बालमुकुन्द देव पाण्डेआलोचक बन्नुहोस् ! नाम फिजाउनुहोस् !!
यति गर्दा पनि सफल हुनुभएन भने हाँगामा बसेर फेद- काट्नुहोस् अथवा मुखमा मोसो लगाएर अरूलाई ‘किन यस्तो फुस्रो भएको ?’ भनेर सोध्दै हिँड्नुहोस् -सु र कु- सँग तपाईंलाई के वास्ता ! नामको ढ्याङ्ग्रो बजे पुगिहाल्यो । मेरो सल्लाहमा लागेर धेरैले खूब नाम फिँजाए, तपाईं मात्र किन पछि पर्ने हँ ?

बालमुकुन्द देव पाण्डे :
तपाईंलाई आफ्नो नामको ढ्याङ्ग्रो चारैतिर बजेको सुन्न मन छ भने त्यसको सजिलो उपाय म बताइदिन्छु- आलो चक (चक सुकेको हुन्छ नभन्नुस्, सुकेको चक लिएर तपाईंको मनसुवा पूरा हुँदैन !) बन्नोस्, आलोचना लेख्नुहोस् । आलो चना खाए तागत बढ्छ, लुरे-झुलेलाई सजिलै पछार्न सकिन्छ । त्यसलाई छपाउनुहोस् ।
आलोचना भनेपछि चामलको यस्तो महंगीमा त्यही पनि गर्मीले तालु सुकेका सम्पादकहरू किन छाड्थे र ! कविता नलेख्नुस् – अकालमा ज्यान जाला (किट्स भन्ने लुरे अंग्रेजी कविलाई आलो चकले मारेर ठूलो पुरुषार्थ देखाएका थिए रे) कथा लेख्नतिर गिदी नखियाउनुस्, निबन्ध पनि नलेख्नुस् । त्यसैले आलो चक बन्नुस् भनेको नयाँ सडकको छातीमा गधामा उल्टो चढेर हिँड्नुमा भन्दा यसमा नाम कमाउन सजिलो छ । यसका लागि शब्दभण्डार चाहिँदैन- पन्ध्र – बीसवटा गालीका शब्द कण्ठ पारे भो । आलोचना गरिने किताब पढ्ने दुःख नगर्नोस्, किताप पढेर आलोचना तयार पार्ने कोसिसतिर लाग्नुभयो भने तपाईं कोरा मूर्ख मानिनुहुन्छ । किताप लेखक र प्रकाशकको नाम, मोल र पृष्ठ सङ्ख्या थाहा पाए प्रशस्त पुग्छ ।
हेक्का राख्नुपर्ने कुरो के छ भने, सुरुमा तपाईंले नाम चलेका व्यक्तिको कृतिउपर कसाईले राँगो काट्न लाग्दा झैं निर्दयतासँग आलोचना गर्नुपर्छ । नाम नचलेका (किनभने यिनको सङ्ख्या धेरै हुन्छ, नाम चलाउनलाई यस्ताको सहयोगको ज्यादै खाँचो हुन्छ) को कृतिलाई तपाईंले सकेसम्म तारिफ गर्नुपर्छ ।
दुई-चार वटा आलोचना छापिएपछि तपाईं श्रेष्ठ आलोचकमा गनिनुहुन्छ – त्यसपछि तपाईंको तारिफ र विरोध एक कप चियामा नै किन आधारित नहोस् श्रेष्ठ ठहरिन्छ । एउटै कृतिको गुण र दोष छुट्टयाउनतिर लाग्नुभयो भने पनि तपाईं बिग्रनुभयो । आफूलाई मन परेका अथवा बराबर होटलमा लगेर चिया चमेना गराउने लेखकका कृतिको तारिफै तारिफ गर्नुस्, आफूलाई मन नपरेका लेखकका कृतिको चाहिँ कडा शब्दमा दोषै दोष देखाउनोस् । तपाईं प्रसिद्ध समालोचक बनिहाल्नुभयो- तपाईंको नाम चारैतिर फिँजिइहाल्यो । अब के चाहियो र गालीगलोजका शब्द फेला परेसम्म कण्ठ पारेर त्यसलाई बराबर प्रयोगमा ल्याउनचाहिं कहिल्यै नबिर्सनोस् ।
यति गर्दा पनि सफल हुनुभएन भने हाँगामा बसेर फेद- काट्नुहोस् अथवा मुखमा मोसो लगाएर अरूलाई ‘किन यस्तो फुस्रो भएको ?’ भनेर सोध्दै हिँड्नुहोस् -सु र कु- सँग तपाईंलाई के वास्ता ! नामको ढ्याङ्ग्रो बजे पुगिहाल्यो । मेरो सल्लाहमा लागेर धेरैले खूब नाम फिँजाए, तपाईं मात्र किन पछि पर्ने हँ ?
०००
– माणिकरत्न शाक्यको खोजीपाँसुलीमा ‘दमाहा’मा घटोत्कच शर्माको नामबाट ।
Subscribe
Login
0 Comments
Oldest








































