नुछ भने म हाजिर छु ।

जुलुस निकाल्नुहोस्- मौन जुलुस, विरोध जुलुस, समर्थन जुलुस, राके, शान्ति, क्रान्ति, हाँसो, रुन्चे, तोडफोड, जस्तो जुलुस निकाल्नुछ, मलाई सम्झनुहोस् म हाजिर छु । शोकसभा राख्नुहोस् र मौनधारण गर्न लगाउनुहोस्, रिले अनसन राख्नुहोस् र पालो दिन आइज भन्नुहोस् शवयात्रामा रुन बोलाउनुहोस् अथवा गाईजात्रामा हाँस्न, रथयात्रामा रथ तान्न होस् अथवा ब्ल्याकआउटमा ढुङ्गा हान्न, म सधैं तपाईंको सेवामा हाजिर छु । मलाई नविर्सनुहोस् भोट माग्नुहोस्, भोट हाल्न हाजिर छु । भोट बहिष्कार भन्नुहोस्, त्यो गर्न पनि म हाजिर छु । सिंहदरबार जान्छु भन्नुहोस्, म पठाउन हाजिर छु, जङ्गल जान्छु भन्नुहोस् म समर्थन गर्न हाजिर छु ।

म गोष्ठीमा हाजिर छु, विमोचनमा हाजिर छु, सुन्न हाजिर छु सुनाउन हाजिर छु, बज्न हाजिर छु, बजाउन हाजिर छु, कुट्न हाजिर छु कुटिन हाजिर छु, मार्न हाजिर छु मर्न हाजिर छु । बम हनाउनुहोस् हान्न हाजिर छु, बम हान्नुहोस् थाप्न हाजिर छु । सडकमा हाजिर छु, चौरमा हाजिर छु, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि ल क्याम्पसको कोठासम्म, सोल्टी होटलदेखि सिंगाने साइलाको जेरी दोकानसम्म, जहाँ आदेश गर्नुहुन्छ त्यहाँ हाजिर छु । राष्ट्रकविको अभिनन्दनदेखि अन्तर्राष्ट्रिय कवयित्रीको अर्चनासम्म, कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत गाउनदेखि श्रीकृष्ण भगवान्को भजन गाउनसम्म म सदासर्वदा तपाईंको सेवामा हाजिर छु । खबर मात्र पाउँ तपाईंको आयोजना भव्य बनाउन म सेवामा हाजिर छ । ल हैं, बोलाउनुस् है । म ज्यालाविहीन खेतालो कवि लण्ठुराम, ताली पिट्न हात उठाएर हाजिर छ ।

०००
‘लाठीचार्ज’ २०६१ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
रिटायर पछिको दैनिकी

रिटायर पछिको दैनिकी

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x