सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सबै सिङसाँढ़े : सबै सेँठ

परिवार-परिवारमाझ आगो लाग्न थाल्यो । सामान्य कुरामै ठाटाक-ठुटुक । थाना-कचहरी । पानीको ट्याङ्की घोप्टियो । यो तेरो- यो मेरो । झ्याल-ढोका बन्द । बोलचाल बन्द । टेँढ़े आँखाहरूको रगरगी ।

Nepal Telecom ad

हिजोआज एउटा नयाँ शब्द जताततै सुनिन्छ- “रेसपेक्टेबल सिनियर सिटिजन ।” यसलाई शुद्ध नेपालीमा अनुवाद गर्दा सायद यस्तो हुन्छ कि, “सम्माननीय वरिष्ठ नागरिक ।” यही शब्दलाई व्यङ्ग्य भाषामा भन्नुपर्दा, “बूढ़ा वा डाँड़ाको घाम । ठट्टा गरेर यसो भन्दा पनि हुन्छ, “रेडी फर डेट एक्सपायरी ।’” अथवा “घरले जा…जा… बनले आइज भन्ने निम्तो पर्खाका ।” यस्ता सिनियर सिटिजनहरू यतिञ्जेल पैताला फर्काइसकेका हुन्थे होला तर मोडर्न टेक्नोलोजीको कृपाले बचाइराखेको छ । बाइपास, पेसमेकर, इन्सुलिन, ट्रान्सप्लाण्ट, केमो थेरापि, रेडिएसनको थाङरोले बाँचिरहेको । कोही बिना चिनीको चिया, कोही नून चिनी केही नहालेको चिया,. कोही सुगर फ्रि चियामै बाँचेका । अर्कोतिर श्वासकष्ट । दुइटै पाकिटमा दुई-दुई प्रकारका इन्हेलर । आफूसितै झुण्ड्याइएका ब्यागमा किसिम-किसिमका औषधिहरू ।

यस्ता पिण्डे रोगी बूढ़ाहरूका मेन्टेनेन्स कष्ट पनि धेर । फ्यामिली लोड । सामान्य सामान्य कृतज्ञताको खिँचातानी । अनुहारको भूगोल नै काचाक्-कुचुक् पारेर छोरो उदगार पोख्छ- के गर्नु जति नै भए पनि बुवा ता…मुमासित त्यति प्रोब्लेम छैन । घूँड़ामा मात्रै उनको प्रोब्लेम । घस्रेर भए पनि ब तल-माथि गर्छिन् । धेर औषधि कन्ज्यूम गर्दिनन् । भेरी इकोनोमिक हाम्री मुवा । मात्रै एक शिसी बातको तेल बस । पहिले एक्लै धुम्धुम्ती बस्थिन् । अहिले नाति पाएकी छन् । नाति नै मुवाको प्राण पनि टाइम पास पनि । साउँभन्दा सूदको माया धेर । केही भन्ने हुँदैन उनको मुटुको टुक्रा नातिलाई । सातोपुत्लो खान्छिन् हाम्रो ।

अँ….ठुङमार्दो कुरो ता के भने, हामी दुइ लोग्ने-स्वास्नी कतै जानुपर्दा नातिलाई ढुक्कैले बज्यू चाहिँले हेरिदिन्छिन् । हामी दुइ स्वतन्त्र । जति झमेला र झ्याउला वा प्रोब्लेम क्रिएट गर्ने चाहिँ एक्सपाइरी डेट (बूढ़ा)-हरू नै हुन्छन् । कान कम्ति सुने पनि कसले के भन्यो, के भन्दैछ…अनुमानकै आधारमा थाह पाइहाल्छ्न् । अझ बूढ़ाको विषयमा खासाक्-खुसुक् गऱ्यो कि एकै मिलिकमा थाहा पाइहाल्छन् । नराम्रो कुरा सुन्नमा यिनको कानले नेट वर्क भेट्टाइहाल्छ । दोष दिनु पनि सकिँदैन । जब दुवै कान चनाखा थिए बूढ़ाका, राम्रो कुरा त्यति सुनेनन् । सुने पनि नसुनेझैँ गरेरै टारे ।

लेनदेनको संसारमा काबुलीहरूको रगरगी छन् । आरम्भिक जीवनमा श्रीमतीसित अनि़ जीवनको फाइनल राउण्डमा छोरा-बुहारीसित । रिटायरड लाइफ…जाने ठाउँ पनि ता कतै छैन । पहिले चारैतिर सम्पर्क थियो । कुकुर, फेरीवाल र माग्नेहरूलाई मुक्त हस्तले दान दिने, खुवाउने, दान गर्ने । यसै पनि कर्णका देशका मान्छे । साँझपख अफिसदेखि फर्की आउनेहरूसित गफ-ठट्टा ।

अचम्भ-अचम्भका आलोचना, तर्क-वितर्क । आलोचनाको मूल विषय अर्काकै निन्दा, भक्कुमारी खोइरो खनाइ । परचर्चामै समय फुर्मास । यौवनकालमा उपद्र्याइँहरूको बेलिविस्तार । शिकार खेलेका कथा । साथीहरूको पछि लागेका कुराहरू । आफूले केही गर्न नसकेका तर आफ्नै आँतका मिलनसार सहक्रमीले आफूभन्दा कता हो उन्नति र प्रगति गरेका देख्न नसक्दा लङ्की लगाएर उत्तानो चित पारेका कुराहरू । चिया बनाऊ…स्न्याक्स ल्याऊ । तात्तातो प्याजी बनाऊ….सस खै ? छ भने अझै दुइ-चारवटा प्याजी थप…थप ।

उबेला नेपालीका घ-घरमा पैसा आफै हिँड़ेर आउँथ्यो क्यारे ! दसैं-तिहार । बग्रेल्तै लाला-बालाहरू हुन्थे । बुहारीका काख-काखमा नेपाली बच्चा । बाह्रै मास चौरासी व्यञ्जन । घरपतिनी आमै फरिया-चौबन्दी अनि घरपति बाबै दौरा-सुरुवालमा । कड़ा मिजास, कठोर व्यक्तित्व । सबै थुरथुर । डरले लिङ्लिङ् । सासू-ससुरालाई ठाड़ो नजरले हेर्न ता के छेउमै पर्न सक्तिन थिइन् बुहारी । त्यो युग नै अर्कै युग थियो ।

छोरो लट्ठक…हामपोक्ची, थुप्रीमाया, नेप्टी मार्का बुहारीहरू हुन्थे उबेलाका घ-घरमा । समयको परिवर्तन सँगसँगै बुहारीहरू जिरे खोरसानी हुनथाले । माओवादी मार्का बुहारीहरूलाई छुनु ता परै जावोतस् नारायण ! सामान्य केही भन्यो कि आरडिएक्स पड़्किन शुरु ।

दाजु-भाइ माझको रिलेसन फ्याक्चर । कालो कोट लाउने वकिलहरूको चाँदी कढ़ाइ । नेपालीमाझ आपसी तालमेल छैन, जस्तो कि डाइनोसोर छैन, छैनन् शकुनी । एकमात्र शकुनी, वेदव्यासको पिञ्जड़ा ’महाभारत’-मा थिए । दुई फेमिली फ्या्चर भई आपसी तालमेल निमिट्यानन्नै भयो त्यतिबेलैदेखि नेपाली जीवनमा साइरेन बज्न थाल्यो ।

परिवार-परिवारमाझ आगो लाग्न थाल्यो । सामान्य कुरामै ठाटाक-ठुटुक । थाना-कचहरी । पानीको ट्याङ्की घोप्टियो । यो तेरो- यो मेरो । झ्याल-ढोका बन्द । बोलचाल बन्द । टेँढ़े आँखाहरूको रगरगी ।

’सिनियर सिटिजन’ साच्चै नै ’रेसपेक्टेबल’ शब्दा होजस्तो लाग्छ । तर आपसी तालमेल छैन । एकार्कामा सम्मान छैन, मर्यादा, आदर-सत्कार छैन । थाकिसकेका आँखा, कलेटी परेका मुहारमा विशादका रेखाहरू बोकेर बूढ़ाहरू बूँढ्यौलीको डिलमा बामे सरिरहेका हुन्छन् बलजफ्ती । मानिसको हृदयको ढोका खोलिए ‘इन्सट्याण्ट डेथ ।’ समाजको हृदय खोलिए नि ! के हुन्छ ? मानिस-मानिसमाझ हृदयबिनाको सम्पर्क । रसदानाका डल्लाहरू छन् नि हुनु ता तर कुनै रसदानामा रस छैन । सबै निरस । डाँवाडोल जीवन । यता भ्वाङ्ङै… उतै भ्वाङ्ङै । अचेलका घरहरू मानौ सरायखाना हुन् । को मऱ्यो, को बाँच्यो ? कसैले कसैको खबर राख्ने समय ठ्याम्मै छैन । यो संसार आफै ता बेखबर छ । मुर्दाहट्टीजस्तै उदासीनता, कसैलाई कसैको वास्ता छैन; सरोकार छैन । सबै आफ्नो दुनो सोझ्याउनमै व्यस्त र मस्त ।

सबै सिङसाँढ़े : सबै सेँठ । कसैलाई छोइसक्नु छैन ।
’मै खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ ।
म बाँचू मै नाचूँ अरु सब मरुन् दुर्बलहरू ।।
– लेखनाथ ।

०००
सिलिगुड़ी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान