साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासुदेव : केही तीतामीठा सम्झना

“शिष्ट हास्यको विशिष्ट प्रयोग गरिएका रचनाहरू किन पढ्न पाइँदैन आज ? हास्यव्यङ्ग्य भनेको आफ्नो व्यक्तिगत कुण्ठा ओकल्ने माध्यम होइन, बरु यसले कलाको माग गर्छ, चिन्तन र चेतनाको विस्तृत धरातल खोज्छ, शैलीको विशिष्ट र विचित्र प्रयोगको आग्रह गर्छ । त्यसै तयार हुन्छ सुन्दर हास्यव्यङ्ग्य रचना ?”- वासुदेव लुइँटेल

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

‘भूतको भिनाजु’- अब रहेनन् । उनको नश्वर शरीर खरानी बनिसकेको छ तर ‘भीमसेन पाती’ र टिपनटापनका ठेलीहरूमा उनको हाँसो उठ्दो विचार-लेखन र हास्यव्यङ्ग्य विषयमा गरे-गराएका अनगिन्ति काम भने जीवितै छन् र दीर्घकालसम्म जीवितै रहनेछन् भन्न सकिन्छ । उनले स्थापना गरेका पुरस्कार-प्रोत्साहन र कौवा प्रकाशनबाट आकार ग्रहण गरेका स्तरीय कृतिहरूले हास्यव्यङ्ग्यको उन्नयनमा उनले देखाएको लगनशीलता, जिद्दिपन र हाँस्न हँसाउन गरिएका अनगिन्ति सत्प्रयासद्वारा नेपाली साहित्य क्षेत्रलाई उनले लगाएको गुन भने मान्नैपर्ने हुन्छ ।

२०३३ सालतिर हो, मैले उनलाई पहिलोपल्ट चिनेको । “दरबारको मान्छे” भनेर मेरो एउटा मित्रले सुटुक्क उनको परिचय दिएकाले सुरुमा मैले उनलाई धेरै वास्ता गरिनँ तर ‘ठठ्यौलो स्वभाव’ र हास्यव्यङ्ग्य भनेपछि मरिहत्ते गर्ने उनको थप परिचयले चाहिँ मलाई उनीसित टाढा हुन पनि दिएन । उनको घर पहिल्याउँदै उनलाई भेट्न गएँ । तीन अक्षरको महाकाव्यका रचनाकार लुइँटेलले आफ्नो घरको बाहिरी भित्तोमा आफ्नो ‘मृत्युतिथि’ समेत लेख्न लगाएर मृत्युसित खेलाँची गरेको देखाएकोमा केही उदेक लाग्नुका साथै ‘बूढा सनकी पो हुन् कि ?’ जस्तो पनि लागेको थियो प्रथमतः मलाई । तर त्यस मितिलाई धेरै वर्षसम्म छलेर उनले काललाई ‘माछो माछो भ्यागुतो’ बनाउन सफल भएकोमा बधाई दिन थालेको त मैले हास्यव्यङ्ग्यलाई पो धन्यवाद दिन पुगेछु किनभने यसै विधाले नै बूढालाई त्यो हिम्मत र हौसला दिएको ठहर रह्यो मेरो । उनलाई टिप्न आएको कालले बरू उनकी दुवै पत्नीहरूलाई क्रमशः टपटप टिपेर लग्यो तर बूढालाई छुन भने हिम्मत गर्न सकेन, किनभने उनी कालसित डराएनन् र ऊसित जीवनको भिक्षा पनि मागेनन् । बरु ऊसित ठट्ठा पो गरिरहे- आँखा मिचौनी गरिरहे । काल आँसु रुचाउँछ- हाँसो ठट्ठा त जीवनका लक्षण पो हुन् ! तर ‘हास्ने हसाउने सबैको अधिकार हो’ भनेर ठान्ने बूढा आफ्नै स्वर्गीय पत्नीहरूको कुरा उठ्दा भने आफ्ना गह भिजाउँथे रे भन्ने कुरा धेरैबाट सुनेको छु । बरु त्यो पनि एउटा व्यङ्ग्य नै भयो कि ?

२०५० साल साउनतिर म एउटा हास्यव्यङ्ग्य कवितासङ्ग्रहको पाण्डुलिपि बोकेर उनलाई भेट्न मदन पुस्तकालय गएको थिएँ । विष्णु प्रभात पनि त्यहीँ थिए । मैले कौवा प्रकाशनको हवाला दिएर पुस्तक प्रकाशनको जोहो गरिदिन अनुरोध गरेँ तर उनले बरु मेरो फोटो खिचे तर प्रकाशनको नाममा बाहिरको बाटो औँल्याइदिए । बरू पछि प्रभातको ‘खुर्सानी’ छापेछन् बूढाले । मलाई उनीबाट कुनै प्रोत्साहन मिलेन । त्यसैले मेरो मनमा तीतो भरियो । पुनः अर्को वर्ष म उनीसित भेट गर्न गएको बेला ‘मैले सबै व्यवहार छाडिसेँ, छोरासित माग्नु भनेको कुन्नि केजातीको लिँड मागे जस्तै हो मजगैयाँ बाबू ! हिँड्नु छ भने आफ्नो बाटो आफैँ खन्नुपर्छ…’ भनेर पुनः फर्काईदिए । मेरो यो पुस्तक धेरैपछि मात्र २०५४ सालमा लेखक सङ्घ दाङले छाप्यो । बूढालाई यो पुस्तक दिन उनको घरसम्म गएँ ‘केही संस्थाका व्यक्तिहरूले हास्यव्यङ्ग्य क्षेत्रलाई डुबाउने भए’ भनेर ‘हासने’प्रति केही सङ्केत गरी बूढाले गुनासो प्रकट गरे । यसै साल मेरा अरू तीनवटा निबन्धसङ्ग्रह (साझा प्रकाशन, ने.रा.प्र.प्र., हासने) पनि प्रकाशित भएपछि पुस्तक दिन पुनः गएको त बूढाले मलाई गम्रङ्ग अँगालो हालेर “लौ, अब पश्चिम नेपाल पनि हास्यव्यङ्ग्यमा जाग्यो” भनेर निकै प्रशन्नता व्यक्त गरे । प्रथमपल्ट मप्रति अभिरुचि देखाएर एक झोला पुस्तकहरू पनि सौजन्यवश बोकाइदिए । यस अवसरमा जयराम शर्मा पनि उपस्थित हुनुहुन्थ्यो । मैले पनि पुराना कुरा सबै बिर्सें र उनीसित मेरो हिमचिम बढ्दै गयो । म बीसौँपल्ट उनको घरमा गएको छु र पटकैपिच्छे नौलो सोच र थप उत्साह बोकेर फर्केको छु ।

एकपल्ट उनले मलाई एकजना स्वनामधन्य साहित्यकारसित भेट्ने सल्लाह दिए- त्यसबेला भूपालमान सिंह कार्की प्रतिष्ठानको कुनै पुरस्कारको चर्चा पनि चलेको थियो सायद । भर्खरै श्यामप्रसादजीले सीताराम प्रतिष्ठानको पुरस्कार लिएर आलोचित भइरहनुभएको घटना पनि ताजै थियो । मैले “यस्ता पुरस्कारहरूले साहित्यकारहरूको उपहास गरेको” जस्तो विचार व्यक्त गर्नासाथ बूढाले मलाई बेस्सरी हकारिहाले । भने- “यो एउटा फिजुलको सोचाइ हो । नालाको गन्दा पानी नै सही, यदि मर्दै गरेको विरुवा बाँच्छ भने सिञ्चन गर्नैपर्छ । गहकिलो रकमको पुरस्कार छ भने यसले लेखकको भलो अवश्य गर्छ ।” मलाई के बोलूँ, के बोलूँ भइरह्यो । तर मनमा “मलाई त्यस्तो अवसर प्राप्त भए पनि म आफ्नो कलम किमार्थ बेच्दिनँ” भन्ने थप अठोट जाग्यो र मैले सानो कविता पनि लेखिहालेँ ।

“भुईं छुँदासम्म झुक्नु भो
पालतु कुकुरझैँ भुक्नु भो
दान सजिलै लँुड्याउन
मौका कहाँ पो चुक्नु भो !
अरू सबै पछि परे
तपाईं नै पहिला पुग्नु भो,
लौ छिटो चाट्नुस् हजुर
दाताले मनग्ये थुक्नु भो !”

त्यही साँझ फोनबाट यो कविता बूढालाई सुनाइहालँे तर बूढा रिसाएर धूमचक्र ! हुन त ती स्वनामधन्य साहित्यकारलाई मेरा पुस्तकहरू पहिले उनको घरमै गएर दिइसकेको थिएँ (घटराज भट्टराईको ‘नेपाली लेखक कोश’मा नाम समावेश गराउने उद्देश्यले) बूढाले भन्दाभन्दै पनि म फेरि उनीहरूलाई भेट्न गइनँ । परिचय र विन्तिपत्रका भरमा पुरस्कारको चाहना राख्ने बालो म होइन तर केही लेखन्तेहरूको यस्तो रोगबारे मलाई जानकारी छैन भेनर ढाँट्न पनि सक्तिनँ । बरु २०५६ सालमा भैरव पुरस्कार गुठीले मलाई ‘भैरव प्रतिभा पुरस्कार-२०५५’ दिने निधो गरेकोमा म साँच्चिकै खुशी भएको हुँ । पुरस्कारको राशि थोरै किन नहोस् तर त्यो भैरवको नाउँको पुरस्कार थियो । लेखकहरूमा पुरस्कारको घोषणा भइसकेपछि ‘लिन्न’ भन्ने प्रवृत्ति बढ्न थालेपछि अब घोषणा हुनअघि नै एकपल्ट सोध्ने चलन चलेकाले रोचक घिमिरेजीले ‘रकम त सानो छ, तर लिनुहुन्छ ?’ भनेर मलाई दाङमा फोन गरेर सोध्नुभयो । ‘भैरव मेरा मनपर्ने लेखक हुन् । उनको नाउँको पुरस्कार एक रूपैयाँको मात्र भए पनि मलाई स्वीकार्य छ” भन्ने मेरो जवाफ पाएपछि रोचकजी खुशी हुँदै मेरा कुनै व्यङ्ग्य रचनाको पुस्तक भैरव पुरस्कार गुठीबाटै प्रकाशन गर्ने इच्छा पनि प्रकट गर्नुभयो ।

‘तिमी नरहे देश डुब्न्या छ’ शीर्षकको कवितासङ्ग्रह यसै गुठीले छाप्यो र त्यही पुरस्कार वितरण समारोहमा वरिष्ठ लेखक जनकलाल शर्माबाट विमोचित पनि भयो । पुरस्कार थाप्नुभन्दा एक दिनअघि म वासुदेव लुइँटेललाई भेट्न गएको थिएँ । बूढाले पुरानो तीतो सबै बिर्सेका रहेछन् । मैले गुठीको उन्नतिका लागि पुरस्कारको सबै राशि गुठीलाई नै दान दिने कुरो गर्नासाथ बूढाले मलाई अँगालो हालिहाले । गजबको संयोग पनि परेछ- त्यसैबेला बूढालाई रोचकजीको फोन पनि आयो । बूढाले खुशी व्यक्त गर्दै भने- “मैले पहिले नै भनेको होइन ? दङाली हो- लोभी किन हुन्थ्यो ! मोफसलको लेखक भएर पनि राजधानीको संस्थालाई माया गर्‍यो ।” मैले रोचकजीलाई तत्काल फोनमा “पाउने पुरस्कार राशि मात्र होइन, त्यसमा अरु थपेर ५५५५।- पुर्‍याउने मेरो विचार छ” भनेँ । बूढा थप खुशी भए । म देख्दै थिएँ हास्यव्यङ्ग्यकार भैरव र उनको नामको संस्थाप्रति बूढाको सद्भाव र सत्प्रेम ! उनको मुखमण्डलको आभा मेरो असली पुरस्कार थियोे भने रोचकजीको “हार्दिक धन्यवाद” शब्द मेरो ठूलो पूँजी थियो । म स्वाभाविक रूपमै गदगद भएँ ।

२०५७ को राष्ट्रिय प्रतिभा पुरस्कार लिन म काठमाडौँ गएको बेला पुनः बूढासित भेट गर्ने सुयोग मिल्यो । कवि तथा गीतकार कालीप्रसाद रिजालले भने “उक्त पुरस्कार लिन्न” भनेर वक्तव्य निकालेका रहेछन्- बूढा त निकै तातेका ! “सस्तो लोकप्रियता बटुल्ने प्रयासमा साहित्यकारहरू ‘विदूषक’ बन्न किन खोज्छन् खोई ? मलाई धेरैको फोन आइसक्यो- सबैले उनलाई दोहोरो चरित्र देखाएको, राष्ट्रकै अपमान गरेको भनेर आलोचना गरेका छन् । लिनु वा नलिनुमा उनको आफ्नो निजी विचार होला तर यथार्थमा पुरस्कार अस्वीकार गरेर उनले विवेक त पुर्‍याएनन् है !” भनेर तीतो प्रतिक्रिया व्यक्त गरिहाले । साथै मलाई हार्दिक बधाई दिँदै “यस पुरस्कारको रकमले हास्यव्यङ्ग्यको नयाँ पुस्तक छपाऊ है !” भनेर हौस्याए पनि । उनले हास्यव्यङ्ग्यसम्बन्धी जे जति रचनाहरू गरेका छन् त्योभन्दा पनि बढी यस विधालाई प्रतिष्ठा दिलाउन र यसको उन्नतिका लागि जे जति अथक प्रयास गरेका छन् त्यसलाई अहिलेसम्म अन्य कसैले पनि उछिन्न सकेको छ जस्तो लाग्दैन मलाई । भोलिको कुरा समयकै जिम्मा दिऊँ ।

एकपल्टको यस्तै भेटको क्रममा (यसपल्ट पनि जयराम शर्मा साथमै हुनुहुन्थ्यो) “अहिले हास्यव्यङ्ग्य लेख्ने राम्रो लेखक कुन्” भनेर मैले सोध्दा बूढाले प्रायः सबैको न्यूनाधिक आलोचना नै गरे । अघिल्लो पिँडालीलाई पछिल्लो पिँडालीले आफै मारे, बालमुकुन्ददेव पाण्डे र श्रीधर खनाल थोरै लेखेर छिट्टै रित्तिए, रामकुमार पाण्डे धेरै लेखेर त्यसै पात्तिए- हलुकिए, श्याम गोतामे मुडी रहेछन् र आफैँमा सीमित र अन्तर्मुखी छन्- बाँकी अरु कसलाई राम्रो भनूँ खै ? ‘हासने’ले केही उल्लेखनीय गर्न सकेन, बरु ‘सिस्नुपानी’को टिमले केही गर्छ कि भन्ने आशा जागेको छ ।” कुरैकुरामा बूढाले ‘पुरस्कार दिन योग्य व्यक्ति पाइने हुन् कि होइनन् भोलि ?’ भनेर गहिरो चिन्ता पनि प्रकट गरे । “हास्यव्यङ्ग्य लेख्न कठोर साधना, दूरदृष्टि र विशिष्ट चिन्तन चाहिन्छ- खै, भैरव जस्तो विशिष्ट साधक जन्मन त अब गाह्रै लाग्छ । तर आशा पनि मारिहाल्नु त भएन नि !” भनेर खुइय्य सास फाले बूढाले ।

उनका आँखाभरी भैरवले निर्माण गरेको हास्यव्यङ्ग्यको स्वणर्ीम युगको सम्झना व्याप्तिएको देख्न कुनै गाह्रो परेन मलाई । जयराम शर्मा (जो स्वयम् एक राम्रा हास्यव्यङ्ग्य लेखक हुन्)को अनुहारमा पनि अतिशय गम्भीरता नाचिरहेको पाएँ मैले । त्यो भैरवप्रतिको सम्मोहन त थियो नै, तर वास्तविक रूपमा हास्यव्यङ्ग्य साहित्यमा आएको अश्लील, छाडापन र भाँडभैलो, नाम किटाएर गरिएका व्यक्तिगत गालीगलौज र सतही घोचपेचले स्तर खस्किँदै गएको अवस्थाप्रतिको गम्भीर चिन्ता पनि थियो त्यो । “शिष्ट हास्यको विशिष्ट प्रयोग गरिएका रचनाहरू किन पढ्न पाइँदैन आज ? हास्यव्यङ्ग्य भनेको आफ्नो व्यक्तिगत कुण्ठा ओकल्ने माध्यम होइन, बरु यसले कलाको माग गर्छ, चिन्तन र चेतनाको विस्तृत धरातल खोज्छ, शैलीको विशिष्ट र विचित्र प्रयोगको आग्रह गर्छ । त्यसै तयार हुन्छ सुन्दर हास्यव्यङ्ग्य रचना ?”- बूढाले आफ्नो गहिरो असन्तुष्टि पोख्दै थिए, हामी भने उनको कथनमा निहित भावको तीव्रता अनुभूत गर्दै थियौँ ।

बूढाले कसैलाई सितिमिति आफ्नो अन्तर्वार्ता दिंदैनन् भन्ने सुनेको थिएँ तर उनी त कुरैकुरामा प्रभावकारी विचार ओकल्दा रहेछन्- मात्र उनलाई हास्यव्यङ्ग्य साहित्यको वर्तमान र भविष्यबारे चिन्तित तुल्याइदिन पर्ने रहेछ ! सिपीमा विजातीय कण बल्झेर मात्रै मोती बनेझैँ बूढाको हृदय पनि पीडाले बल्झिएपछि मात्रै उनले विचारका मोती झार्दा रहेछन् । घर व्यवहारको, देश-काल-परिस्थितिको वा आफ्नो आर्थिक दूरावस्थाको चर्चा होइन बरू हास्यव्यङ्ग्यको भूत, वर्तमान र भविष्यको चिन्ताले पो उनी त बढी आक्रान्त हुनपुग्दा रहेछन् ! उनले भनी पनि हाले- “हास्यव्यङ्ग्य साहित्य नै होइन भन्नेहरू पनि होलान्, तर यसभित्र सबै कुरा अटाउन सक्छ । त्यसैले हास्यव्यङ्ग्य भनेको सम्पूणर् साहित्य हो । अरूले आफ्ना रचनामार्फत परिस्थिति देखाउलान्- हामी स्थिति परिवर्तनको चाहना व्यक्त गर्दछौँ । अरूले कुण्ठा र निराशा प्रकट गर्लान् तर हामी जीवन र उज्यालोको वकालत गर्छौं ।” यस पटकको भेटमा पनि मैले आफ्नो चेतनाको क्षितिज केही उघ्रेको नै ठानेँ । जयरामजीको गम्भीर अनुहारमा पनि यस्तै प्रभाव व्याप्तिएको पाएँ मैले ।

सबै कुरा भनेर साध्य छैन र यस सानो लेखमा सबै प्रभाव लेख्न पनि सम्भव छैन । तर दाङको हास्यव्यङ्ग्य गोष्ठी (२०५६ फागुन १९ र २०)लाई भने सम्झनैपर्ने हुन्छ । लेखक सङ्घ दाङ र नेराप्रप्रको संयुक्त आयोजनामा राष्ट्रिय रूपमै सम्पन्न भएको त्यो प्रथम हास्यव्यङ्ग्य गोष्ठी थियो । हास्यव्यङ्ग्य साहित्यकारहरू, कलाकारहरूको अपूर्व जमघट भएको त्यस गोष्ठीमा वरिष्ठ हास्यव्यङ्ग्यकार बलमकनद, श्रीधर खनाल, मोराश, रामकुमार पाण्डेका साथै वासुदेव लुइँटेललाई पनि सम्मान गर्ने कार्यक्रम थियो । तर बूढालाई दाङ ल्याउने मेरो धोको भने अधूरै रह्यो । उनको अशक्त र बृद्ध शरीर र अबदेखि यस्ता कुनै कार्यक्रममा नजाने उनको ढिपी थाहा पाएर दुःख पनि लाग्यो तर उनीबाट २८ थान पुस्तक (केही पुस्तिकाहरू पनि) र शुभकामना प्राप्त गरेर लेखक सङ्घ दाङले उनीप्रति हार्दिक आभार प्रकट गर्‍यो भने सम्पूर्ण कार्यक्रमको भिडियो क्यासेट उनलाई उपलब्ध गराएर सानो ऋण तिर्ने प्रयास गनि गर्‍यो । चाहे २०३० जेठ ४ गतेको हास्यव्यङ्ग्य गोष्ठीको विशिष्ट क्षण होस् चाहे सिस्नोपानीको तिहारको भैलो कार्यक्रम नै किन नहोस् बूढाले हास्यव्यङ्ग्यप्रति देखाएको अनन्य पे्रम, उत्साह र कौवा प्रकाशन तथा विशिष्ट पुरस्कारको स्थापना गरेर देखाएको सद्भाव बिर्सन सकिने कुरा होइनन् । कालले “बूढालाई मारेँ” भन्दो हो तर “तँ आँसु दिन्छस् तर हामी हाँसो बाँड्छौँ । भन् त कुन ठूलो ?” भनेर कालमाथि पनि व्यङ्ग्य गरिरहने छन्, बूढाका सत्कार्य र उनका विशिष्ट रचनाहरूले । अहिलेलाई यत्ति ।

०००
दाङ
फित्कौली, पूर्णाङ्क १२, हास्यदेव वासुदेव लुइँटेल विशेष (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x