सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठूला मान्छे (२)

वास्तवमा ठूला मान्छेहरूसँगको त्यो दमदार भेट थियो । कफि खाइसकेपछि छिमेकीको डेभिड समातियो । ऊ निकै दुखी देखिन्थ्यो किनभने उसको लुसीसँग विछोड भइरहेको थियो । त्यो ठूलो स्कुलबाट बाहिरिँदै गर्दा पाँच जना साइकलवाला तराइबासी भाइहरू भेटिए ।

Nepal Telecom ad

हरि खनाल :

जेलका ठूला

मेरा एकजना परिचित छिमेकी जेलमा बन्दीजीवन बिताइरहेका छन् । उनको बन्दी जीवनको एक वर्ष पूरा भइसकेको छ । छिमेकीलाई बन्दी जीवनको वरदान् एकजना ठूला मानिसले नै दिएका रहेछन् । दुई वर्षअघि उपत्यकाभित्र एक गाडी लागुपदार्थ बरामद भएको थियो । ठूलो मान्छेको गाडी हो भनेर नचिनेका मैजस्ता एक सिपाहीले समात्ने दुस्साहस गरेछन् । भरे पो थाहा लाग्यो त्यो त गर्नै नहुने रहेछ ।

अब बरामद भएको कुरा सार्वजनिक भएपछि कार्वाही त गर्नै पर्‍यो । कसलाई गर्ने ? एक कामदार बन्दी आवश्यक पर्‍यो न । मेरा छिमेकीले कामदार बन्न स्वीकारेछन् । ज्याला कति लिए उनै जानून् । किन स्वीकारेको त भनेर सोद्धा उनी भन्थे त्यत्रो किमति माल मैले जीवनमा देखेको त थिइनँ भने आफ्नो भन्न कहिले पाउने ? दाम पनि नाम पनि हुने भएपछि किन पछि हट्ने भन्ने लाग्यो बोल्यो मेरो पालो । उनले भने । तोकिएको दुई वर्षमध्ये एक वर्ष उनले व्यतित गरिसकेका छन् । बाँकी एक वर्षको कैद मिनाहा गराउने कुरा पनि नउठेको होइन तर उनको योग्यता पुगेनछ । थाहा छ के के पुगेन ? पहिलो कुरा उनले ज्यानमारेका थिएनन् ।दोस्रो उनीसँग कुनै दलको सदस्यता रहेनछ । तेस्रो कुरा घरमा जानुभन्दा त्यहीँ बस्दा हातमुख जोर्न सजिलो हुने भएछ ।

जे होस् योग्यता नपुगेर उनको बाँकी समय मिनाहा भएको छैन । कहिलेकाहीँ भेट्न गइदिए उनी निकै खुशी मान्छन् । हो म उनैलाई भेट्न भनेर केही दिन अघि कारागारतिर गएको थिएँ । कारागारमा एकजना पार्टीकै आन्तरिक कारणले गर्दा कारोबारको पर्दाफास भई जेल परेका नेता कैदी रहेछन् । उनलाई भेट्न आएका पार्टीका कार्यकर्ता र नेताहरूको ताँती रहेछ । कारागारका सेवकहरूलाई भ्याइ नभ्याइ रहेछ । हातमा बन्दुक लिएर सेन्ट्री बसेका बाहेक अरु कसैलाई फुर्सद थिएन ।

तपाईं पनि नेताजीकै मान्छे हो ? एकजना सुरक्षाकर्मीजस्ता मानिसले सोधे । हो भनूँ कि होइन भनूँ असमञ्जसमा परेँ । मेरो मौनता नै सकारात्मक जवाफ बनेछ । एउटा प्लेटमा अण्डा, जाम दलेको पाउरोटी, एक दाना सुन्तला आइनै हाल्यो । भोक त लागेकै थियो । खानै पर्‍यो भनेर हातमा पाउरोटी के लिएको थिएँ त्यो त पूरै रातो रङको पो देखेँ । केहीबेर अघिसम्म त त्यस्तो थिएन । प्लेटमै राखेर एकछिन पछि हेरेँ । रातो देखिएन । फेरि उठाएर खाने प्रयास गरेँ । खानुअघि हेरेँ फेरि रातै देखेँ । रगत चुहिँदै गरेको जस्तो । अहँ मैले त्यो खाइन र प्लेट नै फिर्ता गरिदिएँ । खै किन हो मलाई खेताला छिमेकी भेट्न पनि बस्न मन लागेन । होस् अर्कै दिन आउँला मनले सोच्यो र बाहिरिएँ । पहिलोपटक थाहा लाग्यो झुक्किएरै भए पनि कहिलेकाहीँ जेलभित्र ठूला मानिस पुग्दारहेछन् ।

दुई ठूला भेट
एक साता अघिको कुरा हो । मैले फरक तर ठूला दुई स्कुलमा जाने अवसर पाएँ । पहिलो सरकारी अनुदान पाउने स्कुल थियो । पहिले पहिले विद्यालय भनिन्थ्यो अहिले विद्यालय भन्दा कसैले बुझ्दैनन् भनेर स्कुल भनेको हुँ । यसो भन्दा भाषालाई अङ्ग्रेजीकरण गराउन चाहने ठूला मानिस खुसी हुन्छन् कि भन्ने लागेको पनि हो । एक दुई उदाहरण सुनाऊँ ?

हामी कहाँ रबर्ट आइन्स्टाइन स्कुल छ त्यो स्कुल आइन्स्टाइनका छोरा नातिले खोलेका वा लगानी गरेका होइनन् । डोनो कोस्को, लिटल बिग फ्याट एन्जेल्स, ग्रेटह्वाइटहाउस कति हो कति ? गाडीमा हेर्दाको नेपाली नम्बर र प्लेट ठूलाकै आदेशमा अङ्ग्रेजी बनाउन इम्बोस्ड भनियो नि । नम्बर प्लेट लेखेर बाँचेकाहरूलाई यहाँ काम छैन खाडीतिर बाढी चलाउन जाऊ भनियो नि । यी कुरा बुझेकाले मैले स्कुल भनेको हुँ ।

सरकारी स्कुल भवन निकै ठूलो थियो । हेड टिचर र व्यवस्थापन समिति र शिक्षक स्टाफका बेग्लाबेग्लै कोठा थिए । रमाइलो कुरा विदेशी अनुदानमा बनेको त्यस भवनमा विद्यार्थीहरूको कुल सङ्ख्या भन्दा एउटा कोठामा भएका र छोपेर राखिएका कम्प्युटरको सङ्ख्या अधिक थियो । बीस बाइ अठारका साइजका कोठाभित्र मुस्किलले चार बेञ्च र प्रति बेञ्च एकजना विद्यार्थी देखेपछि म ग्वाँचलाई आफ्नो बेलाको विद्यालयको सम्झना आयो । त्यतिबेला एउटा फलेकमा हामी दशजना कोचिएर बस्थ्यौँ । जो छेउमा बसेको हुन्छ ऊ बेलाबेलामा पुल्टुङबाजी खेल्थ्यो । सबैजसो कोठामा त्यस्तै हालत थियो ।

अँ एउटा कुरा भन्नै बिर्सेछु म कसरी त्यहाँ पुगेँ ? ती कोठामा कार्पेटिङ गर्ने कुरा चलेको रहेछ । मेरा एकजना कार्पेट पसलमा काम गर्ने भाइले टेप समात्न मलाई बोलाएका थिए । त्यस स्कुलका प्रधानाध्यापकले पनि एडभान्स पद लिएर प्रिन्सिपल लेखेका रहेछन् । महाकमिटीका सदस्य हुनुभएका वीर प्रिन्सिपल निकै व्यस्त देखिनुहुन्थ्यो । कहिले मन्तरीज्यू भनेर फोन गरिरहनुहुन्थ्यो त कहिले भय नेपाल र काल सलाम भन्नुहुन्थ्यो । मैले एक मिनेट समय मागेको थिएँ उहाँले आधा मिनेट लगाउँदै भन्नुभयो । ‘आइ भेरी बिजी टुडे । अर्को दिन ।’

ठूलाले जुराएको ठूलो भेट
मेरा एकजना छिमेकी कुकुरका पारखी हुन् । एक किसिमले असल कुकुर पालक । उनी बेलाबखत भन्ने गर्छन् कुकुरको खान्कीमा मात्रै उनले मासिक पचास हजार खर्च गर्छन् रे । उनको पेशाचाहिँ दलको कार्यकर्ता हो । उनीकहाँ रोजेका कार्यालयमा सरुवा र काजका लागि दिनहुँ सरकारी कर्मचारीहरूको भिड लाग्ने गर्छ । ठेकेदार र तस्करीमा प्रकिया नपुगेर दुख पाएकाहरू पनि उत्तिकै जम्मा हुन्छन् ।

त्यसो त उनी म्यारिज ब्युरोका पनि सञ्चालक हुन् । गत वर्ष निकै रोचक घटना घटेको थियो । उनले बेहुलीका लागि खोजेका बेहुला दुई किलोको हाइड्रोसिल भएका परेछन् रे । त्यस कुराले निकै बबाल मच्चाएको थियो । पछि उनले एकजना डाक्टरलाई अपरेशन गर्न लगाएर त्यसको समाधान गरेका थिए । यस वर्ष पनि उनले बनाएको जोडीमा एकजना साठी वर्षका बुढासँग पच्चीस वर्षकी बेहुली परिछन् । त्यसमा पनि निकै ठूलो बबाल भएको थियो । साठी वर्षे नरहेका दिनदेखि म भएँ भनेर उनले प्रतिवद्धता जनाएपछि त्यो केस सल्टेको भनेर उनै भन्छन् ।

यस्ता रमाइला छिमेकीको कुकुर बेलाबखत फुत्किएर भाग्ने गर्छ । हिजो बिहानको कुरा हो । डेभिड नामको कुकुर भागेछ । नभागोस् पनि किन केही पर रहेको एउटा निजी स्कुलभित्र रहेकी डेभिडको प्रेमिका लुसीले बोलाइछ । प्यार करने वाले कभि झुक्ता नहीँ भनेर डेभिड गेट खोलेर उतै गएछ । उनी डेभिडको खोजीमा निस्केका रहेछन् । बाटोमा भेट भयो । उनले डेभिड भागेर गएको घर देखाउँदै भने ‘फुर्सद भएँ कि जाऊँ ।’ कि जाऊँ भनेपछि म पनि जान तयार भएँ । ठूला मान्छेको सङ्गत पाएका बेला किन छोड्ने ? त्यतिका ठूला मान्छेको आग्रह कहाँ टार्न मिल्छ ? पालेले स्वागत गर्दै भने ‘हजुरको डेभिड हाम्री लुसीलाई भेट्न आउनुभएको छ ।’ नभन्दै लुसी र डेभिड नजिकै देखिए । मेरा छिमेकीलाई देखेर डेभिड नजिक आएन झन् पर गयो ।

‘यसो गरूँ हजुर डेभिडलाई केहीबेर लुसीसँगै छोडिदिऊँ । न्यास्रो मेटोस् ।’ मैले भनेँ । प्रिन्सिपल साहेब हाम्रै छेउमा आइपुगेर अभिवादन गर्दै मुस्कुराए । प्रिन्सिपल साहेबले मेरा छिमेकीलाई गरेको सम्मानको बाछिटा मतिर पनि आइपुगे । हामीलाई क्यान्टिनमा लगे र कफि अर्डर गरे । कफि नआइपुगुन्जेल केहीबेर गफ लगाए ।

‘हाम्रो होस्टेलमा एक सयजना विद्यार्थी बस्छन् । हामी सबै चिज अर्गानिक खुवाउँछौँ । चामल त्रिशूलीको, दाल सल्यानटारको, गोलभेडा ककनीको टनेलको, साग ठिमीको, हप्तामा दुई दिन मासु खुवाउँछौँ । खसीचाहिँ मुस्ताङको आइपुग्छ ।’ छिमेकीले टाउको हल्लाए । मैले पनि छिमेकीले जुन साइडमा टाउको हल्लाउँछन् त्यही साइड पहिचान गर्दै टाउको हल्लाएँ । त्यसले गर्दा मेरो टाउको चाहिँ छिमेकीको हल्लेपछि मात्र हल्लिन्थ्यो । वास्तवमा ठूला मान्छेहरूसँगको त्यो दमदार भेट थियो ।

कफि खाइसकेपछि छिमेकीको डेभिड समातियो । ऊ निकै दुखी देखिन्थ्यो किनभने उसको लुसीसँग विछोड भइरहेको थियो । त्यो ठूलो स्कुलबाट बाहिरिँदै गर्दा पाँच जना साइकलवाला तराइबासी भाइहरू भेटिए । उनीहरू साइकलमा आधा नकुहिएको गोलभेडा हालेर लैजाँदै थिए । एकजना चिनेकालाई सोधेँ ‘कतातिर हो भाइ ?’ उनले भने ‘होस्टेलमा गोलभेडा पुर्‍याउने जिम्मा लिएको छु । त्यतै जाँदै हजुर ।’

केही पर पुगेपछि गाडी लिएर भतिज आइपुग्यो । उसले गाडीमा चामल लादेको थियो । ‘बाबु चामल लिएर कता ?’ मैले सोधेँ । उसले भन्यो ‘स्कुल होस्टेलमा ।’
‘यो चामल त्रिशूलीको हो ?’
‘कहाँ त्रिशूलीको हुन्छ काका । यो त इन्डियातिरबाट आएको होला । गोदामबाट त ल्याएको ।’ भतिजले जवाफ दियो । घरै पुग्ने बेलातिर मेरा अर्का छिमेकी भेटिए । उनी सागको बिटा बनाइरहेका थिए । हैन साग त धेरै पो देख्छु कहाँ सप्लाइ हो ?
‘स्कुलको होस्टेलमा ।’
‘यो सागमा त हिजो बिहान पो विषादी स्प्रे गर्दै थियौ होइन ?’
‘हिजो बिहान होइन काका साँझ हो । सोह्र घण्टा भयो अब खान हुन्छ ।’ उनले मुसकुराउँदै भने । मेरा डेभिडवाला छिमेकी र म यसपटक एकले अर्कालाई हेरेर एकसाथ मुसकुरायौँ र विदा भयौँ । ठूलासँगै ठूलै भेट भयो । मलाई लाग्यो मेरो त्यो दिन पनि भाग्यमानी रहेछ ।

०००
धादिङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०