मिलन समीरयतिबेला
वर्षौंदेखि फरार सूचीमा सूचीकृत भएका छन्- प्रहरीको नाकको डाँडीमै डिस्को नाचिरहेका मानव सभ्यताको हत्यारा अपराधी नाइकेहरू !

मिलन समीर :
हामी निस्किरहेका छौँ-
जाँदै गरेको मुलबाटो हुँदै
फर्केर कहिल्यै नआउनेगरि
अनन्तताको आत्मयात्रामा !
यतिबेला-
वर्षौंदेखिको खतरनाक खडेरीग्रस्त
युगीन विचारको चारकोसे झाडीमा
लागिरहेको छ- भीषण डढेलो
र, खरानी हुने पालो पर्खाइमा
बसिरहेका छन्- इतिहासको दिग्दर्शनसँगै
ऐतिहासिक सिद्धान्तका अद्वितीय ठेलीहरू !
यतिबेला-
अक्षरहरूले अर्थपूणर् आकार लिन नभ्याउँदै
खरानी भइसकेका छन्- शब्दहरू अर्थसँगै !
यतिबेला-
बुलन्दित आवाजमा प्रतिरोधको युगीन स्वर बोकेर
सिहदरबार छिरेका सहृदयी सिर्जनशील प्रिय कविहरू-
पुरै पथभ्रष्ट भएर लर्खराउदै बाहिर निस्किरहेका छन्-
कर्कश नाराहरूको भयंकर कोलाजभित्र कैदी भएर !
यतिबेला-
विगतमा अकल्पनीय दुःखको बाटो हिंडेकाहरूसँगै
बिराइरहेको छ- मूलबाटो उन्नाइसदिने आन्दोलनले
बरालिइरहेको छ- यात्रा दिशाहीन भएर बीच बाटोमै !
हो, यतिनै बेला-
हामी निस्किरहेका छौँ- वैकल्पिक बाटो बनाउदै
पृथक पाइलाहरू चालेर अनन्तताको आत्मयात्रामा !
वर्षौंदेखि न्याय शास्त्रको न्यानो काखमा लुट्पुटिदै-
अझै चुसिरहेका छन्- भ्रष्टहरूले राज्यसत्ताको लाम्टो
मौकामा चौका हान्ने दाउ छोपेर मुसल बनि निस्किनलाई
अझै घुसिरहेका छन्- बज्रस्वाँठहरू सियोको स्वरुपमा
ठिक यतिनै बेला-
हामी निस्किरहेका छौँ- अनन्तताको आत्मयात्रामा !
त्यतिबेलै त्यागिदिएका हौँ- हामीले सधैंका लागि
अरु कसैले नितान्त निजी बपौती सोचिरहेको मूलबाटो
र, यतिबेला आइपुगेका छौँ- पृथक पाइलाहरू चाल्दै
तार्सेभिर छिचोलेर आफैंले बनाएको वैकल्पिक बाटोमा !
सर्वाङ्ग नाङ्गै पसिसकेको छ- यतिबेला
पतित व्यवस्थाको अँध्यारो ओढारभित्र
सार्वकालिक सोचिएको विश्वप्रेमी चेतना !
कुरुप विचारको परम्परागत पुरानो पार्टी
परित्याग गरिसकेका छौँ- यतिबेला हामीले
सोच्नसमेत पनि नसकेपछि स्वयं आफैंलाई
विवेकहीन एउटा अन्धभक्त लम्पटदास झोले
नपुङ्सक कार्यकर्तारुपी ज्युँदो लासको रूपमा
हिंडेका हौँ- आफैंलाई खोज्ने अनौठो यात्रामा !
स्वघोषित जीवन दर्शनको चपेटामा परेर-
संवेदनशील समकालीन समयका प्राचीन जुद्वहरू
उत्तरआधुनिक बुद्ध बन्ने रहर पुरा गर्नैका लागि
आँखा चिम्लेर लागिरहेका छन्- अकल्पनीय युद्धमा !
अर्धबेहोसी नशाको उन्माद नउत्रिएपछि अहिलेसम्म पनि
भैंसीपूजा गर्दै जागिरहेका छन्- तथाकथित क्रान्तिकारीहरू
र, नलीहाड फुकेर जगाइरहेका छन्- यतिबेला दिनदहाडै
मानवरुपी नरपिसाच, नन्दीभृङ्गी, मुर्कट्टा मसानहरूलाई !
सदैव शीघ्र स्खलनको अकल्पनीय पीडाले रन्थनिदै
पलायनको कुबाटो रोजेर आजीवन उल्टो यात्रामा
यात्रारत छन्- केही आधुनिक पतीत यायावरहरू !
समकालीन समयको सल्लाघारीमा
केही समय अगाडि मात्रै भेटिएको छ-
मानव सभ्यताको बेवारिसे जीर्ण कंकाल !
वर्षौंदेखि फरार सूचीमा सूचीकृत भएका छन्-
प्रहरीको नाकको डाँडीमै डिस्को नाचिरहेका
मानव सभ्यताको हत्यारा अपराधी नाइकेहरू !
०००
करादीखोला, स्याङ्जा ।
Subscribe
Login
0 Comments
Oldest







































