सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सस्तो सम्मान

पैसाको पहुँचमा सम्मानको बाढी उर्लिरहेको छ । सम्मानित व्यक्तित्वलाई एउटा कुराको हेक्का छैन झैँ लाग्छ । किनुवा सम्मानबाट झिनुवा स्वाद मिल्न सक्दैन ।

Nepal Telecom ad

शेषराज भट्टराई

बजारमा अहिले सबै कुरा सस्तो छ । मान सम्मान त झन सित्तैमा मिल्ने भएर होला अचाक्ली सस्तो छ । नाकाबन्दी र भूकम्पले ध्वस्त बनाउँदा बजारका व्यापारीले पनि खाद्यान्नको भाउ बढाएर महँगो तिरेर भए पनि सामान उपलब्ध गराए बापत तिनै तस्कर लुटेरा ठगहरू सम्मानित भएका थिए । ऊ बेलामा २ वटा गैँडामा नआउने रातो दाल अहिले तीन बिसमा आउँछ । अहिले तीन बिसमा रातो दाल बेच्ने व्यापारी भन्दा दश विसमा बेच्ने व्यापारीले सम्मान पत्र, दोसल्ला, खास्टो, पुष्प गुच्छाले सम्मानित भएको थियो । समयसँगै मान्छेका यावत गतिविधिले पनि काँचुली फेर्दो रहेछ । अहिले मान्छेले मान्छेलाई गर्ने मान सम्मानले बजार पिटेको छ । अहिले जेठा कान्छा, जेठी कान्छी सबै सम्मानित हुन पाएका छन् । सम्मानको स्वाद सबैले चाखेका छन् । जिब्रो फड्कारेका छन् र सानको सिउर हल्लाएका छन् ।

असल उन्नत स्तरको काम सधैँभरि मरी मरी घरीघरी गरिराखेछ भने त्यस्ता पाइनदार पौरखीलाई सम्मानको झटाराले हान्नै पर्छ । मान्नै पर्छ । तर अहिलेको समाजले सम्मानलाई यति सस्त्यायो त्यसको लेखा जोखा कसले गर्ने ? सबैलाई सम्मानित हुँदै ठिक्क छ ।

सम्मानको सीमै छैन । बिहान बिहान जाँगरका साथ उठ्यो भने पनि सम्मान, भात खाएर चुठ्यो भने पनि सम्मान । हाँडीमा मकै भुट्यो भने पनि सम्मान, मान्छेलाई बेस्मारी कुट्यो भने पनि सम्मान । सम्बन्ध जोडिए पनि सम्मान, सम्बन्ध छोडिए पनि सम्मान । जेल नेल खाएर तेल निस्किए पनि सम्मान । भ्रष्टाचार गर्नेलाई पनि सम्मान र भ्रष्टाचार गराउनेलाई पनि सम्मान । चोर्ने, लुट्ने, ढाँट्ने, ठग्ने, डाका, पटाहा, जड्याहा, जुवाडे सबै सम्मान लिने र दिने ऐंचो पैंचोमै रमाए पछि सम्मानको मान मनितो कसले गर्ने ? सम्मानको त्यो भार र भकारीलाई कता बिसाउने, कसरी बिसाउने, कहाँ थन्क्याउने ? सुदुर भविष्य खातिर के चिताउने ? सन्ततिलाई के सिकाउने ? वास्तवमा सम्मान त ओजस्वी, गर्भिलो, गहकिलो र किलो जस्तै दरो भरपर्दो हुनु पर्ने होइन र ?

सम्मान कोठीमा फिजाइएको तरुनी तन्नेरीको वैंस जस्तो हल्का र सस्तो हुनु हुँदैन । सम्मान जस्तै अपमान पनि आफ्नो थान्कामा हुन्छ । अपमान पनि हल्का र सस्तो हुँदैन । हुनुहुँदैन । फलाम सस्तो हुन्छ ता पनि आफ्नो थान्कामा हुन्छ । सुन महँगो हुन्छ त्यो नि आफ्नो थान्कामा हुन्छ । सुनको काम फलामले गर्दैन भने फलामको काम पनि सुनले गर्दैन । देख्ने इन्द्रियले सुन्दैन भने सुन्ने इन्द्रियले पनि देख्दैन । हरेक वस्तुको मर्यादा, मान, सान आफ्नो ठाउँमा हुन्छ । सबै उत्तिकै मर्यादित हुन्छन् । नाकले गन्ध पत्ता लगायो भनेर नाकै छोपिने गरी सम्मानको माला पहिर्‍याउने तर देख्ने आँखा र सुन्ने कानलाई विस्थापित गर्न मिल्छ ? यी पनि आफ्नो ठाउँमा ठिक छन् । यिनले पनि सम्मान पाउनुपर्छ । समाजमा नेताको गलाभरि माला र अँगालाभरी सम्मान पत्र हुन्छ भने अन्य क्षेत्रमा योगदान पुर्‍याउने कार्यकर्तालाई किन तिरस्कार ? छि छि दुर दुर के का लागि ? सम्मानित हुन्छन् भने राम्रोसँग मसला मोल्ने ज्यामी र मिस्त्री सम्मानको समान हकदारी हाम्रो समाजमा किन हुँदैनन् ? मिस्त्री मात्र किन सम्मानित हुन्छ ? पसिनाको समान मूल्याङ्कन हुन नसक्दा समाजमा विभेदका जरा मौलाएका छन् । लैङ्गिक विभेदले शिर उठाई रहेको छ । पैसाको पहुँचमा सम्मानको बाढी उर्लिरहेको छ । सम्मानित व्यक्तित्वलाई एउटा कुराको हेक्का छैन झैँ लाग्छ । किनुवा सम्मानबाट झिनुवा स्वाद मिल्न सक्दैन । यस्ता सम्मानले समाजका आँखामा आफ्नो बडप्पनको स्वाद आफूले मात्र ग्रहण गर्नु हो । आफू मिठो मसिनु मक्र्याइ राख्ने निरीहलाई थर्काइ राख्ने आधुनिक जनप्रतिनिधि र समाजको सिद्धान्त कालान्तरका लागि फापसिद्ध मान्न सकिँदैन ।

मान्छेका काम फरक भए जस्तै सम्मानका दर्जा पनि फरक हुन्छन् । तर हाम्रो समाजमा कामको मूल्याङ्कन हुँदैन । पैसाको मूल्याङ्कन हुन्छ र त पत्याउनै नसक्ने गोबर गणेशहरू सम्मानित हुने क्रम बढ्दो छ । सम्मान नगदमा कारोबार हुन थालेपछि इमानदार मान्छेले आँखा च्यातेर टुलुटुलु हेर्नु शिवाय के गर्न सक्छ ? सबै नाङ्गो नाच नाचेर स्वाद लिइराखेका छन् भने सज्जनले ओठ लेप्राएर के हुन्छ ? वर्तमान नेपालमा सम्मान सारै सस्तो भएको देख्दा देह त्यसै त्यसै द्रवीभूत भएर आउँछ ।

सम्मान अनुभूत गरिने तत्व हो भने सम्मान पत्र, दोसल्ला, खादा, खास्टो देखाउने जिनिसहरू हुन् । जमाना पारदर्शी भएको हुनाले सम्मान पनि पारदर्शी नै हुन्छ । त्यसैले त सम्मान गोप्यसँग गरिँदैन । देखाएर नै गरिन्छ । तर एउटा स्वाँठका खातिर घनिभूत सम्मान खरिदेर विद्वान्ले घुटुक्क थुक निल्नु नपरोस् समाजमा । सत्पात्रको मान मर्यादामा सम्मान आहुती गरौँ । सही मान सम्मानले कसैको शिर ठडिएर नेटो पनि काट्दैन र लत्रिएर भुइँ पनि छुँदैन । तर अहिले व्याप्त सम्मानको तौर तरिका र झाँकीले स्वयं आयोजक र सम्मानको शिर निहुर्‍याइरहेको छ ।

सम्मानको आशा परिश्रमी र मेहनतीलाई लाग्छ । जाँगरिला मान्छे हतोत्साहित नबनून् भनेर प्रोत्साहन स्वरूप सम्मान गर्ने गरिन्छ तर यहाँ कामचोर, अल्छी, घुस्याहा, छुस्याहाले सम्मान पड्काइ रहेका छन् । कुरौटे नारदले सम्मान थापिरहेका छन् । सत्सङ्ग, महापुराण, भागवत कथा वाचनको द्रव्य सङ्कलन हर्कबढाइमा आधुनिक दानवीर कणर्हरू दुई चार हजार फालेर आफ्नो नाक उँचो बनाइ रहेका छन् । खास्टो, सम्मान पत्र, दोसल्ला र नागरिक अभिनन्दनको भागिदार ठान्छन् । दिने, लिने दुवै काँटाका सज्जनहरू ठूलै तामझामका साथ सम्मानको बजार विस्तार गर्दै जाँदा सम्मान एकाएक सस्तो बन्न पुगेको छ । सस्तो चिज सबैले खोकिलामा हाल्न रुचाउँछन् । तर त्यसको दुरगामी असर प्रभावका बारेमा कसैले सोच्दैनन् । त्यसैले भन्ने गरेका होलान् “सस्तो बेसाहाले पखाला लगाउँछ ।”

सम्मानले सम्मानित व्यक्तित्व र देशले पनि सम्मानको रसिलो, पोसिलो, जोसिलो अनुभूति गरोस् तब पो सम्मानको मान मर्यादा र अर्थ रहन्छ । समाजका सामान्य व्यक्तित्वको समेत सस्ता सम्मानका साधनले उचित जग्गा नपाएर थाङ्नामा गुटमुट्याएर राखेका छन् । सुकुम्बासी तालमा मर्यादाहीन पाराले थुपारेर राखेको हुन्छ सम्मानपत्रलाई । सम्मानपत्रले पाउने मर्यादा त्यही हो ? सम्मानित व्यक्तित्व सम्मानको स्वादले अनुहारको आभा चाहिँ तम्तम्याइलो देख्दा आफैलाई अप्ठ्यारो लागेर आउँछ । जसरी मुद्रास्फीति हुँदा पैसा अवमूल्यन भएर बजार बिग्रिएको हुन्छ त्यस्तै सस्तो सम्मानले समाज बिग्रिएको भान भइराखेको छ । समाजमा एउटाले छोरो जन्मायो भने पनि सम्मानको जुन परिपाटी बसेको छ त्यसले गरिखाने समाजलाई गिज्याइरहेको छ । चार जना मान्छे जम्मा गर्‍यो अनि बडप्पनको पगरी गुथाएर सुकेको ह्याकुलो फुलाइ दिने ? छेवर, पास्नी, विवाह, वर्तबन्ध हरेक सोह्र संस्कार गर्दा आयोजक (कर्ता) सम्मानित हुने गरेको पाइन्छ । सम्मान पुष्प गुच्छाले मात्र होइन सम्मान पत्र, नगद, जिन्सी सहितका प्रामाणिक सम्मान पत्र आइ लाग्छन् । सायद पैँचो लगाको भनेको यही होला । अहिले सम्मानको खास्टो देखे पछि मुख रसाउन र सिंगो समाजै बसाउन (सुगन्धित) थाल्छ अनि सम्मानका खातिर मरिमेट्नु नौलो कुरा भयो त ?

सम्मान, इज्जत, नपाउनु पाइसकेपछि समाजमा त्यसलाई मर्यादित बनाएर राख्न सक्नुपर्छ । सम्मानले व्यक्ति र समाज सुध्रिने भए हत्या, हिंसा, अन्याय, अत्याचार, बलत्कार, चोरी, डकैतीका घटना किन मौलाउँदा हुन् । मान्छे ठिक चुनेर सम्मान गर्नु ऊ मात्र होइन आफू पनि सही साबित हुनु हो । त्यसैले सम्मान सस्तो हुने गरेर सम्मान गर्नु बुद्धिमानी मानिँदैन । समाजमा भौतिक सम्मानले एकाधलाई सुसोभित गर्नुभन्दा नैतिक शिक्षा र उचित संस्कारले सिंगो समाजका सबैलाई विभूषित गर्नु ठूलो सम्मान साबित हुन्छ ।

फुलबारी, पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रेखा

रेखा

शेषराज भट्टराई
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई