
सर्प लुकेको छ
बिरानो झै लाग्न थाले आफ्नै थात थलो पराई झै झम्टी झम्टी साथी भुकेको छ ।

रामकृष्ण काफ्ले :
मन रम्छ कसोगरी देश दुखेको छ ।
पार्न खोज्छु शीर ठाडो फेरि झुकेको छ ।
गल्ती गर्ने अनेक छन् प्रवृत्ति र पात्र
मौका पर्दा पण्डित नै कतै चुकेको छ ।
फल लाग्ने आश गरी गरें गोडमेल
बेकार भो मलजल मुना सुकेको छ ।
श्रीखण्ड र धुपी कपुर जति रोपे पनि
बगैंचाका कुना काप्चा सर्प लुकेको छ ।
बिरानो झै लाग्न थाले आफ्नै थात थलो
पराई झै झम्टी झम्टी साथी भुकेको छ ।
०००
रचनाः २०६१ लक्ष्मी जयन्ति