सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यको सन्दर्भ र  मीनप्रसादका व्यङ्ग्य कविता 

लामिछानेजीका कविताका केही नमूना हरफहरू मैले माथि प्रस्तुत गरेँ । यस सङ्ग्रहका पङ्क्तिहरूले हाम्रो समाजको विकृति, विसङ्गतिमाथि ठट्टाले ठटाउन र व्यङ्ग्यले बजाउन खप्पिस देखिनु भएको छ ।

Nepal Telecom ad

मकवानपुरगढी मक्राञ्चुलीमा लडीबुडी खेल्दै हुर्किएका व्यङ्ग्य कवि मीनप्रसाद लामिछानेजीलाई मैले चिनेको लगभग दुई दशक भयो । साहित्यिक कार्यक्रममा उहाँको बेजोड व्यङ्ग्य कविता प्रस्तुतिबाट म निक्कै प्रभावित हुन्थें / हुन्छु । निक्कै कविताहरू सुनिसकेपछि झण्डै ३/४ वर्ष अगाडि सङ्ग्रह निकाल्ने हो कि भन्ने कुराकानी सुरु भएको हो । सङ्ग्रह निकाल्न उचाल्ने काम मबाट पनि भएकोले होला एकदिन उहाँले आफ्नो हास्यव्यङ्ग्य कविता सङ्ग्रह ‘मैले जिउन जानिनँ’ को पाण्डुलिपिमाथि चिरफार गर्ने जिम्मेवारी मलाई सुम्पनु भयो ।

जे होस् मकवानपुरे माटो हास्यव्यङ्ग्यको लागि उर्वर भूमि नै ठहरिएको छ । झण्डै दुई दशक अगाडि सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) ले हेटौंडालाई हास्यव्यङ्ग्यको राजधानी घोषणा गर्नु भएको थियो । त्यो अहिले सही सावित भएको छ । यसवर्ष मात्र यो कविता सङ्ग्रह बाहेक दुईथान हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह (गोविन्द पौडेलको ’गिलासवाद’ र राजकुमार लामिछानेको ‘बुद्धिपुराण’ प्रकाशित भइसकेका छन् ।

हास्यव्यङ्ग्य क्षेत्रमा कलम चलाउनेको सङ्ख्या नेपालमा धेरै छैन । हास्यव्यङ्ग्य विधा नभएर एउटा शैली हो । तर जुनसुकै विधामा पनि यो शैलीले स्थान पाएकै हुन्छ । यसै सन्दर्भलाई लिएर भारतीय समालोचक डा.सुवास कुमारले भनेका छन्- “व्यङ्ग्य उत्कृष्ठ लेखनको आन्तरिक प्रकृति हो । उत्कृष्ठ रचना चाहे त्यो कुनै पनि विधामा किन नहोस् अनिवार्यतः अन्ततः व्यङ्ग्य नै हुन्छ ।” कविता निश्चय नै कथा, निबन्ध जस्तो लमतन्ने हुँदैन ।

कविताको थोरै हरफबाट धेरै भन्न सकिन्छ; त्यो धर्म लामिछानेजीले निर्वाह गर्न खोज्नु भएको छ । नेपालमा हास्य व्यङ्ग्य लेखकको र त्यसमा पनि कविता सङ्ग्रहको क्षेत्रमा खडेरी पर्दै गएको छ भन्दा अत्युक्ति नहोला । यस्तो हुनाको कारण हास्यव्यङ्ग्य लेख्न सजिलो नभएरै हो भन्ने मेरो ठहर रहेको छ । व्यङ्ग्य लेख्दा शिष्ट भाषामा घुमाउरो पारामा प्रस्तुत गर्नुपर्दछ । जसका लागि लेखिएको हुन्छ, पढ्दा उसले आफैँलाई भनेको ठानोस् र उसले सच्चिने मौका पाओस् । हिजोआज नारा र गाली लेखेर हास्यव्यङ्ग्य भन्नेहरू पनि देखिन थालेका छन् । यस्ता गालीले तत्काल ताली त पाउँछन् तर कालजयी हुँदैनन् । जे होस् यस सङ्ग्रहले भने व्यङ्ग्य कविताको अभाव पूर्तिमा एउटा इँटा थप्ने काम पक्कै गरेको छ ।

हास्यव्यङ्ग्यको सिर्जना विसङ्गतिको खोइरो खन्न सङ्गतिको कामनाको ओहिरोका लागि गरिन्छ । यही कुरालाई मनन गर्दै लामिछानेजीले समाजका कुनै पनि क्षेत्रमा देखिएका विकृति विसङ्गतिमाथि आफ्नो कविता मार्फत् व्यङ्ग्यवाण वर्षाउन लागिपर्नु भएको छ । विशेषतः यस्ता विकृति विसङ्गतिको उपजमा मलजल पुर्‍याउने काम टड्कारो रूपमा राजनीति क्षेत्रबाट भएको देखेर भोगेर होला उहाँको कवितामा बढी राजनीतिक व्यङ्ग्यले स्थान पाएको देखिन्छ ।

कुरा कविताबाटै सुरु गरौं ’कविता के हो र कस्तो हुनुपर्छ ?’ भनी कविजीहरूलाई सोध्ने हो भने कवि पिच्छे फरक फरक धारणा पाउन सक्छौं । लामिछानेजीको कवितामा जनता र देशको वास्तविक अवस्थाको चित्रण गर्नुका साथै सत्य र न्यायको पक्षमा वकालत गरेको पाउँछौ । त्यसैले उहाँले कविता कस्तो र कसरी लेख्नु पर्छ भनी आफ्नो ‘सुन्दिनँ म तिम्रा कविता’ शीर्षकको कविता मार्फत् कविहरूलाई यसरी सचेत गराउन तम्सनु भएको छ :

तिम्रा कविता कोरा शब्दजाल हुन्, जसमा प्राण हुँदैनन्
र त सुनिन्छन् बिर्सिन्छन किनकि तिनले मन हुँदैनन्
मन छुन त कविता लेख्ने होइन, लेखिनु पर्छ
त्यसमा नेपाल र नेपालीको सच्चा अनुहार देखिनु पर्छ
तिमी कहिल्यै त्यसो गर्न नजान्ने
अनि किन मैले तिम्रा कविता सुन्ने ?
त्यसैले,
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा कविता ।

यहाँ सर्वसाधारण सोझाहरूलाई भनौँ वा आम नेपालीलाई बाँच्न मुस्किल छ । उही ‘सोझो औँलाले घिऊ आउँदैन’ भनेझैँ बाँच्नका लागि यहाँ जालझेल, चतुर्‍याईं चाकडी चाप्लुसी गर्नु पर्ने स्थिति रहेको कुरालाई कविले ‘मैले जिउन जानिनँ’ भन्ने गहकिलो व्यङ्ग्य चेतले ओतप्रोत भएको कविताका हरफबाट यसरी व्यङ्ग्यवाण बर्साउनु हुन्छ :

छोरा छोरी भोकै राख्, बरु आफू न’खा
तर हाकिम भेट्न जाँदा
उसको कुकुरलाई पाउरोटी लिएर जा
यसबाट तेरो पदोन्नति हुन्छ, तैंले सुख पाउँछस्
एउटै शङ्करको परिक्रमा नगरेर, किन सुमेरु धाउँछस्
कुमारका कुरा छोड़, गणेशलाई गुरु मान्,
भनेर सम्झाउनु भा’कै हो हजुरले, मैले मानिनँ
हो बा, मैले जिउन जानिनँ ।

व्यङ्ग्य करुण र कटु दुबै हुन सक्छ । नेपाल दुख्दा कविको मन दुख्नु स्वाभाविकै हो । कुनै पनि देश क्षेत्रफलको हिसाबले सानो वा ठुलो हुन सक्छ, तर सार्वभौमको हिसाबले सबै मुलुक बराबर हुन्छन् भन्ने तथ्यलाई दृष्टिगत गरी भूपरिवेष्ठित नेपालले पटक पटक दक्षिणी नाकाबाट भोग्नु परेको असैह्य पीडाका कारण ‘ठुलाघरे काका शीर्षकको कवि मार्फत विदेशी हस्तक्षेपमाथि यसरी आक्रोश व्यक्त गर्नुहुन्छ मीनप्रसादजी :

यस्तो काम त पैला पनि भा’को हो एकताका
बन्द गरेकै हुन् काकाले आफ्ना नाका
अचम्म छ बा सधै एउटै भाका
हामी लुक्न नजान्ने, फुक्न नमान्ने
अमरसिंहका सन्तान हौं भन्ने कुरा
यिनले बिर्सेका कि बुझ पचा’का
काँ’ सम्मका डाँका
ठुलाघरे काका ।

पटक पटक फेरिरहने काला गोरा जुनसुकै पार्टीको सरकार आए तापनि देशमा शान्ति सुरक्षा, अमनचैन कायम गरी जनताको जीवनस्तर उकास्नेतर्फ पटक्कै ध्यान पुयाउन नसकेको र उही ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेको स्थिति देखेर, भोगेर कवि चिन्तित भएर सीता र द्रौपदीलाइ बिम्बको रूपमा उभ्याएर हास्य व्यङ्ग्यको धर्म निर्वाह गर्दै घुमाउरो तरिकाले ‘केही फरक पर्दैन’ भन्ने कविता मार्फत शासक वर्गमाथि चोटिलो व्यङ्ग्य प्रहार गर्न सफल हुनु भएको छ :

केही फरक पर्दैन हामीलाई
शासक रावण हुन् कि राम
हामी त केवल सीता न हौं
एउटाले दासी बनाएर पाल्छ
अर्कोले जिउँदै आगोमा हाल्छ ।

केही फरक पर्दैन हामीलाई
शासक पाण्डव हुन् कि कौरव
हामी त केवल द्रौपदी न हौं
एउटाले जुवामा हार्छ
अर्कोले सभामा नाङ्गेझार पार्छ ।

बहादुर, दरवान, लाहुरे, भाडाका सैनिक आदिका नामले ख्याति कमाएका यो देशमा विगत केही वर्षदेखि युवा युवती बेरोजगारीका कारण विशेषतः खाडी मुलुकमा पुगेका र कयौं कफिन (काठको बाकस) मा फर्किनु परेको हृदयविदारक दृश्य र परदेशमा भोग्नु परेको नेपालीका पीडाले असैह्य भएर लामिछानेजीले चसक्क बिझ्ने अनुप्रासयुक्त ‘म त नेपाली’ भन्ने कविता मार्फत् यसरी वर्षनु हुन्छ :

अन्त्यमा, जेथा जमानी राखेर खाडीमा आ’को छु
यहाँ पनि गधाले नपाउने दुःख पा’को छु
थाहा छैन अझै कति हन्डर खान बाँकी छ
किनकि, म त नेपाली मेरो नामै काफी छ ।

हिजो आज मान्छे मोबाइलका फेसबुकमा अनावश्यक रूपमा समेत व्यस्त भएको देखिन्छ । वास्तवमा आधुनिक संसारमा मोबाइल ज्ञानको भण्डार हो । तर यसको सदुपयोग गर्न नजान्दा उही चलाउन जाने भाँडो नत्र ठाँडो भन्ने उखान झैँ भएको छ । सहरमा मात्र हैन गाउँघरमा समेत यसले साम्राज्य जमाएको छ । हामीले समाजमा विकृति वाहकका रूपमा मोबाइलको करामतबारे बेलाबेलामा समाचार पढ्न र सुन्न पाएकै छौं । हो यही विषयलाई समेटेर मेरो गाउँ भन्ने कवितामा रोचक पाराले प्रस्तुत हुनुभएको छ लामिछानेजी :

भान्सामा तरकारी डढे पनि,
हिँड्दा बाटामा लडे पनि
फेसबुकको क्रेजमा कुनै कमी आएको छैन
कसैलाई हिरो, हिरोइनको नाम सोध्यो भने
तिन पुस्ते बताउन अघि सर्छन्
तर उनीहरूकै हजुरबुबाको नाम सोध्यो भने चाहिँ
गुगलमा सर्च गर्छन्
यस्ता छन मेरा गाउँका युवाहरू
मेरो गाउँ यस्तो छ,
भन्नुहोस् तपाईंको चै कस्तो छ ?

व्यङ्ग्यको उद्देश्य समुदाय, समाजमाथि प्रहार मात्र हैन, शिक्षा पनि दिनु पर्छ । हामी २१ औं शताब्दीमा आइपुग्दा पनि पुराना कुरीति र कुसंस्कारको जालोबाट उम्कन नसक्नु वा प्रमाणित हुन नसकेका कुरालाई मान्यता दिइने अन्धविश्वासी परम्पराको घेरोको फेरोबाट बाहिर निस्कन नसकेको देखेर यी वाहियात कुरा हुन् भनी ‘हाम्रो घरमा चर्पी छ’ भन्ने कविता मार्फत् यसरी सचेतना जगाउन लागि पर्नु भएको छ :

धूर्त शासकहरूवाट पेलिएका
कुरीति र कुसंस्कारको जालोले जेलिएका
हामी,
सर्प र बिरालोले बाटो काट्यो भनेर यात्रा रोक्छौं
र सोचेको पुगोस् भनेर मन्दिर मन्दिरमा गएर निधार ठोक्छौं
हिँड्न लाग्दा अगाडि काग करायो भने हामी डराउँछौं
कसैले हाछ्यूँ गर्‍यो भने उसलाई गाली गर्छौं, कराउँछौं
खास खास अङ्क र बारहरू प्रति पूर्वाग्रह राख्छौं
केटाकेटीलाई ज्वरो आयो भने ‘नेपाले’ लाग्यो भन्छौं
र देवी देवता भाक्छौं ।

यस्तै किसिमको छ अर्को कविता ‘वर्गीय विभेद’ जसमा कसैले खान नपाएर कोही भोकभोकै बस्नुपर्ने, कतै पुजाआजाका नाउँमा खानेकुराको दुरुपयोग हुन गएको विषयलाई समेटेर सरल भाषामा चोटिलो प्रहार गर्न सफल देखिनुहुन्छ लामिछानेजी :

कत्रो बिडम्बना,
कसैले खानेकुराको खोजीमा कोसौं हिँड्ने गर्‍या छ
कसैलाई पेट घटाउन कुद्नु पर्‍या छ
कतै धर्मको नाउँमा मुरीका मुरी अन्न डढ्छ
त्यतिकै फलफुल र दुध मन्दिरमा चढ्छ
तर खै कसले खान्छ,
सब कुहिएर खेर जान्छ
यसरी,
एकातिर खानेकुराको यति बिघ्न दुरुपयोग गर्छन्
अर्कातिर खान नपाएर मान्छे भोकै मर्छन
यो बेथितिलाई तोड्नुपर्छ
मानवताको साङ्लोले सबैलाई जोड्नुपर्छ
अनि बन्छ सुन्दर समाज, भेदभाव हटाउने
धनी गरिब छुट्याउने रेखा मेटाउने ।

लामिछानेजीका कविताका केही नमूना हरफहरू मैले माथि प्रस्तुत गरेँ । यस सङ्ग्रहका पङ्क्तिहरूले हाम्रो समाजको विकृति, विसङ्गतिमाथि ठट्टाले ठटाउन र व्यङ्ग्यले बजाउन खप्पिस देखिनु भएको छ । यस सङ्ग्रहका सबै कविता उत्तिकै उत्कृष्ठ छन् म भन्दिनँ । पहिलो सङ्ग्रह हो । भविष्यमा आउने कृतिले अझ निखारता पाउने नै छन् । अन्तमा, मीनप्रसादजीको उर्जाशील सृजनात्मकता र दक्षता अभिवृद्धिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

०००
हेटौंडा-४, भैरव रोड
‘मैले जिउन जानिनँ’ (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा