रमेशचन्द्र घिमिरेभ्रम
हामीसँग विद्यार्थीहरू झ्यास्स इङ्लिस बोल्न डराउँछन् । अचेल मैले देखिरहेको छु- नेपाली बोल्नै पर्यो भने कि पाले दाइलाई झिँज्याउँछन् कि नेपाली सरसँग लुट्पुटिन्छन् ।’

रमेशचन्द्र घिमिरे :
अङ्ग्रेजी माध्यममा पढाइ हुने निजी विद्यालयमा नेपाली पढाउने शिक्षकका रूपमा जागिर पाउनासाथ किशोर खुसी भए । आफ्ना गुरुहरूले आफूलाई पढाउँदाको शैलीको सिको गर्दै सकेसम्म अब्बल शिक्षकका रूपमा स्थापित हुने जमर्को उनले गरे ।
विद्यार्थीहरू उनीसँग निकै झ्याम्मिन्थे । पढाउँदा चुट्किला, कविता, कथा कहाँनेर, कुन प्रसङ्गमा र कसरी भन्नुपर्छ उनलाई थाहा थियो । खाली पिरियडमा, छोटो ब्रेकमा वा हाफ छुट्टीको समयमा पनि विद्यार्थीहरू उनीसँग गफ गर्न रमाइलो मान्थे ।
‘सर, हामीलाई भलिबल दिनुस् न !’ हुँदा हुँदा विद्यार्थीहरू भलिबल, फुटबल, चेस, क्यारेम बोर्ड माग्न पनि किशोर सरलाई नै सम्झन्थे । किशोर सर मख्ख थिए । उनलाई लाग्यो, ‘मेरो पढाउने शैली र व्यवहारबाट विद्यार्थीहरू मसँग निकै प्रभावित छन् ।’
किशोर सरले स्टाफ मिटिङमा समेत सहभागी हुने पहिलो अनुभव प्राप्त गरे । महिनाको अन्तिम दिनमा हुने उक्त स्टाफ मिटिङमा प्रिन्सिपल सर बडो सान दिँदै र खुट्टा हल्लाउँदै बोल्दै थिए, ‘जे होस् हाम्रो विद्यालयमा विद्यार्थीहरू इङ्लिस मिडियममा बोल्ने प्राक्टिस गर्दैछन् । हामीसँग विद्यार्थीहरू झ्यास्स इङ्लिस बोल्न डराउँछन् । अचेल मैले देखिरहेको छु- नेपाली बोल्नै पर्यो भने कि पाले दाइलाई झिँज्याउँछन् कि नेपाली सरसँग लुट्पुटिन्छन् ।’
०००
२०८०/०८/१०
भोर्लेटार, लमजुङ
Subscribe
Login
0 Comments
Oldest







































