साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डल्ले खोर्सानी

डल्ले खोर्सानीको व्यापक खेती गर्नलाई मधेसका महाजनबाट ऋण काढेको रकम समयमा चुक्ता गरन नसक्दा बारीका जम्मै डल्ले खोर्सानी साउँको रुपमा अनि यसका पिराहरू पनि सूदको रुपमा मधेसी महाजनले खराक खुरुक सोहोरेर लगेपछि अब यो डल्ले खोर्सानीको बोटबाट पिरोको के आशा गर्छौ... ?

Nepal Telecom ad

नगिता लेप्चा राई :

यो जीवन सोच्यौँ भने एउटा कारागार हो । यो कारागारभित्र हामी सबै असहाय रुपले बन्दी छौँ । कोही भिआइपी बन्दी, कोही अर्डिनेरी बन्दी । को बन्दी छैन यहाँ यो जीवनको कारागारमा ? जीवन फेरि एउटा पिञ्जरा पनि हो । भनिएकै छ नि, लाइफ इज अ केज । कोही सुनको पिञ्जरामा थुनिएका छन्, कोही फलामको पिञ्जरामा । पिञ्जरा सुनको होस् कि फलमा आखिर त्यो पिञ्जरै हो । पिञ्जरा इज पिञ्जरा ।

हामी कहाँबाट आयौँ, कसकोमा आयौँ, झोपडीमा, अट्टालिकामा कि फुटपाथमा त्यो पनि हामीलाई थाहा छैन । च्वाक् च्वाँका गरी आमाको दूधको लाम्टा तनतनी चुस्यौँ, रोयौँ, सुती-सुती ढेँडु-ढेडुनी भयौँ । तेस्रो विश्वका मानिस त्यति बढ्दैनन् । सबैको शर्ट हाइट । कारण प्रोटिन छैन । टाउको मात्र विशाल, घन्टाउके । मगज सानु । मिनी साइज । आइन्सटाइन, रसेल, टाइसन, होलिफिल्ड, देवकोटा सबै पहिलो विश्वका उपज हुन् । उनीहरू सबै ६ फुटकै छेउछाउमा । हाम्रो विश्वमा ४/५ मै सीमित । गोर्खा हाइट त झन् कटमिरा ।

यूरोपका प्रमाण नापका मानिसहरूका सामु उनीहरू फिपसिङ अनि हामीलाई तोङ्बा जस्तै देखिन्छ । उनीहरू लाम्चे खोरसानी हामीहरू जिर, अकबरे अनि डल्ले खोरसानी पक्कै हौँ । हण्ड्रेड पर्सेण्ट । यसमा कुनै दुइ नम्बरी छैन । सान्तवना के मा छ भने, लाम्चे खोर्सानी थोरै पिरो हुन्छ । जिरे, अकबरे र डल्ले खोर्सानीको पिरो तिक्खर हुन्छ । रापिलो हुन्छ । हाम्रो पिरोको रापले हाम्रा छरछिमेकहरू तर्सिन्छन् । हाम्रो रिसको पोको देखेर संसारैको सातोपुत्लो उड्छ । उड्छ के उडेको छ । यही रिसको पोकोले गर्दा हामी आपस्तमा हानाहा र तानातान गरेर हाम्रो एकतालाई चिण्डे बनाइसकेका छौँ । न माथि चढ्न सक्छौँ, माथि चढ्दै गरेकालाई पनि खुट्टामै तानेर भूइँमा पछारिदिन्छौँ । यसरी नै हाम्रो जीवन यात्रा चलिरहेछ ।

जीवन यात्रा भन्नु नै भर्‍याङ (सिँढी) हो । क्रमशः माथि उक्लाइ । यो माथि उक्लिनु बडो मज्जा र आनन्द छ । उक्लाइ मात्र…लक्ष्यहीन, उद्देश्यहीन उक्लाइ । बाइ चान्स हात फुस्कियो कि सब स्वाहा । यो यस्तो एउटा खेल हो, सफलतामा पनि थप्पडी छैन, असफलतामा पनि चालचुल छैन न कि कुनै हौसला नै छ । वान्स मोरको त प्रश्नै छैन ।

गाडीको ब्याट्री बदलिन सक्छ तर मान्छेको ब्याट्री बदलिन सक्दैन । बाघमुखे थैली समेत बुझाएर नर्सिङ होम नामक वर्कशोपबाट भोल्टेज पाउन सकिन्छ । त्यो पनि पार्मानेण्ट होइन… सामान्य भेलिडिटीको निम्ति । भेलिडिटी सकियो … सब शेष । एकदमै डेलिगेट । त्सपछि डाउन, सुगर डाउन, थायराइड अप, नील डाउन अनि डाउन टु अर्थ् । माटोको शरीर माटोमै मिल्छ ।

हाम्रा मानिसहरू हिजोआज निदाउन छोडिसकेका छन् । निदाओस् पनि कसरी ? मुठी खोलिँदै आउँदैछ । डर गर्नु अगावै भर्‍याङ्बाट गर्लाम् गुर्लुम् पछारिने होकि भन्ने त्राही त्राही । ओँठको माथिल्लो र तल्लोपट्टि कलेटी परिसकेका छन् …तपाईं हामी सबैको ।

मानिस वृद्ध नभए सुन्दर हुँदैनन् । ऐना सामु उभिँदा मात्रै छ्याङ्ङै हुन्छ । सेण्ट पर्सेण्ट रियालिटी । ऐना सामु अनुहार पर्दै पहिले ता आफै तर्सिनुपर्छ । यो कङ्काल को हो हँ ? कुचोको क्षुद्र संस्करण कि बाँदरको संशोधित रुप एवम् परिवर्तित संस्करण ? कहाँ गए मेरा ती दिनहरू ? भित्तामा यौवनकालको सुन्दर कलकलाउँदा, झर्झराउँदा नक्सा झुण्डिएको छ । छातीमा अड़ेसिएका छन् युवती वा अर्धाङ्गिनी कि वा पति झरझराउँदा युवक । निधारमा ठूलो टीको, हामपोक्ची गाला । पतिको भने छातीमा ढ्याब्रे टाई…ससाना जुङ्गाका रेखीहरू । दुई नयनमा प्रारम्भिक प्रेम । बिहे गरेका तीन-चार महिनापछि स्टूडियोमा गई पोज लिएर खिँचेको नक्सा । अहिले यौवन लिक भएर डाँड़ा काट्यो । संसारको थर्ड डिग्रीमा अफसाइड हुन थालिएको छ । कुन दिन रेड कार्ड दर्शन हुने हो… डरसरी छ ।
आँखा ठूल्ठूला पारेर ऐनाभित्रको आफैँलाई सोध्न मन लाग्छ – तँ को होस्..हू आर यू ? मरेको मागुर । दृष्टि छ प्राण छैन । कामना, वासना खै कता गए ? कहाँ गए तिम्रो सुपर हिट लोभहरू ? अहङ्कार, घमण्ड, फुर्के कता गए ? ऐनाको मान्छेलाई दीन-हीन एकजना भिखारी मेरो सामु उभिरहेको जस्तो लाग्यो ।

आँखा चिम्लेर हेर्दा भिखारीको अनुहारमा मेरा बाजे वा बोज्यू छर्लङ्गै देखेँ । पराजित एकजना मान्छे । बाजे वा बज्यू पहिले मुसुक्क मुस्कुराए /मुस्कुराइन् अनि पछि नमिठो घतले गर्जे/गर्जिन्, ए डल्ले खोर्सानीको सन्तान । जीवनभरि के गरिस बुबुरो । साहित्य संस्कृतिमा चुर्लुम्मै डुब्नु तँलाई कसले सिकायो ? दुइ नम्बरी गर्ने तेरा साथीहरू कहाँ पुगिसके ? तँ भने जैसे थे । बिहे गरिस्… लाला-बालाका धनी भइस् । यिनीहरूलाई मान्छे बनाउन रोजगारगर्नुपर्छ वत्स । दासत्व गर्नुपर्छ । यसरी क्षण-क्षण आदर्शवादी मर्दै जान्छ । समस्याको गह्रौँ भारले मान्छे कुप्रिँदै कुप्रिँदै द्विपद प्राणीदेखि क्रमशः चतुष्पद गधा हुँदै जान्छ । तँलाई थाहा छैन ?

मानिसको पुच्छरको जिन्दगी कति डरलाग्दो र भयानक खतरनाक हुन्छ ?
जीवन्त कुचोले ट्वाल्लै परेर हेरिरह्यो । यौवनकालको ऐश्वर्य निमिट्यान्नै भएर अपराधी बालक जस्तो मेरो छेउमा उभियो । लाजले घोप्टो मुण्टो लाएर आफैलाई सुस्तरी झपारेँ, गधी के ट्वाल्ल परेर हेरिरहेकी, बोल्न सक्दैनस् ? ऐनाभित्रको म बोली, के बोल्नु ? तिमी त डल्ले खोर्सानीको जाति भनेर घमण्ड गथ्र्यौ । खै तिम्रो तिक्खर पिरो ? डल्ले खोर्सानीको व्यापक खेती गर्नलाई मधेसका महाजनबाट ऋण काढेको रकम समयमा चुक्ता गरन नसक्दा बारीका जम्मै डल्ले खोर्सानी साउँको रुपमा अनि यसका पिराहरू पनि सूदको रुपमा मधेसी महाजनले खराक खुरुक सोहोरेर लगेपछि अब यो डल्ले खोर्सानीको बोटबाट पिरोको के आशा गर्छौ… ? सुस्तरी बोलेँ म ।

ऐनाभित्रको म बोल्यो- ‘तिम्रो जिरे र अकबरे खोर्सानीको खबर चाहिँ कस्तो छ त ?’
घोप्टोमुण्टो लाएर बोलेँ म, त्यो त परार नै सीआरपीएफको बुटले किच्चिएर बारी नै सात्तर भइसकेको छ । लाखेस् ! अब जिन्दगीमा सीआरपीएफलाई बोलाउने काम नगर्लास् । अर्को कुरो, खोर्सानी र त्यसका तिक्खर पिराहरू त मधेसका महाजनहरूलाई बेचिस्, बेचिस् तर तँ आफू चाहिँ पटक्कै बिक्री होलास् – चोर औँली ठड्याउँदै बोल्यो ऐनाभित्रको म ।
डल्ले खोर्सानीको सन्तान म । ऐनाभित्रको मलाई प्याच्च थुकिदिएँ… थुकको छिटा मेरो आफ्नै अनुहारमा उछिट्टिएर आयो ।

०००
खोलाचन्द फाप्री, जलपाईगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x