कमला पन्थी अधिकारीआमाको चिठी
मैले तिमीलाई जीवनको पाठ सिकाएको समय पनि त निकै पर छुटिसकेको छ अहिले त तिमीसँग तिम्रै समय छ जसको गुरु पनि तिमी आफैँ हौ । मसँग त तिमीबाट छुटिसकेका केही थान समयका अंशहरू मात्र छन् ।

लक्ष्मी थापा :
प्रिय संसार ! 
जुन दिनदेखि तिमीले
धर्ती छोडेर आकाश छुने सङ्कल्प गर्यौ
र मेरो भरिभराउ काखलाई
क्षणभरमै रित्तो बनाएर
मबाट मुक्त हुने बाटो रोज्यौ ।
हो ! त्यहीँ दिनदेखि
मेरा बाँच्ने आधारहरू पनि
भाँसिँदै गएका हुन्
तिम्रा उचाइ छुने पाइलाहरूसँगै ।
तिमी सानै छँदा
हाम्रो फाटेको जीवनलाई
आशाका किरणहरूले जसोतसो सिलाउँदै
तिम्रो सपाट भविष्यको रक्षार्थको लागि
जुँधेका ती समयका आख्लाहरू
आज पनि साक्षात्कार गर्छन्
मैले फेरिरहने हर श्वाससँग ।
याद हुनुपर्छ तिमीलाई
ती दिनहरूमा
तिम्रा लरबराएका आवाजलाई
मेरै आत्मविश्वासका आडले बुलन्द बनाएका थिए
तिम्रा धरमराएका पाइलाहरूलाई
मेरा पौरखी हातहरूले उभ्याएका थिए
तिम्रो एकपछि अर्को सफलतामा
सिँढी बनेका मेरा त्याग र समर्पण
आज तिमीबाट नै अर्थहीन बनाइदिँदा
लाचार, विवश र दुःखी भने अवश्य छैन म ।
किनकि पखेटा लागेका बचेराले
एक दिन त अवश्य गुँड छोडेर जानु नै छ भने
मैले तिम्रो बाटोमा तगारो त अवश्य बन्नू हुन्न ।
त्यसै पनि समाजका धारहरूसँग
कैयौँ पटक रेटिँदै, मुर्छा पर्दै
ब्युतेका मेरा हरेक धड्कनले
तिमीलाई कहिल्यै कहीँ कतै खुम्चिन दिएन
र त आज निस्फिक्रीसित फैलिन सकेका छौ
आफैँले रोजेर खनेको गोरेटोभरि ।
मेरो प्रिय सन्तान !
मात्र अफसोस यहाँनिर छ कि
यतिखेर तिमीलाई असन्तुष्टिको किराले टोकिरहेको छ
तिम्रो ब्रह्माण्डलाई रोगी बनाइरहेको छ
जसलाई निको पार्न
कुनै त्यस्तो आौषधिको आविष्कार नै भएको छैन ।
मैले तिमीलाई जीवनको पाठ
सिकाएको समय पनि त निकै पर छुटिसकेको छ
अहिले त तिमीसँग तिम्रै समय छ
जसको गुरु पनि तिमी आफैँ हौ ।
मसँग त तिमीबाट छुटिसकेका
केही थान समयका अंशहरू मात्र छन्
जुन अक्षयमातृत्वले भिजेका
सुकुमार सम्झनाका कोसेली हुन्
र यहीँ नै पर्याप्त छन्
मेरा जीवन काट्ने बहानाहरू ।
र अन्तिममा जाँदाजाँदै तिमीलाई
मेरो एउटै प्रश्न
मेरो प्रिय संसार मेरो सन्तान !
यो धर्तीलाई सधैँ धुलो मात्र देखेका
तिम्रा मन र मस्तिष्कले ।
तिमीले छुन खोजेको
आकाशको मूल्य चाहिँ कति हो ?
०००
सल्लाघारी, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































