लास
म रणभुल्लमा अल्झेको देखेर उहाँले मैले बोकेको फूलको भाँडो लिनुभयो र फूलहरू देखाउँदै भन्नुभयो; ‘यी फूलहरू आफ्ना आमाबासँग हुँदा हाँसेका थिए; बाँचेका थिए । तैँले मुन्टो छिनाइस् र ज्यान लिइस् ।’
नन्दलाल आचार्य :
‘मुर्दा बोकेर आर्यघाट जानुपर्नेमा शिवमन्दिरमा किन लाइन लागेको ?’ म फूलप्रसादका साथ पूजाआजाका लागि शिवमन्दिरमा उभिँदा बिर्खे दाइले भन्नुभयो ।
‘तँ मात्रै हैन यहाँ अधिकांश मलामीहरू हँसिलो चेहरामा खडा छन् ।’ उहाँले पुनः अर्को व्यङ्ग्य गर्नुभयो ।
मैले चारैतिर नजर लगाएँ । मुर्दा र मलामी कतै देखिनँ । मेरो दिमाग फनफनी घुम्न थाल्यो ।
‘तेरो मुन्टो काटेर झोलामा हाले तँ नन्दलाल नै रहिरहन्छस् त ?’ उहाँले अर्को प्रश्न तेर्साउनुभयो ।
मैले जवाफ दिइरहनु उपयुक्त ठहर्याइनँ र चुपचाप बसेँ ।
‘तँ लास मात्रै हुन्छस् । त्यस अवस्थामा तँलाई बोक्ने सबै मलामी हुन्छन् । तँलाई सेलाउने ठाउँ आर्यघाट हुन्छ; शिव मन्दिर कदापि हुनुहुन्न ।’ उहाँले स्पष्ट पार्न खोज्नुभयो तर मेरो दिमागमा घुसेन ।
म रणभुल्लमा अल्झेको देखेर उहाँले मैले बोकेको फूलको भाँडो लिनुभयो र फूलहरू देखाउँदै भन्नुभयो; ‘यी फूलहरू आफ्ना आमाबासँग हुँदा हाँसेका थिए; बाँचेका थिए । तैँले मुन्टो छिनाइस् र ज्यान लिइस् ।’
०००
२०८०-०५-०५ सिद्धार्थटोल, उदयपुर ।
हाल- सिर्जनाकुटी, सिरहा ।