
वृद्धावस्था
खट्नै पर्दछ बाँच्न खातिर बुढो छैनन् युवा गेहमा पुर्खाको पसिना बलात्कृत हुँदा झन् पर्छ सन्देहमा हिँड्दा लर्बर गर्छ पाउ पथमा लौरो विना ढल्दछ फ्याँ-फ्याँ हुन्छ बढेर जो हृदयमा सुस्ताउँदै गल्दछ।।

मेघराज पौड्याल :
हाँसूँ लाग्छ तथापि खिस्स मनमा रित्तोछ आफ्नो घर
हाम्रा सन्ततिको अनन्त पसिना चुस्दै निथार्छन् पर
हाँसोस् देश मुसुक्क टन्न घरमा थुप्रै हओस् वैभव
प्राणी मक्ख भएर खित्त मधुरो हाँसेर बस्थे सब।।१।।
उठ्छन् ब्राह्ममुहूर्तमा दिनदिनै पुग्छन् पँधेरातिर
गर्छन् स्नान उषा पवित्र जलमा पस्राइ आफ्नो शिर
पूजापाठ अनन्त हुन्छ मठमा सन्ध्या बिहानी जब
आफ्ना सन्ततिमा समुन्नति हुँदा हाँसी रहन्छन् सब ।।२।।
मात्रै वृद्ध चलाउछन् मुलुक यो सुस्ताउँदै जाँगर
खिल्ली मात्र उडाउने युवक छन् आफैँ दगुर्छन् पर
बस्तीमा पनि वृद्ध मात्र छ सधैँ जन्ती मलामी हुने
मर्दा लाससँगै रहेर बिचरा ! हुन्छन् ती आँखा धुने।।३।।
छोरो पढ्दछ देशमा कठिनले खर्चेर त्यो वैभव
आँखा लाउछ दुष्टका महलमा हुन्छन् छतौरा जब
आफू जान्छ बधूसँगै सहरमा राखेर ती सन्तति
लान्छन् वैभवको बिटो पर कतै सारा भएको जति।।४।।
खट्नै पर्दछ बाँच्न खातिर बुढो छैनन् युवा गेहमा
पुर्खाको पसिना बलात्कृत हुँदा झन् पर्छ सन्देहमा
हिँड्दा लर्बर गर्छ पाउ पथमा लौरो विना ढल्दछ
फ्याँ-फ्याँ हुन्छ बढेर जो हृदयमा सुस्ताउँदै गल्दछ।।५।।
०००
सप्तरी
Subscribe
Login
0 Comments
Oldest