सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पोहोर मरिन् सासू अहिले आयो आँसु

उर्बर भूमि भएकी बुहारीको पनि यावत् समस्याले जिउमा काँडा उम्रिराखेका छन् । बग्रेल्ती बर्सेनि बर्सिने नातिनातिनाको पालन पोषण, लालन पालन जस्ता घरायसी झन्झट ज्यूँका त्यूँ छन् ।

Nepal Telecom ad

शेषराज भट्टराई :

परेका बेलामा नझरेको आँसुको के अर्थ ? “अर्थ न बर्थ गोविन्द गाई टाउको दुखेको दबाई नाइटामा लाई” भनेको यही होला ।

मान्छे बिब्ल्याँटो सब्ल्याँटो सजिलै बन्न सक्ने प्राणी हो । मनस्थिति ठिक छ र सन्तुलित मानव हो भने असन्तुलित बन्ने स्थितिले हत्तपत्त हात हाल्न सक्दैन । सचेत मानवका यावत् क्रियाकलापहरूमा सोच्दा या नसोच्दा पनि फरक स्थिति जन्मिना साथ ज्ञानेन्द्रिय, कर्मेन्द्रियहरू सक्रिय बनेर आफ्नो लक्षण देखाउन थालिहाल्छन् । अवतरण, अवसान या सिर्जना हरेक कुराले दुःख या खुसी भित्र्याउन सक्छ । दुःखले मन निचोरेपछि मनको भित्तो रित्तो हुने गरी रसाउँदै आँखाको तलाउ छचल्किएर नेत्रको डिल भत्काउँदै समुन्द्र बग्न थाल्छ । चौबिस क्यारेटको मोजमस्ती भोज भतेर यस घडीमा बिलिनु/फिक्का/खल्लो लाग्छन् ।

निराश ज्यान, उदास मन र बेचयन तनले लखेटि रहेको मानवको प्रकृतिले र प्रवृत्तिले गलत मार्ग समाउँदा सासू मरेको वर्षदिन पछि बल्ल अक्कल खुल्छ र ठिक बेठिक छुट्याउने सिलसिलामा सासूको कसी लगाउँदा आँसु आउनु स्वभाविकै मानिन्छ । एक अर्थमा अबेला आँसु आउँदा अनर्थ पनि लाग्छ । तैपनि समाजमा राम्रा नराम्रा गतिला अगतिला खल्ला मिठा नाना भौतिका घटना उपघटना र उदेक लाग्दा उखान टुक्काहरू देखे, सुने, भोगेकै मध्ये एउटा उखान हो “पोहोर मरिन सासू अहिले आयो आँसु” । यहाँ यस मामलामा व्यङ्ग्य भावमा सूक्ष्म विश्लेषण र क्षिद्रान्वेषण गर्नु आफ्नो धर्म ठानेको छु ।

सासूको श्रीसम्पत्तिमा बुहारीको हालिमुहाली एक छत्रले चलेको छ । बुहारीको राइँ दाइँ चल्दा ज्वाइँको पनि राइँदाइँ चल्नु पर्ने हो तर चल्दैन । किनकि यहाँ समाज तगारो बनेर बसेको हुन्छ । समाजलाई लत्याउन कसले सक्छ ? सासूको अवसानसँगै उनले अधिकार जमाएको दुवै हातले र ह्याकुलाले समाएको जायजेथा पोको पन्तुरो, पेवापात, सबै आफ्नो हात भन्ने सोचेकी बुहारी सासूको मरणले मात्र आँसु झार्न गाह्रो पर्छ । कसले के गर्छ ? रुनु नरुनु स्वतन्त्र नागरिकको आफ्नो अधिकार, स्वविवेकको क्षेत्राधिकार भित्र पर्दैन र ?

कोही मर्दैमा वा विलय हुँदैमा तत्काल आँसु खर्च गरिहाल्नु पर्छ र ? पछि फुर्सदमा सम्झिदै रुँदै सम्किँदै रुँदै गरे भई हाल्छ नि । सासूको सम्पत्ति लटीपटी पार्दै आफूपट्टि सार्दै दुवै हात र ह्याकुलाले लुँड्याउन पाउँछु भन्ने सोचाइका साथ उत्कट खुशीको शिखरमा डुबेकी मेरी बुहारीको सासू परलोक भएको वर्ष दिनपछि बल्ल आँखा रसाएका छन् । उनले भरथेग गरेको संसार र इस्टमित्र सम्झिएर बुहारी सारै दुःखी भएकी छन् । अर्काको पौरखमा केही समय मोज र पोज देखाउँदै रमाइएला, “मामाको घोडा मेरो हिहि” गरिएला त्यसपछि आफ्नै दश नङ्ग्रा खियाउनु, हाडमासु घोट्नु परिहाल्छ । चाहे त्यो बुहारीले होस् या छोराले । अर्काको कमाइको रमाइ क्षणिक हुन्छ । आफ्नै श्रम र सिपको मेहनतले मात्र कमाई र रमाइको तालमेल मिलाउन र दिलाउन सक्छ । कालो धन, कपट मन र अल्छी जनले जिन्दगीमा कहिल्यै सुख भित्र्याउन सक्दैन उल्टो दुःखको सागर सिर्जना गर्न सक्छ ।

जेष्ठ नागरिककै कुरा गरौँ न जो कसैले पनि हात मासि चलुन्जेल केही न केही पौरख गर्नै पर्छ । मआफू पनि त्यही दर्जामा दरिएको छु । जेष्ठ नागरिकको भुँडे भाग पाउँछु, मान, भुक्तमान र सम्मानले गलगिद्ध हुन्छु भन्छु छेपाराको कथा जस्तो आफूलाई जहिले पनि वस्त्रहीन र नाङ्गो अनुभूति हुन्छ । पाइलो नसारी पेट भर्न, सुखै सुखमा मर्न खोज्छु तैपनि सधै एकनास कहाँ हुन्छ र ? आफ्नै श्रीमती हुँदा पो मोज, मस्ती र ऐस आराम मिल्थ्यो । आधा अङ्गलाई बेढङ्गसँग दैवले थुतेर लगेपछि सुतेर खाने दिन पनि सँगै जाँदो रहेछ ।

मान्छेहरू दैव लागोस् शत्रु नलागोस् भन्थे मलाई त दैव भन्दा शत्रु नै ठिक लाग्छ । शत्रुले श्रीमतीलाई ठहरै त पार्दैन थिए कि ? दुनियाँले रमझम, हिमचिम बढाएर आँखा झिमझिम पारे पनि भातको र रातको अधिपति त हुन पाइन्थ्यो । यस्तो भागको आशेलाई यो कस्तो अभाग ? पहिला छोरा छोरीले के खाए कसो गरे भन्ने चिन्ताले जलिन्थ्यो । आज आधुनिक छोरा बुहारीले तातो पानी पनि समयमा नदिँदा चिसै पानीले देह जलिरहेछ । धिपधिपे जिन्दगी चलिरहेछ । आङमा हुँदैन घजो महिना छ माग । पौष्टिक आहार हुँदैन खानु पर्छ सागको सिकुटी या साग । दिनहुँ छोरा बुहारीको कचकच र ननिको राग । जङ्गली जनावरको के कुरा छोराबुहारी नै भए बाघ । कि सहेरै बस ससुरा नत्र भाग । यस स्थितिमा छोराबुहारी छन् भनेर समाजमा कसरी देखाउनु धाक । अनि अन्तरात्माले भन्छ ‘के खान बाँचेको छस्, चाँडै श्रीमतीको पछि लाग्’ ।

अर्धाङ्गिनीलाई दैवले चुँडेर लगेपछि म मर्द नामर्दतालमा जुँगा मुडेर बसेको छु । एउटा मरेपछि अर्काको कागताली पर्दो रहेछ । आज मेरा छोराबुहारी मेरै अगाडि त्यसैको दावेदार र डन बनेका छन् र भनेका छन् खबरदार । अबको जुनी हाम्रो, केही नगरी चुपचाप बसे राम्रो । यसरी भगवानले छप्पर फोरेर छोराबुहारीतर्फ चिट्ठा पारिदिएका छन् । त्यही चिठ्ठा छोरी ज्वाइँतिर परे ज्वाइँले ससुराको गालामा म्वाइँ खान्थे होलान् । तर छोराबुहारीतिर पर्नाले आज चड्कन खान विवश भइसकेको छ । यो कर्तूत सबै छोरा मोराको हो । त्यसमा पनि केही छैन ‘कहाँ पोखियो दुध आफ्नै भागमा’ । ‘बाबु आमाको मन छोरा छोरीमाथि छोराछोरीको मन ढुङ्गामुढा माथि’ भनेको पनि सायद यही होला ।

छोरा बुहारीको आफ्नै संसार जेष्ठ नागरिकको आफ्नै संसार । संसार, भन्सार र धन्सारको कित्ताकाट भएपछि काटाकाट नहुने कुरै भएन । यस घडीमा वृद्धलाई लुलो खुट्टो चाल्न गारो पर्दोरहेछ । उर्बर भूमि भएकी बुहारीको पनि यावत् समस्याले जिउमा काँडा उम्रिराखेका छन् । बग्रेल्ती बर्सेनि बर्सिने नातिनातिनाको पालन पोषण, लालन पालन जस्ता घरायसी झन्झट ज्यूँका त्यूँ छन् । खाना, नाना र सानाको चित्त बुझाउँदै छोरा बुहारीको समय सखाप भएको देखि देखि म बुढाले पनि मतिर फर्क घेरै न तर्क मेरै सिहार गर्नू पर्छ भनेर कसरी भन्ने ? बेर्ना/नयाँ बिरुवाको सिहार सम्हार गरेर नयाँ फलको ग्यारेन्टी छोडेर पेन्टी सिहार्न नसक्ने बुढो रुखको सिहार कसले गर्छ ?

जसरी चर्छ चर्छ, जे गर्छ गर्छ, मनले नमानेको कुरा कसले गर्छ ? सासूको झिटीगुन्टाले बिदा लिएपछि बुहारीको आधुनिक अनुहारको आभा र बैसको लाभाले चोला फेरेरै होला लाली मुहार काली, चाउरी र दाउरी हुँदै गएपछि सगाउ पगाउ, मगाउ, पुर्‍याउ गर्ने सासू साथी नै माथि गएपछि आज सासूलाई झल्झली आँखामा नचाएर मनको मैदान भिज्ने गरी वर्षदिनपछि बुहारी कंकला हाब्रे स्वरले डाँको छोडेर रुन रुचाउँछिन् भने म जेष्ठ नागरिक पनि के कम बर्कोले मुख छोपेर एकान्त बास चर्पी या घरको दैलो बन्द गरेर दुई मड्कीले छाती पिट्दै रुन्छु । मेरो त झन् आफ्नै निजी श्रीमती किन नरुने ? तैपनि ट्वाल्ल, वाल्ल परेर हेर्न सिवाय केही गर्न नसक्दा आफूभन्दा ठूलाले मलाई ‘चिरायू भएस्’ भनेको सम्झिँदै रुष्ठ र क्रोध चेष्टामा वृद्ध बाबुलाई वृद्धाश्रममा कोच्ने कर्मठ वाणी अनि ‘बुढो गोरु मरे भकारो खाली हुन्छ’ भन्ने आशयपत्र/पुत्रको पुलिन्दामा आइन्दा घोरिँदै एकोहोरिँदै दिन बिताउँछु ।

एक मनले भन्छ- शायद मेरा ज्वाइँले पनि ससुरो मरेको वर्षदिनपछि चिसा आँखा पुछ्दै भन्नेछन् ‘पोहोर मरे ससुरो अहिले खाइयो मुसुरो’ र भित्री मनले चिताउँछु ‘जे सुकै खाउँ, जस्तो सुके लाउँ, तर घरमै मर्न पाउँ, अब कता जाउँ ?’

०००
तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा (२०७१)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई
चोर, ढाँट र ठग

चोर, ढाँट र ठग

शेषराज भट्टराई
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल