तक्मा
सेतो सेतो छ देख्दा अति छ सरि सफा फेरि हल्का छ उस्तै छेक्ने कस्तै पहाडै पनि दमन अहो ! राजसत्ता दुरुस्तै भित्री संसार कालो उकुसमुकुस झन् दम्भ तेरो थिचाइ उड्छस् हावा चलेमा फुसुसु त कुहिरो व्यर्थ तेरो मिचाइ ।
चन्द्रप्रसाद न्यौपाने :
चल्छन् भूकम्प आफैँ हृदयतल फुटी घाउ बल्झाउँलाझैँ
मैमत्ता मत्त झन्झन् तुजुक अझ अहो ! सृष्टि हल्लाउँलाझैँ
ढल्ला-ढल्ला छ जस्तो तममय दुनियाँ भन्भनी लर्खराई
जल्ला जल्ला छ जस्तो बलमय तन यो मत्तमै भर्भराई
आकाङ्क्क्षाले चुमेका जति पनि दमका टाकुरा धस्किँदै छन्
ढल्केका छन् हिमाली शिखर पनि अहो ! दृश्यमा खस्किँदै छन्
के हो के हो कता के निशिमय छ जगत् रुष्ट साम्राज्य बोकी
को को हुन् के यतै पो, भनिकन- ‘म जितूँ’ लस्लसी लस्किँदै छन्
सेस्ता मेरा पुराना वरपर जति छन् सत्य प्राचीनताको
च्यात्चुत् पार्दै छरेका छरबर तिनले सभ्यता भिन्नता भो
जल्ले नास्यो बिगारी गतिपति अघिका राज्यको मान पायो
तक्मा पाई छ मक्खै अबुझ शठ बरो ! प्राज्ञको शान पायो
नातागोता र आफ्ना निकट यदि छ ऊ स्याल कुत्ता बँदेल
भालेपोथी दुवैको जय जय प्रतिभा । मोल तक्मा छ मेल
सत्ता तेरै छ चल्दो मनखुश छ अहो ! एकलौटी अँध्यारो
ढाके धुम्म बाक्लो वरिपरि कुहिरो छैन उस्तो उधारो
सेतो सेतो छ देख्दा अति छ सरि सफा फेरि हल्का छ उस्तै
छेक्ने कस्तै पहाडै पनि दमन अहो ! राजसत्ता दुरुस्तै
भित्री संसार कालो उकुसमुकुस झन् दम्भ तेरो थिचाइ
उड्छस् हावा चलेमा फुसुसु त कुहिरो व्यर्थ तेरो मिचाइ
सच्चा हो वा न झुट्टा रङ, कुरङ न के दूध पानीसँगै छन्
छानून के हाँस आई गरम गरमका पोखरीमा कतै छन्
सच्चा स्रष्टा कता को निशिमय छ जगत् भिर्न देख्दैन
तक्मा यस्तै हो देश मेरो गजब यति छ यो भ्रष्टले भिर्छ तक्मा ।
०००
मो.नं. ९८६०५५६४४५
बलेफी गापा-२, सिन्धुपाल्चोक