आर.सी. रिजालदुर्व्यसनी
मान्छेको मासु खाँदा त के हुँदासमेत आफन्त मार्ने रोग सर्छ र आफ्नै वंश सखाप हुन्छ भन्ने ज्ञान दिलाउन पर्यो भन्या पो त। ल आजलाई यी खुराफाती मान्छे जातिका कुरा छाडौँ पछि गर्दै गरौंला' भन्दै गिद्ध आफ्नो काम सिद्ध गरेर उड्यो ।

आर.सी. रिजाल :
स्यालका छाउराछाउरी स्पाल स्वरमै हुँ हूँ हुँइया गर्दै कोलाहल मच्चाइरहेका थिए। बाउआमाले अस्ति ल्याएको सिनु खान फिनु लागेर हो कि दाँतले चिनुसमेत लाएका थिएनन् ।
बिहान सिकारको खोजीमा गएको माउस्याल आफै भोकले व्याकुल मई आइपुग्यो । छाउराछाउरीले सिनु नदारी चाउरी पार्दै गएको देखेर हैन ए घोरमुखा सन्तान गलगिद्ध घिचेर भुँडी पल्टाएर सुते भैहाल्यो” भन्दै हकारी। छाउराले “नाई आमा नाई त्यो नखाने हेर्दै दिगमिग लाग्छ भन्यो। माउले कैयौंपटक फकाई। आफूले सिनु दार्दै उनीहरूतिर सार्दै लोभ्याई। छाउराछाउरीले मुन्टो बटारे। उसको पालो एक/दुई पञ्जामारी तैपनि टेरपुच्छर लाएनन्। यत्तिकैमा मान्छेको लास च्यापेर बाउस्याल आइपुग्यो। छाउराछाउरीले लासको गन्ध चाल पाए अनि “बाले मीठो सिनु त्याउनु’भो” भन्दै मुख बाए।
स्यालदम्पति आफ्ना सम्पत्तिले मान्छेको लास चिथोरेको देखेर व्यावहारिक गफमा लागे। हेर घोरमुखिनी ३/४ दिनदेखि मान्छेको लासको आसमा निकै भौतारिएँ। १० वर्ष भयो होला मसानपातिर नगएको। मैले त बाटो नै भुलेछु। ते एकहुल मलामी देखें र पछिपछि लागें। बच्चा मरेको रैछ गाडेर हिँडे, मेरो पालो सजिलै खोसेर ल्याएँ।
स्याल दम्पतीको गफलाई भङ्ग गर्दै एउटा गिद्ध ओढार अगाडिको ढुङ्गोमा टक्क बस्न आइपुग्यो र भन्यो। “नमस्कार है, स्याल दाजुभाउजू। म त साहै आपत् परेर आ’को। मेरो बचेरो नहै बेचरो भयो। भोकले सहिद होला भन्ने त्रास। अलिकति सिनु पैंचो दिनुस् न ।”
‘गिद्धदेवर हाम्रो बेहोर थाहै छ। दुःखमा नै मित्र चिनिन्छ भन्छन्। पछाडि हेर्नुस त. गोरुको लिनु, टोक्न सक्दो टोक्नुस्, बोक्न सक्दो बोक्नुस् ।” “जन्तुको सिनु त टोड्कामा टन्न छ स्यालनी भाउजू। हिजो गिद्धिनीले जिद्धि गरेर बचेरोलाई कोच्याइछे। त्यो सिनुले बचेरोको पेटमा डामेछ क्यारे, म त डरले कामे । छाद्नु र छेर्नु गर्दै झण्डै वेर्नु निकालेको। तै पछि तङ्ङ्ग्यो। मलाई त एक अनुवा भए पनि मनुवाकै सिनु चाहियो। त्यसलाई जन्तुको सिनुमा मिसाइदिन्छु। मनुवाको गन्ध पउनासाथ बचेरोको चेहेरा खुसीले मुसी हुन्छ ।”
घाेरमुखाले “गिद्धमाड म पनि ४/५ दिनदेखि मान्छेको लासको तलासमा चार्नसम्म चारै, बल्ल आज एउटा पिउसो फेला पारेँ। हैन, हिजोआज नेपालका मान्छे आपसमा भिड्न र गिड्न छाड्या हुन् कि। कतै फेरि मसानकै छेउछाउमा आसन जमाउन जान पर्ने त हैन ? लौ न गिद्धे दृष्टि लगाउनु पर्याे ।
‘अब दृष्टि लाएर लासको सृष्टि होलाजस्तो छैन, स्यालदाइ। अस्ति मैले दुई बटुवाले रुखको फेदमा गफ गऱ्या सुन्या- मान्छेले युद्धविराम गऱ्या रे। यस्तो बेला मान्छेको मान्छे मार्ने स्वतन्त्रता हरण हुन्छ रे ।”
“हैन गिद्धभाइ मान्छेले अब वीरगति प्राप्त गर्दैनन् त ।”
“हरे। यदि साँच्चैका भगवान छन् भने उनको कानमा यस्तो कुरा नपुगोस् । आपसमा काटमारलाई म वीरगति मान्दिन । स्यालदाइ बरु मान्छेले आत्महत्या गर्न छाडे कि क्या हो भन्नुस् न।” “गिद्धभाइ अब हामले मान्छेको लासको आस नगर्ने त ?”
“स्यालदाइले कस्तो डेव्रो कुरा गऱ्या। मान्छेले मान्छेलाई समान हक र अवसर प्रदान गर्दै गर्दैन । यसो नगर्दासम्म मान्छेको समस्या टर्दै टर्दैन। यसलाई युद्धविराम हैन आराम गऱ्या ठान्नुस । बरु अव हामी आफ्नो सन्तानको भविष्य निर्माणतर्फ लागौं ।
“हाम्रो बच्चाको भविष्य कसरी कच्चा भयो। गिद्धभाइ ?” “हुन त मान्छे भरपर्दो उपद्रो प्राणी हो। तैपनि यस्ताका भरपर्दा हाम्रा सन्तान आत्मनिर्भर नहुने भए। दारा र पञ्जाको बलले पशुपक्षी हलाल गर्दै जङ्गल चरुवा हुनुपर्ने तपाईंका छाउरा मान्छेको लासको ताकमा पर्दा पानी मरुवा भएका छन् ।”
“अब के गर्ने त गिद्धभाइ ? बच्चाहरूको प्राण जोगाउन ज्यूँदा मान्छेलाई आक्रमण गर्ने त ?” स्यालदाइलाई मान्छेको आराम-विरामले हराम तुल्यायोजस्तो लाग्यो, ज्यूँदालाई आक्रमण गर्नु गिद्ध धर्मविरुद्ध हुन्छ । आफूलाई सभ्यताको चुलीमा हुली मानवता भुलिसकेका मान्छेको मासुले स्याल बुद्धिलाई ‘कु’ गर्यो कि क्या हो। उहिले त तपाईंलाई चलाख जम्बुमन्त्री भन्थे। मैले त मान्छेको मासु खाने बानी परेका हाम्रा नानीहरूलाई दुर्व्यसनी हुनबाट जोगाउन जन्तु भएका भनेर के भन्नु, आपसमा जन्तुभन्दा तल्लो व्यवहार गर्ने रोगले राम्ररी गाँजेको मान्छेको मासु खाँदा त के हुँदासमेत आफन्त मार्ने रोग सर्छ र आफ्नै वंश सखाप हुन्छ भन्ने ज्ञान दिलाउन पर्यो भन्या पो त। ल आजलाई यी खुराफाती मान्छे जातिका कुरा छाडौँ पछि गर्दै गरौंला’ भन्दै गिद्ध आफ्नो काम सिद्ध गरेर उड्यो ।
०००
२०६४, जेठ
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)
Subscribe
Login
0 Comments
Oldest







































