साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुलक्कड गुरु

तलब बुझेको दिन देवकोटाले प्रायः प्रत्येक पसलेहरूसँग ‘तपाईंलाई तिर्नु छ कि ?’ भन्दै सो हिँड्थे रे ! तर आफूलाई भने पसलेहरूसँग आँखा मिलाउन गाह्रो लाग्छ । ‘तिर्नु छ, बिस्र्यो कि’ पो भन्छ कि ?

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

खै, उमेर छिपिँदै गएपछि स्मरणशक्ति पनि कम हुँदै जान्छ भनी वैज्ञानिकहरू भन्छन् । तर आफू त चालीसवारि नै भए पनि कुन्नि किन बिर्सने रोगले चाप्दै ल्याएको छ । भुलक्कड वैज्ञानिकहरूका किस्सा सुनेर आफ्नो हाँसो फुत्किन खोजे पनि आफ्नो दशा सम्झँदाचाहिँ आफूमाथि हाँस्न सकिने रहेनछ । तर पत्नी र छोराछोरी भने पेट मिचीमिची हाँस्छन्, उपहास गर्छन् । कहिलेकाहीँ दिक्क पनि मान्छन्, टीठ, सहानुभूति पनि देखाउँछन् । तर विद्यार्थी मित्र र छरछिमेकीले भने ‘भुलक्कड गुरु’को उपनाम दिइसकेका छन् । भुल्नु वा भुलेको अभिनय गर्नुले मान्छेलाई दार्शनिक चिन्तकजस्तो देखाउँदो हो, तर भुल्नुको रोगले मलाई जुन पीडा र अपमान दिएको छ- त्यो स्थितिमा आफूलाई पाउँदा सुकरात, प्लेटो, रुसोले समेत आँसु पोख्थे होला !

कतै पढे सुनेको थिएँ- यौटा भुलक्कड पतिको बिर्सने बानीबाट दिक्क परेकी पत्नीले यौटा गजबको युक्ति झिकेकी रहिछन् । यौटा कागतमा ‘मेरा श्रीमानलाई सामान किन्नु छ कि ? भनेर कृपया सम्झाइदिनोस् है !’  वाक्यांश लेखी पतिको कोटको पछाडि पिनद्वारा सुटुक्क टाँसिदिदिरहिछन् । ‘आज त सम्झेर ल्याएँ भनेर पतिदेउता फुरुङ्ग पर्दा रहेछन् । तर आफ्नो फुरुङ्ग हुने ठाउँ पनि छैन । मेरी पत्नीले किन्नुपर्ने आवश्यक सामानको लिस्ट बनाएर सातपल्ट सम्झाउँदै, घोकाउँदै मेरो खल्तीमा हालिदिन्छिन् । प्रायः म लिस्ट हेर्नै बिर्सिदिन्छु । कहिलेकाहीँ आज त पक्कै बिर्सिँदै बिर्सिँदै भनेर लिस्ट हातमा लिएर हिँड्न थाल्दा कस बेला बढारिएर त्यो कागतले छेस्कोको रूप धारण गरेको छ, दाँत-कान कोट्टयाइएको छ, पत्तै पाइएको छैन । बजार पुगेपछि पो अरु कसैले पसलमा सामान किन्न थालेको देख्दा झसङ्ग भएर गोजी छाम्न पुगेको छु । आफ्नो बुद्धि लडाएर सामान किन्न खोज्दा ‘पायल’ को ठाउँमा ‘हेयर आयल’ र धोती- चोलीको ठाउँमा चिनी-भेली पो परेको छ । यस्तै कति सामान फरक परेको छ त कति चाहिँ किन छुटेको छ । पत्नीले चोर औँलो ठड्याउँदा नेल पालिस, आँखा तर्दा गाजल, मेरो दुर्दशामा खित्का छोडेर हाँस्दा देखिएका उनका सेता दाँतले दन्तमन्जन र हाँस्दा गुलाफ फक्रिएका राता अेाठले लिपिस्टिक सम्झाइदिएका छन् । तर घरमा छाएर सम्झेको के काम लाग्यो र ?

हातको डायरी, पुस्तक, छाता, कलम र हाते रुमाल हराउनु त साधारण कुरो भइसकेको छ । पत्नी व्यङ्ग्य गर्दै भन्छिन्- “कुनै दिन तिमी स्वयं आफैँ पनि हराउँछौ ।” तर आफूहरू पनि त घरमा सामानहरूको स्याहार गर्दैनन् नि ! जुन वस्तु पनि नखोजेर पाइँदैन । टुकी बालेर हातकै टुकी खोजिरहन्छु, टर्च बालेर त्यही टर्च खोजिरहन्छु । कुनै पनि वस्तु यथास्थान हुँदैन । अब कसलाई के भन्नु ?

भाइ, सगोत्री पनि नचिनिने भएका छन् । बूढो तर भतिजो भन्नेलाई ‘ज्यू’ गर्न पुगेको छु तथा तन्नेरी तर काका, बाजे भन्नेलाई ‘हल्लो’ भन्दै हात मिलाउन पुगेको छु । आफ्ना पुराना मित्रहरू तथा आफूले पढाएका विद्यार्थीहरूको नाम त प्रायः भुसुक्कै बिर्सिएको हुन्छु । भेट भएर ‘नमस्कार’ खाइसकेपछि पनि उनको नामको पटक्कै सम्झना हुँदैन र सोध्छु- “यहाँ आफ्नो पूरा नाम के लेख्नुहुन्छ रे ?” तर सत्य मान्नोस्, मलाई उनको अधुरो नाम पनि याद हुँदैन । कक्षाकै कतिपय विद्यार्थीहरू चिनिँदैनन् । भर्खरै क्याम्पसमा पढ्दो होला जस्तो यौटा विद्यार्थीलाई- “तिम्रो पढाइको कुन वर्ष हो रे ?” भनेर सोद्धा- “हजुरको आशीर्वादले यसै वर्ष इन्जिनियरिङ पूरा भयो सर !” भन्छ । यस्तै, मलाई प्राथमिक कक्षाको विद्यार्थीले पनि ‘हाजिरी जवाफ’ मा सजिलैसित हराइदिन सक्छ किनकि मैले कुनै अधिकारीको नाम घोकेको छैन, मन्त्री, तिनको विभाग र काम कण्ठ पारेको छैन । कुनै महत्वपूर्ण तिथि घटना मात्र हो र, कहिलेकाहीँ त र बारसमेतको सम्झना रहँदैन । ‘आज कति गते ?, आज के बार ?’ भनेर प्रायः सोध्नै परेको हुन्छ । यस्तै क्रममा टिफिन पिरियडमा कक्षाभित्र पुगेको छु त बिदाको दिन पनि विद्यालय धाएको छु । दिक्क छ बा !

तलब बुझेको दिन देवकोटाले प्रायः प्रत्येक पसलेहरूसँग ‘तपाईंलाई तिर्नु छ कि ?’ भन्दै सोधि हिँड्थे रे ! तर आफूलाई भने पसलेहरूसँग आँखा मिलाउन गाह्रो लाग्छ । ‘तिर्नु छ, बिर्स्याे कि’ पो भन्छ कि ? पत्नीको भनाइअनुसार एक दुईवटा पसलेले मेरो यही कमजोरीको फाइदा उठाएर दुई तीनपल्ट उही एउटै रकम तिराइसकेका छन् । तसर्थ अब म सकेसम्म लिनु दिनुबाट बच्ने प्रयास गर्छु तर कतिपल्ट साथीहरूले – “अस्ति मबाट लिएको रुपियाँ छ कि ?” भनेर मागी चिया- बिस्कुट डकारेका छन् । म छलिएको रहस्य ममाथि खुलेपछि साथीहरू मरीमरी हाँसेका छन् तथा म आफ्नो दुर्दशामाथि धुरुधुरु रोएको छु । पत्नीले पनि ‘सारी र सिनेमाको वचन, नेकलेस र चरीको कबुल’ भने र मलाई धेरैपल्ट छक्याएकी छिन् ।

साथीहरूले महत्वपूर्ण पुस्तकहरू फर्काएका छैनन् । घरका केही सामानहरू पनि को कसको घरको शोभा बनेका छन- पत्तो नै छैन । ‘अब यसरी भएन, स्मरणशक्ति त बढाउनै पर्‍यो’ भनेर डाक्टर वैद्य सबैको शरण परेँ । उनको निर्देशन अनुसारको टानिक -टेब्लेट निलेँ, ब्राह्मी घोटेर पिएँ, एक घण्टाजति शीर्षासनमा उभिने गरेँ, तर परिणामचाहिँ शून्य । जुल्फी खुर्केर फालेँ, निधार र तालुमा चन्दन र जटाशङ्करको लेप लगाएँ, बरफका टुक्रा बाँधे तर केही फाइदा भएन । बरु तपाईंले स्मरणशक्ति बढाउने अरू केही उपाय जान्नु भएको छ भने कृपया मलाई थाहा दिन नभुल्नुहोला । यो कन्थोमा तपाईंहरूका लागि रोचक तर मेरा लागि भने ‘मुटु घोचक’ प्रसङ्गहरू पक्कै छुटेको हुनुपर्छ । स्मरणशक्ति बढेछ र सम्झेछु भने अर्कोपल्ट यहाँहरूको सामु पेश गरुँला वचन भो ।

०००
दाङ
गृहलक्ष्मी भित्र्याएपछि (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x