आर.सी. रिजालआगामी प्रधानमन्त्री
विरोध अन्तरविरोध भए तापनि ठूला साना सबै नेता एकमत भएर एउटै बसमा चढेका थिए । यात्रा हँसीठट्टाका साथ बढ्दै थियो, बीच बाटोमा एउटा समस्या आइपर्यो

मूल लेखक : आनन्द भारती
देशको दुर्दशाबारे आजभोलि सबै राजनीतिक दलहरू चिच्याइरहेछन् । सबैको आआफ्नै रोदन छ अर्थात् आआफ्नै स्टाइल छ । तर यो देशको दुर्दशामा कोही पनि जिम्मेवारी बहन गर्ने पक्षमा देखिदैनन् । एक अर्कालाई हिलो छ्याप्ने काम गरिरहेछन् ।
वास्तविक समस्या यस्तो छ अब कसको आरोपमाथि विश्वास गर्ने ? पत्रिकाबाट तथ्य कुरा बुझौँ भने दसओटा पत्रिकाको दसथरी नै टिप्पणी हुन्छन् । वास्तवमा असली कन्फयुजन । त्यसलाई हुन्छ जो धेरै किसिमका पत्रिका पढ्छ । जसले एउटा मात्र पत्रिका पढ्छ त्यसले आफ्नो दृष्टिकोण सफा राख्छ र विवेकपूणर् बहस पनि गर्न सक्छ । त्यसैले नेताहरू आफ्नो नाम कति ठाउँमा लेखिएको छ त्यो हेर्न विभिन्न पत्रिका खरिद गर्दछन् तर समाचार कसैले पढ्दैनन् र विश्वास पनि गर्दैनन् । जो नेताहरू पत्रिका बदलीबदली पढ्छन् तिनीहरू ज्यादै ज्ञानी र समझदार हुन्छन् ।
जब देशको दुर्दशामाथि जिम्मेवार को हो भनी निणर्य गर्ने समय आउँछ तब सबैका आँखा पत्रिकाको पानामा पुग्छ । एकपक्षले आफ्नो बयान प्रकाशित गरी अर्को पक्षलाई निसाना बनाउँछ । संसद्मा हातमा पत्रिका हल्लाइहल्लाई यसको जिम्मेवार को हो ?” भनी कुर्लन्छन् । वास्तवमा जब कुनै निणर्य गर्ने समय आउँछ अनि त्यसलाई असफल पार्न सबै एकै स्वरमा कराउँछन्- पत्रिकाको समाचारमाथि विश्वास गर्न सकिन्न । पत्रिकाको टिप्पणीको आधारमा कसैमाथि कारवाही गर्ने प्रावधान हाम्रो संविधानमा छैन ।” यहाँ कसैमाथि कसैलाई विश्वास छैन। कोही कसैको अधीनमा छैन । अनुशासनलाई अनपढ र असभ्यताको नमुना मान्दछन् । लोकगीतलाई गाउँले गीत भन्दै हेला गर्छन् । पपगीत गाउनेहरूलाई सहरिया वा विकसित भन्छन् र औकात बढेको मान्छन् ।
केही दिनअगाडि मात्रको कुरो हो । सबै दलका प्रमुख नेताहरू आफ्ना सहयोगीसहित देशको दुर्दशामाथि शान्तिपूर्वक विचार गर्न सहरी कोलाहलबाट टाढा एकान्त स्थलतर्फ लागे । विरोध अन्तरविरोध भए तापनि ठूला साना सबै नेता एकमत भएर एउटै बसमा चढेका थिए । यात्रा हँसीठट्टाका साथ बढ्दै थियो, बीच बाटोमा एउटा समस्या आइपर्यो सबैभन्दा अगाडि सिटमा गुजराल, केशरी र अटल बिहारी थिए । तीनजना नेता मौसमको बारेमा गफ गर्दै थिए । मौसम ज्यादै रमाइलो भएकोले अटलजी आफ्नो कविता वाचन गर्दै थिए । त्यसैले उनी आफूहरू बसेका सिटको सिसा पूरै बोल्न चाहन्थे । तर केशरीजी आफू दमको रोगी भएको कारणले झ्यालको सिसा पूरै बन्द गर्न चाहन्थे । यी दुई नेताको समस्या सुल्झाउन गुजरालले जुक्ति निकालेर झ्यालको सिसा आधा खोल्ने आधा बन्द गर्ने सुझाव राखे ।
एउटै सिटमा बसेका तीन ठूला नेताको बहस यसरी बढ्यो कि बस रोक्नै पर्ने भो । बसमा रहेका दोस्रा पुस्ताका नेताहरू कोही वास्तविक समस्या बुझ्न लागे भने कोही कुरै नबुझी आफ्नो नेताले जे भन्यो त्यसैमा लोली मिलाउन लागे । बसभित्रको चर्काचर्की बहसमा ड्युटीमा बसेको विनाटिकटवाला कन्डक्टरले दिलचस्पी लिनु स्वभाविकै हो । कन्डक्टरले कुरा बुझ्यो र त्यो हल्ला साम्य पार्न चिच्यायो- “कृपया चुप लाग्नोस् जुन झ्याल आधा खोल्ने, बन्द गर्ने र पूरा खोल्ने बारेमा यहाँहरू लड्दै हुनुहुन्छ त्यो झ्यालमा सिसा छैन । त्यस्तो झ्याल खुल्ला होस् या बन्द के फरक पर्छ ?”
अब तपाईंहरूको सोच्ने पालो ती प्रमुख नेताहरूको के हालत भयो होला ? बसको पछाडि सिटमा बस्ने नेताहरूले कन्डक्टरलाई बेजोड होनहार प्रतिभा भएका व्यक्ति माने साथै दोस्रो पुस्ताका नेताहरूले कन्डक्टरलाई प्रधानमन्त्री बनाउने निधो गरे । तर कन्डक्टरले यो प्रस्ताव रस्वीकार गर्दै भन्यो- “सिसा नभएको बसको झ्यालबारे यस्तो गलफती भयो भने विनापुँजी, अनादिमाग, विनानीति भएको देश कसरी चलाउने ? तपाईंहरूले नै चलाउनुस् ।” बसका साना नेताहरूले कन्डक्टरको कुरा बुझे, तर ठूला नेताहरू… । ठूला नेताहरू देशको दुर्दशाबारे चिन्तित भइनै रहे ।
‘भोलारामको आत्मा’ बाट
Subscribe
Login
0 Comments
Oldest


































