उत्तमकृष्ण मजगैयाँट्याब्लेटको मान्छे
ए अनुसन्धानकर्ताहरू ! ए औषधि निर्माताहरू ! आऊ, मेरो रगतबाट मेरो हाडमासुबाट नसा - नाडी - गिदोबाट जुन तत्व चाहिन्छ झिक किनकि औषधिको स्टोर हो मेरो शरीर !

उत्तमकृष्ण मजगैयाँ :
औषधि-विज्ञानको चरम उत्कर्षमा 
यस युगको नाम नै साथी
ट्याब्लेटको युग राखौं कि ?
किनकि कहिलेकाहीँ त
जीउ विसञ्चो हुन्छ – हुन्छ
मेरो मात्र होइन नि,
‘मै हुँ’ भन्ने भीमको पनि हुन्छ
तर म भोकाउन पहिले
पचाउन पछि ट्याब्लेट खान्छु
त्यस्तै, पेट पखाल्न पहिले
पेट बसाल्न पछि ट्याब्लेट खान्छु
थोरे होइन, पसरभरिले
खाजाको समस्या टार्ने मान्छे
म ट्याब्लेटको मान्छे ।
मसँग डाक्टरेटको डिग्री छैन
तर त्यसको पनि कुनै फिक्री छैन
किनकि औषधिका हजारौँ नाम त
मेरो जिब्रोको टुप्पामा छन्
आफ्नो औषधि म आफै छान्छु
अरूलाई सिकाउन गौरव ठान्छु
व्यथा निको नहुँदासम्म म
विभिन्न औषधि फेर्दै खान्छु
औषधिले छोएन कसरी भनुँ ?
पुरानो टुङ्गिन्छ, बरू नयाँ जाग्छ
आवृत्ति रूपमा यस्तै नाचिरहेको मान्छे
म ट्याब्लेटको मान्छे ।
कफ, वात, पित्तको सिद्धान्त
पूरै फेल भयो मेरो लागि
किनकि आशव, रस र भष्मवटीले
केही प्रभाव देखाएन
तत्व-किटाणुको सिद्धान्त पनि उस्तै
टनिक, ट्याब्लेटले छुँदै छोएन
घटेको तौल, सुकेको जीउ,
म विज्ञानको लागि चुनौती मान्छे
म ट्याब्लेटको मान्छे ।
रोग लाग्छ – म ट्याब्लेट खान्छु
शोक जाग्छ – म ट्याब्लेट खान्छु
निद्रा लाग्दैन – ट्याब्लेट खान्छु
भाव जाग्दैन – ट्याब्लेट खान्छु
बानी लागिसकेछ अब त
अम्मलझैँ म ट्याब्लेट खान्छु
मोटाउने रहर जस्ताको तस्तै
साथीहरूबीच ‘कार्टून’ मान्छे
म ट्याब्लेटको मान्छे ।
नयाँ स्याम्पुलको असर जाँच्ने
प्रयोगशाला हो मेरो शरीर,
चिकित्सकहरूको लागि पनि
ठूलो उपलब्धि हो मेरो शरीर,
ए अनुसन्धानकर्ताहरू !
ए औषधि निर्माताहरू !
आऊ, मेरो रगतबाट
मेरो हाडमासुबाट
नसा – नाडी – गिदीबाट
जुन तत्व चाहिन्छ झिक
किनकि औषधिको स्टोर हो मेरो शरीर !
या उभ्याइदेऊ म्यूजियममा
किनकि औषधि पचाउन कीर्तिमान प्राप्त
बिसौँ शताब्दीको म अद्भूत मान्छे
म ट्याब्लेटको मान्छे !
०००
जय अवसरवाद (२०५४)
Subscribe
Login
0 Comments
Oldest






































