परशुराम पराजुलीकाठमान्डू
टुपुक्क खाल्डो म त केन्द्र नै हुँ वैकुण्ठ कैलाश र स्वर्ग मै हुँ फुलाउँदै बोल्दछ नाक छाती यो देशको मै हुँ ममात्र जाती ।

यो काठमान्डू जब रात पर्छ
कालो बिरालोसरि चर्न जान्छ
हजारको नोट लिएर हात
युवा भई डुल्दछ रातरात ।
१
नसानसामा मदिरा भरेर
कुर्लन्छ यो दानव झैँ बनेर
रमाउँदै नाच्दछ यो रेष्टुराँमा
योमात्र सर्वज्ञ छ सभ्यतामा ।
२
पोते र चोली फरिया लुकाई
कन्या बनी हिँड्दछ हाइहाई
छोटो लगा जीवन झैँ छ छोटो
देखाउँदै हिँड्दछ शान खोटो ।
३
चिन्दैन मान्छे न त चिन्छ मित्र
विश्वासलाई न त लिन्छ भित्र
आफू छ जस्तो सब देख्छ उस्तै
बोलेर मीठो तिर हान्छ हाँस्तै ।
४
के हो तराई कुन गाउँ पर्छ ?
पहाड के हो कुन ठाउँमा छ ?
मेची र काली धन हो कि हैन
कठैबरा ! क्यै पनि थाह छैन ।
५
टुपुक्क खाल्डो म त केन्द्र नै हुँ
वैकुण्ठ कैलाश र स्वर्ग मै हुँ
फुलाउँदै बोल्दछ नाक छाती
यो देशको मै हुँ ममात्र जाती ।
६
यहीँ छ सारा सुविधा विलास
सधैँ यहाँ रौनक बन्छ खास
आनन्दमा मस्त चलाइ जात्रा
उन्मत्त भै डुल्दछ यत्रतत्र ।
७
जुरोपानी-४, झापा
Subscribe
Login
0 Comments
Oldest









































