कृष्ण प्रधानइस्कुस दार्जिलिङको ज्यान
यो इस्कुसलाई यहाँका नेताहरूले अन्तरराष्ट्रिय बजारमा खपत गराउनुपर्ने हो । इस्कुसको अचार बनाएर संसारभरि फैलाउनुपर्ने हो । तर....यहाँको इस्कुसलाई कसले पो याद गर्छ र !

लहरा वा झाङ बनेर ससानो पबिता वा मेवाको ढाँचाको नाइटो चिरिएको खास गरी छाक टार्ने खाद्यमा गुलियो पाराको तरकारी फल हुँ म । गोराहरूले ‘क्त्तग्ब्क्ज्’ भने पनि हाम्रो यहीँ पहाड़मा बसी-बसी थेत्तर भएका गोराहरू पनि जिब्रो गुजुल्ट्याउँदै भए पनि ‘इटकुट’ नै भन्ने गर्दछन् । मधेशमा भने कतिले मलाई ‘क्वास’ भने पनि नेपाली जातिको सिञेले भेटेकाहरू ‘इस्कुस’ नै भन्ने गर्दछन् । पहाड़को इस्कुस भनेपछि सारा संसार मक्ख र पक्क पर्छन् । ईङ्गल्याण्ड, जर्मन, जापान, कनाडा, लण़्डनतिर बस्ने नेपालीहरूले ता गमलामा इस्कुस रोपेका छन् अरे ! त्यही इस्कुस हेरेर उनीहरू पहाड़की रानी दार्जिलिङको सुन्दरताको काकाकुली तिर्सना मेट्र्छन् भन्ने पनि सुनेको छु ।
म कैंजले सुम्बुक (बिजनबारी)को इस्कुस मचानमा तुर्लुङ्ङै झुण्डेको छु । यहाँका इस्कुसको झ्याङ् देखेर इस्कुस मचानमा तुर्लुङ-तुर्लुङ लटरम्मै झुण्डेका देखेर तल मधेसबाट आउने पर्यटकहरू दङ्गै पर्छन् । अझ तरुणी पर्यटकहरूले ता भुङ्तुङ्ङै परेको इस्कुस मचानबाट टिपी मागेर गालामा राखी म्वाइँ खाउँला जत्तिकै गर्छन् । तर मेरो जीउभरि उम्रेको काँड़ै-काँड़ाले गालामा घोंच्दोरहेछ क्यारे, कहालिँदै ‘उ मा…कि दुष्टो’ (आमा ’ कति बदमाश !) भनेर लाड़े पल्टेकी देख्दा मचानबाट झरेर ग्वालाम्लाङ्ङै ‘हग’ गरुँजस्तो झोंक चल्छ । हैट ! इस्कुस भएर इस्कुसजस्तै तुर्लुङ्ङै झुण्डिबस्छु । हामी तरकारी जातिले त्यस्तो उपद्रो गर्नु हुन्न… नत्र पहाड़का तमाम् तरकारीहरू बदनाम हुनेछन् भनेर इस्कुसै भएर मचानमै तुर्लुङ्ङै झुण्डिबस्छु । फेरि एक मनले भन्छ, ठैट ! इस्कुस भएर यहाँको नेताजस्तो गति नदेखाऊ न हौ । यहाँका नेताहरू पो आफ्नै चेलीबेटीलाई बल, तुजुक, धम्कीको भरमा ‘हग’ मात्रै गर्नु होइन के के ’रगरग’ गर्छन् गर्छन् नि मोराहरू !
एकप्रकारले भनुँ भने हामी इस्कुस सिङ्गो पहा़ड़को आर्थिक सघाउ पुऱ्याउने ठूलो साधन हो । कहाँ हुँदैन…यहाँ इस्कुस…. लोधोमा, रिम्बिक, झेपी, सुम्बुक नेजी, मजुवा, मर्मीडाङ, पानदाम, डाली, कलेजभेली पानधुर गाउँ, सिङ्ताम कमान, पुल/बिजनबारी, गोक, कर्मटार वा यसो भनुँ जहाँ धेर चिसो हुन्छ त्यस ठाउँमा बटटट… इस्कुस हुन्छ । इस्कुस बेचेरै यहाँ गाड़ी किन्नेहरू छन् । भव्य बिल्डिङ बनाउनेहरू छन् । हामी इस्कुस पनि थरि-थरिका हुन्छौं । कोही निक्खुर हरियो, कोई बैजनी, कोई सेतो, थकथके, कोई चिटिक्कि परेको सानु….खेलाउँ…खेलाउँ लाग्ने, कोही च्यालच्याले । कसैको जिब्रो निस्केको हुन्छ । कोही भुण्टे पनि हुन्छ । कोही जर्खरिएको, कसैको जीउभरि काँड़ै-काँड़ा ।
कुनै पनि मासुसित हाम्रो सम्झौता भइहाल्छ । ठिक हाम्रा यहाँका नेताजस्तो । यता पनि ठिक्क…उता पनि ठिक्क । फाक्समा हाल्नोस् वा लाङ्सामा, कुखुराको मासुमा हाल्नोस् कि आलुमा । हामी सबैसित मिलेर व्यञ्जन स्वादिष्ट बनाउँछौँ । हामीलाई उसिनेर खानोस् वा चरचरी भुटेर…जिब्रो भित्रै पस्छ ।
कमान-बस्तीबाट इस्कुस दार्जिलिङ, मिरिक, कालेबुङ, खरसाङ तथा गान्तोक बजारमा आएपछि जुन मूल्य हुन्छ त्यसको दोबर-तेबर दाम मधेशतिर हुन्छ । अझ मधेशदेखि उता-उता ठूल्ठूला शहरतिर हाम्रो भाउ छोइनसक्नु हुन्छ । तर पहाड़को सब्जी भनेपछि जति दाम हालेर पनि किन्नेहरू नै धेर देखिन्छन् ।
हाम्रो यता कमान-बस्तीतिर घ-घरमै इस्कुस रोपिने भएकोले कहिले-काहीँ हाम्रो वास्तै पनि हुँदैन । बिक्री गर्नु गऱ्यो, खाँदो खायो….अरु चाहिँ सुँगुरलाई दाना । कहिले-काहीँ ता गाउँ-बस्तीमा हामीलाई धेरैले यादै गर्दैनन् । यो पहाड़मा राजनैतिक नेताहरूले मात्र होइन गोर्खाल्याण्ड आन्दोलनमा पलापिएकाहरूले मात्र होइन तर अरुरु साग-सब्जीले समेत हामीलाई आँखा तरेका देख्दा छक्क पर्छु म । आन्दोलनको समयमा शान्ति सुरक्षाको निम्ति खटाइएका साआरपीएफहरूले पहाड़मा ताण्डव-लीला मात्र चलाएनन् तर कमान, गाउँ-बस्तीतिरका घरहरू झोस्नुसम्म झोस्नुका साथै इस्कुसको झ्याङमा आगो लगाएर सखाप पारे । तर आन्दोलनको समयमा जङ्गल पस्नुपर्दा जङ्गल पस्नेहरूको छाक टारेका पनि छौं हामीले ।
यो इस्कुसलाई यहाँका नेताहरूले अन्तरराष्ट्रिय बजारमा खपत गराउनुपर्ने हो । इस्कुसको अचार बनाएर संसारभरि फैलाउनुपर्ने हो । तर….यहाँको इस्कुसलाई कसले पो याद गर्छ र ! हाम्रो ता काम मचानमा बऱ्याम लागेर फल्नु मात्रै हो । यसबाहेक अरु केही गर्ने बल-बुता हामीसित ठ्याम्मै छैन ।
हामी इस्कुस जातिको यहाँका ऐरे-गैरे-नत्थु-खैरे नेतीहरूसित लुतो कनाइ केही छैन । इस्कुस व्यापारीहरूलाई पनि भन्नुपर्ने केही छैन । तर हामी तमाम् इस्कुस जातिको गुनासो छ भने एकैजनासित छ । ती हुन् हाम्रा पहा़ड़का तरुणीहरू । पहाड़मा कामदाम छैन भन्ने गुनासो गर्ने तरुणीहरू शहर-बजारभरी देखिन्छन् । अरे ! इस्कुसको मोमो, इस्कुसको दम, इस्कुसको कटलेट, इस्कुसको चप, इस्कुसको तीनकुने रोटी (पराठा ?) इस्कुसको अचार बनाएर बिक्री गर्न सके पहाड़मा आउने पर्यटकहरूले जिब्रो पड़काउँदै कति खाने थिए होलान् ! हिङ नभए पनि हिङ्को टालोकै रुपमा भए पनि सामान्य बेरोजगार समस्य़ाबाट जोगिने थिए यहाँका बेरोजगार तरुणीहरू । तर हाम्रा यहाँकाहरू ता बड़़े-बड़े शहर, विदेश नै ताक्छन् । हुन ता यहाँ इस्कुसको मोमो बनिँदैन भन्ने होइन तर जति हुनुपर्ने त्यति चाहिँ होइन ।
इस्कुसजाति समर्पित तरकारी जाति हो । हाम्रो बोक्रा सुँगुर, गाईलाई दानाको रुपमा प्रयोग भए पनि हाम्रो सम्पूर्ण कुरा नै उपयोगी हुन्छ । इस्कुसको दाना, इस्कुसको मुण्टा, जरा सबै ता खान सकिन्छ । एउटा नभन्नुपर्ने कुरा भनिहालुँ क्यारे ! पहाड़मा हुँड़ीबिड़ी मच्चाउने एकजना नेताको नाम यहाँका जनताहरूले ’इस्कुसे’ राखिदिएका थिए । हुन पनि मान्छे हेर्दा कचल्टिएकाे च्यालच्याले इस्कुस हेरेर नहेर्नु पर्ने । उनका धूपौरेले उनको नाम !इस्कुसे’ राखिदिएको पोल हालिदिएछन् । उनले कसैलाई केही भनेनन् । तर एक दिन उनको पार्टीको जनसभामा उनले भने, “हेर्नुहोस्….मेरा यहाँका जनताहरू पोलिटिकल कन्सियस पो भएछ कि भनेको ता परैहरू न्वारानमा नाम राख्ने पण्डित पो भएछन् । मेरो नाम ’इस्कुसे’ राखिएको छ अरे ! मेरो नामाकरण गर्ने पण्डित महोदयलाई यसै मञ्चबाट साष्टाङ्ग दण्डवत् गर्दछु । हो…म रुपिय़ाँमा सोह्रै आना इस्कुस हुँ । इस्कुसको के खाँदैन तपाईंहरूले ? इस्कुस ता भइगयो, यसको जरा, मुण्टा…। म पनि त्यस्तै हुँ….मेरो सबै काम लाग्छ ।“
हो पनि नेताजीले ठिकै भने । उनलाई हामी तमाम् इस्कुस जातिको श्रद्धा छ । हाम्रो दाना, जरा, मुण्टाले पहाड़ मात्रै होइन मधेसतर राँटो लगाएको छ । दार्जिलिङ चियाको खेतीले बाँचेको छ भने हामी इस्कुस जातिले पनि केही मात्रामा धेरै (इस्कुस उमार्नेहरू)लाई आर्थिक अवस्था बलियो पार्ने भरसके कोशिष गरिरहेका छौं । मचान तयार भएपछि लटरम्मै फल्न हामीले कहिल्यै कुनै कञ्जुसी गरेका छैनौं । हामी इस्कुस जाति यहाँका पहाड़वासीहरू झैं सोझो-सिधा छौं । यसैले ता फल्नुमा हामीले कुनै कपट्याइँ गर्दैनौ । गुल्चे गर्दैनौं । तर अचम्म ता के मा लाग्छ भने, यहाँका नेताहरू जनसभातिर चियापत्तिको कुरा मात्रै गर्छन् तर इस्कुसको नाउँ ठ्याम्मै उच्चारण गर्दैनन् । तर मोराहरू हाम्रो यतातिर आउँदा बोराको बोरा मुण्टा र इस्कुस बोकेर इस्कुस मालिकलाई पैसा नदिई ’थ्याङ्क यू’ भनिवरी जान्छन् नि फेरि । साँच्चै यो हाम्रो पहाड़ ’थ्याङ्क यू’-मै बाँचिरहेको छ । तर गरुन् पनि के विचारा हाम्रा यहाँका नेताहरू ? हामी इस्कुसको जिन्दगी र यहाँका नेताहरूको जिन्दगी प्रायः एउटै एउटै नै छ । एक मन रुई र एक मन फलामजस्तो । सोमका सोम ।
कसरी भन्नुहुन्छ होला हजूर । कसरी र अब ! हामी इस्कुस जातिको जिन्दगी मचानमा बाँचेको हुन्छ । मचान छैन….हामी चिचिलामै झर्नुपर्छ । हाम्रा नेताहरू पनि राजनीतिको मचानमा तुर्लुङ-तुर्लुङ झुण्डिएर जीवन धान्नु पर्दैछ । राजनीतिको मचान यताउति भयो कि सर्वनाश हुन्छ भन्ने डरले हाम्रा नेताहरू ’सुगा भाषण’ मात्र बोल्छन् । उनीहरूलाई गाउँ-समाज होइन तर विचारा उनीहरू राजनीतिको मचान सम्हाल्नमै धौ-धौ परिरहेको हुन्छ । मचान अलिकति पनि यताउति भयो कि ढ्याङ….. !
हुन ता नेताहरूलाई मात्रै के भन्नु ? हाम्रो जिन्दगी पनि लोन्द्र्याङ नै छ नि । घरको कुखुरा सागै बराबर भनेजस्तो यो पहाड़मा इस्कुसप्रति वा इस्कुसको खेतीप्रति कसैको ध्यान गएको त्यत्ति देखिँदैन । वैज्ञानिक तरिकाले इस्कुसको खेती गर्न सके र विदेशतिर पनि निर्यात गर्न सके तमाम् पहाड़वासीले घरकै आँगनमा कनाडा, दुबई, हङकङ, लण्डन, सिङ्गापुर, थाइल्याण्ड, इजरायल वा स्वीटजरल्य़ाण्ड पाउँने थिए । तर को गर्ने हजूर…के गर्ने….माल पाएर चाल पाए पो ! बिनासित्थैमा विदेश जानलाई लाख-लाख रुपियाँ खर्च गर्नुभन्दा बरु इस्कुसको खेतीमा पैसा खर्च गर्नसके हाम्रो इस्कुस जातिले कश्मीरको आइफललाई पनि पक्कै उछिन्न सक्छ भन्ने मेरो दाबी छ । तर यसमा सरकार, सम्बन्धित विभाग मात्र होइन आफै तातिनुपर्छ ।
म ता छात्ती ठोकेरै भन्छु, इस्कुस दार्जिलिङको ज्यान हो ।
कृष्ण प्रधान, सिलिगुड़ी, (भारत)
Subscribe
Login
0 Comments
Oldest








































