नरनाथ लुइँटेलडाक्टरसा’बको डायरी
त्यति बिघ्न गाँठ खर्च गरेर डाक्टर बनिसकेपछि डाक्टर स्वयम् गाँठचर हुनु अस्वाभाविक हुँदै होइन । के र कसो गर्दा गाँठ झर्छ, त्यो र त्यसैमा डाक्टर लम्पसार पर्छ । यस्ता कुरालाई अन्यथाको कोटीमा राखेर तपाईं हामीले टाउको दुखाउनु पनि हुँदैन ।

पि.एच.डी. गरेको होस् या एम्. वि. वि. एस् गरेको होस्, डाक्टर भनेका साह्रै विशिष्ट मान्छे हुन् । खुस्किन लागेको मान्छेलाई बचाउने कार्यमा खुद डाक्टरको भूमिका हुनसम्मको हुने गरेको छ । हाम्रो जस्तो रोग्याहा मुलुकमा औषधिको मूल्यभन्दा डाक्टरसा’वको शुल्क महँगो भएर के भो त, कमसेकम डाक्टरहरूको सङ्ख्या अभिवृद्धि हुनु स्वागतयोग्य प्रसङ्ग हो । डाक्टर उत्पादन गर्ने एक-दुई कार्खाना स्वदेशमै पनि छन् । स्वदेशका हुन् या विदेशका यी कार्खानाहरू तपाईं हामीले आँकेभन्दा अतिशय बढ्ता महँगा छन् । एउटा काँचो मान्छे कार्खानामा प्रवेश गरेर एउटा डाक्टरमा अवतरित हुँदासम्म मामुली पनि पचास-साठी लाख गाँठ गुमाउनु पर्छ । गाँठ पनि गुमाउन र वेकुफ पनि बन्न कोही चाहँदैन । त्यति बिघ्न गाँठ खर्च गरेर डाक्टर बनिसकेपछि डाक्टर स्वयम् गाँठचर हुनु अस्वाभाविक हँदै होइन् । के र कसो गर्दा गाँठ झर्छ, त्यो र त्यसैमा डाक्टर लम्पसार पर्छ । यस्ता कुरालाई अन्यथाको कोटीमा राखेर तपाईं हामीले टाउको दुखाउनु पनि हुँदैन । टाउको दुखेपछि त डाक्टरकोमा पुग्नु परिहाल्यो । अनि खटक्क पाँच सय रुपैयाँ फिस बुझाएपछि सय रुपैयाँको औषधी किन्न डाक्टरसा’व सानदारसँग प्रेस्काइभ गरिहाल्छन् ।
यो मुलुकको रोग, रोगी नेता, नेताका रुग्ण विचार र व्यवहार देखेर यो लखरठ्याकलाई औधी वाकवाकी लागेर आयो । टाउको घनले हानेभन्दा बढ्ता टन्टनाएर दुख्न थाल्यो । शरीरको तापक्रम एकदमै बढ्यो । लौ के पो हुन लाग्यो भनी अत्तालिएको लखरठ्याकलाई उसकी रामप्यारीले दौडाउँदै वीरअस्पताल पुर्याइन् । पहिलेदेखि जानपहिचान र निकटस्थ सम्बन्ध भएका डा.एम.जेडको ड्युटी समय थियो त्यो तर उनी त्यहाँ थिएनन् । उनी कहाँ छन् त भनी सोधनी गर्दा पत्तो पाइयो- त्यताबाट हाजिरी बजाएर उताको प्राइभेट नर्सिङ होमतर्फ रमाना भएका रहेछन् । लखरठ्याकले सोच्यो जता पुगेको भए पनि पूर्व चिरपरिचित डा.लाई नै भेट्नु जाती । त्यताबाट ऊ पनि उतै लाग्यो । फलाना नर्सिङहोममा पाँच जना रोगीको जाँचकार्य सम्पन्न गरी डा. एम.जेड्. चिलाना क्लिनिकतिर हिँडिसकेछन् । लखरठ्याक निरास भएन, ऊ फेरि छोटो बाटो चिलाना क्लिनिकतिर दौडियो । हाँप र झाँप गर्दै क्लिनिकमा पुगेको लखरठ्याकलाई छोरी भन्न सुहाउने अर्ध-नर्स नानीले डाक्टसा’व आइपुग्न अझै आधा घण्टा पर्खिनुपर्ने जानकारी दिइन् । डा. एम.जेड्.को ड्यूटी बीचैको अर्को नर्सिङहोममा पनि रहेछ । लखरठ्याक क्लिनिकको प्रतिक्षालयमा राखिएको आरामदायी शोफामा बसेर डा. एम.जेड्.को प्रतीक्षा गर्न थाल्यो । टि-टेवलमा केही पत्रपत्रिका, एकदुई कागजपत्रसँगै एउटा डायरी फेला पर्यो । त्यहाँ बसेर कफी पिई हतारमा निस्कँदा डाक्टरको हातको डायरी त्यहीँ छुटेको थियो । ऊ डायरीका पाना पल्टाएर पढ्न थाल्यो ।
डाक्टरको डायरीमा उल्लेखित केही सन्दर्भहरू तथा टिपोटहरूले लखरठ्याकको दिमागमा बेपत्तासँग झड्का हान्यो । टनटनाएर दुःखिरहेको टाउकोमा झड्का हानेपछि झन् के भयो होला तपाईं आफैं अन्दाज गर्न सक्नुहुन्छ । अन्दाज गर्न सजिलो होस् भनेर यहाँ त्यो डायरीका केही अंशहहरू जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
१६ सेप्टेम्बर १९९९
आज एउटा अभागी प्यासेन्ट अप्रेसन थिएटर भित्रै मर्यो । मैले होइन, उसका आफन्तहरूले उसलाई बचाउन सकेनन् । जाबो छत्तीस हज्जार रुपैयाँको कुरा थियो । त्यति पनि समयमा जम्मा गर्न नसकेपछि मान्छे मर्दैन त ? उसलाई अप्रेसन थिएटरभित्र हुलिसकेपछि अप्रेसनको प्रारम्भिक तयारी हुँदाहुँदै मैले जानकारी पाएँ- उसको अप्रेसन चार्ज कलेक्सन भएको छैन । मैले आफ्नो काम स्पष्ट गरेँ र बाहिर निस्किएँ । बाहिरपट्टि उसका जहान छोराछोरी सुँकसुँकाइरहेका थिए । त्यो सुँकसुँकाइले मान्छे बचाउन सकिन्नथ्यो, मेरो नर्सिङहोमले उसलाई बचाउन उसले नर्सिङहोमलाई रु. सत्रलाख उपलब्ध गराउनुपथ्र्यो । त्यसमा ढिलाई हुनु नै उसको मृत्युको मूलकारण थियो । पैसा नहुने मान्छे विरामी किन हुन्छन् हँ ? अनि त्यस्ता विरामी नर्सिङहोममा किन आउँछन् ? मान्छेको चालढाल देख्ता त त्यति कङ्गाल होला जस्तो लागेको थिएन । खैर ऊ मरिसक्यो । त्यस्ताहरू मर्छन्, मरिरहेछन् ।…
२७ सेम्टेम्बर १९९९
ढिस्काना क्लिनिकमा आज डा. जे.एम.सँग झ्वाट्ट भेट भयो । उनी अमेरिकाबाट रिटर्न भएको यतिका दिनसम्म पनि मसँग भेट भएको थिएन । सरकारी खर्चमा पाँच वर्ष अमेरिका बसी फर्किएको डा. जे.एस. राम्रो डाक्टर बनेर आएको छ । सोचाई र विचारमा पनि निकै परिवर्तित भएछ ऊ । उता जाने बेलामा उसले भनेको कुरा मेरो मनमा गढिरहेको छ । उसले भनेथ्यो- राज्यको लगानीमा म सर्जक बन्न जाँदैछु, सर्जक बनेर आएपछि राज्यलाई मैले पनि सेवा समर्पण गर्नैपर्दछ । फर्केर आएको दुई हप्तामै ऊ प्रशस्त गाँठ आउने गैरसरकारी प्रोजेक्टमा ज्वाइन भएछ । ऊ भित्रको यसखाले परिवर्तनले मलाई खुशी तुल्यायो । स्वास्थ्यसम्बन्धी त्यो गैरसरकारी प्रोजेक्ट निकै गाँॅठवाला प्रोजेक्ट हो । डा.जे.एस्. जस्तो मेरो लगौंटियायार त्यहाँ पुगेपछि मलाई समेत फाइदा कसो नहोला ? ऊसँगको सम्बन्ध र सम्पर्कलाई मैले निकै महत्व दिने विचार गरेको छु । हेरौं अगाडि के हुन्छ !….
११ अक्टोवर १९९९
बिरामीलाई देशबाहिरका अस्पतालहरूमा पठाउन रिफर गरे वापत उताबाट प्राप्त हुने कमिसनको पहिलो किस्ता आज हात पर्यो । तीन चार वटा नर्सिङहोम र क्लिनिकमा दौडधुप गर्दा प्राप्त हुने गरेको मासिक आम्दानी जति त दुई चार वटा केसलाई बाहिर रिफर गरिदिँदैमा पो हुने रहेछ । सेवाका नाममा प्राप्त हुने यस्तो मेवा मलाई साह्रै मन पर्छ । यहीँ आफूले उपचार गर्दा आठ-दस हजारमा चित्त बुझाउनुपर्ने नन्कम्लिकेटेड केसहरू पनि बाहिर रिफर गरिदियो, तीन चार गुना गुनिएर र दुनिएर आउँछ । आखिर यो पनि उपचार र आर्जनको नयाँ प्रविधि सावित भयो ।…..
१३ अक्टोबर १९९९
…..यता केही दिनदेखि मेरो मनमा एउटा प्रश्नले लगातार घोचिरहेछ- यो लिखिरलिखिरमा म किन दौडिरहेछु ? एकै चोटि र एकै पटकमा दुई-चार पुस्तालाई पुग्ने कमाउन के गर्नुपर्दछ ? डा. हुँ तर पैसा नभए म पनि बाँच्दिन ।
डा. के.एल. को वर्तमान स्वास्थ्यमन्त्रीसँग राम्रो हिमचिम छ । ऊमार्फत् एउटा आठ-दस वर्षे परियोजना स्वीकृत गराउन पाए त्यही परियोजना एउटा दुहुनु गाई हुने थियो । यही प्रयोजनका निम्ति एउटा प्रपोजल तयार पारें । सब तयार भयो र डा. के.एल. लाई हिजो बेलुकी डिनरका निम्ति आफ्नै घरमा बोलाएँ । ऊ आयो पनि । साले ऊ पनि चोरमाथिको चकार न पर्यो । फिप्टी फिप्टी गर्ने हो भने त म तुरुन्तै स्वीकृत गराउँछु पो भन्यो । लौ भैगयो, स्वीकृत गरा त भनिदिएको छु । प्रपोजल लिएर गएको छ ।…..
यसरी एक मन चित्त लगाएर डाक्टरको डायरी पढिरहेको लखरठ्याकलाई हस्याङ्फस्याङ गर्दै क्लिनिक आइपुगेको डा. एम.जेड्.ले एकैछिन् नियालेर हेर्यो । उसले बाजले चल्ला गाँजेको शैलीमा लखरठ्याकको हातको डाएरी गाँज्यो र राम्रैसँग धम्क्यायो- “नहेर्नु हेरिस् साथी नै परिस् भैगो, तर एक्सपोज गरिस् भने तलाईं कहिल्यै नब्युँझने इथर सुँघाइदिन्छु बुझिस् ?” सुपरिचित डा. एम.जेड, उसको डायरीमा उल्लेखित प्रसङ्ग र उसको यो धम्की सबै सम्झदा सम्झदै लखरठ्याकको टनटनाउँदै गरेको टाउको त बिस्तारै निगुरमुन्टी न भयो । बेहोस् प्रायः भएर त्यहीँ सोफामा ऊ घुर्लुप्प लड्यो । अर्ध-नर्सनानी र डा. एम.जेड्ले मुस्किलले उठाएर उसलाई पल्लो कोठाको बेडमा सुताए । उसको उपचार प्रारम्भ भयो । होस खुलेको छैन । यो कतिको कम्लिकेटेड केस हो तपाईं सजिलै अनुमान गर्न सक्नुहुन्छ । तर डा. एम.जेड्.ले उसलाई पनि भेलोर वा विदेशको कुनै नामी अस्पताल रिफर गरिदिए भने कदापि अनौठो मान्नु मनासिव हुनेछैन ।
(कृपया यसमा प्रयुक्त नाम-नामेसी विलकूल परिकल्पित हुन् । कसैको नामसँग ठ्याक्क मिल्न गए यो संयोग मात्र हुनेछ । आफ्नो शिप र दक्षता पैसामा समर्पण नगरी मानवीय सेवामा समर्पित डाक्टरहरूप्रति भने सादर क्षमा-याचना सहित ।)
कलङ्की, काठमाडौ
Subscribe
Login
0 Comments
Oldest



































