लक्ष्मण गाम्नागेबुद्धिबिलास सिद्धान्त
राम्रोको परिभाषा के पनि छ भने आफ्नो गुटकाले लेखेको भए राम्रो, अर्को गुटकाले लेखेको भए नराम्रो । हिजोआज साहित्यकारका आ-आफ्ना टुकडीहरू छन्, गुटहरू छन् । आफ्नाआफ्ना गुटका सदस्यलाई एकअर्काले मिलेर उचालेर आकाशमा पुर्याउने

व्यङ्ग्यकार बुद्धिविलास बजगाईंका बारेमा तपाईंलाई खासै बताइरहनु नपर्ला । बाउन्न वर्षको उमेरमा बैसठ्ठीवटा विविध विषयका कृतिहरू नेपाली साहित्यको भण्डारमा उहा“ले भण्डारण गरिसक्नुभएको छ । कथा, कविता, आत्मवृत्तान्त, निबन्ध, उपन्यास, महाकाव्य, गजल, हाइकु, मुक्तक, नियात्रा, जीवनी, नाटक, प्रहसन, एकाङ्की, गीत, चलचित्रका पटकथा आदि नै उहाँका प्रमुख विधा हुन् ।
हास्यव्यङ्यमा उहाँको विशेष दक्षता छ । तीबाहेक हस्तरेखा विज्ञान, ज्योतिष शास्त्र, जडिबुटीसम्बन्धी, एड्स रोगको उपचार, छोरा वा छोरी जन्माउने विधि, प्रेममा सफलता प्राप्त गर्ने अचूक उपाय इत्यादि विषयमा पनि उहाँका कृतिहरू प्रकाशित छन् । १२ देखि ४८ पृष्ठसम्मका उहाँका कृतिहरू उहाँका नातागोता, साथीभाइ, छरछिमेकी तथा ससुरालीतर्पmका प्रत्येक घरमा छ्याप्छ्याप्ती छरिएर रहेका छन् ।
उहाँलाई चिन्नेहरू बुद्धिविलास एक आसु साहित्यकार हुन् भन्ने गर्छन् । छिमेकी लोग्नेस्वास्नीबीच कुटाकुट हुँदा होस् अथवा सोमालियामा खाद्यान्नको लुटालुट हुँदा होस्, इराकी आतङ्ककारीले नेपाली युवाको घाँटी रेट्ता होस्, अथवा लामो समयपछि आफ्नै भूपू प्रेमिकालाई भेट्ता होस्, पत्नी नछुने हुँदा भात पकाउनु परेको घटना होस् अथवा विल क्लिन्टनले मोनिका काण्डमा हिलारीलाई फकाउनुपरेको घटना होस्- बुद्धिविलासको बुद्धिले तुरुन्तै त्यसलाई साहित्यमा ढालिहाल्छ । पाठकको मन पगालिहाल्छ ।
यस्ता अद्वितीय प्रतिभाका खानी महान् लेखक बुद्धिविलास बजगाईंले मलाई एकदिन घरमा बोलाए । खास कुरा के रहेछ त भने, उनको त्यो विराट प्रतिभालाई उजागार गर्न मजस्तो एउटा पत्रकारले सहयोग गर्नुपर्ने भएछ । जसरी महान् प्रतिभा भएर पनि उहाँ बिलौनी जस्तो कराइको पि“धमा बिलाइरहनुभएको थियो, एक होनहार पत्रकार भएर म पनि एउटा दुगुरे पत्रिकाको सम्पादक भएर सहरमा हराइरहेको थिएँ । एसो छ महिना, वर्ष दिनको फरकमा ५/७ वटा विज्ञापन-सिज्ञापन छापेर गुजारा टार्दै गरेको मलाई पत्रिका छपाइखर्च समेत ब्यहोर्ने गरी बुद्धिविलासज्यूले एक ‘बुद्धिविलास विशेषाङ्क’ निकाल्नुपर्यो भनेपछि मलाई पनि ‘के खोज्छस् पत्रकार ? बहाना, भनेजस्तो भै’गो । अनि लागेँ म उहाँको योगदानका बारे खोजी गर्न र पत्ता लगाएँ- उहाँको माथि उल्लिखित योगदान । उल्लिखित योगदानको कदर गर्दै ती प्रतिभासँग साहित्यका विषयमा भएका कुराकानीमा आधारित उहा“का अमूल्य विचारहरूलाई यहाँ प्रस्तुत गरेको छुः
कवि बुद्धिविलास बजगाईंज्यूलाई खासगरी लेख्न सिक्ने सिकारु भाइबहिनीलाई उपयोगी हुने गरी के लेख्ने ? किन लेख्ने ? कसरी लेख्ने ? कसका लागि लेख्ने ? के पाउन लेख्ने ? कति लेख्ने ? कतिखेर लेख्ने ? कस्तो लेख्ने ? जस्ता कबाट उठेका प्रश्नहरू गरिएको थियो । उहाँले दिनुभएका उत्तरहरू विस्तृत रूपमा ‘बुद्धिविलास विशेषाङ्क’ मा प्रकाशित हुनेछन्, यहाँ सारसङ्क्षेप प्रस्तुत गरिएको छ-
वजगाईंजी भन्नुहुन्छ- के लेख्ने भन्ने प्रश्नको सजिलो जवाफ छ- जे आउँछ त्यो लेख्ने । सबै लेख्नेहरू मजस्तो सबै विधामा लेख्न सक्ने पोख्त हुँदैनन् । अतः कविता लेख्न आउँछ भने कविता लेख्ने, सवाई लेख्न आउँछ भने सवाई लेख्ने, भजन लेख्न आए भजन लेख्ने, जीवनी लेख्न आए जीवनी लेख्ने । मैले जस्तै व्यङ्ग्य लेखे पनि हुन्छ तर व्यङ्ग्यको बजार करिबकरिब विनाश भइसकेको छ । तपार्ईंहरूले हानेको व्यङ्ग्यवाण जसलाई ताकेर हान्नुहुन्छ, उसको निधारमा ठोक्किएर नौ ठाउँ बाङ्गिएर हास्यास्पद रुपमा फर्किन्छ । हास्य भन्नुहुन्छ भने तपाईं हाम्रो हास्यभन्दा हजारगुना बढी हँसाउने हाम्रा मन्त्री, नेता, पुलिस, सेना, न्यायाधीश र प्रशासकहरू छन् । बरु भजन लेख्नुहोस्, त्यसको राम्रो स्कोप छ । विरही भावका दोहोरी गीत लेख्नुहोस्, खूब बिक्री हुन्छ । रहस्य कथा, अपराध कथाहरूमा लाग्नुहोस्, पाठक धेरै पाउनुहुनेछ । जस्तो कि, व्यापारमा भट्टी व्यवसाय उत्कृष्ट छ, त्यस्तै साहित्यमा यौन साहित्यको बजार उर्वर छ । यौन साहित्य लेख्नुहोस् र मालामाल हुनुहोस् । भक्ति साहित्यको शक्ति पनि भयङ्कर छ, बुझिराख्नुहोस् ।
किन लेख्ने भन्ने प्रश्नका बारेमा पनि मेरो प्रष्ट धारणा छ । पत्रपत्रिकामा बिक्री हुनेखाले रचना लेख्न सके ५-७ सौ रूपैयाँ दाम आउँछ, दाम कमाउन लेख्ने । दोस्रो, रचना छाप्ने पसल थापेर बसेका पचासौँ पत्रपत्रिकाहरू छन् तिनीहरूका पाना भरिदिन लेख्ने । तेस्रो, ‘केही न केही त गर्दैछु नि’ भनेर भ्रान्तिसुख प्राप्त गर्न लेख्ने । छरछिमेकी, स्वास्नी छोराछोरी वा ससुरालीमा धाक जमाउन लेख्ने । जहाँसम्म समाज र राष्ट्रप्रतिको दायित्वको प्रश्न छ त्यो त ध्वाँस मात्र हो । त्यसरी लेख्ने त लाखौँमा २-४ होलान्, बाँकीहरू त दाम, नाम वा कामका लागि लेख्छन् ।
किन लेख्ने भन्ने प्रश्नको जवाफमा तपाईंले पुरस्कार पाउन, दोसल्ला ओड्न, अभिनन्दन खान पनि भन्न सक्नुहुन्छ । गोर्खा दक्षिणबाहु, झापा उत्तरबाहु इत्यादि जे जे पाए पनि ती सबै माथि उल्लिखित नाम र दाम भित्रै पर्ने कुरा हुन् ।
कसका लागि लेख्ने भन्ने प्रश्नको जवाफ पनि अप्ठ्यारो छैन । सकभर संसारभरिका शोषित, पीडित, उत्पीडित, जनताका लागि लेख्ने । विश्वशान्ति र भाइचाराका लागि लेख्ने । त्यो नसक्नेले आफ्नो देश जत्रोसुकै र जस्तोसुकै भए पनि आहा † सुन्दर, शान्त र विशाल भनेर लेख्ने, त्यो पनि नसक्नेले शोषक, जालीफटाहा, सामन्तका भुँडी फुटाउँछु भनेर लेख्ने । ठाडै लेख्न नसके मेरो जस्तो व्यङ्ग्य लेख्ने । तपाईंको व्यङ्ग्यले ती बज्जेहरू नबज्न पनि सक्छन्, त्यस्तो भयो भने आफ्नै लागि लेख्ने । लेख्न चाहिँ लेख्ने ।
के पाउन लेख्ने भन्ने प्रश्नको जवाफ किन लेख्ने भन्ने प्रश्नको जवाफमा आइसकेको हुँदा म अब कति लेख्ने भन्ने प्रश्नतर्फ लाग्छु । जति सकिन्छ त्यति लेख्ने भन्नासाथ यो प्रश्नको उत्तर सकिन्छ । तै पनि म व्याख्या गर्छु । धनी बाउको छोरो भए जति लेखे पनि हुन्छ, दिनको २/४ वटा कविता, कथा । तर गा“सबासको समस्या छ भने बिहान घरगृहस्थीमा लडाइँ गर्ने, दिउँसो व्यापार, व्यवसाय, जागिर जे छ, त्यहाँ कमाई गर्ने, बेलुका भान्सामा भिड्ने, साँझ केटाकेटीका होमवर्क गर्न सघाउने, त्यसपछि समय रह्यो भने लेख्न थाल्ने । त्यही समयमा जति सकिन्छ त्यति लेख्ने । जति समस्याग्रस्त समयमा लेखिन्छ, तपाईंको रचना उत्तिकै उत्कृष्ट हुन्छ भन्ने ‘बुद्धिविलास सिद्धान्त’ छ ।
कत्ति लेख्ने भन्ने प्रश्नको अर्को जवाफ पनि छ, जो तपाई“ले अ“गाल्ने विधामा भरपर्छ । हाइकु भए सत्र अक्षर लेख्ने, मुक्तक भए चार-पॉच हरफ लेख्ने । कविता भए दस हरफ, बीस हरफ, पचास वा सय हरफ । उपन्यास भए …… कुरा बुझिहाल्नुभो नि, होइन र ?
तपाईंले ‘क’ बाट उठेका सबै प्रश्न गर्नुभएछ, उत्तर दोहोरिने भए । जस्तैः कतिखेर लेख्ने भन्ने प्रश्नको जवाफ मैले दिइसकेको छु । खल्तीमा टन्न पैसा भए जतिखेर लेखे पनि हुन्छ, आनन्द आउँछ । पैसा पनि छैन, घरगृहस्थीको झमेला पनि छ भने फुर्सद भएका बेला, अर्थोक काम नपाएका बेला, कचकच नभएका बेला लेख्ने । अरू काम छाडेर लेख्नुलाई नै काम सम्झेर लेख्न थाल्नुभयो भने चाहिँ चिलिम हुनुहोला ।
कसरी लेख्ने भन्ने तपाईंको प्रश्नमा म के भन्छु भने हातमा कलम लिने, ओछ्यानमा बस्ने, घोप्टो पर्ने अनि कागतमा खुइँखुइँ लेख्ने । सर्सरी लेख्न आउ“दैन भने ठसठसी कनेर लेख्ने, छन्दमा भए अक्षर गनेर लेख्ने । सकभर एकैपटकमा सक्ने, नभए दोस्रोपटक ‘फियर’ गर्ने, पत्रिकामा झ्याप्प पठाइहाल्ने । धेरै खिपेर, कपेर राम्रो पार्न बल नगर्ने, त्यसो गर्दा तपाईंको प्रतिस्पर्धीले उछिन्छ । लेख रचनाहरू जति छाँट्यो, काट्यो उति काट्ने ठाउँ पलाइरहन्छ । धेर काँटछाँट गर्दा कहिलेकाहिॅ यस्तो पनि हुनसक्छ, तपाईंको पूरै रचना काटिएर सपाना नै रित्तो हुनसक्छ । तसर्थ छाँट्ने-काट्ने काम गरेर समय नाश गर्नु व्यर्थ छ । अर्को कुरा कसरी लेख्ने त भने आ-आफ्नो स्वभावअनुसार चुरोट तान्दै, चिया सुक्र्याउँदै लेख्ने, सोमरसले घाँटी भिजाउँदै लेख्ने, घाँटी माड्दै लेख्ने, नाक कोट्याउँदै लेख्ने, आकाशतिर हेरेर लेख्ने, पातालतिर घोप्टिएर लेख्ने, जसो गर्दा फुर्छ उसैगरी लेख्ने ।
कस्तो लेख्ने ? यो एउटा जटिल र रमाइलो प्रश्न हो । यसको छोटो उत्तर राम्रो लेख्ने भन्ने हुन्छ । कस्तोलाई राम्रो भन्ने मात्रै विवादको विषय हो । तर बुद्धिविलासका लागि यो कुनै अप्ठ्यारो प्रश्न होइन, आफूलाई जस्तो लेख्न आउँछ त्यो नै सबभन्दा राम्रो हो । आफूले लेख्न नसक्ने जति सबै नराम्रो । भरसक दाँती मिलेको, भाँती पुगेको, कला पुगेको, गला मिलेको भए राम्रो । गला मिलेको लेख्न सकिन्न भने अरूका गला रेट्न सक्ने लेख्नसक्नु राम्रो । कला पुर्याउन सकिन्न भने अरूको काल निम्त्याउन सक्ने खालको रचना लेख्नसक्नु राम्रो । जमानाअनुसार अब कला पुगेको, गला मिलेको भन्दा भित्तो पुर्याएर गाली गरेको रचनालाई राम्रो मानिन्छ । जत्ति अरूको सत्तोसराप गरेर सबैलाई नालीमा सुताउन सकिन्छ, उत्ति आफू झन्झन् ठूलो साहित्यकार भइन्छ, त्यतातिर नयाँ पुस्ताको ध्यान जानु जरुरी छ ।
राम्रोको परिभाषा के पनि छ भने आफ्नो गुटकाले लेखेको भए राम्रो, अर्को गुटकाले लेखेको भए नराम्रो । हिजोआज साहित्यकारका आ-आफ्ना टुकडीहरू छन्, गुटहरू छन् । आफ्नाआफ्ना गुटका सदस्यलाई एकअर्काले मिलेर उचालेर आकाशमा पुर्याउने र अरू गुटकालाई पातालतिर भसाउने अभियानहरू चलेका छन् । तसर्थ राम्रोको कुनै परिभाषा छैन, आफूले आफैंलाई राम्रो ठान्ने र एउटा न एउटा गुटमा गुट्मुटिएर अघि बढ्ने । यसमै सिकारु साहित्यकारहरूको भलाई छ, तपाईंहरू अगाडि बढ्नुहोस्, म पुरानो सिकारी साहित्यकारको शुभकामना छ ।
सिनामङ्गल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































