सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तेरो बाबुको पिण्ड लडाइस् हैन ?

पद र प्रतिष्ठाको डाहाले छटपटाई पार्टीमा दरबन्दी कम भएको कारण राष्ट्र, जनता र पार्टीलाई लातमार्दै नयाँ पार्टी खोल्नेहरुलाई पनि कुपिण्ड घिच्यो मन्न थालेका छन् ।

Nepal Telecom ad

आर.सी. रिजाल :

पिण्ड भन्नाले हिन्दूहरुको मृत्युपश्चात् तिनका सन्तान वा निकटका नातेदारहरुले पुरेत बाजेको रोहवरमा मह, घ्यू, दही, दूध र केरा मिसाएर तयार पारेको भातको वा जौँको पिठोको डल्लो हो । पिण्डलाई अर्को तरिकाबाट पनि परिभाषा दिन सकिन्छ, “पिण्ड हावा तान्न बिर्सिएर यो लोकलाई त्यागी परलोक जानेहरुलाई तयार गरिएको खुराकरुपी भातको भकुण्डो हो । साँच्चै भन्ने हो भने सांसारिक मायाजालबाट मुक्ति पाएकालाई मात्र यो प्रदान गरिन्छ ।”

माथि हामीले पिण्डको परिभाषा पढ्यौ । अब यसको उत्पादन स्थलतर्फ लागौँ । पिण्ड विश्वको धेरै राष्ट्रमा तयार गरिने भए तापनि यसको मुख्य थलो नेपाल र भारत नै हो । यी दुई राष्ट्रमा मात्र सालाखाला ९० प्रतिशत पिण्ड लडाइन्छ होला । तसर्थ यी दुई राष्ट्रलाई पिण्ड उत्पादक क्षेत्र भनेमा अत्युक्ति नहोला । हाम्रो देशमा पिण्ड बाह्रै महिना तयार गरिने भए तापनि विशेषगरी आश्विन महिनामा पर्ने सोह दिन अर्थात सोह श्राद्धमा अत्याधिक मात्रामा तयार गरिन्छ । घरघरमा पिण्ड लडाइने हुँदा यो समयलाई “पिण्डेसिजन” भन्ने चलन पनि छ । पिण्ड निर्माण गर्दा बाहुन बाजेलाई साक्षी राख्नु परेकोले बाजेलाई मजासँग ख्वाइप्याइ गराइन्छ ।

एक दिनमा तीन चार घरसम्म साक्षी बस्नुपर्ने हुँदा बाजेहरु लाइटफूड (पायस/खीर) मात्र रुचाउँछन् । त्यसैले सोह्र श्राद्धको बाजेहरुलाई “सिजन लागेको बाहुन” भन्ने चलन छ । जस्तै “धानको सिजन, जाडोको सिजन, कुकुरको सिजन” भनेझै हो । हिन्दूहरुको मृत्युपश्चात् पितृले पिण्ड सेवन गर्छन् भन्ने कुरा म चाहिँ पत्याउदिनँ । नमरी नर्क र स्वर्ग पक्कै देखिन्न होला ? आफैँ मरेर पिण्ड नखाएसम्म बेप्रमाणका गफलाई कसरी पत्याउने ?

सधैँ भात खानेले भात देख्दा पितृको याद आएको हुँदैन । तर पिण्ड यस्तो डल्लो हो जसले मृतकको सम्झना दिलाउँछ । यसरी विचार्दा पिण्डलाई स्मरण दिलाउने वस्तुको रुपमा पनि मान्न सकिन्छ । महाकवि लक्ष्मीप्रसादले मानव देहलाई “मासपिण्ड” भनेका छन् । साहित्यकार मोदनाथ प्रश्चितले दाजुबहिनी गोठमा पिण्ड सेलाउन जाँदा बहिनीहरुलाई बोरै पिण्ड खान दिएर दाजुले बढी पिण्ड खायो, हामीलाई दिएन भन्ने मनसायको लेख मैले “अतीतका पाइलाहरु” भन्ने पुस्तकमा पढेथे । कस्तो दर्दनाक अवस्था छ, नेपालीहरुको । जिउँदैमा पिण्ड खानुपर्ने । अक्षता नदेख्नेले पिण्ड देखेपछि र्‍याल काढ्नु स्वाभाविकै हो ।

कुन स्थानमा हो कुन्नि, मैले ठाउँ बिर्से दशैँको टीकाको दिन बच्चाहरुको हातपछाडि लगेर डोरीले बाँधेर टीका लगाइदिन्छन् रे । तैपनि बच्चाहरु टीका थापि सक्नासाथ गाईले बाच्छा-बाच्छी चाटे मैँ एकले अर्काको निधारमा रहेको अक्षता चाटेर खान्छन् रे । कतै मृत्युलाई पनि पिण्ड खायो भन्ने चलन छ ।

पिण्ड खाने कुनै निश्चित समय वा तिथि हुँदैन । जल, थल ? नभ तीनै ठाउँमा पिण्ड खान सकिन्छ । कोही प्लेनमा, कोही बसमा, कोही पानीमा, कोही खाटमा, कोही भूइँमा, कोही भात अड्केर र पानी सर्केर पिण्ड खाएका यहांहरुले देख्नु वा सुन्नु भएकै होला । त्यस्तै शारीरिक रुपले कमजोर, पाका मानिस र सम्भाव्य दुर्घटनाप्रति वेवास्ता गर्नेलाई ‘पिण्ड खान तयार भएको’ भन्ने चलन छ ।

मानिसहरू कसैलाई गाली गरेर ‘खान जा’ भन्नुको सट्टा ‘जा तेरो बाबुको पिण्ड लडा’ पनि भन्छन् । त्यस्तै नखा भनेर राखेको खानेकुरा चोरेर खाएमा त्यस्तालाई ‘तेरो बाबुको पिण्ड लडाइस् हैन’ ? भनेको सुनिन्छ । राम्रो र नराम्रो जुनसुकै पक्षबाट पिण्डको उच्चारण गरिएको होस् पिण्डले आमा बाबु र छोराको सम्बन्ध सदा कायम राख्दछ ।

पिण्डको यत्रो महिमा भएर पनि मानिसहरु पिण्ड खान किन डराउँछन् ? हुन त जीवन मानव कल्याणको लागि हो भन्नेहरु बमगोल छातीमा बसेँ पनि पिण्ड खान तयार हुन्छन् । तर यस्ताले खाने पिण्डलाई पिण्डमात्र भनेर हुदैन यसलाई शहादत पिण्ड वा सुपिण्ड भन्नु उपयुक्त हुन्छ । अर्काथरी मानिस जो जीवन जिउनको लागि मात्र भन्ने सोचाई राख्छन्, यस्ताहरू पिण्डको नाम सुन्नासथ बाघ देखेर गाई बर्के झैँ बर्कन्छन् । वर्तमान समाज एवं राजनैतिक क्षेत्रमा नयाँ नयाँ विकृतिको जन्म भएर हो कि हाल एउटा नयाँ पिण्ड स्वीकृत हुन आएको छ त्यो हो कुपिण्ड । तपाईंहरूले यसले भन्न जानेन पिण्डभन्दा ठूलो त कुभिण्डो भन्न पर्ने ठान्नु भयो कि ? त्यसो हैन, जस्तै कसैले परिवार (बूढा आमाबाबु कलिला भाइबहिनी) का लागि आफ्नो स्वार्थ भनौँ वा बाक्लो दाल खान छुट्टिएको छ भने त्यस्ताका आमाबाबुलाई ‘खै छोरा’ भनी सोधेमा “त्यो हाम्रो लागि कुपिण्ड घिचे बराबर भयो” भन्छन् । त्यस्तै राजनैतिक क्षेत्रमा पनि एउटा संगठित पार्टीलाइ आफ्नो हैसियत नपुगेको तर पद र प्रतिष्ठाको डाहाले छटपटाई पार्टीमा दरबन्दी कम भएको कारण राष्ट्र, जनता र पार्टीलाई लातमार्दै नयाँ पार्टी खोल्नेहरुलाई पनि कुपिण्ड घिच्यो मन्न थालेका छन् ।

कसैको अर्धेलो आइलागेमा त्यस्तालाई पनि पिण्ड भन्ने चलन छ । यस्ता अर्धेलालाई ‘भालुको कनपट’ वा ‘घिचाको बिरालो’ पनि भन्छन् । यस्ता व्यक्तिबाट छुटकारा पाउँदा लामो सास फेरेर ‘बल्ल पिण्ड छुट्यो’ भनेको सुनिन्छ । अर्धेलो पिण्डसमेत गर्दा ६ किसिमको पिण्डबारे लेखियो ।

पिण्ड भनेका पिण्डै हो । जब मानव शरीर नै मांसपिण्ड हो भने पिण्डको महिमा गाउँन र महत्व दर्शाउन हामीले कन्जुस्याँइ गर्नुहुँदैन । किनभने हिन्दूहरूमा पिण्ड नबाटी सुख्खै छैन । श्राद्ध गर्नु पर्ने जातले पिण्ड चाहे कुपिण्ड होस् या सुपिण्ड पिण्डेप्रथामा विश्वास राख्नेहरूले कुनै न कुनै रुपमा कुनै न कुनै पिण्ड दान प्रदान गर्दै आएका छन् । बरू तपाईं हामी अत्याधुनिक भनाउँदा मानवहरूचाहिँ सुपिण्ड पाउने सुकर्मतिर लाग्ने हो कि ?

०००
हेटौंडा
कण्ठ लँगौटी (२०५७)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल