ह्यारी- ८०जन्मुन् औतारीहरू !
धूप लिएर चमर हल्लाउँदै जीवनभर गाथा गाएर बस्नुभन्दा मुलासनका देउतालाई थान्को लगाएर कर्म गर्नु नै पुजारीको मुख्य ध्येय हुनुपर्छ । काष्ठमण्डपका उदीयमान पुजारीझैँ नेपालमण्डपभरि औतारीहरू जन्मुन् ।

ह्यारी- ८० :
जागिर वा देवस्वको आम्दानी खाएर जीवनयापनका निम्ति देउताको पूजा गर्ने व्यक्तिको पनि के बखान गर्न लागेको भन्नुहोला ! देउताको पूजा गर्ने व्यक्ति नै पुजारी भएकाले यस्ताको चर्चा गर्नु पापको भारी बोक्नु हो भन्ने राय पनि कतिको होला ? अझ नेवारी समुदायको एक थर पुजारी भएको हुँदा यिनको चर्चा गर्न पनि अध्ययन निकै गर्नुपर्ने हुँदा त्यस विषयमा मजस्ता कालो अक्षर भैँसी बराबर भएकाको के नै हुती पुग्दो हो र ! त्यसैले कुनै न कुनै क्षेत्रका पुजारीका बारेमा खोतलखातल पारूँ भनेर सोच्तासोच्तै मनमा एउटा प्रश्न उब्जिएको थियो । त्यही मेसोमा पुजारीका बारेमा फतौरे काकाले के सोचेका छन् त, प्रवचन दिनुहोस् न काका भनेको धाराप्रवाह रूपमा मनको बह कहन लागिहाले—
“मन्दिरका पुजारी सरल स्वभावकार र श्रद्धेय हुन्छन् । मन रङ्गीचङ्गी भए पनि उनीहरूको पहिरन भने सादा नै रहन्छ; पवित्र पनि हुन्छ । अबिर, केसरी, थरी थरी पोसाक लगाउने र कोही नलगाउने आदिसँग साक्षात्कार गरिरहने पुजारीहरू चोखो खाने र पवित्र वस्त्र पनि धारण गर्ने भएकाले अन्य भोट माग्न आएका नेतालाई किन यिनको आगमन भयो भनेर जनताले चिनेझैँ सर्वसाधारणदेखि सन्तमहन्तसमेतकाले पुजारी किन बसेका रहेछन् भन्ने सहजै चिन्ने गर्दछन् ।
कतिपय पुजारी यति शक्तिशाली हुन्छन् कि रामराज्य नै चलाएर सरकारै ढालिदिन बेर लगाउँदैनन् । कुनै पुजारी आलोपालो अदलबदल भइरहन्छन् भने कुनै सन्तानदरसन्तानसम्म हालीमुहाली राज गरिरहन्छन् । देवतालाई अर्पण गर्ने बहानामा प्राप्य विषय वा वस्तुलाई आफैँ हजम गर्न खप्पिस भएका पुजारीको विशेषता भनेकै विकासका नाममा बजेट ल्याएर हजम पार्नेको जस्तै हुन्छ । बजेट बाँडफाँडबाट सकेसम्म आफैँतिर कुम्ल्याउने तर विकासका नाममा कौडी पनि खर्च नबाँड्ने हुँदा यस्ता पुजारी उपल्लो तहका बाह्रमासे फूलजस्तै फुलिरहने र धन, शक्ति र रोबिलो व्यवहारले सबैलाई कज्याउन सक्ने हुन्छन् ।
दिउँसो देखिने गरी प्रसाद नखाने तर प्रसाद नभई यताको सिन्को उता पनि नसार्ने सरकारी कर्मचारीको बिँडो थाम्ने पुजारीलाई पहुँच जोगाउन पनि कठै हम्मे नै पर्छ । कहिलेकाहीँ जोखाना पनि हेरिदिने यस्ता पुजारीहरू भेटीअनुसार वरदान दिन्छन् । बलेँसीको भूत टाढाको देउता, यिनलाई सर्वसाधारणले पूजा नगरी धरै पाउँदैनन् । देउतालाई विधिपिूर्वक पूजारीले नै पूजा गर्नुपर्छ तर त्यसअघि भूत मन्छाउनु उपयुक्त हुन्छ । भाकल गरेका होउन् वा नियम पूजा होस्, खुसी त पार्नै पर्छ । उनकै आशीर्वादले त पुजारोले पनि लड्डु, भाग, भोग, बलि खान पाएका छन् ।
मूल पुजारी, सहायक पुजारी, पुजारीका पनि पुजारी, सक्कली पुजारी नक्कली पुजारी, टिके पुजारी, निर्वाचित पुजारी, वंशजका आधारमा अधिकार प्राप्त पुजारी, वडा पुजारी, पालिका पुजारी, प्रदेश पुजारी, सङ्घीय पुजारी, समानुपातिक पुजारी, कति हो कति पुजारी पनि नेपालका झन्डै तेत्तिस कोटी देवताकै सङ्ख्याका हारहारीमा पूजारी पुग्न बेर छैन् ।
पुस्तौँपुस्तादेखि हैकम चलाउने पुजारीमध्येका एक हुन पुगेका आफ्नै छोरीका ज्वाइँसाहेब पूजारी पनि एक हुन् । उनले नै छोरीलाई यति मत्याएका छन् कि अरेली काँडाले च्वास्स च्वास्स घोचेर हो कि बुद्धिसमेत छ्याछ्या पारिसकेकी छन् । अर्कातिर केही पुजारीहरू मद र मात्सर्यले आफ्नो हैसियत बिर्सेर भोगविलासमा लिप्त छन् ! अझ तपस्या पनि भङ्ग गर्दै कलियुगलाई नै चुनौती दिँदै समयलाई विक्षिप्त पारिरहन्छन् । तैपनि अरूको आशीर्वादले जिइरहेका हुन्छन् यस्ता पुजारीहरू । देउताकै वरपर घुमिरहने तर भक्तजनको वास्तै नगर्ने पुजारीहरूले गर्दा नै चाकडी चाप्लुसी मौलाएको छ । दाताले चढाएको सबै आफ्नै आर्जन हो भन्दै अरूलाई फुट्या कौडी नदिने यी पुजारीका लागि देवता नै सर्वस्व बनेको हुँदा यिनीहरूमा मन्दिरका नामबाट कुम्ल्याउने संस्कार मौलाएको छ ।
मन्दिरको छानोभित्र कुँजिएर बसेका देउताभन्दा शक्तिकेन्द्रका वरपर भन्किरहेका पुजारीहरू बलशाली हुन्छन् र भेटेसम्मका पावरको अस्त्र प्रयोग गरी सन्तानदरसन्तानलाई घाँटीसम्म पुग्ने गरी डाडु आफैँतिर खन्याउँछन् । कतिपयका त पुजारीभन्दा पुजारीपत्नी शक्तिशाली हुने भएकाले शक्तिकेन्द्रमा यिनको पहुँचले शिखरत्व प्राप्त गर्दछ । यिनले बाँदरराज चलाइरहने हुँदा यिनका अगाडि पुजारी पनि निरीह भइरहन्छन् । घर, गाउँ, वडा, पालिका, जिल्ला, प्रदेश अनि सङ्घीय तहमै पुजारीपत्नीहरू पुजारीलाई दान, दक्षिणा, नैवेद्य, वस्त्र, अलङ्कार, सुवणर्ादि सबै बटुल्न लगाई पोल्टामा हाल्छन् र पेवा बनाउँछन् । विचरा भक्तहरू हेरेकाहेर्यै हुन्छन् ।
देवालयको संरक्षण गर्नु त कता हो कता पुजारीका सन्तति मोटाउने हुँदा देवालय दिनानुदिन जीणर् बन्दै गएको पाइन्छ । मन्दिरमा विस्तारै अरूको घुसपैठ भएको हुँदा पुजारीको भन्दा बिचौलियाको हालीमुहाली हुँदै गएको देखिन्छ । मन्दिरको अस्तित्व कायम रहने हो कि नरहने भन्नेमा श्रद्धालु भक्तजन चिन्तित देखिन्छन् । रूप बदलेर विराजमान भइरहने देवतालाई पुजारीले जसरी तसरी खुसी पार्ने काम गर्दा यिनको स्थायीत्व भएको छ । पुजारीका वणर् लिङ्ग, जात, धर्म फरक फरक हुन सक्छ तर अदृश्य स्वार्थ एउटै छ । जसरी हुन्छ ‘त्वं शरणं, त्वमेव माता च पिता त्वमेव…’ भएकाले र चालक अर्कै भएकाले जता लग्यो त्यतै जानै पर्ने यिनको बाध्यता रहन्छ । औतारी देउता खुसी पार्न श्वेत वणर्लाई श्याम वणर् छ भन्न पनि सक्नुपर्छ रे ! कठै, पुजारीको ल्याकत । देउतैपिच्छेको आस्था, आस्थानुरूप सोच अनि सोचाइनुरूपको पूजाविधि भएकाले एकअर्कामा कसले बढी भक्ति गर्ने भनेर अस्वस्थ प्रतिस्पर्धा गर्छन् यी । अब यसो गर्नुभन्दा आफ्नो मार्ग आफैँले तय गर्न सक्नुपर्छ; अति भयो, सधैँ रिमोटबाट कति चल्ने हँ ?
स्थानीय तहदेखि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरसम्मका पूजारीले आफ्नो भुँडीदेखि बुढीको भुँडीसम्म पूजा गर्नका लागि भनेर नियम बेनियम देउताकोे पूजा गर्ने परम्परा तोड्न झिँगाझैँ भन्कनुहुँदैन । धूप लिएर चमर हल्लाउँदै जीवनभर गाथा गाएर बस्नुभन्दा मुलासनका देउतालाई थान्को लगाएर कर्म गर्नु नै पुजारीको मुख्य ध्येय हुनुपर्छ । काष्ठमण्डपका उदीयमान पुजारीझैँ नेपालमण्डपभरि औतारीहरू जन्मुन् । शुभकामना !”
बोल्दा बोल्दै फतुरे काकाको गला अवरुद्ध भयो । म पनि के सोधूँ के बोलूँ सोच्दा सोच्दै अवाक् भएँ ।
०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८० साल माघ २० गते शनिबार
Subscribe
Login
0 Comments
Oldest












































