के.पी. पाैडेलवृद्धाहरू सबल छन्
नब्बे असीउपरका वयका प्रधान । लाभांशका रहरले सब छन् उदाङ्ग ॥ छिन् मातृ सक्षम सदा सब भार बोक्न । वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥
कृष्णप्रसाद पौडेल “जस्ताघरे” :
कैयौँ सुभाष गफले भ्रम छर्न आए ।
सत्ता सभा सदनमा नर नाच्न पाए ॥
आए जुझारु महिला पनि आँट गर्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥ – १
धेरै भयो मुलुकमा लफडा बढेको ।
पाको बडा पुरुषले रमिता छरेको ॥
सक्छन् सिपालु महिला खल शीघ्र चिन्न।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥ – २
सत्ता र शासन कला मत तर्क हुन्छन् ।
उद्दण्ड कर्म नरका कुविचार फुर्छन् ॥
नारी यहाँ सजग छन् भय त्रास फाल्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥ – ३
वृद्धा युवा र युवती सबसाथ जुट्छन् ।
सङ्कष्टका बखतमा अगि बढ्न सक्छन्॥
सक्छन् इखालु महिला पनि राष्ट्र थाम्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥- ४
यो राष्ट्रका नरहरू किन उग्र बन्छन् ?
नेपाल धामसरि हो किन तुच्छ ठान्छन् ??
माता सुता युवक छन् अपकार फ्याँक्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥- ५
नब्बे असीउपरका वयका प्रधान ।
लाभांशका रहरले सब छन् उदाङ्ग ॥
छिन् मातृ सक्षम सदा सब भार बोक्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥ – ६
०००
बट्टार, नुवाकोट ।
Subscribe
Login
0 Comments
Oldest






































