सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धरोधर्म हजुर !

आफ्नो कुरा तल पर्न जाँदा बाहुनबाजेले चाणक्यको झैँ टुपी नभए पनि काती परेको जनै झिकेर ‘धरोधर्म हजुर । असत्य भए यिनैले भस्म पारुन्’ भनी धर्मको दुहाई दिने जमर्को गर्न छाड्नेछैनन् ।

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

खानुको क्रियासँग गाँसिएको ‘किरिया’ एक अखाद्य वस्तु हो । तर यो नखाँदा शायद व्यक्तिको पेटमा परेको अरु खाद्य वस्तु पच्न गाह्रो पर्छ । फेरि, यसलाई ब्रेकफास्ट, लन्च, डिनर आदि नाउँले सीमाबद्ध पनि गरेको छैन । यो छत्तीस परिकार बाहेकको सैँतीसौँ परिकार हो जो पेट भरेको बेला अथवा पेट बाउरी परेको बेला, बिहान-बेलुका, बेला-कुबेला, जुनबेला पनि उपयोगमा ल्याउन सकिन्छ । तर यो उदरस्थ गर्नलाई होइन, बरू खुलस्त गर्नको लागि हो । अलिकति मुख बाइदियो, अनि पूर्ण विश्वाससहित किरिया खाइदियो । कति सजिलो ?

सरासर हेर्दा किरिया शब्द शायद क्रिया बिग्रेर बनेको होला ! कामकुरो बिग्य्राे, अनि किरियाको बिँडो नथामी धर पाइएन । सबै त गान्धी होइनन्, न त अरस्तु नै हुन्, त्यसैले भूलसुधारको पहिलो जमर्को किरिया खानुबाट शुरु हुन्छ । विश्वासको परकाष्ठा सिर्जन नै यससँग हातेमालो गरिएको होला ! अर्थात् यो साधुताको सशक्त प्रमाण हो तथा दोस्रो अर्थमा अहंको रक्षार्थ प्रयोग गरिने टेवा पनि हो ।

अविश्वास जति सशक्त हुन्छ त्यति नै सशक्त किरिया पनि हुन्छ । फेरि, किरियाको अभ्यस्त मान्छेले अनौठो मनोविज्ञान पढेको हुन्छ किनभने श्रोतालाई अविश्वास भयो भन्ने क्षीण शङ्का जाग्नासाथ उसको मुखबाट एकैपल्ट सातवटा किरिया निस्कन्छ- ‘सत्ते, ढाँटेको भए मेरो सात कुल नासियोस् । तिमीलाई पनि ढाँटे साँचो कोसित बोल्ने……?’ उसको अनुहारमा पूर्ण आत्मविश्वास झल्केको हुन्छ । श्रोताचाहिँ आँखा च्यातेर उसलाई हेर्न बाध्य हुन्छ तथा तर्कबाट सहमत होस् वा नहोस्, तर सप्तरङ्गी किरियाको प्रभावमा उसको विरोधशक्ति शिथिल हुनजान्छ- यो चाहिँ सत्य हो ।

रामोराम, धरोधर्म, सत्य, मेरो नाश होस्, गाईको मासु खानु (गाई मारी हत्ते), भगवानले नाश गरुन्, अथवा आफ्नो कुनै अति प्रियजनको किरिया-कसम आदि कतिपय रूप छन् यसका । अझ नमूना थुपारौँ भने यिनी बाबुआमा, दाजुभाइ, दिदीबहिनीहरूलाई शाब्दिक रूपले नरक घुमाइसकेर ‘गुहु खानु’ र ‘पिसाब खानु’- मा पनि पुग्ने गर्छन् । शायद यो गुणबाट पनि व्यक्ति, जाति वा समुदायको स्तर सहजै छुट्याउन सकिन्छ ।

किरिया असत्यको मीत हो । एउटै असत्य कुरालाई बार-बार दोहर्‍याउँदा त्यो सत्य जस्तै बन्छ रे । शायद किरियाको लेपमा असत्य पनि सत्य जस्तै चम्किलो बन्छ होला । बोल्न त सत्य-असत्य सबै बोल्छन्, तर यो किरिया खानु चाहिँ वक्तव्यको वजनदार पुच्छर हो ।

भाकल, भाका, बाचा-कबूल, किरिया, वचन, ईमान-जमान यी सबै पर्याय भइदिन्छन् बेलाबेलामा । धोबीले समयमा कपडा दिने कबूल नपुर्‍याएको समयमा तपाईं दुर्वासा हुन खोज्दा ऊ तत्काल हाँसेर भन्ने गर्छ- ‘मङ्गलवार त पाजी भए नल्याउँला ?’ तपाईंको आँखामा संशय वा क्रोध नहटेको देखी ऊ पुनः थप्ने गर्छ- ‘के भनूँ साहेब ! स्वास्नी बिरामी भई र पो, नत्र ईमान- जमानको लागि ज्यान दिने मान्छे हूँ । अनि तपाईं भन्न बाध्य हुनुहुन्छ- ‘भो, भो, रहन दे । तेरो किरिया दालभात बराबर !’ यस्तै अरू पनि अस्त्र झै नै यसको प्रयोग गर्ने गर्छन् ।

मातहतको कर्मचारी ढिलो आयो हाकिमले स्पष्टीकरणको साथै किरिया सुन्नुपर्‍यो । कुनै मुद्दाको पेशी पर्‍यो न्यायाधीशले किरिया सुन्नुपर्‍यो । मन्त्रीहरूले पदग्रहण गरे- जनताले किरिया (शपथ) सुन्नुपर्‍यो । कुनै देशले आणविक परीक्षण गर्दा सम्पूणर् विश्वले नै किरिया (आश्वासन-शान्तिको लागि आणविक परीक्षण ?) सुन्नुपर्‍यो । पुरोना रीतिमा ‘प्राण जाओस् तर वचन नजाओस्’ भन्ने गरेको सुनिन्छ । उनको वचन पूरा हुन्थ्यो वा हुन्नथ्यो ? तर अब त वचन पनि सन्धिपत्रमा मात्र सीमित भएझै लाग्छ ।

अब त बानी परिसक्यो । विना वचन कुरामा पत्यार नहुने भयो । विनाकिरिया गफ पनि खल्लो हुने भयो । विषविनाको साँपझै किरियाविनाको जिब्रो पनि पायनदार ठहरिएन । कुनै न कुनै रूपमा त सबैलाई किरिया खानुपर्ने हुन्छ । चम्पाकलीलाई सारी किनेर दिने वाचाकबूल होस् या चम्पाकलीसँग कुनै सम्बन्ध नरहेको कुरा पत्यार दिलाउन पत्नीको सामु किरिया खाइएको होस्- कुरा एउटै हो । पत्नीले आफ्नो ढिपी पूरा गर्न ‘म मरेको मुख देख्नुपरोस्’- भनेकी हुन् या पतिले आफ्ना अहंको रक्षार्थ ‘यो रात काट्न नपरोस्’ भनेका हुन्- कुरा एउटै हो । पदोन्नतिको आश्वासन पाएर बहिदारले वर्षदिन हाकिमको भात पकाएको होस् या ऋणमुक्त हुने वचन पाएर कसैले जीवनभरि साहुको खेतबारी जोतेको होस्- कुरा एउटै हो । कुनै ट्वाँटबाजले अर्को बिहानदेखि ठर्रा छोड्ने कबूल गरी प्रत्येक नयाँ बोतललाई अन्तिम बोतल बनाएको होस् या चुरोटबाजले आउँदो मसान्त, सङ्क्रान्ति, औँसीपूर्णे, दशैँतिहार आदि कुनै तिथिदेखि धुम्रपान छोड्ने किरिया खाएको होस्- कुरा एउटै हो । कसैले यसलाई आत्मविश्वासको कमी र हीनताबोधको प्रमाण हो भनोस् या जसले जे-जस्तो भनोस् – तर यो किरिया र वाचा-कबूल त बलवान् छ-छ, किनभने यसमा भ्रमरूपी सन्तोष भरिएको छ तथा आशाको सुनौलो तार गाँसिएको छ । अब किरिया खानेले नै जिब्रोको टुप्पो अलिकति टोकेको थियो भने कसले के भनोस् ? (किरियाबाजहरूको धारणा अनुसार किरिया खाँदा जिब्रो टोकेपछि किरिया लाग्दैन रे !) तर मेरो विचारमा त यो जिब्रो चपाएको होइन, बरू कुरा चपाएको हो ।

बेलाबेलामा सुनिन्छ- सत्यको रूप बिग्य्रो रे ! तर सत्यको रूप जेजस्तो भए पनि अदालतमा तामा र तुलसी छोएर अथवा गीतामाथि हात राखेर ‘जे भन्नेछु- सत्य भन्नेछु’- भनेर किरिया खाने परम्परा कायमै रहनेछ । आज प्रेम, भोलि विवाह तथा पर्सी पारपाचुकेको स्थितिले हाम्रा समाजशास्त्रीहरूको गिदी लुछ्न थाले पनि प्रेमी-प्रेमिकाले एकअर्काको आँखामा नियालेर जन्म-जन्मान्तर साथ दिने बाचा कबूल दोहर्‍याउने नै छन् । आफ्नो कुरा तल पर्न जाँदा बाहुनबाजेले चाणक्यको झैँ टुपी नभए पनि काती परेको जनै झिकेर ‘धरोधर्म हजुर । असत्य भए यिनैले भस्म पारुन्’ भनी धर्मको दुहाई दिने जमर्को गर्न छाड्नेछैनन् । चोरले काखमा छोरो राखेर भाक्न बेर लाउनेछैन । मण्डलीमा गफाडीले एकैपल्ट सातवटा किरिया खान पनि छोड्नेछैन । अब आफै भन्नोस्- यो हाम्रो संस्कार हो कि परम्परागत संस्कृति ?

०००
‘धरोधर्म हजुर’ (२०५४)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

प्रभो ! फेरि जन्म...

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
भुलक्कड गुरु

भुलक्कड गुरु

उत्तमकृष्ण मजगैयाँ
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल