सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कवि ‘विद्रोही’ : एक परिचय

बरु श्रीमान् ! तपाईं शायद अत्याधुनिक साहित्यको परिभाषा र मर्म बुझ्नै सक्नुहुन्न कि ! निश्चय पनि तपाईंको गिदीभित्र उनका महान् रचनाहरूको भाव घुस्नै सकेन जस्तो छ ।

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

कसैले त परिचय लेखिदेला अथवा छापाहरूमा अन्तर्वार्ता छापिदेला भनेर आजसम्म कवि ‘विद्रोही’जीले लामै प्रतीक्षा गरे तर यिनी हताश निराश भए । त्यसैले अब आफ्नो परिचय आफैं दिएर भए पनि यौटा ‘युगकवि’ लाई देशमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउने शुभकार्य गर्दैछन् यिनी । तर तपाईं सोच्नुहोला, यिनी कस्ता मान्छे रहेछन् बा ! कसैले तपाईं भनोस् कि नभनोस् आफैँ मपाईं भन्दा रहेछन् ।

त्यसो भए तपाईंलाई थाहै रहेन कि यो युग त साँच्चिकै मपाईंवालाहरूकै हो । जति ठूलो भुकाइ उति ठूलो अस्तित्वबोध, जति ठूलो भाषण-पम्प्लेट-पर्चा उति नै ठूलो चर्चा । के तपाईं यो भ्रममा हुनुहुन्छ कि कसैले हात समातेर तपाईंलाई प्रसिद्धिको शिखरसम्म पुर्‍याइदेला ! असम्भव ! यो अवसर त उसले आफ्नै लागि सुरक्षित राख्नेछ । धेरै दिनपछि मात्र यो रहस्य उनीमाथि खुल्न गएपछि ‘अब यसरी चुप लागेर बस्नु त भएन’ भनेर यिनले आफ्नो काव्यसाधना र योग्यताको परिचय आफैँ दिएर पनि, आफ्नो धनखर्च गरेर छापाहरूमा आफ्नो नाम र कविता छपाएर भए पनि प्रसिद्धि थुपार्ने जमर्को गर्दैछन् ।

कवि ‘विद्रोही’ जीलाई त तपाईंले चिन्नुभएकै होला ? के अरे ! चिन्नुभा’ छैन ? कस्तो गजबको मान्छे तपाईं पनि ! यिनले धेरै पल्ट चियापसल र कफीहाउसमा, पार्क र चौतारीमा, बसस्टप र सडकमा थुप्रै कविताहरू भट्याइसकेका छन् । तपाईंलाई शायद साहित्यसित एलर्जी भएको हुनुपर्छ, अन्यथा यिनीजस्तो चर्चित कविलाई चिन्दिनँ भन्नु लाज मर्नु कुरो होइन त ! तर अब ध्यानले सुन्नुहोस्- नामको हेक्का राख्नुहोला- यिनको नाम हो युगकवि लक्ष्मीनारायण शर्मा ‘विद्रोही’ ।

सरस्वतीको प्रिय हुन खोजेकोले उनीसँग लक्ष्मीमा होइन उनकी आफ्नै गृहलक्ष्मी पनि रिसाएकी छिन् । सधैँको कचकचबाट दिक्क भएर कविजी घरबाट पलायन हुने साहस जुटाउँदैछन् । तर छद्म नामबाट भए पनि कविता लेख्न चाहिँ नछोड्ने अठोट लिएका छन् । ‘कुनै अनजान शहरको वातानुकूलित कोठामा बसेर भए पनि गाउँ र छाप्राका कथा, कविता लेख्नेछु’ उनी भन्ने गर्छन् । उनको कल्पना शक्ति निकै प्रखर छ, तसर्थ कल्पनाकै सहाराले जस्तोसुकै स्थितिको पनि चित्रण गर्न सक्छन्, अवलोकन चाहिन्न, अध्ययन चाहिन्न । भएनन् त उनी आधुनिक युगका अतियथार्थवादी लेखक, कवि र चिन्तक !

उनी आफ्ना रचनाद्वारा समाजमा आर्थिक क्रान्ति ल्याउन चाहन्छन् । उनका महान् योजनाहरूबाट पनि उनको विलक्षण रचनात्मक प्रतिभाको सहजै अनुमान लगाउन सकिन्छ । रावणको कल्पनाजस्तै उनी पनि मकैको धानबाट साँच्चिकै धानका गेडा, उसको कोखिलाबाट आँख्लैपिच्छे मकैका घोगा, जराबाट आलु वा सखरखण्ड, डाँठबाट चिनी र जुँघा- पोख्सरबाट कपडा बनाउने प्रविधि विकसित गर्नु आजको आवश्यकता बताउँछन् । यस्तै पानीबाट पेट्रोल, डिजलको काम, हावाबाट भिटामिनका गोलीको निर्माण, चन्द्रमा र मङ्गलमा मानव-वस्ती बसालेर खेती गर्ने कल्पना एक न एक दिन अवश्य साकार हुने दृढ विश्वास पनि उनी प्रकट गर्छन् । देवकोटाले पनि उडेर चन्द्रमा छुने कुरा सिँत्तै लेखेका हुन् र ! आज उनको कल्पना कति सत्य ठहरियो, देख्नुभो ! त्यसैले हाम्रा कवि ‘विद्रोही’जीका विचारहरूलाई पनि कल्पनाको घोडा कुदाउनु’, ‘मनका लड्डु घिउसित खानु’ दिवास्वप्न देख्नु’ जस लोकोक्तिसित गाँस्ने दुष्प्रयासचाहिँ पटक्कै नगर्नुहोला ।

‘विद्रोही’जीको विचारमा पुराना साहित्यकारहरूले आफ्नो लेखनी थन्क्याए हुन्छ किनभने बुढयाइँले दिग्भ्रमित मस्तिष्कमा अब कुनै रचनात्मकता नै छैन । आजका नयाँ भनाउँदाहरूको रचनामा पनि आधुनिकताको सर्वथा अभाव छ । बरू हाम्रा कविजी चम्किंँदैछन् उनीहरूको माझमा सूर्यजस्तै । वास्तवमा उनको ग्लानि र कुण्ठा पनि कविता बन्छ । उनको क्रोध, आक्षेप र गाली पनि साहित्यको अप्रतिभा प्रयोग बन्छ । उनको घृणा द्वेष, प्रेम, ईर्ष्या, उपेक्षा, उपहास यी सबै रचनासँग एकाकार भई विलक्षण र अमर बन्छन् । उनले त तुकबन्दी मात्र गरे पनि त्यो कलजयी रचना बन्छ । धेरै पढ्न सकेनन् त के भयो ? मुठी कसेर, दाह्रा किटेर, फिँज काढ्दै अरूको विरोधमा जुन गाली लेख्छन् त्यही नै उनको यथार्थवादी रचना बन्छ । यिनका कविताहरूमा आगो हुन्छ, हुरी हुन्छ विद्रोह हुन्छ । सबैलाई ध्वस्त पारेर यिनी पृथ्वीतलमा एकपल्ट पुनः दिति र अदितिको युग फर्काउन चाहन्छन् र पछि अनुकूलको संसार निर्माण गर्न पनि यिनी आफैँ अग्रगामी हुने कुरा बताउँछन् । अब यिनको महानतामाथि कुनै शङ्का गर्नु पनि अत्याधुनिक साहित्य र सहित्यकारको अपमान गर्नु नै ठहर्दैन त !

यदि उनीलाई खुसी पार्नु छ भने ‘कविजी’ भनिदिए पुग्छ । आफ्नो लागि प्रयुक्त ‘मोडर्न कवि र लेखक’ जस्ता सम्बोधन सुन्दासाथ उनी गुब्बाराझैँ झुल्ने गर्छन् । साँच्चिकै उनी ‘मुड’ मा हुनुपर्छ- एकै दिनमा बीसौँ रचना कोर्न सक्छन् पनि । ‘मुड भनेको त बुझिहाल्नुभयो होला ? उही के, ठर्रा र गाँजा-चरेसको दम । यसको साथ पाउँदा साथ उनको कलमले त्यसै पैयाँ ठोकिहाल्छ । ‘तरङ्गको आवाजमा विचार-प्रवाह अवरुद्ध हुन जान्छ, कवितामा भावहरूको रङ्ग जम्न सक्दैन । ‘लेखनको लागि जीवनको अनुभवरूपी नशा चाहिन्छ भन्नेहरू गलत भन्छन् । उनी हाँस्दै प्रायः भन्ने गर्छन् ।

तसर्थ यदि तपाईं कुनै पत्रिकाको सम्पादक हुनुहुन्छ र अत्याधुनिक रचना चाहनुहुन्छ भने उनको लागि ‘मुड’ बोकेर जानोस्- तपाईंको काम फत्ते । केरे ! उनको लेखनको कुनै स्पष्ट उद्देश्य हुँदैन ? शब्दहरूको थुप्रो मात्रै हो ? कसिङ्गर हो ? निरर्थक हो ? पख्नोस्-पख्नोस् ! अपाङ्ग मन, अपाङ्ग लेखनी, अपाङ्ग विचार’ भनेर उनीमाथि गरिएको व्यङ्ग्य र शब्दप्रहार उनी पटक्कै सहन सक्दैनन् । बरु श्रीमान् ! तपाईं शायद अत्याधुनिक साहित्यको परिभाषा र मर्म बुझ्नै सक्नुहुन्न कि ! निश्चय पनि तपाईंको गिदीभित्र उनका महान् रचनाहरूको भाव घुस्नै सकेन जस्तो छ । वास्तवमा आजको ‘मार्डन आर्ट’ सामान्य गिदीमा नघुसेजस्तै हाम्रा कवि ‘विद्रोही’ जस्ताले २१ औँ शदी नाघेर लेखेका अत्याधुनिक महान् रचनाहरू त्यसै बुझ्न सकिन्छ त ! ठट्टा छ ?

०००
‘गृहलक्ष्मी भित्र्याएपछि’ (२०५४)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

प्रभो ! फेरि जन्म...

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
भुलक्कड गुरु

भुलक्कड गुरु

उत्तमकृष्ण मजगैयाँ