सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झोल किन्दा चोक्टा सित्तैंमा

नेपाली जनताको अदभुत पाचनशक्तिको उच्च मूल्याङ्कन गर्दै झोल किन्दा चोक्टा सितैमा उपहार दिने कम्पनी व्यवस्थापनप्रति हार्दिक अभिनन्दन छ ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

म शुरूमा काठमाडौं आउँदा एकजना साथीले भनेको कुरा कहिल्यै बिर्सन्नँ । बेरोजगारीले रणभुल्ल भएर भौंतारिइरहेका बेला उसले मलाई भनेको थियो, ‘हेर् भाइ, यो काठमाण्डू भनेको भवसागर हो । यस भवसागरमा जसले जे गरे पनि कसैले पत्ता पनि पाउँदैन, चासो पनि राख्तैन । काठमाण्डूमा जताततै नोटैनोट छन्, रोजगारी नै रोजगारी छ । खालि त्यो पत्ता लगाउन र हात लगाउन मात्र जान्नुपर्छ । एउटा स्टोभ र ताई लिएर रत्नपार्कको पेटीमा बस्यो भने पनि मज्जाले जहानबच्चा पाल्न सकिन्छ । जे पकाएर बेचे पनि हुन्छ । यहाँ मान्छेकै बिस्टाका सानासाना डल्ला बनाएर फ्राई गरेर बेचे पनि खाने मान्छेको कमी हुँदैन ।’

कुरा सुनेर म चकित भएको थिएँ ।

वास्तवमा यो देशमा जसले जे गरे पनि हुन्छ । खुला बजारको खुला अवधारणा हामीले जति संसारमा कमै देशले भोगेका होलान् । ‘रत्नपार्कमा जता फक्र्यो उतै ट्वाइलेट’ भनेजस्तै काठमाडौँमा जता फक्र्यो उतै खानाका दोकानहरू छन् । नाङ्लामा खाने कुरा, डालामा खानेकुरा, ठेलामा खानेकुरा, घुम्तीमा खानेकुरा, पेटीमा खानेकुरा, छिंडीमा खानेकुरा, बुइँगलमा खानेकुरा, कागजमा खानेकुरा, प्लेटमा खानेकुरा, दुनामा खानेकुरा, कुनामा खानेकुरा ।

खानेकुराको कुरा आउँदा हिजोआज रियल जुस भन्ने खानेकुरा खूब चर्चामा छ । रियलमा लेदो भटियो रे ! रियल पिएर मान्छे अस्पताल भर्ना भए रे, अपाङ्ग भए रे, मरे पनि अरे । रियलले अगाडि नै प्याक गरेको प्याकेटमा पछिल्लो मितिको स्टिकर टाँस्यो रे ! इत्यादि । सञ्चारमाध्यमहरूले खेदो गरे । हुँदाहुँदा अख्तियार भन्ने निकाय पनि पछि लाग्यो र त्यो बनाउने डाबर कम्पनीमा छापा मार्‍यो ।

त्यो उद्योगले जानीजानी जुसमा लेदो हालेको होला त ? झुक्किएर पोखरीको पानी मिसाउँदा पर्‍यो होला अथवा पुरानो भएपछि रासायनिक परिवर्तन भएर झोल पदार्थ चोक्टामा परिणत भयो होला । लौ जुसमा त सानो गल्ती भएछ रे ! अलिकति कालो पदार्थ परेछ रे ! त्यतिकै भरमा ’सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ भनेझैँ पूरै कम्पनीका उत्पादनमाथि नै शङ्का गर्न त भएन नि ! सञ्चारमाध्यम र अख्तियार मात्रै होइन, मेरो घरभित्रै पस्यो डाबर आतङ्क ।

च्यवनप्राशमा गोबर मिसाएको होला भनेर मेरा हजुरबाले बट्टै लगेर दुश्मन छिमेकीलाई दिएछन् । आमाले डाबर ग्लुकोजलाई चिनीको धूलो भन्दै चियामा हालिछन् । छोराले रियलको विज्ञापनमा खेल्ने ‘महानायक’ राजेश हमाललाई पनि अविश्वास गर्दै रियल जुसको ठूलो बट्टा कुकुरलाई खुवाएछ । छोरीले झटारो हान्न लागेको लालदन्तमञ्जनलाई आमाले चुलो पोत्ने रातोमाटोमा मिसाइछन् । ठू ऽऽऽलो देशी कम्पनीले उत्पादन गरेको हो आमै भनेर हजूरआमालाई मह चटाउन खोजेको ‘आन्द्राभुँडीमा डाबर निकालेर छिट्टै मरोस् यो बूढी भन्ठान्छस् ?’ भन्दै आमै त अर्को कोल्टे पो फर्किन्छिन् वा । ल, हेर्नोस् त फसाद ।

हामी त कीरा परेका आँप खाँदैखाँदै बढेका मान्छे । प्रयोग गर्दागर्दा बाक्लो भएको महिनौदेखिको बासी तेलमा पकाएका पकौडा, प्याजी, चप, सेल र डोनटहरू पचाएका नागरिक । धूवाँ र धूलोको कुइरिमण्डलले छपक्कै छोपेका सडक किनारामा छ्यासछ्यास्ती भेटिने बदाम, पुष्टकारी, हावामिठाई, दालमोठ, माछा, मोमो, अण्डा, पानीपुरी आदि हाम्रा प्रिय खानेकुरा । सडकमै पाइने रसायन हालेर पकाएका फलफूलका चाना पनि हाम्रा मीठा खाना । त्यस्ता नाथे लेदो निस्केको जुस, कीरा परेको च्यवनप्राश, ढुसी निस्केको पाउरोटी, मरेका राँगाको मोमो, बासी आलुको समोसा, मिति सकिएका औषधि त हाम्रा लागि देब्रे आन्द्राको खेल । त्यस्ता चीजलाई हामी टकटक्याएर, फुकेर, पुछेर, कोट्याएर, खुर्केर अनेक विधि गरेर वा यसै पनि सहजै पचाइदिन्छौं । हामी त्यस्ता तगडा खानेकुराहरू पचाएर कडा पाचनशक्ति प्राप्त गरी बलिया र तन्दुरुस्त बनेका वीर जाति । यस्ता वीर जातिका लागि तीन महिनाअगाडि बनाएर तीन महिनापछिको स्टिकर टाँसेको जुसले के बिगार्थ्यो र ।

अख्तियार, गृह मन्त्रालय, सीडीओ कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, उपभोक्ता हितको कार्यालय आदिका आँगनमै अनेकथरीका मिठाई, चकलेट चुइगम, बिस्कुट, डोनट, पानीका बोत्तल आदि बेचिरहेका दिदीबहिनीहरू तपाईंले देख्नुभएकै होला । ती पदार्थहरूको गुणस्तर र तिथिमितिका बारेमा कसैले सोचेको छ ? हाम्रा छिमेकी राष्ट्रबाट आएर खाली अनुसन्धानशाला वा गुणस्तर नियन्त्रण कार्यालयको हालाछेउमै बटुवाहरूको नाडी छाम्दै गानोगोला, महिनावारी विग्रेको, ग्याष्ट्रिक, अल्सर र नपुंसकताको ‘दवा’ बेचिरहेका डाक्टरहरूको उपचार र ओखतीका बारेमा कसैले सोधखोज गरेको छ ? त्यस्ता पदार्थहरूको तुलनामा कता हो कता गुणस्तरीय, स्वादिलो र लोकप्रिय रियल जुसको कारखानामा छापा मार्ने अख्तियारको काइदा मलाई पटक्कै मन परेन । ‘आफ्ना आङको भैंसी नदेख्ने अर्काका आङको जुम्रो’ भनेजस्तो आफ्ना वरिपरिका नेशनल उद्योग छाडेर त्यो अख्तियार भनाउँदो कता उता वीरगञ्ज पुगेर ‘मल्टिनेशनल उद्योग’ मा छापा मार्न पुगेछ ।

हाम्रो सन्चोका लागि त्यति मेहनतका साथ अग्रिम स्टिकर टाँसेर हामीलाई पठाउन आँटेको जुसमाथि धावा बोल्ने अख्तियारप्रति हामी नेपाली जनताको आपत्ति छ । महामहिम राजदूतसमेतको लगानी रहेको प्रतिष्ठित उद्योगका विषयमा जथाभावी प्रकाशन-प्रसारण गरेर त्यस्तो राम्ररी चलिरहेको अन्तर्राष्ट्रिय कम्पनीलाई ध्वस्त बनाउन खोज्ने र नेपाली जनताको स्वास्थ्य क्षमतामाथि प्रश्न उठाउने सञ्चारमाध्यहरूप्रति हाम्रो घोर विरोध छ । नेपाली जनताको अदभुत पाचनशक्तिको उच्च मूल्याङ्कन गर्दै झोल किन्दा चोक्टा सितैमा उपहार दिने कम्पनी व्यवस्थापनप्रति हार्दिक अभिनन्दन छ ।

०००
‘छोपछाप’ (२०७४)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
देशको इस्…थितिले गर्दा

देशको इस्…थितिले गर्दा

लक्ष्मण गाम्नागे
भूलचुक लिनेदिने : देवी चापागाईंको ‘बुर्कुसी’ मा गाम्नागेकाे भूमिका

भूलचुक लिनेदिने : देवी...

लक्ष्मण गाम्नागे
हामी नै हौँ एक नम्बर

हामी नै हौँ एक...

लक्ष्मण गाम्नागे