देवीप्रसाद मिश्रबुढ्यौली (काव्य शृङ्खला ३२)
बा आमा अनि दाजुभाइ बहिनी काका ठुलाबाहरू । मामाकासित माइज्यू हजुरबा साथै ठुल्यामा फुपू ॥ यो सम्बन्ध विशेषता गहकिलो डग्दै गयो आदर । थाम्दै छर्नुछ बा प्रभाकर सफा फर्केर आएँ घर ॥
देवीप्रसाद मिश्र :
(फर्केर आएँ घर)
हेर्दै विश्व जगत् बुझी मुलुकका शिक्षा गरेँ आर्जन
यो नै ठान्छु सदा विशेष दिलले सम्पूर्ण मेरो धन ।
चिन्ता मान्नु परेन बा हजुरले,बोकी नयाँ जाँगर ।
आमा जन्मदिने र जन्म धरणी सम्झेर आएँ घर ॥१६५॥
देखेँ विश्व सचित्र चित्रित भए मस्तिष्कमा चित्रण ।
तस्मात् ढुक्क भएन चित्त परको देखेर आकर्षण ॥
पुर्खाका इतिहास कौशल कला सान्निध्यमा सुन्दर ।
थाम्दै छर्नुछ बा प्रभाकर सफा फर्केर आएँ घर ॥१६६॥
खाली हात छ अर्थका विषयमा सङ्ज्ञान केही लिएँ
जेजस्ता मनभावना हजुरका छन् सत्यता सम्झिएँ
पोको खोल्दछु ज्ञानको अब यता यो राष्ट्रका खातिर ।
मैले छर्नुछ बा प्रभाकर सफा फर्केर आएँ घर ॥१६७॥
हाम्रो निश्चल सभ्यता मुलुकको पूर्वीय आकर्षण ।
केही दृश्य अदृश्य शक्तिहरूले गर्दै सदा घर्षण ॥
हल्लाए परिहार्य संस्कृति कला सग्ला पुराना चर ।
थाम्दै छर्नुछ बा प्रभाकर सफा फर्केर आएँ घर ॥१६८॥
देखेँ ती विकरालका स्थितिहरू झन् पश्चिमा राष्ट्रमा ।
खोज्दा जीवनमा स्वतन्त्र पहिले छन् वृद्ध नैराश्यमा ॥
त्यस्तो बन्न म दिन्न यो मुलुकमा थाम्दै पुरानो चर ।
मैले छर्नुछ बा प्रभाकर सफा फर्केर आएँ घर ॥१६९॥
बा आमा अनि दाजुभाइ बहिनी काका ठुलाबाहरू ।
मामाकासित माइज्यू हजुरबा साथै ठुल्यामा फुपू ॥
यो सम्बन्ध विशेषता गहकिलो डग्दै गयो आदर ।
थाम्दै छर्नुछ बा प्रभाकर सफा फर्केर आएँ घर ॥१७०॥
धावा संस्कृति माथि बोल्छ जसले सारा लखेट्दै पर ।
मेरो राष्ट्र हसाउने प्रण गरेँ सङ्कल्प छन् उर्वर ॥
आमाको शिर झुक्न दिन्न कहिल्यै मामा नमानून् डर ॥
मैले छर्नुछ बा प्रभाकर सफा फर्केर आएँ घर ॥१७१॥
०००
हाल, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































