दीनानाथ पाेखरेलतृप्ति
चल्दा छन् घरमै अनाहक बडा दुष्कृत्य आडम्बर । आफ्नो प्राकृत कर्म शून्य छ भने के मान्नु आफ्नो घर ॥ पर्दा कष्ट उठिन्न मानव भने के मिल्छ बाँचे पनि ? मर्दा बाँच्न सकिन्छ देश हितमा सत्कर्म गाँस्यो भने ॥

दीनानाथ पोख्रेल :
अर्काका भरमा बस्यो यदि भने पर्नेछ भोकै रुन ।
आफू निर्भर बन्न कोसिस गरोस् पुग्नेछ तारा छुन ॥
आफ्नै पूर्वजका सुसंस्कृति बँचून् हाँस्नेछ रम्दै हियो ।
हेक्का त्याग हुँदा गुम्यो शुभकला निभ्दै उज्यालो दियो ॥०१॥
मान्छे पुज्दछ भव्यतासँग खुली आफ्नै निका सभ्यता ।
आफू भुल्दछ अन्य नक्कल गरे जान्नू छ यो सत्य ता ॥
आफ्ना पूर्व सुसभ्यता पर गरे देखिन्न रे मानव ।
आफ्ना संस्कृति जोगिए अवनिमा त्यै हो धराको धव ॥०२॥
मेरा भारतवर्षमा असल छन् विज्ञानझैँ ज्ञान र ।
गर्दै रक्षित यत्नले अघि बढे छर्छन् उज्यालो पर ॥
आफ्नै सूर्य भुलेर दीप परको बालेर के काम छ ?
मेरै पूर्वजका सुसंस्कृतिहरू पक्रे सुधा पान छ ॥०३॥
मेरै यो घरभित्रका हरकुरा सङ्ला बडा योग्य छन् ।
त्यागेँ आज अनेक कष्ट घरमा उत्पात उद्भ्रान्ति छन् ॥
जे देख्यो त्यसमै गडी नयन यी भुल्छन् सुमान्छे पथ ।
कृत्याकृत्य भुले स्वयम् नयनले ढल्क्यो अबाटो रथ ॥०४॥
चल्दा छन् घरमै अनाहक बडा दुष्कृत्य आडम्बर ।
आफ्नो प्राकृत कर्म शून्य छ भने के मान्नु आफ्नो घर ॥
पर्दा कष्ट उठिन्न मानव भने के मिल्छ बाँचे पनि ?
मर्दा बाँच्न सकिन्छ देश हितमा सत्कर्म गाँस्यो भने ॥०५॥
ज्ञानी ज्ञान समात्छ चढ्छ नभमा सत्कर्ममा रम्दछ ।
मान्छेकै हितमा सुकर्म करमा पक्रेर त्यो जम्दछ ॥
उल्टा कर्म टिपे विषाक्त खिलले सद्भ्रान्ति ता फाँड्दछ ।
इच्छा, शान्ति र सौख्यभाव हितका उम्दा निका बाँड्दछ ॥०६॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































