चट्याङ मास्टरको हार्डवेयर एवं सफ्टवेयर परिचय
भदौ २३, २०८० का दिन वासुदेव विद्यादेव लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार २०७९ को लागि हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गर्यो । पुरस्कार समर्पण समारोहमा पुरस्कार समर्पण गर्नुअघि पुरस्कृत गरिने हास्यव्यङ्ग्य स्रष्टाको परिचय गराउने प्रचलन अनुरुप सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले चट्याङ मास्टरको परिचय यसरी दिनु भएको थियो । — प्रधान सम्पादक ।
लक्ष्मण गाम्नागे :
जीवनमा केही अद्भूत, अनौठा र आफूभन्दा बेग्लै चरित्र वा स्वभावका मान्छेहरूसँग पनि मेरो लामो संगत र गहिरो मित्रता भएको छ । कसैसँग नडराउने, मनमा लागेका कुरा निर्धक्कसँग बोल्ने, एउटा काममा लागेपछि लागेकोलागेकै पार लगाइ छाड्ने, एकछिन चुप लागेर नबस्ने, जहिल्यै सकारात्मक र उर्जाशील, परिआए दिनकै २-४ वटा कविता सिर्जना गर्न सक्ने । म अल्छीको राजाले यो जुनीमा फेला पारेका त्यस्तै विशेष र अद्वितीय उर्जाहरूले भरिएका एक अद्भूत मान्छे हुन् चट्याङ मास्टर ।
वि.सं. २०१० साल फागुन १४ गते यो संसारमा अरु पनि धेरै बालकहरू जन्मे होलान् तर त्यो दिन कृष्णमुरारी गौतम नाम गरेको अर्को बालक शायदै जन्मियो होला । भक्तपुर जिल्लाको झौखेल बडा नं ४ न्यौपाने गाउँमा त पक्कै जन्मेन । त्यही दिन नजन्मिए पनि अरु अरु दिन अनेकन स्थानमा दर्जनौँँको संख्यामा कृष्णमुरारी गौतम र सयौँको संख्यामा कृष्णमुरारीहरूले यो धर्तीमा पदार्पण गरे होलान् । कृष्णमुरारी भण्डारी, कृष्णमुरारी अधिकारी, कृष्णमुरारी लुइँटेल, कृष्णमुरारी कुइँकेल अनेक । कुनै अर्कै भीमकुमारी गौतम र नारायण प्रसाद गौतम नाम गरेका बाबुआमाबाटै पनि कुनै अर्को परिवारमा कृष्णमुरारी गौतम नामकै छोरो पनि जन्मेन होला भन्न सकिँदैन । यो कृष्णमुरारी जन्मिएकै दिन वा त्यो भन्दा अगाडि वा पछाडि आजसम्म कति कृष्णमुरारीहरू मरे पनि होेलान् । ती सबैको यो धरामा कुनै लेखाजोखा छैन, तिनीहरूको कुनै सफ्वेयर परिचय छैन । तिनीहरूका बारे पढ्नु पर्दैन, तिनीहरूका बारे यसरी केही लेख्नु, सुन्नु, सुनाउनु पनि पर्दैन । कुनै पुरस्कारका लागि डराइडराइ वा रमाइरमाइ नाम छनोट गर्नु पनि पर्दैन, पुरस्कार दिनु पनि पर्दैन । कस्तो आनन्द । ढुक्क ।
जन्मकुण्डलीमा, स्कूलको खातामा, नागरिकताको कागजमा, अफिसको हाजिरीमा, पासपोर्टमा, लालपूर्जामा कतै तिनका नाम होलान्, तर कुनै पुस्तकमा, पुस्तकालायमा, इतिहासमा, जनजनको मनमनमा ती नाम छैनन् । तर यो कुष्णमुरारि गौैतम जसको बारेमा म केही सुनाउन खोज्दैछु, चानचुने कृष्णमुरारी होइन । लाखौँ मानिसहरूले चिनेको, जानेको, सुनेको, पढेको, भोगेको, मानेको, प्रशंसा गरेको, हात मिलाएको, रिसाएको, डाहा गरेको, तर्सेको, यो त्यस्तो कृष्णमुरारी गौतम हो । संसारका अनेक कुनामा कतिकति कृष्णमुरारीहरू कोही खेत जोतिरहेका, कोही भारी बोकिरहेका, कोही पैसा गनिरहेका, कोही लोकसेवा पढिरहेका, कोही पढाउँदै गरेका, कोही ठगिरहेका, कोही ठगिइरहेका, कोही भागिरहेका, कोही जेलमा थुनिएका, सज्जन, दुर्जन अनेक हुँदा हुन् । हुन त कोहीकोही कृष्णमुरारी ठसठसी कन्दै कविता लेख्न कोशिश गरिरहेका पनि हुन सक्छन्, कतै कतै । भविष्यमा तिनीहरू चट्याङ मास्टरका पनि हजूरबा भएर निस्कलान् वा साहित्यको यत्रो सेवा गरेँ, सरकारले कदर गरेन, कसैले पुरस्कार दिएन भन्दै रुवाबासी गर्दै पनि भेटिएलन्, त्यो पछिको कुरा भयो । तर आजसम्मको कुरा गर्ने हो भने यहाँ सम्मानित हुँदै गरेका कृष्णमुरारी सरदर कृष्णमुरारीहरू भन्दा निकै भिन्नै, निकै अग्ला, एकदमै अलग्गै, नहेरे पनि देखिने, नपढे पनि सुनिने, त्यस्ता कृष्णमुरारी हुन् ।
ती थरिथरिका कृष्णमुरारीहरूको भिडमा यी कृष्णमुरारी पनि हराउन सक्थे । कृष्णमुरारी गौतम जन्मिएको न्यौपाने गाउँँका उनकै समवयी बलभद्र न्यौपाने वा आत्माराम गौतम भन्दा यिनी किन बेग्लै भए होलान् । चाँगुनारायण प्राथमिक स्कूलमा यी कृष्णमुरारी गौतमलाई कुटेर लडाउने बलभद्र न्यौपाने बूढी औँलो र चोर औंलोले चेपेर फोक्सोको पिँधसम्म चुरसको धुवाँ तान्दै अझै दलमारा हानेका हानेकै छन् । हेर्दा ८५ वर्षका जस्ता देखिन्छन् । पद्म बहुउद्देशीय माध्यमिक विद्यालयबाट सँगै प्रवेशिका दिएका आत्माराम गौतम रक्सी खाँदा खाँदा खाँदा गरेर मरेको पनि २० वर्ष भइसक्यो । बाबुले पुख्र्यौली सम्पत्ति रक्सी खाएरै सकेको झोँकमा उसको छोराले सराद्धे गर्न छाडेको पनि १७ वर्ष भइसक्यो ।
कृष्णमुरारी गौतमले कृष्णमुरारी गौतमलाई चट्याङ मास्टरमा नढालेका भए आज यिनलाई कसले यसरी सम्मान गर्थ्याे र ? १ लाख ११ हजार १११ रुपैयाँ रकमको थैली सिँतैमा कसले चढाउँथ्यो र ? यसरी कनी कनी, शब्द र अक्षर गनी गनी यिनका बारेमा कसले पो बोल्थ्यो र ? कृष्णमुरारी मै चित्त बुझाएका भए हदै भए कृषि विज्ञ हुन्थे, देश विदेश घुम्थे, जागिर खान्थे, पैसा कमाउँथे, गाडी चढ्थे, रमाइलो गर्थे र आफ्नो बाटो लाग्थे । तर यिनले आफूलाई चट्याङ मास्टर बनाए र दुनियाँले मानसम्मान गर्नुपर्ने, पढ्नुपर्ने, सुन्नुपर्ने, सम्मान गर्नु पर्ने बनाए । साधारण कृष्णमुरारीहरू र असाधारण कृष्णमुरारीहरूको भिन्नता नै यही हो ।
खास कुरा यति नै हो । चट्याङ मास्टरलाई हामी सबैले चिनेकै छौँ । यिनी खुला किताब जस्तै मनुख्खे भएकाले कुनै रहस्य खोल्नु छैन । यिनका आनीबानी, लेखाइ, काम हामी सबैलाई थाहा छ । उही श्राद्धमा बिरालो बाँध्ने विधि मात्रै पूरा गर्नु छ । त्यो पनि अलिकति गर्छु ।
स्कूलको पढाइ सकेर रामपुर क्याम्पसमा आइएस्सी पढ्दाताकाका चट्याङ मास्टरका मिल्ने मेधावी साथी रामभरोस ठाकुरले पिएचडी गरे र जीवनभरि कलेजमा पढाए, कवितासविता लेखेनन्, कुनै समाजोपयोगी अभियानहरू गरेनन् । तिनको नाम चट्याङ मास्टरले पनि बिर्सिसके, उता ठाकुर सर चाहिँ चट्याङ मास्टर त मेरो साथी हो नि भनेर गौरव गरिरहेका छन् । पन्जाव विश्वविद्यालयमा बिएस्सी पढ्दा वा युनिभरसिटी अफ न्यू इङ्ल्यान्डबाट अर्थशास्त्रमा स्नातकोतर गर्दा वा अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट सौर्य उर्जामा डिप्लोेमा गर्दा चट्याङ मास्टरसँगै प्रथम श्रेणीमा उत्तीर्ण हुनेहरू कता कता पुगे हामीलाई थाहा छैन, धन्य यी चट्याङ मास्टर चाहिँ उछिट्टिएर हामी भए ठाउँ आइपुगे र हामीले पनि यिनलाई हाम्रो समयका एक मूर्धन्य हास्यव्यङ्ग्यकार भनेर गौरव गर्न पायौँ । भारतको पन्जाब कृषि विश्वविद्यालय, हिमान्चल विश्व विद्यालय र हरियाणा कृषि विश्व विद्यालयबाट जैविक पुनप्र्रयोग विषयमा डिप्लोमा गरेपनि, चीनको प्यासिफिक बयोग्यास रिसर्च सेन्टर छेन्दुबाट बायोग्यासमा डिप्लोमा गरेपनि, फिलिपिन्सको नेशनल इरिगेसन एड्मिनिस्ट्रेसनबाट सिँचाइ व्यवस्थापनमा डिप्लोमा गरे पनि । भन्न पनि झर्को लाग्ने गरीका ठाउँ र विश्व विद्यालय, र गनिनसक्नुका शैक्षिक डिग्रीहरू लिए पनि, पढाइमा जतिसुकै धुरन्धर भए पनि, जागिरमा जतिसुकै माथि पुगेर जतिसुकै पैसा कमाए पनि चट्याङ मास्टरलाई दुनियाँले हाइहाइ गरेको हास्यव्यङ्ग्यका लागि हो, र पछिल्लो समय सामाजिक सेवाका लागि हो । कला साहित्य वा समाजसेवाको शक्ति यस्तो भयंकर हुन्छ । चेतना भया ।
नाम चट्याङ मास्टर भए पनि औपचारिक रुपमा उनले २०३४-३५ सालमा रामपुर कृषि क्याम्पसमा सहायक प्राध्यापक भएर पढाएको बाहेक कतै मास्टरी गरेको देखिँदैन । २०३५ सालमा कृषि आयोजना सेवा केन्द्रमा कृषि विशेषज्ञ भएर ८ वर्ष जागिर खाएको कुरा चट्याङ मास्टरको इतिहास हेर्दा थाहा लाग्छ । अरु ३।४ वर्ष जति बरिष्ठ कृषि अर्थशास्त्रीको कुर्सीमा घुमेर रिँगटा लागेपछि स्वतन्त्र पेशा समात्न २०४९ सालमा कन्सल्टिङ्ग म्यानेजमेन्ट सर्भिर्सेस भन्ने संस्था स्थापना गरेर २०६० सालसम्म त्यस संस्था मार्फत् परामर्शदाता भई काम गरेको चाहिँ हामीले पनि देखेको हो । परिचय पात्रो उत्खनन् गर्दा एशियन कलेज अफ साइन्स, प्रेकर आदि अरु केही संस्थाहरूमा पनि उनी संस्थापक रहेको रेकर्ड फेला परेको छ । पेशागत सेवा प्रदान गर्ने सिलसिलामा उनले नेपाल, भारत र चीनका विभिन्न अन्तर्रास्ट्रिय र बहुरास्ट्रिय दातृ निकायकालागि विविध ग्रामीण विकास कार्यक्रमहरूमा विषय विज्ञ तथा सल्लाहकारको रुपमा काम गरेको पनि पत्ता लागेको छ ।
त्यस्ता धुरन्धर पढैया कृष्णमुरारी गौतमलाई हामीले झ्याप्पै पढाइ छोडाएर हास्यव्यङ्ग्यमा फसाएको चाहिँ २०५५ सालमा हो । वैशाखको १९ गते यिनलाई च्याप्पै समातेर सिस्नुपानी नेपालको अध्यक्षको पगरी भिराइदिएपछि चट्याङ मास्टर पूणर् रुपमा हास्यव्यङ्ग्यको बारीमा जोतिनुभएको र हामीलाई पनि जोताउनुएको हो ।
सिस्नुपानी स्थापना भएको भोलिपल्टै त्यस्तै टड्कारा हास्यव्यङ्ग्यका तारा वासुदेव लुइँटेललाई हामी भेट्न पुग्यौँ र हामी फलानो फलानो मिलेर एक अनौठो नाम भएको संस्था सिस्नुपानी नेपाल स्थापना गर्यौँ भनेर सुनायौँ । भूतका ती भिनाजुले हामी अनौठै अनौठा मिलेर हास्यव्यङ्ग्यमा त्यस्तै अनौठा काम गर्नुपर्छ, मेरो शुभकामना छ भन्दै डस्ना मुनिबाट रु ५५५५।५५ दिनुभयो । सिस्नुपानीको कार्यालय स्थापना गर्न टेबुल, कुर्सी र दराजहरू उपलव्ध गराउनुभयो । वासुदेव लुइँटेल हास्यव्यङ्ग्य पुस्तकालय स्थापना गर्न उहाँसँग भएका पुस्तकहरू दिनुभयो । यसरी भूतका भिनाजुको वात्सल्यपूणर् हौशला र चट्याङ मास्टरको कुशल नेतृत्वमा अघि बढेको सिस्नुपानी नेपालले आजसम्म पनि खासै पछाडि फर्केर हेर्नुपर्ने, कतै गल्ती गरियो कि भनेर पछुताउनु परेको छैन । सिस्नुपानी नेपाललाई स्थापनाको २-३ वर्षमै राष्ट्रिय स्तरमा परिचित र चर्चित बनाउनमा चटयाङ मास्टरले खेलेको भूमिका अतुलनीय छ, अद्भूत छ ।
२०६६ सालको कुन महिनामा हो, एक दिन अप्रत्याशित रुपमा चट्याङ मास्टरको राजिनामा आयो । मलाई अचानक सिस्नुपानी नेपालको अध्यक्ष छाड्ने उत्कट ईच्छा उत्पन्न भएकोले यो राजिनामा दिएको छु भन्ने व्यहोराको । चट्याङ मास्टरलाई लागे पछि लाग्यो लाग्यो, झ्याप्पै पारिहाल्ने ।
खासमा भएको के थियो भने उहाँको स्वभाव – भनेपछि गरिहाल्ने, आँटेपछि थालिहाल्ने, अहिले भनेपछि अहिले । हामी ए पख्नु न अलि विचार गरेर गरौँ, भोलि देखि थालौँ, भन्ने । कुद्ने र पाइला गन्नेको कुरा मिलेन । उहाँले खोजेजस्ता हामी हुन सकेनौँ । उहाँले पनि हामी जत्तिका अरु भेट्नुभएन । अनि छाड्नुभयो । अध्यक्ष छाडे पनि उहाँले सिस्नुपानी छाड्नुभएन, छाड्नुभएको छैन ।
उहाँले चुप लागेर बस्न पद छाड्नुभएको थिएन । उहाँका पिताजीलाई बिर्सने रोगले गम्भीर रुपमा सताएको थियो । पिताजीको सेवामा लाग्दालाग्दै उहाँले जेष्ठ नागरिकहरूको पक्षमा काम गर्न थाल्नुभयो । जेरियाट्रिक सेन्टर स्थापना गर्नुभयो । बत्तीसपुतलीमा आफ्नै घर र छिमेकी घरमा सेन्टर खोलेर रनघन पार्नुभयो । पछि त्यसलाई अलिक मोडेर एजिङ नेपाल बनाउनुभयो । एजिङ नेपालमा घुँडा धसेर लाग्नुभएका कृष्णमुरारी गौतम आफ्नो अभियानमा निरन्तर सफल हुनुहुन्छ । ज्येठ नागरिकहरूको हकहितका लागि उहाँले गर्दै आउनुभएका कामले राष्ट्रिय अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको छ । राज्यले पनि उहाँले अघि सारेका कतिपय नीतिलाई आत्मसात गर्न वाध्य भएको छ ।
ज्येष्ठ नागरिकहरूको पक्षमा उल्लेखनीय काम गरेकै कारण उहाँ अन्तरराष्ट्रिय जगतमा पनि सम्मानित हुनुभयो । नेपालको परिप्रेक्षमा विश्वासै गर्न नसकिने नगद राशि सहितको युनेस्कोद्वारा प्रदान गरिने The UNESCO King Sejong Literacy Prize २०२० द्वारा उहाँ पुरस्कृत हुनुभयो । यो नेपाल राज्यले नै गर्व गर्नुपर्ने विषय हो ।
ज्येष्ठ नागरिकको हकहितका लागि एजिङ नेपालको स्थापना गरेर काम गर्दै जाने सिलसिलामा कृष्णमुरारी गौतमले १०० भन्दा बढी देशमा ज्येष्ठ नागरिक विषयमा काम गर्ने संस्था Global Alliance for the Rights of Older Person (GAROP) को निर्वाचित निर्देशक समिति सदस्यको रुपमा ३ वर्ष काम गर्नुभएको छ । ज्येष्ठ नागरिकका अधिकार विषयमा अस्ट्रेलियाद्वारा आयोजित रास्ट्रिय गोष्ठीमा प्रमुख अतिथिको रुपमा आमन्त्रित भएर भूमिका निर्बाह गर्नुभएको छ । संयुक्त रास्ट्रसङ्घ न्युयोर्कमा प्रमुख बक्ताको रुपमा आमन्त्रित भएर आफ्ना प्रभावशाली विचारहरू प्रस्तुत गर्नुभएको छ । ज्येष्ठ नागरिकका विविध विषयमा आधा दर्जन पुस्तक प्रकाशित भएका छन् । यही विषयमा संयुक्त राष्ट्रसङ्घ, श्रीलंका, थाइल्याण्ड, अस्ट्रेलिया र अमेरिकामा आयोजित विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय गोष्ठीहरूमा सकृय भूमिका निभाइ यस क्षेत्रप्रतिको गहिरो लगाव र समर्पण देखाउनुभएको छ । ज्येष्ठ नागरिक नामक नेपालको पहिलो बूढ्यौली पत्रिकाको उहाँ सम्पादक हुनुहुन्छ । नेपालमा बुढ्यौली साहित्यलाई औपचारिक रुपमा घोषणा गर्ने उहाँ यसको संस्थापक र मूल अभियन्ता हुनुहुन्छ । अब आएर उहाँकै प्रेरणा र सहयोगमा मुलुकका विभिन्न ठाउँमा बूढ्यौली साहित्यका लागि संघसंस्थाहरू जन्मिएका छन् । धेरै लेखकहरू बुढ्यौली साहित्यमा कलम चलाउन थालेका छन् । राष्ट्रका लागि चट्याङ मास्टरको यो योगदान सबैभन्दा उज्यालो, सबैभन्दा महत्वपूर्ण र अविस्मरणीय हुनेछ भन्ने मैले ठानेको छु । मुलुक क्रमशः पाका नागरिकहरूको बाहुल्य भएको देशमा परिणत हुँदैछ । राज्यले यस क्षेत्रमा विशेष ध्यान पुर्याउनु पर्छ, चट्याङ मास्टरको आवाजलाई सुन्नुपर्छ ।
एकै समयमा अनेकौँ कामहरू उत्तिकै प्रभावकारी रुपमा गर्न सक्ने चट्याङ मास्टरले विभिन्न समयमा रेडियो कार्यक्रमहरू, टेलिभिजन कार्यक्रमहरू चलाउनु भएको छ । विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखन गर्नुभएको छ । एन्टेना फाउन्डेशनको स्थापना, देशान्तर, हिमाल, समकालीन लगायत अनेकौं सञ्चार माध्यम मार्फत आवाज बुलन्द गर्नुभएको छ ।
नेपाली हास्यव्यङ्ग्य साहित्य कला क्षेत्रमै समर्पित सबैभन्दा महत्वपूणर् मानिने पुरस्कार वासुदेव लुइँटेल पुरस्कारले सम्मानित हुँदै गरेको यस सुखद् अवसरमा आजसम्म चट्याङ् मास्टरले प्राप्त गर्नुभएका पुरस्कारहरूको नाम मात्रै भए पनि उल्लेख गर्नु सान्दर्भिक हुनेछ । २०५६ सालमा उहाँले प्राप्त भैरब प्रतिभा पुरस्कार पहिलो र उल्लेख्य पुरस्कार थियो । २०५७ मा नवरङ्ग साहित्य सम्मान ग्रहण गर्न झापाको धरमपुर जाँदा कार्यक्रम स्थलमा रुखैभरि चट्याङ मास्टरका तस्वीर, सिस्नुुपानीको लोगो र स्वागतका ब्यानरहरू जताततै टाँगिएका थिए । त्यो देखेर हामी आश्चर्यचकित भएका थियौँ । आयोजकले अति गरेछन् भन्ने पनि लागेको थियो तर त्यो त माओवादी कार्यकर्ताहरूले पो गरेका रहेछन् । उनीहरूले आफ्नो प्रभाव प्रदर्शन गरेका होलान् अथवा चट्याङ मास्टर र सिस्नुपानीका विद्रोही आवाजहरूलाई आत्मसात गरेका होलान् । त्यो एउटा अविस्मरणीय घटना थियो ।
चट्याङ मास्टरले २०६१ सालमा प्राप्त गरेको अर्को महत्वपूर्ण पुरस्कार पन्त स्मृति प्रतिष्ठानबाट प्रदान गरिएको गोपालराज पन्त स्मृति सम्मान हो ।
भैरव स्मृति सम्मान २०७० हेटौँडा । आनन्द देवी समाजसेवा पुरस्कार २०७०, जनकपुरधाम । भैरब पुरस्कार २०७२, काठमाण्डौ । २०७४ मा पोखरामा वृद्धाश्रमद्वारा सम्मान । २०७६ मा प्रौढ कल्याण सङ्घद्वारा भद्रा घले ज्येष्ठ नागरिक सेवा सम्मान । कति हो कति, अझै १०० भन्दा बढी संघसस्थाका नाम छन्, उहाँलाई सम्मान गर्ने । ती सबै अहिले पढेर साध्य छैन ।
चट्याङ् मास्टरका किताब पनि अलि अनौठै खालका छन् । हास्यव्यङ्ग्यमा ६ वटा किताब प्रकाशित छन् । चट्याङ गीता, चट्याङ गीता, चट्याङ गीता, चट्याङ गीता, चट्याङ गीता र चट्याङ गीता । गन्दा ६ वटा, भन्दा एउटा । एउटा निबन्ध संग्रह, अरु सबै कविता । सम्भवतः नेपाली हास्यव्यङ्ग्य कविताको संख्यामा चट्याङ मास्टर सबैभन्दा धेरै कविता लेख्ने कवि पो हुन् कि, अनुसन्धान गर्नुपर्छ । भ्रष्टाचारी, दूराचारी, व्यभिचारी, अल्छी, घुस्याहा, कामचोरहरूमाथि खरा दरा र हास्यव्यङ्ग्यको गजब सन्तुलन चट्याङ् मास्टरका व्यङ्ग्यका विशेषता हुन् । माग्ने कविता सर्वाधिक चर्चित कविता हो । लेखन र वाचन दुवै प्रस्तुतिमा चट्याङ मास्टर मास्टर पिस कवि हुन् । उसो त चट्याङ मास्टरका भजन तथा रास्ट्रिय गीतहरू पनि छन्, ती हाम्रा नजरबाट अलिक ओझेलमा छन् ।
अरु धेरै धेरै कुरा छन् चट्याङ् मास्टर बारे भन्ने । ती पछिपछि अरु सन्दर्भमा भन्दै लगिनेछ । आज भने मैले गजब काम गरेँ, एउटा किताबमा नअटाउने चट्याङ मास्टरलाई १५ मिनेटमा पढिसकिने जम्मा २ हजार ३९ शब्दमा खाँदखुँद गरेर अटाएँ । चट्याङ मास्टर, सिस्नुपानी नेपाल, बुढ्यौली साहित्य, एजिङ नेपाल, फित्कौली, वासुदेव लुइँटेल गुठी लगायत हामी सम्पूणर् हास्यव्यङ्ग्यप्रेमी, चट्याङप्रेमीहरू सबैमा बधाई, शुभकामना र धन्यवाद भन्छु । सदा स्मरणीय श्रद्धेय वासुदेव लुइँटेल भूतका भिनाजुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्छु ।
भुलचुक लिनेदिने । धन्यवाद । नमस्कार ।
०००
शितल पाखा, कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest