साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नाको चर्तिकला !

फेरि कुन बेला छिटो आउनु भन्ने फोन आउन सक्छ सम्धीज्यूको । तयारी नगरी भो त अब ! छोरीलाई पो कसरी कुलपतिकै बुहारी बनाउने भन्ने कुराले सताउन थालेको छ । तर यसमा पनि स्वकीय सचिवले भाँती पार्लान् भन्नेमा विश्वस्त छु ।

Nepal Telecom ad

होम सुवेदी :

छोराछोरी अलिक गतिला बनाउन सकियो र ठाउँमा बिहेदान गरिदिन सकियो भने चारैतिरबाट लडीलडी चानस आउँदा रहेछन् । अरूको के भाको छ मलाई थाहा भएन तर मलाई भने लडीबडी भएको छ । छोराको बिहे भएन भएन; भएपछि गजब नै भएको छ । संयोग पनि कस्तो परेछ भने सम्धीज्यू पर्नुभएछ ‘नेपाल मारुनी ठेट्टर तथा ढोलक प्रज्ञाप्रतिष्ठान’ का कुलपतिको स्वकीय सचिव । कुलपतिकै स्वकीय सचिवको योगदानका कारण आज उहाँकी छोरी अर्थात् मेरी बुहारी प्रतिष्ठानकी मानार्थ सदस्य छिन् । धनुष, तीर र भाला चलाउन माओवादीबाट प्रशिक्षित भएकोले उहाँको ज्वाइँ अर्थात् मेरो छोरालाई पनि ‘नेपाल गुलेली मट्याङ्ग्रा ठोक सङ्घ’ मा भत्तोसहित उचित स्थान मिलाउनुभएको छ । यत्तिमै पनि मलाई लाग्न थालेको छ- “आफ्नो मान्छे भए के हुन्न यो दुनियाँमा ?”

एक दिन उहाँले फोन गर्नुभो, ‘हैन सम्धीज्यूको केही नाचगान बजानमा रुचि छ कि छैन ?’

‘उहिले उहिले भए पनि अब उति छैन पो सम्धीज्यू ।’ मैले भनें । ‘उहिले थियो भने भैगो नि । यसो ढाल्ने वा अँधेरीका पात बजाउन मारुनीसारुनी भएर नाच्न र हाटबजारमा जाँदा यसो तरुनी जिस्क्याउन वा फकाउन नै पनि केही गाना गाउने गर्नुहुन्थ्यो नै भन्ने लागेको छ मलाई ।’

‘त्यसो त ऊ बेलामा त्योभन्दा बढी पनि गरियो नि । मिठामिठा गीतहरू गाइयो । जङ्गलमा एकान्त पारेर… हिहिहि । अहिले पो दाँत फुक्लेपछि यो गाउनओर्न सकिन्न त । उहिले त दौरा सुरुवाल लाएर मारुनी नाचमा फिरिफिरिक नाचेपछि तरुनी ता हिरिकहिरिक । हिहिहिहि…

‘भइगो यति भए पनि योग्यता पुग्यो ।’ ‘
हैन केको योग्यता नि ?’ मैले सोधें ।
‘मारुनी ठेटर ढोलक प्रज्ञाप्रतिष्ठानको आजीवन वैतनिक सदस्य हुने नि, अरूकेको ?’
‘हैन मैले ता यता वृद्धभत्ता पनि खाइरहेको छु । कता दोहोरो भत्तो खानु र सम्धीज्यू ?’ सोधें ।
‘लौ सम्धीज्यू पनि कुन दुनियाँमा हुनुहुन्छ । जता जता जे जे पाइन्छ सब लतार्ने हो । कसैले छोडेको छ ? लु भन्नु त !’
‘त्यो ता अलकत्रा नै लतार्नेहरू छन् अनि के ?… ’
‘हो उसो भए तयार पर्नुपर्छ है काइँकुइँ हैन नि !’
‘हस् भन्नै पन्यो नि अब सम्धीज्यूले भनेपछिलाई’ भनेर कुरा सकिएको थियो । यसरी कुरा चलेको केही महिनाभित्रै म उक्त प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यमा मनोनीत भएको छु । भत्तो बडा मजासँग खाइएको छ घर बसीबसी । यसरी उहाँकै कारणले म पनि सो प्रतिष्ठानको आजीवन वैतनिक सदस्य भएको हुँ । नातिनीका भर्खर दाँत साटिंदै मात्र छन् नत्र उसले पनि प्राज्ञ सभाको सदस्यमा मनोनीत हुने मौका पाउने थिई । खैर होस् कुनै दिन सम्धी रहिरहनुभो भने यो पनि असम्भव कुरा भएन । मेरो ता बैठकका बैठक । जुनसुकै वेलाको बैठकमा गइन्छ हावाजहाजमा सररररर… ।

वेला वेला म सोच्छु- स्वकीय सचिवबाटै त यतिसम्म भो भने कुलपतिकै योगदान हुनु हो भने झन् के केसम्म हुँदो हो ?

यही सुवणर् अवसरको प्राप्तिका लागि हलक्क बढेर बिहेदान गर्नुपर्ने वेला भएकी मेरी छोरी कुलपतिकै छोरालाई दिएर सम्बन्ध बनाउने सुर चलेको छ । मेरा सम्धी अर्थात् स्वकीय सचिव सम्धीलाई नै यो कुराको छिनोफानो गर्न लाउने सुर आइरहेको छ ।

लगत्तै पर्सिपल्ट उहाँले फेरि फोन गर्नुभो । नमस्कारसमस्कारका कुरापछि क्षेमकुशल सकेर उहाँले कुरा छेड्नुभो – “हैन सम्धिनीज्यू पनि गजल, चिउलो, डाली, पाड्को, साइको, डाँक्लो, ठोकम, हुक्का, सुल्पाजस्ता के जातिहरू छन् नि, अथवा भनौं कवित्तसवित्त नानाथरीका के के जाति हुन्छन् नि, हो ती कुराहरू लेख्नुहुन्छ हैन त ?”

‘उहिले जवानीमा हाम्रो इलुइलु चलेको बेला अलेलि के के जाति लेख्थिन् अहिले यो घरको धन्दा र के के जातिले गर्दा लेख्तिनन् सब भुलेर खतम छ ।’

’लु यहाँले नै उहाँका नाममा यसो गजल लेखाएर यता पठाइदिनुपन्यो । देशव्यापी गजल प्रतियोगिता लेखनमा सहभागी गराइदिनुपर्‍यो । जसरी पनि पठाइदिनू । बाँकी के गर्नुपर्छ भन्ने कुरा मलाई थाहा छ ।’

कति अर्काकै भरमा पर्ने । कति भरिया मात्र लाउने भनेर नभन्दै मैले नै के के जाति लेखेर पठाइदेको स्वकीय सचिवको पालो आफ्नो बलमा उनैलाई प्रथम बनाइदिनुभएछ । उनकी सम्धिनी न परिन् । वाचन गर्न बोलाइएको थियो वाचन गर्न त भुत्रो आओस् । कोरोनासोरोनाले अलिक अप्ठेरो छ सम्धीज्यू, भनेर थामथुम गरियो । अर्कै कुनै भरियालाई वाचन गराउनुभएछ । अचेल वाचन गर्ने भरियाको के कमी हुन्थ्यो । पुरस्कारको राशि र प्रमाणपत्र घरमै पठाइदिनुभएको थियो । उनी पनि खुसी छिन् सम्धीदेखि ।

फेरि अलिकपछि सम्धीको फोन आयो- ‘सम्धीज्यू, यो डायस्पोराबारे कसैलाई अलिकति पैसो दिएर केही लेखाउनू न आफ्ना नाममा । ठुलो चानस छ अउरिका घुम्ने । त्यहाँका केही च्याप्टरहरूले बोलाएका छन् । साथमा म ता भइहाल्छु । म एक्लै कता जाऊँ र आफ्ना सम्धीलाई अब के छाडौं भनेर नि ! अनि पासपोर्टसासपोर्ट बनाउन म लाइदिन्छु फोटो खिचेर पठाउनुहोला । मजाले अउँरिका घुम्ने हो । सके युरोपतिर पनि घुम्ने चानस पर्छ । इजराइल च्याप्टर कोरिया च्याप्टरले पनि बोलाएको छ ।’

‘खै कसलाई लेखाउनु र आफूलाई त्यो डायस्पोरा हो कि हाडफोरा हो केही थाहा भए त मरिजाऊँ ।’ मनमनै सोचें ।

‘आ अलिकति पैसो फालिदिनू नि । पैसो भनेपछि मरिहत्ते गर्ने हन्तकाली जति पनि पाइन्छन् । पैसो भनेपछि आमा ता बेच्छन् यहाँका हन्तकालीले । यति काम के नगर्लान् र ! लेखिदिन्छन् मजाले । कि म यतै लेखाइदिऊँ ?’ मेरा मनको वह बुझेझैं गरी भन्नुभो ।

‘हैन हजुरले मात्र कति टेन्सन लिने । यता पनि त्यस्ता केही हन्तकाली रहेछन् भने म यो काम गराउँछु नि, यति ता मेरो पनि दायित्व हो नि । कति यहाँलाई मात्र दुःख दिनु’ भनेँ अनि बिदा मागें ।

हन्तकाली खोज्दै जाँदा एक जना हन्तकाली जानिफकारलाई फेला पारें । नभन्दै डायस्पोराबारे उनले मजाले लेखिदिए । पैसो न थियो चाहिएको । अलिकति छरिदिएको दुनियाँभरको डायस्पोरा नै लडाइदिए मेरा नाममा । अनि उनकैबाट बिजुली हुलाकमा हालेर मेरा सम्धी वा ’नेपाल मारुनी ठेट्टर तथा ढोलक प्रज्ञाप्रतिष्ठान’ का कुलपतिको स्वकीय सचिवज्यूलाई पठाइदिएँ । त्यही वेला ती भरिया लेखलाई सोधें- ’हैन यहाँले एउटा गतिलो किताब लेखिदिएको कति लिनुहुन्छ ?” ‘कस्तो खालको किताब चाहियो हजुरलाई ?’ उनले सोधे ।

’पुरस्कार नै पाउने खालको चाहियो नि अब, लेखाएपछि झारेकुरे के लेखाउनु ?’

ए त्यो खाले हो भने त अलिक बढी नै लिने गरेको छु । फार पुरस्कार पाउनेमा भने अलिक शङ्का पनि हुन्छ । मजस्ता भरिया लेखक कति छन् छन् देशभित्र । यो दुनियाँमा मभन्दा गतिला पनि हुन सक्छन् नै यो कुरा मान्छु म । तैपनि मैले लेखेर दिएकाले उति बित्तुर खाएको चाहिँ छैन अहिलेसम्म । अनेक तिकडम लाएर पुरस्कार अन्यत्र नै उछिट्टयाउन पनि सक्छन् । कुन पुरस्कारका लागि लेखिदिनु हो पुरस्कारको नाम भन्नुहोला र लेखिदिनु हो भने अलिकति पेस्की पनि छाडिराख्नुहोला । उता पुरस्कारदातालाई पनि अग्रिम नदिई हुन्न । यसैले अलिक बढी नै छाडिराख्नुहोला । पछि पुरस्कार पाउनुभो भने त्यो अवस्थामा जति सक्नुहुन्छ मलाई पनि दिनुपर्छ । म यतिउति नै दिनुपर्छ भन्दिनँ अलिक उदार पनि छु । तर हेर्नुहोस्, आधा पुरस्कार बाँड्ने पनि छन् है । मन्जुर भए कुरा बढाऊँ नत्र होस्‘.. !’ कुरा हुँदाहुँदै उहाँको अन्यत्रबाट फोन आयो ।

गोजीमा भएको पच्चिस हजारजति फालिदिएँ हन्तकालीलाई । अनि म लागें टेलरकातिर लुगा सिलाउनु जो छ अउँरिकाका च्याप्टरहरूको निम्तो मान्न जानलाई । फेरि कुन बेला छिटो आउनु भन्ने फोन आउन सक्छ सम्धीज्यूको । तयारी नगरी भो त अब ! छोरीलाई पो कसरी कुलपतिकै बुहारी बनाउने भन्ने कुराले सताउन थालेको छ । तर यसमा पनि स्वकीय सचिवले भाँती पार्लान् भन्नेमा विश्वस्त छु ।

०००
भरखरै प्रकाशित ‘आसन ग्रहण’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहबाट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x