साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हार्दिक श्रद्धाञ्जली टिकटकलाई !

हामीसार्वभौम छौँ भन्नु भ्रम मात्र हो । हामी न त सरकार बनाउन सक्छौँ, न त भत्काउन सक्छौँ । न त विरोध गर्न नै सक्छौँ । अब तपाईंले नै आत्महत्या गरे पनि टिकटकलाई बचाउन सक्नुहुन्न ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

आदरणीय टिकटकप्रेमी जनसमुदाय !

पक्कै पनि त्यस्ती मोहिनी रूप टिकटकले एक्कासी माटो खान पुगेकोमा तपाईंहरू चिन्तित हुनुहुन्छ । म पनि तपाईंहरूको यस शोकाकुल अवस्थालाई मुटुको भित्री कुनामा घुसाउन चाहन्छु । उनको असामयिक निधन भएकोमा गहिरो दुःखका साथ हार्दिक समवेदना व्यक्त गर्दछु । धैर्य धारण गर्नुहोस् । टिकटकरूपी मोहिनीलाई मेरो तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली !

टिकटकरूपी देवीको हत्या गर्ने अपराधी सरकारलाई भने घोर समर्थन छ ! तपाईंहरूमध्ये कति जनालाई ज्वरो आयो होला । कति त अझै पनि बेहोश हुनुहुन्छ । ठिकै छ, सती जान चाहनुहुन्छ भने जानोस्; दाउराको मेसोमेलो पनि मै मिलाउँला । नत्र महादेवले मरेकी सतीदेवीलाई पिठ्युँमा बोकेर संसार भ्रमण गरेजस्तो संसारै भ्रमण गर्नुहुन्छ भने पनि गर्नुहोस् । मैले त हार्दिक श्रद्धाञ्जली भन्ने यी दुई शब्दबाहेक केही गर्न सक्दिन ।

टिकटकप्रेमी महानुभावहरू ! तपाईंहरूलाई थाहा छ कि छैन कुन्नि, ती देवीको अवतार हाम्रो देशमा भएको होइन । भृकुटी र सीता जस्तो हाम्रै सन्तती भएको भए पनि सोच्नै पर्थ्यो । ती त लुसुक्क कताबाट हो हाम्रो देशमा प्रवेश गरेकी थिइन् । हाम्रा नाल नझरेका बच्चादेखि दाँत झरेका बुढासम्मलाई एकैसाथ मोहनी लगाएर फँसाएकी थिइन् ।

उनले के के कमाल गरिन् भन्ने त मैले बखान गर्नै नपर्ला क्यारे । षड्यन्त्र गरेर उनलाई मारिएको होइन । जानाजान गोली ठोकिएको हो । समयमै मोहिनी औतार टिकटकलाई तह लगाउन सकेकोमा सरकारलाई पुनः हार्दिक धन्यवाद ! उनी मरेर तपाईंहरूको सास रोकियो कि ? अथवा गाँस रोकियो ? रक्तसञ्चारै त बन्द भएन होला क्यारे । यसरी नछट्पटाउनुहोस् न भन्या । किन नदीको माछो बालुवामा फालिए जस्तो गर्नुहुन्छ ? धैर्य गर्नुहोस्, चित्त नदुखाउनुहोस्, पित्त नसुकाउनुहोस् ।

ठुलै बुज्रुगज्यूहरू पनि बर्बराएको देख्दा भने म झनै दङदास छु । उनी नै मुख भए जस्तो, मौलिक हक भए जस्तो गर्नुहुन्छ बा ! सूचनाको हक गुमाए जस्तो रोइलो गरेको देख्दा विस्मित छु । घाँटीपासो लगाइदिए जस्तो छटपटाएको देख्दा चकित छु । हत्कडी लगाए जस्तो अफन्नाएको देख्दा अचम्मित छु । होइन एकै छिन त मुख थुने पनि नाकबाट सास फेर्न सकिन्छ भो ।

यतिसारो उफ्रनु पर्दैन क्या त्यसो त हाम्रो देशका लुतिखैरे न्यायाधीशहरूले सञ्जीवनी छर्केर बचाउन बेर छैन, उनको प्रेममा लठ्ठिएर पागल भएका दुईचार जना लठैतहरूले रिट हाले भने । माइतीघर मण्डेलामा अनसन बसे भने थुरथुर काम्न बेर छैन यो अपराधी सरकार ! आफूले गरेको राम्रो कामलाई आफैले चिन्न सक्ला जस्तो पनि लाग्दैन । अझ उसैमाथि लेखक कविहरूले सत्तो सराप गरेर व्यङ्ग्यवाण हानिरहेछन् । टिकटकमा मात्र हो र विकृति विसङ्गति भएका हरेक क्षेत्र छन् ती सबैलाई बन्द गर् भनेर कुर्लिरहेछन् । हैन, टिकटकमा त्यस्तो सिर्जनशीलता के रहेछ र ?

मैले नबुझेको कुरो । एकाध लाइभ बस्नेहरूले पैसा लुँड्याए होलान् नत्र कसैको कृति रहने काम टिकटक देवीले गरेकै थिइनन् । खबरदार फेरि ब्युँताउने जालझेल गरियो भने देश अझै उँधो लाग्नेछ । के तपाईंहरूलाई वाक स्वतन्त्रता टिकटक देवीले नै दिएकी हुन् त ? बोल्न पाउने थुप्रै माध्यमहरू बिर्सनुभएछ क्यारे । स्मरणशक्ति गुमेको भए एक पटक मानसिक रोग विशेषज्ञकहाँ जानुहोस् जँचाउन । वाक स्वतन्त्रता त पाउनुभएकै छ ।

उनी नहुँदैमा के भो र फेसबुक बाजे छँदै छन् ! ट्वीटर ठिटो पनि जल्दोबल्दो नै छ । युटुबको कुरै गर्नु परेन । यिनीहरूको मुख हेरेर चित्त बुझाउनुहोस् हजुर ! हातखुट्टा बाँधिएको होइन, सर्वस्व गुमेको छैन, किन अत्तालिनुभएको ? टिकटक नभएर बरु अबदेखि गृहिणीहरूले भात नडढाल्ने भए । दुध उम्लेर खेर जाने भएन । तुइनबाट भन्दा बढ्ता मान्छेहरू पुलबाट खस्नु परेन । भीरको सिरानबाट लडेर नमर्ने भए ! कति जाती ! कत्रा कत्रा घटना घटेका थिए ती टिकटक नानीले गर्दा याद त होला नि ।

मेरी आम्मै नि ! भेलु बाजेको भेलु पो घट्ने भो गाँठे । बर्बादै हुने हो कि । बल्ल अब हाम्रा नानीबाबुहरूले अलिअलि किताब हेर्छन् कि जस्तो लाग्न थालेको छ । छरछिमेकीहरू अलिअलि दुःख साटासाट गर्छन् कि । कत्रो समयको बर्बादी भएको थियो । त्यसको सट्टा अर्कै उत्पादनशील काम भयो भने केही राहत हुन्थ्यो । मौलिकता हराइसकेको थियो, अब अलिअलि भए पनि जोगिएला जस्तो छ । हुन त बेरोजगारहरूको अखडा जमेको देशमा त्यस्ता जादुगर्नीहरू चाहिने नै हुन् तर अचाक्ली भएपछि कति सहनु ? कामै नपाएर सबैका अगाडि माथिका लुगाहरू तल तल झार्न थाले महिलाहरूले । कति छुद्र र अश्लील बोल्थे अल्लारेहरू । यस्तो विकृति पनि रोक्नुहुन्न भन्ने हामी कति मूर्ख ? हामीलाई यस्तै मूर्खता नै ठिक थियो, मूर्ख बन्नु हुन्न भन्ने तँ को ? भनेर मलाई औँला ठड्याउन पनि सक्नुहुन्छ । ठड्याए ठड्याउनुहोस् ।

हुनेखानेहरूलाई त ठुलो कुरा भएन । दुखजिलो गरेर परिवार पाल्नु पर्ने तल्लारे माइलाको बिलौना थाहा पाउनुभयो भने मेरो कुरालाई अलिकति समर्थन गर्नुहुन्थ्यो कि ? हुँदा हुँदा तल्लारे माइलाकी स्वास्नीले समेत साताको एक जोडा नयाँ लुगा चाहियो भन्न थालिछन् । एक पटक टिकटकमा प्रदर्शन गरेको कपडा अर्को पटक देखाउन नहुने रे ! अरु छिमेकका दिदीबहिनीहरूले कति नयाँ नयाँ पहिरनमा टिकटक बनाउँछन् म जैरीको यस्तो हालत ! भनेर रुन कल्लाउन पो थालिछन् । अनि त मजारे साहूकहाँ ऋण काढेर भए पनि तल्लारे माइलाले कपडा नकिनी भएनछ । साहूको भाका नाघेर अलिकति सहयोग चाहियो भाइ ! भन्न आएकाले मलाई यस्तो रहस्य थाहा भयो । तब पो म जिल्ल परेँ । हेर्नुहोस् त टिकटक मैयाँको करामत !

हामीलाई मनोरञ्जनमा मात्र भुलाएर, टिकटकमा मात्र झुलाएर, पैसाको कुम्लो आफ्नो देशमा हुलाएर देशलाई कङ्गाल बनाउन लागेको कुरा हामीले बुझेनौँ कि बुझ्न खोजेनौँ म दोधारमा छु । सबै बेरोजगार नेपालीहरू टिकटकको मोहनीमा लठ्ठिएर भुलेपछि परिश्रम गर्न नसक्ने बन्छन् बोइलर कुखुरा जस्तो भन्ने बुझेर नै घुसाइएको हो यो हाम्रो देशमा । बोल्ने अधिकार टिकटकले नै दिए जस्तो गरेर मच्ची मच्ची कराउनु कस्तो बुद्धिमानी हो । मलाई त विकृति औल्याउनुभन्दा पनि विकृति मौलाउन मद्दत गरेको थियो जस्तो लागेको छ टिकटकले ।

सरकारको विरोध गर्ने तमाम उपायहरू छन् । पत्रपत्रिका छन्, युटुब छ, फेसबुक छ, टिकटक मात्र त हतियार हैन होला नि । यस्ता सामाजिक सञ्जाल मात्र हाम्रा उपकरण हुन् र ? अति भयो भने नारा जुलुस गर्नुहोस् । त्यसो गर्न जाँगर छैन भने ठाउँ ठाउँमा टायर बाल्नुहोस् । यातायातका साधन बन्द गर्न थाल्नुहोस् । सडकमा बडा बडा रुखहरू ढाल्नुहोस् । यस्तो जनविरोधी सरकार चाहिँदैन भनेर पर्चा छपाई सिंहदरबारमा फाल्नुहोस् । सक्दै सक्नुभएन भने दुर्गा होइन नवदुर्गा नै भएर गणतन्त्र हल्लाउने कदम चाल्नुहोस् । कसले छेक्न सक्छ र यो गणतान्त्रिक राज्यमा ।

देशभित्र बसेपछि सरकारको समर्थन गर्ने पनि जनता, सरकारको विरोध गर्ने पनि जनता । जाबो टिकटक नै त काफी थिएन होला विरोध जनाउन ! सबैले टिकटक बन्दको विरोध गरिरहँदा म एक्लैले समर्थनमा बर्बराइरहेछु । यो पनि मेरो मुर्ख्याइँ नभएर अरु के नै होला र । बरु मलाई मूर्खशिरोमणि नै घोषणा गर्नुहोस् तर म टिकटक बन्दको विरोध गर्ने विरोधीहरूको विरोध गर्न छाेड्दै छोड्दिन ।

मलाई थाहा छ विरोधको विरोध भन्नु नै महाविरोध हो । विरोधको विरोध = महाविरोध भन्ने सूत्र मेरो डायरीमा छ, असम्भव भन्ने कुरा मूर्खहरूको डायरीमा भए झैँ । ठुला कविलाई महाकवि भन्न हुने भएपछि ठुलो विरोधलाई महाविरोध भन्न किन हिच्किचाउनु ? मलाई महामूर्ख नै भनिदिए पनि केही फरक पर्दैन ।

होइन, कुरा मैले मात्र नबुझेको हो कि हामी कसैले पनि नबुझेको हो ? गणेशमानले जनतालाई त्यत्तिकै भेँडा भनेका रहेनछन् कि ! यस्तै भएर त भने होलान् । हामीलाई अरु कसैले सिकाएर विरोध गरिरहेछौँ कि आफ्नै बुद्धिले भन्ने पनि थाहा छैन । बाटो बनाए पनि विरोध, बाटो भत्काए पनि विरोध ! बोल्ने हक दिए पनि विरोध, बोल्ने हक खोसे पनि विरोध ! भैँसी किन्ने सम्झौता गरे पनि विरोध, भैँसी बेच्ने सम्झौता गरे पनि विरोध ! दन्ते कथाको ज्वाइँ र हामीमा के फरक भो र ?

एउटा हामी जस्तै लम्फु छोरालाई ससुराल जाने बेला आमाले खुब सिकाएर पठाइछन् । हेर् केटा सासूसित कुरा गर्दा राम्ररी बोल्नुपर्छ । सासूले जे भने पनि बेस भयो सासू भन्नु नि ! अनि ससुराल पुगेपछि सासूज्वाइँको कुरा भएछ । उसले पनि आमाले सिकाएबमोजिम भन्दै गएछ । यसैपालि घर बनाइयो केरे ज्वाइँ – बेस भयो सासू । छोरालाई सरकारी जागिर पनि मिल्यो ज्वाइँ – बेस भयो सासू । बिस मुरी धान हुने खेत खोलाले बगायो ज्वाइँ – बेस भयो सासू । अहिले नै लैनो भैँसी पनि मर्‍यो – बेस भयो सासू !! आफ्नो विवेकले नभेटेपछि हुने यस्तै हो ।

यो कथा र टिकटक बन्दको विरोध मलाई एउटै लाग्छ । भूपि शेरचनले भने जस्तो ‘हामी वीर छौँ तर बुद्धु छौँ, हामी बुद्धु छौँ र त वीर छौँ, हामी बुद्धु नभै वीर कहिल्यै हुन सकेनौँ ।‘ हामीलाई जसले थाङ्नामा सुताए पनि सुतिदिन्छौँ । उनीहरूले हामीलाई तिमीहरू सार्वभौम जनता हौ भन्छन्, हामी मख्ख पर्छौँ । ईः हौँ हामी सार्वभौम ?! हामीले नै बनाएको सरकार हैन यो ? उसो भए हाम्री प्यारी टिकटकलाई किन मार्‍यो त ? तपाईंले बनाएको सरकार हो भने अब तपाईंकै विरोध गर्नु पर्ने भयो ।

हामी सार्वभौम जनता हुन्थ्यौँ भने हामीले सरकार बनाउन सक्थ्यौँ । अहिले हामीले सरकार बनाउन सक्दैनौँ । सुन्नुभएन हाम्रा प्रधानमन्त्री बोलेको ? ‘मैले ओलीजीलाई तीन पटक प्रधानमन्त्री बनाएँ । उहाँले बल्ल मलाई एक चोटि बनाउनुभयो । अझ दुई पल्ट उहाँले मलाई बनाउनु पर्छ । ‘सरकार बनाउने र भत्काउने उनीहरूले नै हो, हामीले होइन ।

त्यसैले हामीसार्वभौम छौँ भन्नु भ्रम मात्र हो । हामी न त सरकार बनाउन सक्छौँ, न त भत्काउन सक्छौँ । न त विरोध गर्न नै सक्छौँ । अब तपाईंले नै आत्महत्या गरे पनि टिकटकलाई बचाउन सक्नुहुन्न । आउनुहोस् बरु हामी सबै मिलेर उनको सम्झनामा एक मिनेट मौन धारण गरौँ ।

०००
२०८० मङ्सिर १२ गते
फोक्सिङ, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x