नयाँ सडक
मेरो बिपना ती पलायन धर्म-संस्कृतिजस्तै रोइदिन्छ । आँसुको भेल बन्दै गइरहेको गणतन्त्रलाई हेर्छु आफ्नै मन-मस्तिष्कलाई सराप्दै जान्छु सिंहदरबारले मलाई चिच्याई चिच्याई भनिरहन्छ देशद्रोही !
प्रदीपरत्न शाक्य :
नयाँ सडक
शहीदको आलो रगत हुँदै
मेरो सपनालाई भनिरहन्छ-
जुद्ध शमशेरहरू अझै जीवित छन् ।
साहसका कल्पना हुन् कि मेरा चेतना
मलाई
देश बन्धक बन्दै गइरहेको दृश्यमा
दोहोर्याइरहन्छ ।
पिपलबोट, शहीदगेट
मेरा आदर्शहरू हुन्
भूगोलपार्कको पृथ्वीले सुनोस् भनी चिच्याउँछन्-
जुद्धशमशेर मुर्दावाद !
पराजित मानसिकता सायद
त्यो वसन्तपुर दरबार
नयाँ सडक
न्यूरोड भइसकेको आवाज बनिदिन्छ ।
झस्किएर म ब्यूँझन्छु
मेरो बिपना
ती पलायन
धर्म-संस्कृतिजस्तै रोइदिन्छ ।
आँसुको भेल बन्दै गइरहेको
गणतन्त्रलाई हेर्छु
आफ्नै मन-मस्तिष्कलाई सराप्दै जान्छु
सिंहदरबारले मलाई
चिच्याई चिच्याई भनिरहन्छ
देशद्रोही !
म नयाँ सडकलाई फेरि हेर्छु
हेरिरहन्छु
भत्किरहेको धरतीलाई थाम्न बसेको
आदिवासीको निशानी भएर ।
०००
काठमाडौं
‘म सडकको प्रतिविम्ब’ (२०८०)