उत्तमकृष्ण मजगैयाँभुलक्कड गुरु
तलब बुझेको दिन देवकोटाले प्रायः प्रत्येक पसलेहरूसँग ‘तपाईंलाई तिर्नु छ कि ?’ भन्दै सो हिँड्थे रे ! तर आफूलाई भने पसलेहरूसँग आँखा मिलाउन गाह्रो लाग्छ । ‘तिर्नु छ, बिस्र्यो कि’ पो भन्छ कि ?

उत्तमकृष्ण मजगैयाँ :
खै, उमेर छिपिँदै गएपछि स्मरणशक्ति पनि कम हुँदै जान्छ भनी वैज्ञानिकहरू भन्छन् । तर आफू त चालीसवारि नै भए पनि कुन्नि किन बिर्सने रोगले चाप्दै ल्याएको छ । भुलक्कड वैज्ञानिकहरूका किस्सा सुनेर आफ्नो हाँसो फुत्किन खोजे पनि आफ्नो दशा सम्झँदाचाहिँ आफूमाथि हाँस्न सकिने रहेनछ । तर पत्नी र छोराछोरी भने पेट मिचीमिची हाँस्छन्, उपहास गर्छन् । कहिलेकाहीँ दिक्क पनि मान्छन्, टीठ, सहानुभूति पनि देखाउँछन् । तर विद्यार्थी मित्र र छरछिमेकीले भने ‘भुलक्कड गुरु’को उपनाम दिइसकेका छन् । भुल्नु वा भुलेको अभिनय गर्नुले मान्छेलाई दार्शनिक चिन्तकजस्तो देखाउँदो हो, तर भुल्नुको रोगले मलाई जुन पीडा र अपमान दिएको छ- त्यो स्थितिमा आफूलाई पाउँदा सुकरात, प्लेटो, रुसोले समेत आँसु पोख्थे होला !
कतै पढे सुनेको थिएँ- यौटा भुलक्कड पतिको बिर्सने बानीबाट दिक्क परेकी पत्नीले यौटा गजबको युक्ति झिकेकी रहिछन् । यौटा कागतमा ‘मेरा श्रीमानलाई सामान किन्नु छ कि ? भनेर कृपया सम्झाइदिनोस् है !’ वाक्यांश लेखी पतिको कोटको पछाडि पिनद्वारा सुटुक्क टाँसिदिदिरहिछन् । ‘आज त सम्झेर ल्याएँ भनेर पतिदेउता फुरुङ्ग पर्दा रहेछन् । तर आफ्नो फुरुङ्ग हुने ठाउँ पनि छैन । मेरी पत्नीले किन्नुपर्ने आवश्यक सामानको लिस्ट बनाएर सातपल्ट सम्झाउँदै, घोकाउँदै मेरो खल्तीमा हालिदिन्छिन् । प्रायः म लिस्ट हेर्नै बिर्सिदिन्छु । कहिलेकाहीँ आज त पक्कै बिर्सिँदै बिर्सिँदै भनेर लिस्ट हातमा लिएर हिँड्न थाल्दा कस बेला बढारिएर त्यो कागतले छेस्कोको रूप धारण गरेको छ, दाँत-कान कोट्टयाइएको छ, पत्तै पाइएको छैन । बजार पुगेपछि पो अरु कसैले पसलमा सामान किन्न थालेको देख्दा झसङ्ग भएर गोजी छाम्न पुगेको छु । आफ्नो बुद्धि लडाएर सामान किन्न खोज्दा ‘पायल’ को ठाउँमा ‘हेयर आयल’ र धोती- चोलीको ठाउँमा चिनी-भेली पो परेको छ । यस्तै कति सामान फरक परेको छ त कति चाहिँ किन छुटेको छ । पत्नीले चोर औँलो ठड्याउँदा नेल पालिस, आँखा तर्दा गाजल, मेरो दुर्दशामा खित्का छोडेर हाँस्दा देखिएका उनका सेता दाँतले दन्तमन्जन र हाँस्दा गुलाफ फक्रिएका राता अेाठले लिपिस्टिक सम्झाइदिएका छन् । तर घरमा छाएर सम्झेको के काम लाग्यो र ?
हातको डायरी, पुस्तक, छाता, कलम र हाते रुमाल हराउनु त साधारण कुरो भइसकेको छ । पत्नी व्यङ्ग्य गर्दै भन्छिन्- “कुनै दिन तिमी स्वयं आफैँ पनि हराउँछौ ।” तर आफूहरू पनि त घरमा सामानहरूको स्याहार गर्दैनन् नि ! जुन वस्तु पनि नखोजेर पाइँदैन । टुकी बालेर हातकै टुकी खोजिरहन्छु, टर्च बालेर त्यही टर्च खोजिरहन्छु । कुनै पनि वस्तु यथास्थान हुँदैन । अब कसलाई के भन्नु ?
भाइ, सगोत्री पनि नचिनिने भएका छन् । बूढो तर भतिजो भन्नेलाई ‘ज्यू’ गर्न पुगेको छु तथा तन्नेरी तर काका, बाजे भन्नेलाई ‘हल्लो’ भन्दै हात मिलाउन पुगेको छु । आफ्ना पुराना मित्रहरू तथा आफूले पढाएका विद्यार्थीहरूको नाम त प्रायः भुसुक्कै बिर्सिएको हुन्छु । भेट भएर ‘नमस्कार’ खाइसकेपछि पनि उनको नामको पटक्कै सम्झना हुँदैन र सोध्छु- “यहाँ आफ्नो पूरा नाम के लेख्नुहुन्छ रे ?” तर सत्य मान्नोस्, मलाई उनको अधुरो नाम पनि याद हुँदैन । कक्षाकै कतिपय विद्यार्थीहरू चिनिँदैनन् । भर्खरै क्याम्पसमा पढ्दो होला जस्तो यौटा विद्यार्थीलाई- “तिम्रो पढाइको कुन वर्ष हो रे ?” भनेर सोद्धा- “हजुरको आशीर्वादले यसै वर्ष इन्जिनियरिङ पूरा भयो सर !” भन्छ । यस्तै, मलाई प्राथमिक कक्षाको विद्यार्थीले पनि ‘हाजिरी जवाफ’ मा सजिलैसित हराइदिन सक्छ किनकि मैले कुनै अधिकारीको नाम घोकेको छैन, मन्त्री, तिनको विभाग र काम कण्ठ पारेको छैन । कुनै महत्वपूर्ण तिथि घटना मात्र हो र, कहिलेकाहीँ त र बारसमेतको सम्झना रहँदैन । ‘आज कति गते ?, आज के बार ?’ भनेर प्रायः सोध्नै परेको हुन्छ । यस्तै क्रममा टिफिन पिरियडमा कक्षाभित्र पुगेको छु त बिदाको दिन पनि विद्यालय धाएको छु । दिक्क छ बा !
तलब बुझेको दिन देवकोटाले प्रायः प्रत्येक पसलेहरूसँग ‘तपाईंलाई तिर्नु छ कि ?’ भन्दै सोधि हिँड्थे रे ! तर आफूलाई भने पसलेहरूसँग आँखा मिलाउन गाह्रो लाग्छ । ‘तिर्नु छ, बिर्स्याे कि’ पो भन्छ कि ? पत्नीको भनाइअनुसार एक दुईवटा पसलेले मेरो यही कमजोरीको फाइदा उठाएर दुई तीनपल्ट उही एउटै रकम तिराइसकेका छन् । तसर्थ अब म सकेसम्म लिनु दिनुबाट बच्ने प्रयास गर्छु तर कतिपल्ट साथीहरूले – “अस्ति मबाट लिएको रुपियाँ छ कि ?” भनेर मागी चिया- बिस्कुट डकारेका छन् । म छलिएको रहस्य ममाथि खुलेपछि साथीहरू मरीमरी हाँसेका छन् तथा म आफ्नो दुर्दशामाथि धुरुधुरु रोएको छु । पत्नीले पनि ‘सारी र सिनेमाको वचन, नेकलेस र चरीको कबुल’ भने र मलाई धेरैपल्ट छक्याएकी छिन् ।
साथीहरूले महत्वपूर्ण पुस्तकहरू फर्काएका छैनन् । घरका केही सामानहरू पनि को कसको घरको शोभा बनेका छन- पत्तो नै छैन । ‘अब यसरी भएन, स्मरणशक्ति त बढाउनै पर्यो’ भनेर डाक्टर वैद्य सबैको शरण परेँ । उनको निर्देशन अनुसारको टानिक -टेब्लेट निलेँ, ब्राह्मी घोटेर पिएँ, एक घण्टाजति शीर्षासनमा उभिने गरेँ, तर परिणामचाहिँ शून्य । जुल्फी खुर्केर फालेँ, निधार र तालुमा चन्दन र जटाशङ्करको लेप लगाएँ, बरफका टुक्रा बाँधे तर केही फाइदा भएन । बरु तपाईंले स्मरणशक्ति बढाउने अरू केही उपाय जान्नु भएको छ भने कृपया मलाई थाहा दिन नभुल्नुहोला । यो कन्थोमा तपाईंहरूका लागि रोचक तर मेरा लागि भने ‘मुटु घोचक’ प्रसङ्गहरू पक्कै छुटेको हुनुपर्छ । स्मरणशक्ति बढेछ र सम्झेछु भने अर्कोपल्ट यहाँहरूको सामु पेश गरुँला वचन भो ।
०००
दाङ
गृहलक्ष्मी भित्र्याएपछि (२०५४)
Subscribe
Login
0 Comments
Oldest






































