लक्ष्मी रिजालभकारी
म मेरा जिउँदा देवीदेवतालाई हेरिरहन्छु- बाबा रातोदिन जोतिएको देख्छु मामू पछिपछि घिस्रिएको भेट्छु र पनि, किन हाम्रो भकारी भरिइरहन सक्तैन ? किन सुख हाम्रो घरभित्र बास बस्तैन ?

स्वस्तिका सिम्खडा :
केके जाती खोज्दाखोज्दै
भर्याङ्गमाथि उक्लन्छु
भोकमरीमा परेका मुसा रोदन सुन्छु
कुनाकानी चहार्दा
अघाएर डकारेको साङ्ला आवाज सुन्छु ।
दिनभरि माछा खाएर बाँसघारीमा
उँघ्दै गरेका बकुल्लाले फेरेको
मुर्दाश्वासको गन्धले आतिन्छु ।
आफ्नै घरभित्रको चित्रविचित्र लीला
घाँटीसम्म आएको अनुभव गर्छु ।
मलाई त लाग्छ,
खालि नहुने गरी भकारी भरिदिऊँ,
साङ्लालाई मात्र हैन
मुसालाई पनि सधैँ दशैँ आओस्,
दशा कसैलाई नलागोस् ।
आफू चाहिँ
कोसी किनारामा टोलाएर
पौडन सिकिसकेका र सिक्तै गरेका
माछाका भुरासँग भलाकुसारी गर्दै रहूँ,
सिसौका पात छोए आएको
तन्नेरी हावाको तागत लिइरहूँ ।
प्रकृतिको दास बनेर सधैँसधैँ मुस्कुराई रहूँ ।
यद्यपि,
सोचेजस्तो हुन्न रहेछ जीवन
पापी पेटले संसारसँग जुध्न भन्छ ।
छोपिरहने कायाले उदाङ्गो हुँला भन्दै
हर्दम मलाई नै खबरदारी गर्छ
म मेरा जिउँदा देवीदेवतालाई हेरिरहन्छु-
बाबा रातोदिन जोतिएको देख्छु
मामू पछिपछि घिस्रिएको भेट्छु
र पनि,
किन हाम्रो भकारी भरिइरहन सक्तैन ?
किन सुख हाम्रो घरभित्र बास बस्तैन ?
०००
२०७९-०४-१७ बेलका-२, उदयपुर ।
+++
(यो कविता स्वस्तिकाको पुरानो डायरीबाट साभार गरिएको हो । उहाँको निधन २०८०-०४-२० गते भयो । जन्म २०६१ बैशाख १६ गते भएको थियो । उहाँका केही फुटकर कविता, संस्मरण र लघुकथा डायरीमा छरिएका छन् । – संकलन- लक्ष्मी रिजाल )
Subscribe
Login
0 Comments
Oldest







































