साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफू ता महादेव उत्तानु टाङ

अब ता नेपाली जातिलाई विश्वास गऱ्यो कि सर्वनाश । दिनलाई रात बनाउँछन्; रातलाई दिन । कालोलाई सेतो; सेतोलाई कालो बनाउनमा निपुण ।

Nepal Telecom ad

नेपाली जाति स्पर्शकातर जाति हो । भिजेको बिरालोजस्तो । बुरुक्-बुरुक् उफ्रिएर थचक्-थचक् बस्न सिपालु । आवेगका भरमा काम गर्ने जनावर यी नेपाली जाति । काटीकुटी हावा भरेको बेलुनजस्तो । फुस्सै हुन कति पनि समय नलाग्ने । हेनतेन भनी लछारपाटो लाउँछु भन्ने हाँक लगाएर प्रतिज्ञा गर्न सिपालु तर त्यो प्रतिज्ञा भताभुङ्गै पार्नमा त्यसको दोबर-तेबर सिपालु । भाग्यमाथि विश्वास, भर पर्ने जनावर यी नेपाली जाति ’भाग्यविश्वासी’ । घिच्रामा आधा किलोको बुटी, पाखुरामा एक किलोजति वजनको बुटी, कम्मरमा कालो कन्दनी… केके हो केके । झारफुक… धामीझाँक्री ।

संसार थर्काउने डरलाग्दा जनावर नेपाली जाति । जर्मन, जापान, फकल्याण्ड फाँड़्ने नेपाली जाति । हिटलरले मानेका, मुसोलिनीले पुजेका, इमरसन तर्सेका । महाभारतको युद्धमा पाण्डवपक्षबाट लड़ाइँ गरेर कौरवहरूको सातोपुत्लो खाने नेपाली जाति । पटक्कै नडराउने यो जाति । हाम्रा कति पिता-पुर्खाहरू ता युद्धभूमिमा मान्छे काटिसकेर मात्र ’काटिदिन्छु’ भन्थे । तर बनको, जङ्गलीे, बोक्सी-डाइनी, छौंड़ा-छौंड़ी, चुँड़ेलसित मात्र थुरथुर हुने जाति । ढुङ्गा-मूढ़ा पचाउन सक्ने नेपाली जाति नामको यी जनावरलाई कन्दमूल खाएर बाँच्न कुनै गाह्रो नपरेको कथा हामीलाई थाहा छ । किनभने हाम्रै बुबा भन्थे- “शाला..तँहरूको उमेरमा ता हामीले ढुङ्गा-मूढ़ा पचाउँथ्यौं…बुझिस् ?” हुनु पनि हो नि बूढ़ाहरू चिरुवा दाउराजस्ता हड्डी दाँतले काराककुरुक पार्थे भने घोन्द्र्याङेमा भुटेको मकै मरक्-मरक् चपाउँथे । मासु खाइसकेर यी बूढ़ाहरूले माचिस वा सिन्केधूप वा कुचो वा खरेटोका सिन्काले दाँत कोट्याएको मैले देखिनँ । उबेलाका अहिलेजस्तो टुथपिकको आविष्कार नै भएको थिएन । बूढ़ाहरूको दाँतमा मासु अड़्कियो दाँतको चेपमा मासु अड़्कियोस् न सिन्काको आवश्यकता परोस् । अचेल हामीलाई टुथपिक नभई हुँदैन । जमानै बेग्लै थियो उबेला ।

हाम्रा बाजेहरूले लड़ाइँ गरेर विश्वमा लड़ाकु जातिको पगरी गुँथे । तिनका नाति-पनाति-खनाति हामीहरू भने आफै-आफ लड़ाइँ गरेर, हानाहान र तानातान गरेर, काटमार गरेर बाजे-बराज्यूको वीरतालाई लाटाको धोतीजस्तो मात्रै बनाएनौं तर परस्परको यो लड़ाइँले अरुले मनग्गे हाँस्ने मौका पायो… पायो… हाम्रा कमजोरीहरूको नाफा साउँ-सूदसहित मुठी पारेर हामीलाई कठपुतलीजस्तो नचाउऩ थालेको कुरा कतै लुकेको छैन । हाम्रा बाजे-बराज्यूहरूले दिएका वीरता अहिले अरुकै मुठीमा बन्दकी भएको छ । यो वीरता अचल्ने नचल्ने दुअन्नीजस्तै नै भएको छ ।

वर्तमान नेपाली जाति भन्ने यी जनावरको हाँकै ठूलो; धाकै ठूलो; फ्वाँकै ठूलो । भोकै बस्छु तर सानातिना काम गर्दिनँ । योग्यता होस् नहोस् कुर्सीमा बस्छु; साहेब हुन्छु । दुई-चारजना नेपाली जाति भन्ने जनावरको भेट हुन्छ त्यहाँ गुटबाजी शुरु भइहाल्छ । अब ता नेपाली जातिलाई विश्वास गऱ्यो कि सर्वनाश । दिनलाई रात बनाउँछन्; रातलाई दिन । कालोलाई सेतो; सेतोलाई कालो बनाउनमा निपुण । दिउँसो धार्मिक; रात पऱ्यो कि अधार्मिक ।

यी वीर कहलाइने नेपाली जाति नाउँका जनावरहरूलाई गोराहरूले नचाउनुसम्म नचाए …खेलाउनुसम्म खेलाए… बिरालोले मूसा खेलाएजस्तो । हाम्राहरू पनि गोराहरूको लहैलहैमा लागेर जसो जसो बाहुन उसै उसै स्वाहा गर्न थाले । गोराहरूले जस्तो पाराले मादल बजाए हामीहरू पनि उस्तै पाराले कम्मर-कम्मर मड़्काउँदै नाँचिदिए । कुनै ककटेल पार्टीमा गोराहरूले नेपाली जाति नाउँका जनावरहरूलाई चुम्बन गर्दा मक्खै परे । फेरि पिठ्यूँमा स्वाँठ् कि स्वाँठ कोर्राले सोँड़्क्याउँदा चूपो लागि सहिबसे… लाज पचाउऩलाई हो या के ले हो को’नि (?) पिठ्यूँभरि कोर्राको सुम्लै-सुम्लै बोकेर पनि भन्थे- “दूध दिने गाईको लात पनि सहनुपर्छ ।”

गोराहरूका पालामा नेपाली दरोगाहरू नै डरलाग्दा अत्याचारी थिए । नेपाली इन्फ्ररहरूकै आड़मा गोराहरूले नेपालीलाई नै पाता कसे… ठ्याङ्ग्रोमा हाले । काला पानी पुऱ्याए । नेपालीहरूलाई गोराहरूले ठ्याङ्ग्रोमा हाल्दा…पाता कस्दा वा काला पानी पुऱ्याउँदा नेपालीहरू भक्कुचुर रमाए । तर हाम्राहरूले यो गोरा नाउँका जन्तुहरूको ’किक् एण्ड किस् पोलेशी’ कहिले बुझेनन् । बुझ्ने सामान्य कोशिस पनि गरेनन् ।

गोरा नाउँका यी जन्तुहरू गए… तर उनीहरूले प्रयोग गरेका ’किक् एण्ड किस् पोलेशी’ छोड़ी गए । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तो अचेल पनि हामीलाई बिरालोले मूसा खेलाएको जस्तो गरी होइन सिंहले मृगलाई खेलाएकोजस्तो खेलाउऩे काम भइरहेको छ । हाम्रा बाजे बराज्यूहरू पहिले मुसाजस्तो खेलिए ती गोरा नाउँका जन्तुहरूबाट । अहिले हामी मृगको बिँड़ो थामेर सिंहको पञ्जामा, सिंहको नङ्ग्रामा, सिंहको तिखा-तिखा दाँतमा परेर अलसतलस हुँदाहुँदै पनि खेलिरहेका छौं,.नाचिरहेका छौं । कहिलेकाहीँ सिंहको पञ्जा हाम्रो रातो न पिरो भएका गालामा वर्षिन्छ, कहिले वा तिनका नङ्ग्राले हामीलाई कोपरिरहेको हुन्छ । कहिले तिनका तिखा दाँतले हाम्रो किलकिले चेपिरहेको हुन्छ । हामी चुप्प लागि ती सबै सहिरहेका हुन्छौं । आय्या, आत्था छैन हामीलाई । किनभने हामीलाई अचेल सहने बानी लागेको छ । हाम्रो गीतमै पनि भनिएकै छ नि, “यहाँ चोट दुःखेको छ….तर सहनै परेको छ” । विरोध गर्ने ता कुरा छैन । सामान्य विरोध गऱ्यो कि त्यो खबर कसरी सिंहको ओढ़ारभित्र पुगिहाल्छ । खबर पुऱ्याउने खबरे हाम्रै वरिपरि हुन्छन् । हाम्रो चारैतिर खबरेहरूको जगजगी पहिलेभन्दा अहिले दोबर-तेबर बढ़ेको छ । यिनीहरू खबर पुऱ्याएर स्यावाशी हत्याउनमा निपुण छन् । खबरे भन्ने यी जनावरहरूलाई ता झन् छोइनसक्नु छ । कथङ्कल उनको चित्त दुःखायो कि पित्त फुट्ने गरी थाहै नपाई थला पार्छ । खबरे नाउँको यी जनावरलाई तह लाउन कसैगरि पनि सकिँदैन । यो नयाँ कुरो होइन संसारभरिकै शासकवर्गले यस्ता एलिमेण्टस् चाहन्छन् ।

समात, मार, खँजाहा, थला पारिदेऊ, हात-खुट्टा भाँचिदेऊ, शेष पारिदेऊ । कसले के गर्छ ? डाड़ू-पन्यू हाम्रै हातमा । सही सही बिसही बिसही । दुइ दिन मात्रै रुवावासी । हल्ला…जुलूस…आन्दोलन…चक्काजाम, लेखाथलेखी…शोक सभा…विरोध सभा । त्यसपछि सब चूपचाप । मानौं कतै केही भएको छैन ।

उबेलाका मान्छे भन्ने जनावर र अहिले मान्छे नामक जनावर । मान्छे नामका यी जनावरहरू परिवर्तन होलान् ? बद्लिन्छन् ? भनाइ नै छ नि “आफ्नो बानी को छोड़्ने, अर्को बानी को लिने ?” यहाँ ह्याकुँला मिचाइ छ । मेरो गोरुको बाह्रै टक्का । ह्याँकुला मिचाइ छ गाउँ-घरमा, शहर-बस्तीमा । रङ् बद्लिन्छ तर भाग्य बदलिन्छ र ? नाम मात्रै बद्लिएको छ अचेल यहाँ । नाममा ता के छ होइन ? आखिर भालेमुङ्ग्रोका सन्तान हामी । शेक्सपियर दोहोऱ्याउन मन लाग्छ यसरी -“What is in a name – a rose is a rose is a rose.”

अचेलका छोराछोरीहरूलाई छोइनसक्नु छ फेरि । सबैका एकेकवटा बाइक । गाउँमा, सड़कमा बाइक हँकाइ देख्नु भा’छ ? नारायण ! बाटो उसकै हो; सड़क उसकै हो । सबै मनका सम्राट; धम्की घुर्कीका राजा । भकिम्लोको काठ भाँचेजस्तो बोली । सामान्य साह्रो बोल्यो कि तत्कालै मुठीभाख झिकेर “मलाई चिन्यौ ? म फलानुको मान्छे । फोन लगाउँ ? ऱ्याक् होला नि फेरि..।”

युवा छोरोका पिताजीको मृत्यु हुँदा आफ्नो मुठीभाषमा सबैलाई म्यासेज- “हिजो राति ड्याडले जिब्रो टोके । भोलि दिउँसो बाह्र बजी ड्याडको फाइऩल प्रोशेसन छ । अर्को हप्ता ड्याडको पिण्ड धोक्न आउनोला ।”

समय परिवर्तन भइसक्यो । नेपाली जातिको नामको यो जनावर जहीँको तहीँ छ । न आजसम्म टेक्ने ठाउँ खोजिदिनेको लम्बर फेला पार्न सकेको छ न ता समात्ने हाँगा समात्ने तेञ्जिङ नै फेला पार्न सकेको छ । कोलम्बस र तेञ्जिङको खोजमा जानेहरू बिलखबन्द परिरहेका छन् ।
आफू ता महादेव उत्तानु टाङ, कसले दिने वर !!

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x