साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यदि मनग्ये पैसा कमाएँ भने

अन्तिममा भन्न चाहन्छु, त्यो भवनमा अपनत्व तपाइँले पनि लिनुहोला ।नत्र मेरो लगानी खेर गएको घोषणा गर्न वाध्य हुनेछु । तर कुरा के हो भने यि सबै कुरा गर्न मलाई धनलक्ष्मीको अपार मायाको भने अति खाँचो छ ।

Nepal Telecom ad

कमल भैरवेली :

पैसा कमाउछु जस्तो त लाग्दैन तर यदि लक्ष्मीमाताको मन पग्लिएर मलाई धनसम्पत्तिले लबालब पारिदिइछन् भने सर्बप्रथम त खुसीले दुई हात उफ्रनेछु । हुन त म कम्तिमा तीन हात उफ्रन सक्छु तर खुसीमा धेरै नमात्तिनु भन्ने मलाई राम्रोसँग हेक्का छ । त्यसैले खुसीले उफ्रदै गर्दा मैले माथि सिलिङ फेन चलिरहेको छ वा प्लेन लेन्डिङ्ग हुन थालिरहेको छ भन्ने पनि बिर्सने छैन । सम्पन्नशाली भएपछि टन्न पैसा गोजीमा राखेर सर्बप्रथम त म पान दुकानमा गएर पानको बुझो मुखमा हाल्नेछु । किनकी बर्षौदेखि पान किनेर खाने धोको भरिएको गोजोले पुरा गर्नेछ । पान चपाउदै अलि धेरै चिनेजानेका अनि आफूलाई मै हुँ ठानेका मान्छेहरूको बिचमा गएर पानको रवाफिलो बासना महकाउने छु र समसामयिक राजनीतिक बिषयमा बहस छेडिएको रहेछ भने त्यो बहसमा दरिलो सहभागिता जनाउनेछु । पुकुस्स परेको गोजीतर्फ ध्यान आकर्षित गराउँदै भावी मेयर वा सांसदको उम्मेदवारको व्यक्तित्व प्रदर्शन गर्नेछु । हालसम्मको बिराले आवाजलाई सिंहनादयुक्त गर्जनमा रूपान्तरित गर्न पनि भित्री आत्माले नै आदेश जारी कसो नगर्ला ।

गोजी भरिनु भनेको इच्छाइएका सारा कुराहरूको सहज रूपमा प्राप्ति हुनु हो । भरिएको गोजी लिएर १० हजारको जुत्ता त किन्छु नै । त्यो जुत्ता लगाएर सुनको दाम्ले सिक्री किन्न स्वणर्कारको पसलमा छिर्छु । त्यो सिक्री देखाउन मलाई इष्टमित्र, छरछिमेक वा ससुराली जान कसले रोकोस् । जहाँ गए पनि अलग मेजमानीको आनन्द बटुल्दै घर आएको म एउटा अलग्गै रवाफका साथ कार्यस्थलतर्फ हानिन्छु । कार्यस्थलमा पुग्नासाथ हाकिमले पनि नमस्कार ठोक्नेछन् मेरो परिवर्तित स्वरूप देखेर । विशेष खालको विदेशी चस्मा लगाएपछि इन्डियन नायक रजनीकान्तजस्तै देखिने सानैदेखिको रहर लगभग पुरा हुनेछ ।

घर पुग्दा नपुग्दै प्योर घ्युमा पाकेका परिकारको सुगन्धले जीवनको वास्तविक आनन्द दिन यदि असमर्थ भएछन् भने १/२ दिनको अन्तरमा घोर्ले खसीको मासुको परिकारले दिने खुसी, लोकल कुखुरा, कालिज र अस्ट्रीजको चोपिलो परिकारले निसन्देह जीवनमा नवीन ताजगी कसो नभर्लान् ।

पैसावाला हुनुको आनन्द बेग्लै ! एसीयुक्त रुममा, मखमली सोफामा बसेर टेबुलमाथि खुट्टा राख्दै कफी अर्डर गर्‍यो , आइ फोन चलायो । पार्किङमा राखेका २/३ वटा कार मध्ये एउटा अलि महङ्गो कार स्टार्ट गर्‍यो स्टार होटल छिर्‍यो । मन बहलायो । त्यसो गर्न मलाई कसले रोकोस् । पैसाको बिटोले हम्किदै बसेको मलाइ शिष्ट र नम्र भाषामा एउटी मोडेल जस्ती सुन्दरीले च्वाप्प म्वाइँ खाउलाझै गरेर भन्नेछिन्- यहाँ अलि कम्फरटेबल छैन । त्यहाँ गएर बसौ कि । भन्नुस के ल्याउँ, बिरियानी, लेगपिस वा चिकनचिल्ली ? ड्रिङ्कसमा के प्रीफर गर्नुहुन्छ नि ! म भन्नेछु एज यु लाइक । टन्न अघाएको मैले उनलाई टिप्स पनि मन फुकाएरै दिनेछु भन्ने कुरामा पाठकले शङ्का नगर्नु हुन विशेष अनुरोध गर्दछु । पैसा नभएको कारणले पो अहिले म अलि लोभी जस्तो देखिन्छु । पैसा टन्न कमाएपछि शान नै बेग्लै हुनेछ सत्ते रामाराम ।

हुन त पैसावाला मख्खीचुस भिखारी मैले नदेखेको होइन । त्यस्ता फगत द्रव्यपिचास हुन् । पैसा कमाउनु मात्र तिनीहरूको सपना हुन्छ । पैसाले जीवनमा नयाँ आयाम पनि थप्नुपर्छ भन्ने तिनीहरूलाइ हेक्का हुँदैन । म जीवनमा नयाँ आयाम थप्न पनि चाहन्छु । खाने पिउने मोजमस्तीका कुरा आफ्ना निजी चाहनाका कुरा भए त्यसो गरूंँला नगरूँला त्यो आफ्नो ठाउँमा छ । तर कुरा के हो भने धनलक्ष्मीको कोटा यदि मलाई जुरेछ भने सर्बप्रथम त मैले बहुउद्देश्यीय भवन निर्माण गर्न म कम्मर कसेर लाग्नेछु । आजका मितिसम्म आइपुग्दा हामी सिर्जना कर्मीले मनको बह पोख्ने सभाहल पाउन सकिएको छैन । कहिले रूखमुनि बसेर कौवाको बिष्टाको सामना गर्दै रचनावाचन गर्नु परेको छ । कहिले कुनै सामूदायिक विद्यालयमा कार्यक्रम गर्नु परेको छ त कहिले कुनै पार्टी प्यालेसमा भारी रकम तिरेर अलि ठूला कार्यक्रम गर्नु परेकोको छ ।

हो,यही कुराको हेक्का छ र पो मैले बहुउद्देश्यीय भवन निर्माणको कुरा गरेको हुँ । जुन भवनमा साहित्य, सङ्गीत, कला आदि प्रस्तुत होउन् भन्ने मेरो दिलै देखिको चाहना । त्यस्तो भवन जून दुरगामी महत्वको हुनेछ । पुरस्कार स्थापना मेरै लगानीमा, खाजा नास्ता मेरै लगानीमा । भोड्का बियरको छेलोखेलो पनि हुन्छ कि त्यहाँ भन्ने प्रश्न पनि उब्जन सक्ला तपाइँहरूको मनमा । अहँ, त्यो कुराको कल्पनै नगर्नुस् । बरु त्यहाँ तपाइँ आउनु भो भने रात्री वा दिवाकालिन बिश्राम गर्न पाउनुहुन्छ । फाइफ स्टार लेभलको आनन्द नमिले पनि सामान्य ढङ्गले व्यतित गर्न सक्नुहुन्छ । तर सुतेको बिस्तराको तन्ना तपाइँ आफैले तिनिक्क तन्काएर राख्नुपर्ने छ । बाथरूम आफै सफा गर्नुपर्नेछ । पान गुड्का खाएर परिसरमा थुक्न पाउनुहुन्न । नत्र दानपात्रमा जरिवाना रकम तिर्नुपर्ने नैतिक जिम्मेवारी तपाइँले लिनुपर्नेछ ।

अन्तिममा भन्न चाहन्छु, त्यो भवनमा अपनत्व तपाइँले पनि लिनुहोला ।नत्र मेरो लगानी खेर गएको घोषणा गर्न वाध्य हुनेछु । तर कुरा के हो भने यि सबै कुरा गर्न मलाई धनलक्ष्मीको अपार मायाको भने अति खाँचो छ ।

०००
भैरहवा, लुम्बिनी प्रदेश

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x