साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मान फाेबिया

माथिमाथि जाने र उन्नति गर्ने अधिकार मेरै मात्र हो । तिमीहरू मेरो भजन गरेर बस, धोती कसेर बस, मेरो स्तुतिगान गरी बस, घन्ट बजाई बस ।

Nepal Telecom ad

आजभोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग चर्केर गएको छ । यो भनेको आत्मरति हो । आत्मरति वा आत्मप्रशंसा खोज्ने रोग बढेर गएपछि मान्छेलाई त्यसले पलपलमा पिरोलो पारिरहँदो रहेछ, गाँजिरहँदो रहेछ । हुनत यो आत्मरति, आत्मालाप, आत्मराग वा आत्मप्रशंसाको भोक आजका मनुवामा मात्र रहेको छ र उहिलेका मनुवाहरूमा वा देवताहरूमा चाहिँ थिएन भन्ने कुरा काटे पनि साँचो होइन रहेछ । उहिले उहिलेका रिखिमुनि र बुढापाकामा वा देउदेउतामा पनि यो रोगको भोक खपिनसक्नु गरी हुने गरेकै हो । उनीहरू ता आजका भन्दा अझ बढी यसका भोका हुन्थे ।

भक्तले उपार्जन गरेको सबै थोक उनैलाई अर्पण गरेर भक्तले चाहिँ रुखका मुनि घन्ट बजाई उनैको भजन गरी बस्नु भन्ने कुरा उनीहरूले मनुवालाई भनेकै थिए । सेतै दारी फुलेका बुढा ब्रह्मा हुन् कि समुद्रमा सुतेको भान पार्ने विष्णु हुन् वा जतिओटी गोपिनी भएर पनि नअघाएका असन्तोकी कृष्ण हुन् कि आफू नाङ्गै देखिए पनि अरू सबैबाट केही न केही खोजिरहने हन्तकाली बाबा शिव नै किन नहुन् आत्मरतिका मूल स्रोत यिनै हुन् । बूढा ब्रह्माको ता कुरै छाडौँ । आफ्नी छोरीमाथि आत्मरति मात्र नभई रति नै गर्ने कामुक ती बुढाले नै हो आजका केही दुष्कर्मी बाबुहरूले गर्ने यो परम्पराको थालनी गरेको । उनी जति पापी यो दुनियाँको इतिहासमा कोही छैनन् । आफूसँग भएको सबै कुरा उनीहरूलाई नै अर्पण गरेर आफू भने भोको पेटमा उनीहरूको नाम जपेर घन्ट बजाई बस्नु भन्नु जतिको चुतिया जुक्ती केही पनि हुँदैन ।

‘तँसँग भएको सबै मेरै हो, त्यो सबै मेरा हजुरमा चढाएर मेरो गुणगान गरेर रित्ता हात लगाउँदै लँगौटी कसेर रुखका फेदमा बस्’ भन्ने ती ईश्वरहरू महान् हन्तकाली र आत्मरतिका उदाहरण हुन् । यही आत्मरति आजका मान्छेमा आइरहेको छ, छाइरहेको छ, पलाइरहेको छ यही भोकले गलाइरहेको छ । उहिलेको अलकापुरीका राजा इन्द्र अर्काले उन्नति गरेको देखिसहन्नथे । अरूअरूले उनैको मात्र जयगान गर्नुपथ्र्यो । आजको सेतो घरका वा ओबामापुरका इन्द्रहरू पनि अरूको उन्नति देखिसहन्नन् । मानौँ यो दुनियाँमा उनीहरू जत्तिका अरू कोही होलान्, उनीहरूको हैकमलाई चुनौती देलान् भनेर उनको मनमा थरहरी पर्छ । सधँै अरूलाई तर्छाइरहेका हुन्छन्— खबरदार म जतिको हुन पाउँदैनौ । माथिमाथि जाने र उन्नति गर्ने अधिकार मेरै मात्र हो । तिमीहरू मेरो भजन गरेर बस, धोती कसेर बस, मेरो स्तुतिगान गरी बस, घन्ट बजाई बस ।

यो अरूलाई उन्नतिको सिँढीमाथि चढ्न र अघि बढ्न नदिने चलन आजको होइन रहेछ । यिनै देवदेवीका पालादेखिको रहेछ । यो आफैँ मात्र खाऊँ र लाऊँ अरूले चाहिँ खरानी नै घसिरहून् रुखका फेदमै बसिरहून् भन्ने आत्मरतिको उदय उषाकालदेखि नै भएको रहेछ । यो भनेको आत्मरति हो । यो भनेको आत्मसम्मानको फोबिया हो । यसको पुरानो उदाहरण भनेका यिनै मान्छेले बनाएका देउदेउताहरू रहेछन् । अर्को चाहिँ खरानी नै घसेर बसोस् र आफूचाहिँं त्यसैले कमाएको सिरीसम्पत्तिमा रजाइँ गरी बसूँ भन्ने ती देवदेवीहरू वास्तवमा सारै नै स्वार्थी र अल्छेमतिका उपज रहेछन् । आजका केही राष्ट्रहरू जो आफूसरहको उन्नति अरू कसैले गर्लान् र पौँठेजोरी खोज्लान् भनेर उन्नत हुनबाटै रोकिरहेका छन् यो पनि उनै कल्पित ईश्वहरूबाट आयातित एकतन्त्रीय विचार हो ।

हाम्रै आदि पुर्खाहरूले बनाएको ईश्वरलाई हाम्रा जिजुबाजेले नै पहिलो उपनिवेशवादी बनाएका रहेछौँ । उनीहरूले यदाकदा हतियार तन्त्रबाट पनि औपनिवेशिक धर्म पालेका थिए भन्ने वणर्न हामीले गरेका भए तापनि बढी मात्रामा उनीहरू मतियारतन्त्रबाट आफ्नो उपनिवेशवाद दुनियाँदारीमा हालेका थिए भन्ने वणर्न गरेका रहेछौँ । मतियारतन्त्रको पीठाधीशका रूपमा आफैँलाई सर्वोच्चतम मान्ने पुराना रिखिमुनिहरू जेभाले नै थिए । आफू र आफ्नो विचारलाई नमानेको झोँकमा अर्कोलाई भस्म खरानी नै पार्ने दुर्वासा जस्ता रिखि भनेका नै आत्मरतिका नमुना हुन् । खरानी घसेर छालाको कट्टु लगाउने लट्टाधारी बाबा बमभोलेलाई किन चाहियो राम्री न राम्री श्रीमती ? भस्मासुरले माग्यो भनेर किन भस्म पार्नुपरेको ? तत्काल सृष्टि गरिदिने क्षमता भएकाले एउटी गतिली नारी बनाइदिनु नि आफ्नी जत्तिकै राम्री एक झलल बलेकी अप्सरा । आफू जस्तोसुकै भए पनि राम्रो जति सबै आफूलाई नै चाहिने कुरा भनेकै आत्मरतिको उदाहरण हो । झोलेबाबा भोलेलाई नपुग्दो के थियो र ससुरालीको भतेर खान जान मन लागेको ? ससुरालीबाट निम्तो नआउनासाथ ससुराको टाउको नै काटेर बोकाको टाउको लाइदिनु जस्तो फट्याइँ र चुतियागिरीको उदाहरण यो दुनियाँमा अर्को के हुन सक्छ ?

अब आजका ज्वाइँलाई मात्र किन दाइजोका लोभी भन्ने ? शिवबाबा नै दाइजोका हन्तकाली रहेछन् भन्ने कुरा अब पुष्टि हुन्न र ? माइतबाट लोग्नेलाई केही नदिएको बहानामा अँगेटीका डढ्ने सतीको उदाहरणबाट आजका दाइजोका लागि मरिरहेका बुहारीहरूको उदाहरण उहिल्यैदेखि थियो भन्ने कुराको प्रमाण भएन र ? अझ आफ्नी स्वास्नीलाई एकै छिनका लागि भेट्न नदिएको झोँकमा द्वारपालका रूपमा रहेका गणेशको टाउकै काट्नु जस्तो खतरनाक कुरा अरू के हुन सक्छ ? त्यतिको सारो ता हाम्रा फलानावादीले पनि गरेका थिएनन् । यो ता हाम्रा नेपालका दिव्य बार वर्ष जङ्गलमा बसेकाहरूले विरोधीहरूको टाउको गिँड्ने गरेको भन्दा पनि डरलाग्दो कुराको उदारहण हो ।

यी उदाहरणहरूबाट हामी भन्न सक्छौँ आत्मरतिको फोबिया आजकै दुनियाँको मात्र होइन रहेछ । अब हामी भन्न सक्छौँ सम्मान खोजी गर्ने परम्परा आजको हैन रहेछ । अनि आजका मान्छेले सम्मान खोजे भने किन अप्ठेरो मान्ने ? उहिलेकै धर्म मानेछन्, परम्परालाई थामेछन् भनेर चित्त बुझाउनु पो बुद्धिमानी हुन्छ ।
जय होस् यी सम्मान खोज्नेहरूको !

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x