सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देशको इस्…थितिले गर्दा

देशको इस्थिति विचार गरेर पोहोरपरारजस्तै यसपालि पनि जसोतसो उतै बस्नुहोला । आघौँ साल देशको इस्थिति विचार गरेर पराघौँ साल आएर सराघौँ साल म बाआमालाई धरोधर्म यता ल्याउँछु ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

बाले ‘घर आइज-घर आइज’ भनेर किचकिच गर्न थालेको चार वर्ष भइसकेको थियो । पहिला त ‘देशको स्थिति ठीक नभएकाले’ आउन नसक्ने जानकारी गराउँदै बालाई भल्स्याङभुल्सुङ पार्दै टार्दै थिएँ । अब चाहिँ के भनेर टार्ने हो भनेर विचार गर्दै गर्दा बाले पोहोर साल लेखेर हुलाकमा हालेको एउटा चिट्ठी एक वर्ष पनि नपुग्दै अचानक आइपुग्यो । मेरा बाले लेखेको चिट्ठी सबै दुनियाँदारका लागि लाभदायक होला भन्ने ठानेर जस्ताको तस्तै पेश गरेको छु । जो आदेश ।

प्यारो छोरा, शुभ आसिक छ ।
देशको इस्थिति तँलाई थाहै छ । देशको इस्थितिले गर्दा यसपालि भैँसी पनि तुहियो । भकारी पनि चुहियो । देशको इस्थितिले गर्दा गाईले पनि राम्ररी दूध दिएन, बाच्छाले पनि खोले पिएन । देशको इस्थितिले गर्दा कोरली गाईलाई अहिलेसम्म गोरु लागेको छैन । धानको बीउ पनि पटक्कै जागेको छैन । देशको इस्थितिले गर्दा यसपालि खेतीपाती पनि राम्रो नहोला जस्तो छ । घरको हालत दिनदिनै खस्तो छ ।

देशको इस्थितिले गर्दा खडेरी पर्‍यो र धानको ब्याड सुकेर मेरो कपाल जस्तो भयो । कुलामा एक थोपो पानी आउन छाड्यो, बरु मान्छेको रगत जताततै बगेको देखिन्छ । रगत जति बगे पनि खेतमा सिँचाइ गर्न मिल्दैन क्यारे ।
देशको इस्थितिले गर्दा तेरी आमालाई उही पुरानो रोग बल्झिएर थला परेकी छ । देशको इस्थितिले गर्दा गाउँको अस्पतालमा डाक्टर छैनन् । देशको इस्थितिले गर्दा यहाँको अस्पतालमा पिउनलाई नै डाक्टर मान्नुपर्छ । देशको इस्थितिका बारेमा मैले तँलाई के भनौँ, माले गोरु मरेको कुरा भनौँ कि माथ्लाघरेको गाईको भँडाल्नो निस्केको कुरा गरौँ । देशको इस्थिति बिग्रेपछि त केके हुँदो रैछ केके, तेरा काइँला काकाका छोरा ठाइँलाले माथ्ला गाउँका माइला दर्जीकी छोरी उडाएछ । डाइरेक् ल्याएर हाम्रै घरमा हुल्यो । देशको इस्थितिले गर्दा मैले पनि केही भन्न सकिनँ । गाउँका ठिटाहरूले ‘मान्छे भनेको सबै एउटै हो’ भने मलाई जिउँदै खाउँलाझैँ गरे, हामीले पनि ‘होला ता नि’ भनेर चित्त बुझायौँ ।

देशको इस्थितिले गर्दा ठूली कान्छी पनि पोइल गई । देशको इस्थितिले गर्दा अन्तरी काकीलाई बोक्सी लागेर झन्डै सिद्धिएकी थिई, कसोकसो बाँची । के गर्ने, देशको इस्थितिले गर्दा एसो ४-५ हजार रुपैयाँ दाम नभई नहुने भो । देशको इस्थिति विचार गरेर राइँला भिनाजुका हातमा ८-१० हजार जति रुपैयाँ दाम जसरी पनि पठाइदे । तँलाई यस्तरी चेपुवामा पार्ने विचार त थिएन तर के गर्ने देशको इस्थितिले गर्दा नपेली नहुने भो । १५्र-२० हजार जति रुपैयाँ पठाइनस् भने देशको इस्थिति विचार गरेर हामी बूढाबूढी त्यतै आउँछौँ । देशको इस्थिति विचार गरेर कि त २५ हजार रुपैयाँ दाम पठा, कि त हामीले जुत्तामच्चा कस्यौँ ।
उही तेरा प्राणभन्दा प्यारा बा-आमा ।

बाको चिट्ठी पढेर एकछिनसम्म त म जिल्ल परेँ । मुलुकको उद्योग, व्यापार-व्यवसाय राम्ररी नफस्टाउनु, स्कुल-कलेज राम्ररी नचल्नु, यातायात-पर्यटन व्यवसाय ठप्प हुनु, वित्तीय संस्था डुब्नु, गाउँघरबाट युवाहरू पलायन हुनु इत्यादि कुरा देशको इस्थितिले गर्दा भएका होलान् भन्ने मेरो अन्दाज थियो । तर देशको इस्थितिको असर हाम्रो समाज र जनजीवनमा यत्ति गहिरो गरी पसेको होला भन्ने मैले कल्पनै गरेको थिइनँ । बाको चिट्ठी पढेर म एकदमै स्तब्ध भएँ । मैले सो चिट्ठीलाई अत्यन्त गम्भीरतापूर्वक लिएँ र जिम्मेवार ढङ्गले त्यसको जवाफ फर्काएँ, यसरी-

बा । देशको इस्थितिले गर्दा बाका गोडामा साष्टाङ्ग दण्डवत् गर्न नपाको पनि धेरै भो । चिट्ठीबाटै भए पनि ढोगेको छु, हिँड्न ठिक्क परेका जुत्तामच्चा खोलेर खुट्टा जोड्नुहोला । देशको इस्थितिले गर्दा यसपालि पनि म आउन सकिनँ र बा-आमालाई यता बोलाउन पनि सकिनँ । देशको इस्थितिका बारेमा मलाई भन्दा बालाई धेरै ज्ञान छ । बाका सामु मैले धेरै जान्ने हुनु मुनासिव हुँदैन ।

देशको इस्थितिले गर्दा तपाईँकी बुहारीले यसपालि फेरि अर्को बच्चो जन्माई । देशको इस्थितिले गर्दा जागिर, घर, भातभान्सा, अदुवा, बेसार, ज्वानु, सर्ट, प्यान्ट, ब्लाउज, पेटिकोट, धोती इत्यादि सबैसँग एक्लै दोेहोरो, तेहोरो, चौहोरो भिडन्त गर्नुपरेको छ । देशको इस्थितिले गर्दा घरबेटीले भाडा बढायो र एक साँझ नराम्रोसँग मुठभेड भएपछि म अन्तै डेरा सरेँ । अहिलेको डेरामा पुग्न साह्रै गाह्रो छ, कत्तिपटक मै पनि हराएर अन्तै गएर बास बसेको छु । देशको इस्थितिले गर्दा एउटै कोठालाई हामीले बेडरुम, किचनरुम, डाइनिङरुम, रिडिङ्रुम, सुत्केरीरुम, चारोटै छोराछोरीको डान्सिङरुम, फाइटिङरुम, प्लेग्राउन्ड बनाएर जसोतसो मिलेर, अटाएर बसेका छौँ । त्यहीँमाथि हजुर पाल्नुहुन्छ भने निर्धक्कसँग पाल्नुहोस् न त । मलाई जन्म दिने देवतासमानका बाआमालाई नआउनोस् भनेर म भन्छु र । ? मैले त देशको इस्थितिको बारेमा सामान्य जानकारीमात्रै दिएको होे । हजुर आउनुभयो भने फोल्डिङ् खाट एउटा किनौँला, दिनभरि ठड्याएर भित्तामा किला ठोकेर अड्याएर राखौँला, बेलुकाको खाना खाएपछि किचनलाई खाटमुनि हालेर बेडरुमलाई खोलौँला । मस्तले सुतौँला घुरीघुरी ।

बाले देशको इस्थितिका बारेमा पक्कै बुझ्नुभो होला । देशको इस्थितिले गर्दा हिजोआज मलाई रिस पनि बढी उठ्ने गर्छ । देशको इस्थितिले गर्दा शरीरमा सुगरको रोग देखापर्‍यो । डाक्टर र श्रीमतीले जत्ति सम्झाए पनि एकदुई गिलास झम्केझोल नपिई निद्रै लाग्दैन । देशको इस्थितिले गर्दा झोल पनि अलिअलि खाँदैखेरि बेस्कन लाग्छ । रक्सी लागेपछि स्वास्नी, छोराछोरी, बाबुआमा कसैलाई चिन्न छाडेको छु अचेल । सबैले भन्छन्, यो पनि देशकै इस्थितिले गर्दा भएको हो ।

मेरो प्यारो बा । देशको इस्थिति विचार गरेर पोहोरपरारजस्तै यसपालि पनि जसोतसो उतै बस्नुहोला । आघौँ साल देशको इस्थिति विचार गरेर पराघौँ साल आएर सराघौँ साल म बाआमालाई धरोधर्म यता ल्याउँछु । पैसा त म यसैपालि पनि पठाउने थिएँ तर बाको चिट्ठीका आधारमा बालाई खासमा कति पैसाले खाँचो परेको हो भन्ने खुट्याउन मैले सकिनँ । पराघौँ साल अलि स्पष्ट बुझिने गरी लेख्नुभयो भने झराघौँ सालसम्ममा देशको इस्थिति विचार गरेर म पैसा पठाउनेछु अथवा हजुरहरूलाई यतै बोलाउनेछु ।

देशको इस्थिति एकदमै गोलमाल छ बा । घरभित्रै नारा-जुलुस, ढुङ्गा-मूढा, बम-बन्दुक, आगो-एम्बुस, ओलम्पिक, विश्वकप सप्पै चल्छ । ऊ तपाईँकी बुहारीले तिर्र सिट्टी बजार्ई । छोराछोरी छन् नि असतीहरू, कुनचाहिँ बिन लादेनले हान्यो होला जर्जबुशका ढाडमा । चिट्ठी बिचैमा रोकेर लागेँ है बा केटाकेटीको डँडाल्नु भाँच्न ।

०००

सितलपाखा, कीर्तिपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
पाकाले रमाइलो गर्ने पिरलो हटाउने !

पाकाले रमाइलो गर्ने पिरलो...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने