सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरा बा

बेलुका दसै बजे आधारात भयो सुत् भन्नुहुन्छ बिहान पाँचै बजे सात बजिसक्यो उठ् भन्नुहुन्छ शङ्का लाग्छ, मेरा बा कि त मलाई ढाँट्नुहुन्छ कि घडी हेर्नै जान्नुहुन्न ? घडी मिलाउनोस् न बा भन्दा मान्दै मान्नुहुन्न ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

कुरा काट्न त कहाँ मिल्छ र आफ्नै बाको
उमेर पचास कटेर अलि माथि गाको
म पनि के कम अब, जवान भइसकेको
स्कूल सकेर कलेज गइसकेको
तै पनि बा मलाई बालकै ठान्नुहुन्छ
बेलाबेलै हातमा समातेर आफूूतिरै तान्नुहुन्छ
सम्झाइरहनुहुन्छ मलाई घरी घरी
कथा सुनाइरहनुहुन्छ मलाई थरि थरि
बच्चै हुँदा हामी यस्ता थियौँ भन्नुहुन्छ
तेरो उमेरमा हामी उस्ता थियौँ भन्नुहुन्छ-

स्कूल जानु अघि घाँस काट्नुहुन्थ्यो अरे
भँुडी दुख्यो भनेर कहिलेकाहीँ
त्यतिकै ढाँट्नुहुन्थ्यो अरे
बाँदर खेद्नुहुन्थ्यो अरे हलो जोत्नुहुन्थ्यो अरे
हातैले गोबर मुछेर खलो पोत्नुहुन्थ्यो अरे
घिन पनि नलागेको
-भैंसीका डाडाल्नामा बसेर चराउनुहुन्थ्यो अरे
कत्रो आँट,
आमाले लुकाएका कनिका लुसुक्क बेचेर
दार्जिलिङतिर हराउनुहुन्थो अरे ।

खालि खुट्टै पैदल स्कूल जान्थ्यौँ भन्नुहुन्छ बा
खाजाका नाममा बासी भात मात्रै खान्थ्यौँ भन्नुहुन्छ बा
ठूलै हुन्जेल लुगै नलगाई गाउँ चहार्नुुहुन्थ्यो अरे
बैनीका भागको घिऊ
सुटुक्क आफ्नामा सार्नुहुन्थ्यो अरे
दौराका बाहुलाले सिँगान पुस्नुहुन्थ्यो अरे
दुम्सी लुक्ने दुलाहरूमा घुस्नुहुन्थ्यो अरे
जुम्राले टोकेर बा बेलाबेलै रुनुहुन्थ्यो अरे
तीन तीन महिनामा पानी तताएर घाँटी धुनुहुन्थ्यो अरे

यी रमाइला कुरा कथा हुन् कि व्यथा हुन् बाका !
-म छुट्याउन सक्दिनँ
यी कथाबाट मैले सिक्नुपर्ने पाठ के हो,
-म खुट्याउन सक्दिनँ ।

तर पनि साथी हो, बा भनेको बा नै हो
बालाई हामीले मान्नैपर्छ
बाको कदर गर्न सबैले जान्नैपर्छ ।

धेरै संघर्ष गरेको अरे बाले मलाई हुर्काउन बढाउन
यो शहरमा अड्याउन, लेखाउन, पढाउन
त्यही भएर होला-
बिहान बेलुकै बा मलाई अघि बढ् बढ् भन्नुहुन्छ
सास भोलिपर्सि फेर्नू, अहिले पढ् पढ् भन्नुहुन्छ
कलेज जाने छोरालाई
‘आज इस्कुल जाँदैनस् ?’ भन्नुहुन्छ बा
दिनको तीनपटक ‘तैंले गरिखाँदैनस्’ भन्नुहुन्छ बा
नपढेको बेला ‘पढिस् ?’ भन्नुहुन्छ
-‘पढेँ’ भन्छु, पत्याउनुहुन्छ
बेस्सरी पढेको बेला, ‘पढ्दैछस् ?’ भन्नुहुन्छ
-‘पढ्दैछु’ भन्छु, पत्याउनुहुन्न
बेलुका दसै बजे आधारात भयो सुत् भन्नुहुन्छ
बिहान पाँचै बजे सात बजिसक्यो उठ् भन्नुहुन्छ
शङ्का लाग्छ, मेरा बा कि त मलाई ढाँट्नुहुन्छ
कि घडी हेर्नै जान्नुहुन्न ?
घडी मिलाउनोस् न बा भन्दा मान्दै मान्नुहुन्न
तर पनि साथी हो, बा भनेको बा नै हो
हामी सबैले यति कुरा जान्नुपर्छ
बाले भनेको मान्नुपर्छ ।

मेरा बा जान्दिनँ केही भन्नुहुन्न
हामीले भनेका कुरालाई खासै गन्नुहुन्न
ब्लुलाई हरियो भन्नुहुन्छ,
पिंकलाई पहेँलो ठान्नुहुन्छ
डेटालाई डाटा भन्नुहुन्छ
तँलाई केही आउँदैन लाटा भन्नुहुन्छ ।
मैले दिनको दुईचार घण्टा गेम खेल्दा रिसाउनुहुन्छ
आफू चाहिँ निन्द्रामा मात्रै फेसबुक बिसाउनुहुन्छ
छोरालाई होमवर्क एउटा सघाउनुहुन्न
इन्जिनियर बन् भन्नुहुन्छ
बाइलोजी विषय सम्झिँदै आफूलाई ज्वरो आउँछ
डाक्टर बन् भन्नुहुन्छ
बन् भन्दैमा बन्ने भए
बा किन वैज्ञानिक नबनेको भनेर सोधौँ कि भन्छु, सोध्दिनँ
बा किन करोडपति नबनेको भनेर सोधौँ कि भन्छु, सोध्दिनँ
धेरै सोधखोज गर्दा मुखमुखै लागेको बात लाग्न सक्छ
अर्ति उपदेश र गुनासाको खात लाग्न सक्छ
बात लागे पनि लागोस्,
एउटा प्रश्न अवश्य सोध्नु छ
बाकै मुखबाट जवाफ खोज्नु छ
बा भन्नुहुन्छ ठूलो भएपछि बाबुआमाको हेरचाह गर्नुपर्छ
उसो भए मेरा बा कहिले ठूलो हुनुहुन्छ ?
नब्बे वर्ष कटेका बाआमालाई हेरचाह गर्न
बा कहिले गाउँ जानुहुन्छ ?

तर जे भए पनि साथी हो
बाको एउटा बानी चाहिँ मलाई ताज्जुप लाग्छ
मैले परीक्षामा थोरै राम्रो गर्दा बा किन मात्तिनुहुन्छ ?
म अलिकति बिरामी हुँदा बा किन आत्तिनुहुन्छ ?
म घर नफर्कुन्जेल बा किन बाटोतिरै फर्किरहनुहुन्छ ?
मैले खाना नखाउन्जेल बा किन पर्खिरहनुहुन्छ ?
मैले घुर्की देखाउन घर छाडेर जान्छु भन्दा
बा किन रुनुहुन्छ ?
मैले नुहाएर छाडेका लुगा बा किन धुनुहुन्छ ?

यस्ता कुरा सम्झेपछि साथी हो
थाहा भो बाका कुरा काटेर कविता लेख्नु मूर्खता हो
यस्तो कविता सुन्नु र मन पराउनु झन् महामूर्खता हो
त्यसैले अबदेखि यस्ता कविता नलेख्ने वाचा गर्छु
र यो कविता पनि अहिल्यै फिर्ता गर्छु ।

०००
कीर्तिपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भैरव पुरस्कार मन्तव्य

भैरव पुरस्कार मन्तव्य

लक्ष्मण गाम्नागे
गाँडमाथि पिलो

गाँडमाथि पिलो

लक्ष्मण गाम्नागे
शपथ खाने कि पिउने ?

शपथ खाने कि पिउने...

लक्ष्मण गाम्नागे
पत्रुकारिता व्यवसाय

पत्रुकारिता व्यवसाय

लक्ष्मण गाम्नागे
अझै ३४ वर्षसम्म यसरी नै लेखिरहने शक्ति कायम रहोस् !

अझै ३४ वर्षसम्म यसरी...

लक्ष्मण गाम्नागे
आमालाई चिठी

आमालाई चिठी

देवीप्रसाद मिश्र
पाकाहरूलाई केही सल्लाह

पाकाहरूलाई केही सल्लाह

खोलाघरे साहिँलोे
को थिइन् ती आमा

को थिइन् ती आमा

भावना न्याैपाने
वृद्ध व्यवहार

वृद्ध व्यवहार

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x