साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनिलका हास्यव्यङ्ग्यको आधार नियाल्दा

हास्यव्यङ्ग्यात्मक कलासाहित्यको चर्चा-परिचर्चामा समेत हास्यव्यङ्ग्य शैलीका सिर्जनालाई विधागत विशेषतामा नकेलाउने, अन्तरविधात्मक उपस्थितिमा रहेको तथ्यलाई नजरअन्दाज गर्ने र ‘हास्यव्यङ्ग्य विधा’ भन्ने सम्मको सोच देखापरेका छन् ।

Nepal Telecom ad

सिङ्गो नेपाली साहित्यको कुरा छाडी निबन्ध विधामा मात्र केन्द्रित रहेर भन्ने हो भने पनि थुप्रै लेखकहरू एक अर्काबाट मनग्य प्रभावित भएका छन् । भलै ती स्रष्टाहरूले द्रष्टाका टिप्पणी र समीक्षालाई नकारुन् । तर नाम र कामले ठ्याक्क मिल्ने र उस्तै उस्तै लाग्ने गरी पुनर्संरचना गरेका पुस्तक, लेख-रचनाहरू र सिर्जना त हामीसँगै साक्षी बकिरहेका छन् । हास्यव्यङ्ग्य साहित्यमा पनि यो प्रवृति छर्लङ्गै देखिएको छ । पुराना पुस्ताको मात्र हैन, समकालीन स्रष्टाहरूकै सिर्जनाबाट समेत प्रभावित भएर लेखन कार्य अघि बढाएका, पुस्तकको नाम राखेका र रचनाको विषयवस्तु लिएका प्रतिभाले आफ्ना अग्रज अथवा सहधर्मी स्रष्टाबाट प्रभाव ग्रहण गर्नुलाई स्वाभाविक कुरा मान्नुपर्दछ । त्यसरी लिएको सिर्जनात्मक आधारलाई सहज स्वीकारेर पूर्ववर्ती अग्रज अथवा समवर्ती स्रष्टालाई आदरभाव, कृतज्ञता र धन्यवाद दिनु बौद्धिक इमान्दारी हो । यसलाई नैतिक मूल्यका रूपमा स्थापित गरिनु पर्दछ । कृतिमा उद्धरण लिँदा दिइने पादटिप्पणी सरहनै प्रत्येक सन्दर्भका कथनमा त्यसो गर्न सहज नभए पनि उपजीव्य स्रोत उल्लेख गर्दा कुनै पनि स्रष्टाको आफ्नो मौलिकता र सिर्जनात्मकताको अवमूल्यन हँुदैन । हास्यव्यङ्ग्यात्मक शैलीमा कलम कुची चलाउने स्रष्टाले पनि यस तथ्यलाई मनन् गर्नुपर्ने अवस्था छ ।

हास्यप्रधान रचना र व्यङ्ग्यप्रधान रचनाका पृथक-पृथक धाराको उपस्थिति अत्यन्त न्यून रहेको हाम्रो साहित्यमा दुवै विशिष्ठता एकीकृत रूपमा प्रकट भएको पाइन्छ । त्यसैले प्रायः हास्यव्यङ्ग्यात्मक कलासाहित्यको चर्चा-परिचर्चामा समेत हास्यव्यङ्ग्य शैलीका सिर्जनालाई विधागत विशेषतामा नकेलाउने, अन्तरविधात्मक उपस्थितिमा रहेको तथ्यलाई नजरअन्दाज गर्ने र ‘हास्यव्यङ्ग्य विधा’ भन्ने सम्मको सोच देखापरेका छन् । के सही के गलत भन्ने तर्फ आवश्यक विचार विमर्श गर्नुभन्दा ‘तेरा कुरा ईस्’ भन्ने प्रवृतिले हैकम जमाएको हुँदा हामीहरूमा चिन्तनको सकारात्मकता बढ्न सकेको छैन ।

हास्यव्यङ्ग्य सिर्जना कलाको फाँटतर्फ व्यङ्ग्यचित्र (कार्टुन), व्यङ्ग्यनाटक, हास्यव्यङ्ग्य अभिनय (सिनेमा), गीत आदिलाई लिन सकिन्छ भने साहित्य तर्फ कविता, निबन्ध, कथा, काव्य, उपन्यास, समालोचना विधामा विस्तारित भएको देख्न सकिन्छ । त्यसैले शिष्ट, शालीन र सामाजिक प्रयोजनपरक हास्यव्यङ्ग्यको माग आज पनि उत्तिकै बढी रहेको छ ।

सिर्जनामा प्रयोग गरिएको एकदमै विशिष्ट शैली हो -हास्यव्यङ्ग्य । हास्यव्यङ्ग्य वक्रता, व्यञ्जना र लक्ष्यको आधारमा प्रभावकारी ढङ्गले प्रहार गरिने कटाक्ष भएर पनि सामाजिक सुधारका लागि बिरोधाभासका बिरुद्धमा खनिने हुँदा नम्र, विवेकी र मायालु हुन्छ । त्यसैले धेरैलाई मन पर्छ । हास्यव्यङ्ग्य सिर्जनाको सामाजिक आधार हुन्छ । त्यसैका आधारमा त्यो लोकप्रिय बन्दछ । समाज र समयको सापेक्षतामा साहित्य र कलाको रचना भए जस्तै हास्यव्यङ्ग्य पनि वर्गद्वन्द्व र चिन्तन भन्दा बाहिर हुँदैन । कहिले यो विषय प्रधान भैदिएको हुन्छ, कहिले विषमता विरोधी । मानिसको हित नै अन्तिम परिधि भए पनि त्यस बृत्तबाट पर्यावरण, जीव, जानव र विश्वब्रम्हाण्ड समेटिन्छ ।

युवाप्रतिभा अनिल कोइरालाले पनि सचेतन ढङ्गले वा स्वस्फूर्त रूपले आफ्ना हास्यव्यङ्ग्यात्मक निबन्धहरू मार्फत यिनै कुराहरूलाई आधार बनाएका छन् । ‘चड्कनच्युरा’ सङ्ग्रहको नाममा होस् वा नाक महिमा बखान्दा, टायर सम्मेलन गरेर उनले मान्छेको बेढङ्गीपन प्रति नै व्यङ्ग्य गरेका छन् । सरल र सहज अभिव्यक्ति, अनुप्रासमय वाक्यविन्यास र हल्का हाँसोमा गह्रुङ्गो छँसाइ नै अनिलका निबन्धको विशेषता बनेको छ । बोलचालको भाषामा कवि, गायक, नेता, कर्मचारी, शिक्षक, पुरुष, महिला सबैलाई उनले छाँस्दै आफ्नो ‘छाँसो सङ्ग्रह’ सिध्याएका छन् । प्रवृति माथि प्रहार गर्नु उनको आफ्नोपन हो । त्यसैले उनका रचनामा खुट्टा तान्ने प्रवृति माथि व्यङ्ग्य छ, सङ्गीत क्षेत्रको विसङ्गति प्रति प्रहार छ, समाजका अनेकौँ बिरोधाभास प्रति कटाक्ष छ । उन्नत, सुशील र सुन्दर समाज निर्माणको कामनाका साथ उनले मध्यम वर्गीय सामाजिक परिवेशलाई आफ्ना रचनामा बढी नियाल्न पुगेका छन् । पूँजीवादले पैदा गरेको बजारू सभ्यता, असन्तुलित विकास र अङ्ग्रेजीकरणको विसङ्गतिलाई पनि कोइरालाले निफनेका छन् ।

अन्त्यमा, प्रारम्भिक अवस्थामै विकासशील गुणहरू प्रकट गर्दै नेपालीय नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘चड्कनच्युरा’ दिएर पाठकलाई मनोविनोद र सुधारको सन्देश दिन सफल स्रष्टालाई अझ समुन्नत सफलताको हार्दिक कामना व्यक्त गर्दछु ।

२०६४ असोज ५
पुतलीसडक, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x