मेघराज पाैड्यालवृद्ध जीवन
पाखा भित्ता हरिण दिन मै बुर्कुसी मार्न थाल्छन् कुप्राकुप्री प्रियजनसँगै खोश्रदैँ अन्न फाल्छन् यस्तै चाला मुलुक भरि नै देखिएको छ आज वृद्धावस्था विलयन हुँदा छैन बोक्ने समाज।।

मेघराज पौड्याल @हात्तीवने :
हाम्रा प्यारा जनक जननी छन् पचासी उताका
बस्छन् एक्लै कहर सहँदै जीर्ण जस्तै बुताका
बारी बाँझो युवक नहुँदा अन्न सब्जी हरायो
बस्ती रित्तो वनचर सबै गेहमा बस्न आयो।।
वृद्धावस्था पयर पथमा लर्बरिन्छन् अनन्त
बाटो हिँड्दा नयन धमिलो देखिँदैनन् दिगन्त
लौरो साथीसँग सडकमा नित्य डुल्छन् प्रभात
बस्ने खाने नित भुइँतलो हुन्न यौटै कपाट।।
वृद्धावस्था मगज सबको पुग्छ आराधनामा
दिन्छन् जो तर्पण बचनले नित्य भोगेर धामा
आस्था देवालयतिर सधैँ जान्छ हिँड्दै प्रभात
चल्दैनन् ती पयर पथमा खुम्चिएका ललाट।।
कोही वृद्धाश्रमतिर बसी मार्ग आफ्नो नियाल्छन्
कोही आफ्नै प्रियजनसँगै शान्तिको दीप बाल्छन्
रित्तो बस्तीतिर कति अझै खन्न जान्छन् गरामा
वृद्धाको झन् हृदय कमलो खान दिन्छिन् बरामा।।
पाखा भित्ता हरिण दिन मै बुर्कुसी मार्न थाल्छन्
कुप्राकुप्री प्रियजनसँगै खोश्रदै अन्न फाल्छन्
यस्तै चाला मुलुक भरि नै देखिएको छ आज
वृद्धावस्था विलयन हुँदा छैन बोक्ने समाज।।
०००
सप्तरी
Subscribe
Login
0 Comments
Oldest







































