
बुढ्यौली (काव्य शृङ्खला- २८)
होस् न्यायालय दर्विलो अझ उता छन् नीति निर्णायक । हाम्रो संसद शुद्ध होस् तर यता हून् योजना सार्थक । जो बस्दा पनि हुन्छ उच्च तहमा यो राष्ट्र हाँक्नेजन । सारा वृद्ध मुहारमा हितकरी आऊन् उज्याला दिन ॥

देवीप्रसाद मिश्र :
जेठाबाको राष्ट्रिय चिन्तन
पाका नै कति छन् उता सदनमा थाम्दै सदा बाहुली ।
फेर्ने छाँट रहेन यो मुलुकको सम्भावना काँचुली ॥
आओ साथ युवा दिमाग झरिला नेतृत्वमा साहसी ।
गर्छौँ वृद्धहरू समर्थन यता लाएर राम्रो कसी ॥१४५॥
मुद्दा उठ्नु पर्यो तथा सदनमा पाकाहरूका हक ।
त्यस्तै कानुन चाहियो हित हुने सम्पूर्णमा सार्थक ॥
पाको होस् तर राष्ट्रचालक कला काँचो हुँदा भावना ।
हुन्नन् सार्थक खास लोक हितमा, यस्तै छ संभावना ॥१४६॥
सारा वृद्ध प्रबुद्ध हुन् मुलुकका छन् दूरदर्शी मन ।
भन्दै छौँ तर चुक्दछन् समयमा गल्दै गरेका तन ॥
पाका साथ युवा समागमनको निष्पक्ष माला उनौँ ।
पार्टीबाट अलग्गका युवकको खाँचो छ राम्रो चुनौँ ॥१४७॥
जस्तो कार्य गरे बुढा मगजले अध्याय पूरा भयो
बढ्दै छौ झरिला युवा मगजका सम्भाव्य तिम्रो रह्यो ॥
दोषारोपण मात्र आज नगरौँ खोजौँ कुराको चुरो ।
पैसाका व्यवहारले मुलुकको झुक्दै गयो टाकुरो। ।१४८॥
होस् न्यायालय दर्विलो अझ उता छन् नीति निर्णायक ।
हाम्रो संसद शुद्ध होस् तर यता हून् योजना सार्थक ।
जो बस्दा पनि हुन्छ उच्च तहमा यो राष्ट्र हाँक्नेजन ।
सारा वृद्ध मुहारमा हितकरी आऊन् उज्याला दिन ॥१४९॥
क्रमशः
०००
२०८०/५/३