सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

मैले त पहिलै भनिसकेको छु तस्कर र भ्रष्टाचारीका लागि नेपालभन्दा राम्रो अर्को कुनै मुलुक संसारमै छैन । त्यसैले प्रभो ! म मरिसकेपछि पनि फेरि जन्म लिन पाउने भए मेरो प्यारो देश नेपालमै जन्मिन पाऊँ ।

Nepal Telecom ad

उत्तमकृष्ण मजगैँया :

जीवन छँदै डि.भी. चिठ्ठा पारेर अथवा कामकै खोजीमा भए पनि अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, क्यानडा वा यस्तै इन्द्रलोक, कुबेरलोक जान लालायित भीडमा आफूलाई नउभ्याएर, मरिसकेपछि पनि उतैतिर नजन्मेर नेपालजस्तो गरिब र अँध्यारो मुलुकमा फेरि जन्म लिन चाहने कस्तो हरिलठ्ठक रहेछ भन्नुहोला । तर मैले धेरै दिनको चिन्तन-मन्थन र धेरै रातको जाग्रामपछि प्राप्त गरेको आत्मज्ञान हो यो । त्यसैले मैले- “प्रभो ! फेरि जन्म होस् त नेपालमै होस् ।” भनेको हूँ । कुरा बुझ्नु भो ? ए, बुभनु भएन ? त्यसो भए मेरो कुरा ध्यानले सुन्नुहोस्- हेक्का राख्नुहोला – मलाई गुरु मान्नोस्, नमान्नोस् तर मेरो दिव्यज्ञानबाट प्रशस्त फाइदा भने उठाउन सक्नुहुनेछ । मैले यो ज्ञान बुद्धले झै दरबार त्यागेर, परिवारबाट भागेर यौटा पिपलको रुखमुन्तिर धुमधुम्ती बसेर पाएको होइन, बरू घरबार । दरबार नै भनिदिए पनि हुन्छ । जोरेर, देशदुनियाँ डुलेर, रसरङ्गमा भुलेर आर्जन गरेको अद्भूत ज्ञानको सार हो ।

कुरा थालौँ कि ? हेर्नुस्, यो आर्थिक युग हो । त्यसैले यस युगको मूलमन्त्र हो- पैसा । जसले अकूत धन कमाउन सक्छ, त्यही सफल र चिरञ्जीवी बन्छ । अर्थात् उसैको इतिहास लेखिन्छ, बिरुदावली गाइन्छ र ठाउँठाउँमा सालिक समेत ठड्याइन्छ । सालिक ठडिन आज शहीद बन्नु पर्दैन । धनले व्याङ्कहरू भरे पुग्छ । राष्ट्रिय स्वाभिमानको रक्षार्थ रणमा मर्नु पर्दैन, बाँचेरै विभिन्न तिगडम गरे पुग्छ । राष्ट्र र राष्ट्रियता त थोत्राे आदर्श र क्षणिक भावुकताका कुरा मात्रै हुन् । आफै सोच्नोस्, तपाईंका पुर्खाको राज्य र राष्ट्रियता कुन थियो । पाल्पा थियो ? कास्की थियो । लमजुङ थियो ? गोर्खा थियो ? यस्तै कुनै प्युठानी, सल्यानी, दङाली, जुम्लेली, उदयपुरे, कुनै मकवानपुरे त कुनै तिरहुते पनि थिए होलान् । विभिन्न थुम्काथुम्की र बाईसे चौबीसेमा बाँडिएका । तर आज सबैले ‘जय नेपाल’ भनिरहेका छन् भने कहाँ रह्यो त पुर्खाका पालाको राष्ट्रियता ? भरुवा बन्दुक पड्काउँदै पृथ्वीनारायण शाहले ‘यो नेपाल हो’ भनेजस्तै अहिले पनि अदृश्य शक्तिको आडमा अरु कसैले बम पड्काउँदै ‘यो फलानो हो’, ‘यो डिस्कानी हो’ भन्न सक्दैन भन्ने केही ग्यारेन्टी छ र ?

किनभने अहिले डन मावलीहरूसँग अथवा क्रान्ति र विद्रोहका नाममा हातहातमा संहारकारी अत्याधुनिक हतियार देखिने गर्छन् । अस्थिर भविष्यको यस्तो राष्ट्र र राष्ट्रियताको सवाल उठाएर थोत्रो तर्कद्वारा कम से कम मजस्तो जल्दो बल्दो र बुद्धिमान् नेतालाई सजिलै पार्न सकिन्न । मेरी आदर्श भनेको राष्ट्र होइन, पैसा हो । मैले आफू जोगी बन्नका लागि राजनीति गरेको पनि होइन । त्यसैले ‘नेपालको तराई, पहाड, हिमाल- मेरै गोजीको माल’, ‘देश चुसेर फ्याँकेको अवशेष’, ‘हरियो वन नेताको धन’ भन्ने गरेको छु । विश्वमा नेपालबाहेक त्यस्ती अर्को कुन मुलुक छ जहाँ नेता, मन्त्री र उनका हनुमन्तेहरूलाई देशको वन निजी धनमा परिणत गर्ने खुला छुट मिलेको होस् । मेरै पालामा वन सबै सखाप भएछ भने पनि राष्ट्रको ढुकुटी खर्च गरेर पुनः वृक्षारोपण गरौला नि । हुक्र्यो भने भोलि त्यो वन मेरा छोरा, नाति, पनातिसम्मले नै काट्ने छन् । आखिर उनको भविष्य पनि त मैले नै सुरक्षित गरिदिनुपर्‍यो नि !

शिक्षक र कर्मचारी बनेर राजनीति, युनियन र आन्दोलन, नेता बनेर विदेशीहरूको पूर्ण बफादारीका साथ चम्चागिरी गरेको देख्नुभएको छैन कुनै कुनै जातगोत्रमा यहाँ पनि पर्नुहुन्छ होला कि ? गर्नोस्, गर्नोस् । ढुक्कसित गर्नोस् । यहाँ सबैलाई जे गर्न पनि खुल्ला छुट छ बुझ्नु भो ? त्यसैले पहिले पावरको टावर चढेपछि म्यानपावरदेखि निर्माण-ठेक्का, खरिद-विक्री, एनजिओ र आइएनजिओसम्मको नजराना र कमिसनको निर्झर बर्सात हुने नै भयो । पहिले शक्ति-बन्दुक-गोली, त्यसपछि थुक बिक्दो बोली । आफै पावरमा रहेपछि वा पावरवाला अन्नदाता भएपछि नेपालमा के छैन यस्तो कमिसन- भेटी जति खाए पनि हुन्छ । छानीछानी चेलीबेटीहरू बम्बै-अरब जति पठाए पनि हुन्छ । आरडिएक्स, बन्दुक, बारुद, सुन, मूर्ति, नक्कली रुपियाँ, विदेशी करेन्सी, तस्करी, कालाबजारी, कमिसनको खेल चाहनुहुन्छ भने हाम्रो नेपालमा धन कमाउने हजारौँ बाटा छन् । यो देश त हामीजस्ता नेता कम तस्करहरूको भूस्वर्ग नै हो । त्यसैले यहाँ कतिको पेट र मलद्वारबाट सुन र हीरा झर्ने गर्छ । छाला र मासुभित्रबाट स्म्याक, हेरोइन र ब्राउनसुगर निस्कने गर्छ । साना ठुला माछाहरूले सुनमात्र होइन, सिङ्गै जहाज निल्न सक्छन् । यस्ता उदाहरण त कति छन् कति ।

त्यसैले सीमापारि नै तेलका ट्याङ्कर रित्याउन- सिध्याउन सक्ने पुरुषार्थीले डिजल-पेट्रोलमा त्यो जाबो मट्टितेल वा पानी मिसायो त कुन बहादुरी गर्‍यो ? यहाँको मल नक्कली, प्रत्येक माल नक्कली ! औषधी समेत नक्कली बिक्छ यहाँ । त्यो पनि मुटु र रक्तचापको, मस्तिष्कघातको । बलियाले देश खाएकै छन् । यो त हाम्रो देशको विशेषता नै हो । त्यसैले त यहाँ सदाचारी ठहरिएका निमुखा, निर्धाहरू भोकभोकै मर्छन् तर मजस्ता तिकडम गर्न सक्ने बलियाले सधैँ तर मार्छन् ।

बन्धु । किन अरब जाने ? चिहान खन्न ? किन अमेरिका, बेलायत जाने ? सडक-गल्ली बढार्न ? बुद्धि- चातुर्य र तिकडम गर्न सके हाम्रै देश स्वर्ग छ । पहिले जसरी भए पनि धन कमाऔँ र सत्ता प्राप्त गरौँ । सत्ता प्राप्त गरिसकेपछि पुनः अकूत धन कमाऔँ । कम से कम मैले सिंहदरबारभित्र तपस्या गरेर पाएको सिद्ध-सूत्र-मन्त्र यही नै हो । के भन्नुभयो ? अख्तियारले नाप्ला ? कानुनले बाँध्ला ? च्व… च्व…! अब त मलाई तपाईंको बुद्धिप्रति साह्रै टीठ लागेर पो आयो त । के तपाईंले अदालतको फैसलापछि पनि अटेरी गरेर स्वतन्त्र घुमिरहेका उच्च पदीय चोरहरू देख्नुभएको छैन ? छ त यहाँ कसैको हिम्मत तिनीहरूलाई पक्रेर भ्यालखानमा कोच्न सक्ने ? मैलाई हेर्नोस्, कसैले मलाई छोएर त हेरोस्, मैले उल्टो उसलाई नै घोक्रेठ्याक ख्वाएर तीन त्रिलोक चौध भुवन देखाइदिन सकिनँ भने म आफ्नो बाबुको असली छोरा नै होइन, बुझ्नु भो ? यसरी सबैतिरबाट संरक्षण पाएर पनि कथकदाचित् कुनै मतिहीन सिल्लीद्वारा पक्राउ परिहालिन्छ भने पनि कतिपयले कौतूकपूर्ण सफाइ पाएझैँ मैले पनि सफाइ पाएरै आफ्नो चर्तिकला देखाइदिनेछु ।

के भन्नुभो ? यो त भ्रष्टाचार हो अरे । केको भ्रष्टाचार नि । के तपाईं भ्रष्टाचार गर्नु हुन्न ? अफिसको गाडी र मोटरसाइकिल आफ्नो व्यक्तिगत काममा ससुराली दाइजो जस्तै ठानेर कुदाउनु हुन्न ? ल्यापटप, कम्प्युटर वा यस्तै अन्य महत्त्वपूर्ण वस्तुहरू आफ्नो बाबुको सम्पत्तिकै ठानेर घरमै ल्याई प्रयोग गर्नु हुन्न ? मिटिङ भत्ता, यात्रा भत्ता, ओभरटाइम भत्ता के सधैँ शुद्धरूपमा बुझ्नु भएको छ ? पत्नीलाई पि.ए. बनाएर विदेश उड्नुभएको छैन ? या पि.ए. लाई नै पत्नीको दर्जा दिएर पनि लानुभएको होला कि सम्मेलनको निहुँमा तेस्रो मुलुकतिर कहिलेकाहीँ । अनि, अफिस कहिले लेट आउनुभएको छैन ? नआएको दिन पनि हाजिर गर्नुभएको छैन ? हाकिम हुनुहुन्छ भने तपाईंको पियनले अफिसकै तलबमा तपाईंको भात पकाउँदैन ? तपाईंको बारी-फूलबारी गोडमेल गर्ने, सिँचाइँ गर्ने गर्दैन ? तपाईंका लागि बजारबाट सामान किनमेल गरेर ल्याउँदैन ? तपाईं लेखापाल अथवा स्टोरकिपर हुनुहुन्छ भने त तपाईका दसै औँला घिउमा डुबेको हुनुपर्छ, किनभने हाकिमसँगको मिलेमतोमा सयको हजार र हजारको लाख पुर्‍याएर बिल बनाउने अवसर तपाईंसँग छँदैछ । सबै यस्ता हुँदैनन् नि ! भन्नुहोला तर यदि कुनै त्यस्तो चोखो मान्छे छ भने ऊ धेरै दिनको भोकोझैँ देखिन्छ होला । घरपरिवार र आफन्तीका नजरमा निकम्मा साबित भएको ऊ कि त गुनासो गर्दै भौँतारिएर सुनुवाई नै नहुने निकायको चक्कर काट्दै होला कि विदेशी सेना पसेर सबै ठिक दुरुस्त पारिदिने भ्रमपूर्ण कल्पनामा ढुक्क बसेको होला । अवसर नचिन्ने यस्ता बुद्धूलाई के भन्ने ?

काँतर मान्छेहरू अस्थिरता र द्वन्द्वसित खै किन डराउँछन् ? म त चाहन्छु, यो देशमा द्वन्द्व कहिल्यै नसकियोस् । हुन सक्छ भने नयाँ नयाँ रूपमा यो अरु चर्कियोस् । किनभने द्वन्द्वका नाममा अरबौँ डलर भित्रिरहेको हुन्छ बाहिरी मुलुकबाट । यसरी नै बाढी पहिरो, भूकम्प, भोकमरी, महामारी, सबैले अनुदानरूपी डलर नै तान्ने हुन् । भित्रिएको रकममा मेरो पनि भागबण्डा रहने गर्छ भन्ने कुरामा कसैले कुनै शङ्का नगरे हुन्छ । मैले हतियार बेचेको छु, गोलाबारुद बेचेको छु, अनुदानको अन्न बेचेको छु । सुन्नुभएको छैन ? जलमाफिया, वनमाफिया, भूमाफिया भनिएजस्तै सदनमाफिया, लोकतन्त्रमाफिया, आन्दोलनमाफियाहरूका किस्सा ? यस्तै स्कुल कलेज र विश्वविद्यालय माफिया, अस्पताल माफियाका बारेमा पनि सुन्नुभएकै होला । तिनीहरू भनेका पनि त म र मजस्तै मेरा दौँतरीहरू नै हुन् ।

त्यसैले यस्तो भूस्वर्ग छाडी विदेश किन धाउँथेँ त म ? मैले त पहिलै भनिसकेको छु तस्कर र भ्रष्टाचारीका लागि नेपालभन्दा राम्रो अर्को कुनै मुलुक संसारमै छैन । त्यसैले प्रभो ! म मरिसकेपछि पनि फेरि जन्म लिन पाउने भए मेरो प्यारो देश नेपालमै जन्मिन पाऊँ । त्यसमा पनि बेइमान, तस्कर, भ्रष्टाचारी र कालोबजार गर्न सक्ने मात्र नभई ताक परे यो देशै बेचिदिन सक्ने उपल्लो दर्जाको प्रभावशाली नेता, मन्त्री वा अधिकारी भएरै जन्म लिन पाऊँ । बिन्ती !!….

०००
‘समकालीन साहित्य’ (२०७६)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
भुलक्कड गुरु

भुलक्कड गुरु

उत्तमकृष्ण मजगैयाँ
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे